यो यात्राको कहानी लेख्दिम न बरु। दाइको नेतृत्वमा हाम्रो यात्रा।
आहा!
क्या मीठो कुरा !!
‘बहिनी लुडो छ ?’
छ।
खै त हेरम !
रंगीन हाफपेन्ट टाइप्सको हाफ सुरूवाल र माथि जामामा बेरिएकी फुच्ची साहुनी बहिनीले लुडो निकालिन् र्याकबाट। करिब एक बाइ एक को। मैले त त्यो लुडोमा कोरिएको मूलबाटोमा लुडोको रातो, नीलो, हरियो , पहेंलो गोट्टी कुद्ने/कुदाउने बाटो नै पत्ता लाउन सकिनँ। त्यसमाथि सोचेभन्दा पनि सानो।
त्यै पनि दाइले लुडोको त्यो दुई पाने गाते किताब ओल्टाइपल्टाइ हेर्नुभयो। मैले दाइ बुझ्नु भो भनेको, दाइले कुनै शास्त्रको किताब पल्टाए झैं बिस्तारै बिस्तारै पल्टाएर धेरै बेर लाएर हेर्नु भयो।
आफ्नो लामो जगल्टे कपाल मिलाउनु भयो। अनि लुडोको गाता भुइँमा राखेर उँहुँ भन्दै कपाल नहल्लिने गरी टाउको हल्लाउनु भयो।
हामी त्यहाँबाट निस्कियौं।
‘यो नेटवर्क विजनेस, इन्सुरेन्स, एनजिओकर्मी–भन्दा भन्दै मैले काटें – ‘ बीचमा म’ भन्न खोज्नु भाको?
‘होइन, होइन हैन , नो नो नो लगायतहरू , वहाँहरू हाफपेन्टमा होस् या ट्राउजरमा खुट्टामा पार्टी सुज चैं हुन्छ नै। भन्न खोजेको।’ दाइ फुलमुडमा भएको अनुमान गर्न सकिन्थ्यो।
डल्ले कपमा स्ट्रङ मिल्क टी सेलाउँदै सेलाउँदै पिएपछि, लुडो खेलको विषयमा अब ट्विस्ट ल्याउने बेला भयो भन्ने कुराले चर्चा चल्नसाथ हाम्रो यात्रा सुरू भयो लगभग।
म र दाइ पछाडि पट्टिको ढोकाबाट बाहिर निस्कियौं।
महोदय ढोकाको बाहिरिपट्टि हँसिलो मुहार लिएर उभिइराख्नु भा’थ्यो।
मैले प्रस्ताव राखें, ‘जाऊँ त हजुर?’
‘कता हजुर?’
आज लुडोको नयाँ बोर्ड किन्ने हो।
‘आहा! हो र! हजुर।’
‘हो नि हजुर !’
‘लु म नि जान्छु’, महोदयले रहर देखाउनु भयो।
‘जुत्ता लाउँछु है त!’
‘हैन हजुर बाटोमा हिलो छ हौ।’
‘हैन लाउँछु।’
‘हो त?’
‘हो, एकै मिनेट।’
नभन्दै महोदय टलक्कै कालो वर्णको पार्टी सुजमा निस्किनु भयो।
र दाइले छड्के हान्नु भयो।
‘यो नेटवर्क विजनेस , इन्सुरेन्स , एनजिओकर्मी , लगायतहरू,वहाँहरू हाफपेण्टमा होस् या ट्राउजरमा खुट्टामा पार्टी सुज चैं हुन्छ नै हुन्छ।’
हामी तीन भाय लाग्यौं लुडो यात्रामा।
जाँदाजाँदै बायाँ परेको कर्म मन्दिरको फराकिलो बाटोमा ट्रयाक्टरले पछाडि फर्किन बल गरिरहेको भेटियो। मन्दिरको ढोकामा उभिएर एक सिनियर सिटिजन ट्रयाक्टरलाई कराएको भाषामा अनुरोध गरिरहनु भएको थियो – ‘एइ भयो भयो धेर पछाडि न ले। यिनले मन्दिर भत्काइदिने भए गाँठे।’
चिन्तामा हुनुहुन्थ्यो उहाँ। हामीले गिभ मि फाइभ टाइप्सले हात देखाएर उल्टो गुडिरहेको ट्रयाक्टरलाई रोकाएर पार भयौं।
अलिक अगाडि वडा कार्यालको आँगनमा बाटो आइरन गर्न बडेमानको रोलर राखिएको थियो।
असारमै सही, झरीमै सही , हतारमै सही , सडक किनारका पेटी भत्काइएका थिए।
सडक बीचमा ढुंगा, गिटी, बालुवा थुपारिएका थिए। हिलाम्मे सडकको छेउ छेउबाट जुत्ता जोगाउँदै हाम्रो यात्राले गति भने लिइरहेको थियो।
कोरोना महामारीले लकडाउन, लकडाउनले थुनिएका जनता जनार्दनको कानमा आजैबाट नयाँ शब्द गुन्जिरहेको थियो बिहानदेखि – ‘लुजडाउन’ मतलब अलिक खुकुलो खालको लकडाउन।
बजार पसल खुल्ने, सरकारी, गैर सरकारी, निजी कार्यालय, व्यवसाय सबका सब खुल्ने। सिवाय सैलुन, ब्युटी पार्लर, थिएटरलगायत लकडाउनमै लक हुने र डाउन पनि भइरहने।
यस्तो अवस्थामा बजारको अनुहार भने एउटा दाँत खुस्केको थोते अनुहार जस्तै देखिइरहेको थियो। बजारका हरेक घरका एउटा एउटा ढोका मात्र खुलेका थिए।
पहिलो स्टेसनरीमा हाम्रो तीन जनाको भीड छिर्यो। तीन जना सँगै हिँड्नु आफैंमा भीडभाड गर्नु ठहरिन थालेको करिब-करिब अढाइ महिना त नाघिनै सकेको थियो।
हरेक कारोबार, काममा व्यक्ति- व्यक्ति, मान्छे- मान्छे, वा ग्राहक ग्राहक , पेसेन्जर , क्लाइन्ट बीचमा दुई मिटरको दूरी कायम गर्नु कोराना भाइरसवाला लुज डाउनबाट बच्ने तार्किब थियो। स्टेस्नरीमा लुँडो थिएन । दाइ र महोदय निस्किनु भयो। मैले घुम्ने कुर्सी छ भाउजू भनेँ त्यसपछि।
–छैन भोलि आउँछ, लुडोको बोर्ड पनि आउँछ।
ए ! हस !
म निस्केँ ।
त्रिवेणी चोकको एक वेणीपट्टि हामी छड्कियौं। गौँडा गौँडामा प्रहरी मेरो साथीहरू हुनुहुन्छ। उहाँहरूको शिरदेखि पाउसम्म एकै रङको बर्दी नामको पोसाकमा अर्कै रङको अतिथि पोसाक थपिएको छ –मास्क ।
प्रहरी मेरो साथीले हाम्रो समुहको “म” सदस्यलाई “मास्क लगाएर हिँड्नुस् न सर” भनि त हाल्नु भयो। हामी दुईले दाइको मुखै ताकेर हेर्यौं। दाइ त मास्कसहित हुनुहुन्थ्यो। मैले हतार हतार बायाँ खल्तीबाट मास्क निकालें र छ हजुर छ, एकछिन गर्मी भएर खोलेको भनेर उम्किएँ। महोदयसँग मास्क थिएन। ‘मास्क त चाहिने रहेछ गाँठे, घरमै छोडिएछ नि त हतारमा’ भनेर हल्का मुस्कुराउनु भयो। दाइले म त मास्कवादी हो नि भन्न भ्याइहाल्नु भयो।
त्रिवेणी चोकको लुडो पसल बन्द थियो। हाम्रो चुस्त दुरुस्त टिमले शिघ्र निर्णय लियो। अब अम्बागछी जाऔं त्यहाँ त पक्कै छ।
हामी मोडियौं। मैले महोदयलाई मास्क दिएँ। तर नलगाउनु पुरानो हो, हातमा बोकिरहनु। प्रहरी मेरो साथी देख्नसाथ लाउँला लाउँला झैं मुखै छेउमा पुर्याउने क्या।
हामी मूर्ख मानव घोषित हुन पनि सक्थ्यौं, सायद। तर मास्क! होस् यस बारेमा नबोलम् नै होला हौ।
अम्बागाछीमा साहुनीले मुस्कानसहित लुडोको खाता देखाउनु भयो।
‘ठूलो क्या ठूलो, यस्तो ‘खाते’ होइन काठे चैं चाहिएको’
ए! ए! त्यो अर्कोपट्टि चेस भ’को! त्यो त छैन। भन्ने साहुनीको लुडो वाणी भुइँमा खस्न नपाउँदै मैले – होइन पछाडि चाइनिज चेक्कर नामधारी दानावाला खेल भ’को भन्दिएँ। हामी हास्यौं र खाली हातसहित रिटर्न ब्याक भयौं।
अब ?
अब के गर्ने त!
अब नगरपलिकाभन्दा अलिकमाथि छ नि, हो त्यहाँ जाने। दाइले फर्माउनु भयो।
त्यहाँ पनि सानी सानी फुच्चीले नबुझिने लुडो देखाएपछि हामी फेरि बाहिरिएका हौं।
सिमसिम पानी परिरहेकै छ। हामी लुडोभन्दा अरु विषयमा गफै गरिरहेका छैनौं।
अलिक माथि पुगेपछि महोदय त्यसैत्यसै रमाउनु भयो।
‘लु यसको त काहानी लेखौं।’
आहा!
‘दाइको नेतृत्वमा लुडो यात्रा।’
दाइको मुस्कान मिल्क टी जस्तै कडक थियो।
‘अब यो यात्राले हामीलाई बेसक्याम्प चोक लैजाँदै छ। त्यतै त्यतै रत्नपार्कसम्म पुर्याउन पनि सक्छ’, भाइजानो!
बजारमा चहलपहल चाहिँ हेर्न लायक छ। मान्छेहरू सल्बलाइरहेका छन्, एकले अर्कालाई हेरेर छक्क परिरहेका छन्। सबै मानिस अनौठा छन्, देखिइरहेका छन्। सबैले मुख छोपेका छन्। महोदयले पनि एउटा मास्क किन्ने रहर देखाउनु भयो। मास्क पनि विभिन्न प्रकारका हुँदा रहेछन्।
‘अहिले खुब चलेको एन नाइन्टी फाइभ नै हान्दिउँ त, हजुर ?’
उहाँ चम्किनु भयो। अघि मैले दिएको मास्कलाई त अघि नै डस्ट बनाएर डस्टबिनमा प्रवेश गराइएछ। नगर डस्टबिनमा त्यो पनि।
नगरपालिकाले चोक-चोकमा तीन रङका डस्टबिन राखेको छ। जसले दिन रात नभनी ‘फोहोर मलाई’ भनिरहेका छन्।
रातो – अजैविक फोहोर,
हरियो – जैविक फोहोर र
निलो – सिसाजन्य फोहोर।
महोदयले कुन रङको डस्टबिनमा आकासे निलो रङको मास्क खसाल्नु भयो , मैले सोधिनँ।
दिदी लुडो छ?
‘काठको वाला मात्र छ,’ नेपथ्यबाट आवाज आयो।
दाइको अत्तालिँदै हो हो त्यै खोजेको भन्ने वाणी भुइँमा खस्न नपाउँदै , ‘मैले काठकै लाने र! भनें।
महोदयले यस्सो आँखा सन्काउँदै , ‘खै हेरम न त , कस्तो रै छ’ भनेपछि भित्रबाट आयो चार वाइ चारको काठको लुडो खेल मैदान।
आजकल पसलमा भित्र छिर्न मनाही छ। ढोकामा तगारो हालिएको छ। कहीँ तारले बारिएको छ। कहीँ डोरीले। विक्रेता भित्र, क्रेता बाहिर। अलग्गै – अलग्गै।
अन्ततः हामीले लुडो बोर्ड हात पार्यौं र फर्कियौं विथ काठे लुडो बोर्ड।
अब चट्ट भोलिबाट मगका मग ब्ल्याक कफी च्याँखे थाप्ने हो। छक्का, पोट!