विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अडानोम गेब्रियससले केही समय अगाडि धेरै देशहरु लकडाउन सामान्य बनाउनेतर्फ अग्रसर हुँदा कोभिड-१९ मा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने बताएका थिए। त्यसपछि धेरै देशले उच्च सर्तकता अपनाए। लकडाउन खोलेपनि अवस्थालाई काबुमा लिन हरसम्भव प्रयास गरे। भलै आर्थिक तथा मानवीय क्षतिलाई अपेक्षित रोक्न सकेनन्।
हालै नेपालले पनि सुरक्षात्मक उपाय अपनाएर बजार खोल्ने र कम जोखिमयुक्त्त क्षेत्रमा जोर बिजोर प्रणालीको आधारमा सवारी साधन चल्न दिने लगायतका निर्णय सरकारले गरेसँगै लकडाउन खुकुलो भएको छ। योसँगै आम सर्वसाधरणमा खुशीसँगै अन्योलता, डर, र जोखिम बढेर गएको छ।
नेपालले चीनको वुहानभन्दा पनि बढी समयावधी लकडाउन गरे पनि संक्रमणको दरमा कमी आएन बरु अहिले प्रयोगशालामा स्वाबको चापसँगै संक्रमित पनि बढिरहेका छन् भने संक्रमितहरुको निधनपछि आउने प्रयोगशालाको रिपोर्टले समेत आम अन्योलता समेत बढेर गएको छ। हाल सरकारले गरेको निर्णय कोरोना संक्रमणको दर कम नभएर नभई आम जनमानसको आवश्यकतालाई ध्यान दिदैं गरेको देखिन्छ तर हामी भने लापरबाही तवरले सामान्य बन्न खोजिरहेको देखिन्छ। यसले हाम्रो भविष्यको स्वास्थ्य स्थिति सहज भने हुने देखिदैंन।
नेपालले कोरोना नियन्त्रणको लागि गरेको पहल सन्तोषजनक नभएको र अनियमितताको आरोप लगाउँदैं काठमाण्डौं लगायतका देशका धेरै सहरबाट आन्दोलनको राको यही बेला निस्किएको छ। असंगठित समूहको यो उच्च संख्यामा सहभागिता रहेको आन्दोलनले समेत झन् उच्च जोखिम बढाएको देखिन्छ भने अर्कोतर्फ सरकारको पारदर्शिता र काम गराई न्यायोचित तथा अर्थपरक नभएको संकेत समेत यसले गरिरहेको छ।
भारी मात्राका छिमेकी देश भारतबाट भित्रिने नेपालीको उपयुक्त तवरले व्यवस्थापन नहुँदै उनीहरु सहज रुपमा घर पुगिरहेका छन्। उनीहरुलाई आशिंक रुपमा व्यवस्थापन गर्न खोजिएपनि क्वारेन्टाइनको मापदण्डमा हामी चुकेको देखिन्छ जसले समुदायमा संक्रमणको दर भुसको आगो जस्तै सल्किने खतरा उत्तिकै देखिएको छ। स्वनियममा बाँधिनु पर्ने आम मानिस बजार र बाहिर डुलेर लकडाउको धज्जी उडाउने समेत काम यसबीचमा भयो। जसले हाम्रो आगामी सहज यात्रामा ब्रेक लाग्नुका साथै कोभिड-१९ का विविध आयामको सहि ढंगले व्यवस्थापनमा चुक्दै गए वास्तविक रुपमा देशको भविष्य चर्किने स्थिति समेत आउने देखिन्छ।
सरकारको काम गराइएमा असन्तुष्टि राख्दैं आक्रोशित एउटा समूह आन्दोलनमा होमिइरहेको छ। भौतिक दूरीको बेवास्ता गर्दे खुला सडकमा नाराबाजी र भिडभाडमा सामेल भैरहँदा कोरोना भाइरस एकबाट अर्कामा फैलिने देखिन्छ। यसरी देशको राजधानीमा नै यसको दर आगामी दिनमा उच्च हुन गए समग्र देशको परिस्थिति असमान्य बन्न सक्छ। आन्दोलनको क्रममा स्थिति सामान्य बनाउन खटिएको सुरक्षाकर्मी समेत आगामी दिनमा यसबाट बढी प्रभावित हुने देखिन्छ। आन्दोलनको फुटेज कभर गर्न मरिहत्ते गर्ने युट्वकर्मी तथा समाचार संकलनका लागि खटिने पत्रकार पनि जोखिमको अग्रपंतिमा रहेको बुझन् सकिन्छ। जसले गर्दा हाम्रा मिडिया समेत भविष्यमा कोरोना भाइरसको संक्रमणले थलिने स्थिति नआउला भन्न सकिन्न यसर्थ यसमा पनि सचेत उत्तिकै बन्नुपर्ने देखिएको छ।
देशभर उच्च संख्यामा क्वारेन्टाइन र आइसोलेशन निर्माण गरिएको छ तर लकडाउनको ८० दिनसम्म यसको प्रयोग उचित तवरले भएको देखिएन। नेपाल आफ्नै र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेको निर्देशिका अनुरुप कतिपय कुरामा चुकेको देखिएको छ। क्वारेन्टाइनमा बसेका मानिसहरुले सहज रुपमा आफन्तजन तथा साथीभाइलाई भेट्नेदेखि भागेर हिँड्ने समेतका घटना भए। जसले फितलो व्यवस्थापनको पाटोलाई उदो पारेको छ भने भविष्यमा पनि यस्तै घटना दोहोरिए अवस्था झन् विकराल बन्न सक्ने देखिएको छ। कोरोना भाइरस संक्रमितको लागि भनेर स्थापना गरिएका आइसोलेसन कक्षमा उचित पूर्वाधार र सरसफाई नभएको भनेर संक्रमितले मिडियामा आफ्ना गुनासा पोखिरहेका छन्। जसले हाम्रो आइसोलेसनको चित्र स्पष्ट पारेको छ।
सरकारले घरभित्रै बस्न भनेपछि एकाध बाहेक सबैले यसको शिरोधार्य गरे। तर, यो आफैमा निकै जटिल र गम्भीर अवस्था थियो। आर्थिक स्थिति सबल हुनेहरुका लागि लकडाउन समस्या नभएपनि दुई छाक टार्न धौँधौं हुनेहरुको लागि भने यो निकै सकसपूर्ण थियो र छ। त्यसैले त भोककै कारणले कतिपयले यो बीचमा ज्यान गुमाए। राहत उनीहरुको भोको पेटसम्म पुग्न सकेन जसको फलस्वरुप पृथ्वीलोकबाट उनीहरु सधैंको लागि अस्ताए। क्रण लिएर दैनिक गुजारा चलाउन सामान्य व्यापार व्यवसाय गर्ने, आर्थिक स्थिति कमजोर भएका र आम्दानी तथा आय नभएकाहरुले स्वतस्फूर्त लकडाउनको अवज्ञा गरे। यसको वास्तविक यथार्थमा विश्लेषण जरुर होला तर आवश्यकीय सुरक्षा सर्तकता भने यसबीचमा लिनैपर्छ।
अब सरकारले खाडी तथा अन्य मुलुकबाट फर्कने चाहने नेपालीलाई स्वदेश फर्काउन सुरु गरेको छ। स्वदेश फर्कन चाहने नेपालीलाई भारतबाट फर्कदाँको जस्तो अव्य्यवस्थित व्यवस्थापन भयो भने यसले नेपालको आम समुदाय जोखिमको रातो घेरामा जानेछ। जसको मुल्य निकै महंगो पर्न जाने देखिन्छ। ग्रामीण भेगमा यतिबेला संक्रमणको उच्च जोखिम भएपनि त्यसको उचित रेखदेख, नियन्त्रण र व्यवस्थापनमा स्थानीय सरकारले विशेष पहलकदमी लिन झनै आवश्यक भएको छ।
सरकारले बढी संक्रमित भएका ठाउँमा लकडाउन कायम रहने भनेर बताइरहँदा अहिले खुकुलो भएका ठाउँमा पुनः लकडाउन गर्ने स्थिति नआओस्। यसको लागि सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरि यो कठिन भवितब्यबाट आफू र समग्र देशलाई कम क्षतिमा पार लगाऔँ।