गाउँ–घरमा असारको चटारो छ। ‘मानो रोपेर मुरी फलाउने’ यो महिना किसानहरू खेतका गरा र आलीमै दिन बिताउँदैछन्। धान रोप्ने यो मनसुनी मौसम रसिलो मात्र छैन कि हिलाम्य अनि मनोरम पनि उस्तै छ।
लाठे र रोपहार खेतका गरामा टल्किएका पानीलाई नै ऐना बनाई आफ्ना अनुहार हेर्छन् र मुस्कुराउँछन्।
मंसिरमा मुरी थन्काउने मीठो कल्पना असारे मुहारमा झल्किन्छन्।
मौसम उही हो, ठाउँ त्यही हो। गराका हिलो पनि उस्तै। तर, अहिलेको र उसबेला अर्थात् झण्डै तीन दशक अघिको असारे भोगाइमा बिल्कुल बदलाव छ। महशुस पनि उस्तै फरक लाग्छ। यस्तो बदलाब किन आयो होला? यसका धेरै कारण छन्।
तीमध्ये एउटा कारण हो – पर्म। अर्थात् आलोपालो गरेर काम गर्ने चलन। सामान्य बुझाइमा आफ्नो परिवारबाहेक कामका लागि अर्को घर वा गाउँबाट खटिने व्यक्तिलाई ‘खेताला’ भन्ने गरिन्छ । तर, अभ्यासमा भने पर्म र खेतालाको अर्थमा तात्विक फरक छ।
ज्याला दिएर काममा लगाइएकालाई ‘खेताला’ र एक आपसमा आलोपालो गरी काम पूरा गर्न खटिने चलन चाहिँ पर्म हो।
नेपाली शब्दकोश भन्छ–आफू–आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन पर्म हो । ठाउँ–ठाउँमा यसलाई ‘परेली’, ‘पालो’ वा ‘बोझे’ पनि भन्ने गरिन्छ। पर्म गाउँले जनजिब्रोमा झुण्डिएको यस्तो लोकप्रिय शब्द थियो, बच्चादेखि वृद्धसम्मले यसलाई सजिलै बुझ्थे।
तल्लो घरको खेतबारी खन्न होस् वा रोपाइँ गर्न, माथ्लोघरे परिवारले दिनभरि सहयोग गरिदिने। छेउघरेले लाठे ल्याइदिने, माझघरेले रोपहार। पुच्छर घरेले हलीसहित हलगोरु नै जुटाइदिने। कोही चाहिँ लाठे, रोपहार र हलिसहित डफ्फै आइदिने। बाउसे गर्ने पनि पर्म। रोपहार पनि पर्म। दाँदे लाउन पर्म। खेत उघ्लाउने पनि पर्म अनि ब्याडे (बीउ काँढ्ने) पनि पर्म नै।
बाली लगाउन मात्र होइन, थन्क्याउन पनि पर्मकै सहारा लिनुपर्ने। त्यसो त, घर बनाउने, आरो लगाउने, दाउरा काट्ने अनि ढिकी कुट्नेदेखि जाँतो पिँध्नेसम्म भारो पर्ममै चल्थ्यो।
कतै एउटाको मेलामा एकैपटक १५ देखि २० जना त कहीँ ६० जनासम्मै पर्ममा मेला आउँथे।
कतिका जगेडामा पर्म रहन्थे। यो साल पर्म तिर्न भ्याइएन भने अर्को याममा साटफेर गर्नुपथ्र्यो। पैसाको मुखै नदेख्ने र ज्याला दिन नसक्ने परिवारका निम्ति त पर्म एउटा सञ्जीवनी नै थियो भन्दा नि फरक पर्दैन। वास्तवमा, एउटा अनिवार्य जीवन पद्धति नै थियो पर्म।
पर्मका रंग र ढंग पनि मौसमअनुसार फरक लाग्थे। असारको एक खालको, मंसिरमा अर्कै प्रकारको। असारमा पर्म लगाउँदा बेंसीका फाँट वा गाउँका कान्ले खेतहरू घुम ओढेका खेतालाले ढपक्कै ढाकिन्थे।
असार १५ बेठीका बाजाले गुञ्जन्थे। सन्हैका धुनमा बाउसे–रोपहार असारे भाका घन्काउँदा खेतका गरा पनि नाँचे झैं लाग्थ्यो।
सबभन्दा रमाइलो त्यतिबेला लाग्थ्यो, जब घरमूलीले सबै खेतालालाई दोपहरे (खाजा), दही–चिउरा अनि चियादानीमा चिया बाँड्न थाल्थे।
अझ मंसिर महिनामा पर्मको मज्जा नै बेग्लै ! धान भित्र्याउन बिटा लगाउनेहरूको ताँती लाग्थ्यो। गोरु हुनेले दाई गर्ने, नहुनेले धानका बिटा चुट्ने। पर्मेलीहरू धान र भुस छुट्याउन नाङ्गलाले बत्याउँथे।
यसरी बत्याउँदा पहाडको चुचुरो झैं सग्ला धानका रासी थुप्रिँदै जान्थ्यो। त्यहीँ रासीको चुचुरोमा अद्र्ध चन्द्राकार हँसिया ठड्याइन्थ्यो। त्यत्तिञ्जेल घाम ढल्किसकेको हुन्थ्यो।
सूर्यको मधुरो आभा अद्र्ध चन्द्राकार हँसिया हुँदै धानको रासीमा ठोक्किँदा साँच्चै सुनौला लाग्थे। बेलुकीपखको रौनक अझ बाँकी नै रहन्थ्यो। सास्ती र सुख सँगसँगै महशुस हुन्थ्यो। रासीका धान बोरामा हालेर बेंसीबाट गाउँ पुग्नुपर्ने। निष्पट्ट अँध्यारोमा छामछाम छुमछुम गरेर धानको भारी बोक्नुपर्ने।
एकैपल्ट नउठे दुईपल्टसम्मै खेप्नुपर्ने। गह्रौं भारी चौतारीमा बिसाएर गफिँदा थकाइ एकछिन भए‘नि मेटिन्थ्यो। जब घर पुगेर ढुकुटीमा धान खन्याइन्थ्यो, पर्म आएकालाई खुवाउन भतेर ठीक्क भइसकेको हुन्थ्यो।
घरमूली आमैले खाना तयार भएको जानकारी दिएपछि पर्मेलीहरु मजेरीदेखि चुलासम्म लस्करै बस्थे।
एकसाथ सबैका थालमा मगमगाउँदो मनसुली चामलको भात, दाल, तरकारी र चट्ट परेको अचार। त्यसपछि दही अनि दूधको पालो। खाना खाइसकेपछि मजेरीमा ठट्यौली र रमाइला कुरा हुन थाल्छन्। रात घट्किन थालेपछि सबै आ–आफ्ना घर जान्छन्। त्यो दिनको पर्म सकिन्छ।
यही रित भोलिपल्ट, पर्सिपल्ट हुँदै झण्डै एक महिनासम्म चल्ने गर्छ। एकजनाले सबैको पर्म भ्याउन दुई महिनासम्म बित्न सक्छ। तर, योचाहिँ ठूलो र सानो परिवारअनुसार हुन्छ। पर्ममा प्रायः खाजा दिने चलन हुन्छ। यसरी पर्ममै नेपालको गाउँले कृषि जीवनको चक्र पूरा हुने गर्छ।
नेपालका प्रायः पहाडी जनजीवनमा पर्मको चलन चलायमान थियो। अहिले पनि केही ठाउँमा कुनै न कुनै स्वरूपमा यो चलन ज्यूँदो छ। पर्म लगाउन ओखलढुङ्गाको रुम्जाटार अहिले पनि प्रख्यात छ । जहाँ माइती र चेली जुटेर एकअर्कामा पर्म लगाउँदै पर्मेली गीत गाउने गर्छन्। रुम्जाटारको यो मौलिक विशेषता नै हो। चेलीले कोशेली दिएपछि माइती पर्म लगाउन तयार हुने र माइतीको समेत रोपाइँ सकेपछि अन्त्यमा हुक्काइ (भोज) खाएर कोदो रोपाइँ सक्ने त्यहाँको चलन छ। यो परम्परा त्यहाँ सदियौंदेखि चलिआएको मानिन्छ।
पर्म कति प्रभावकारी हुँदोरहेछ भन्ने जीवन्त उदाहरण नुवाकोटको किस्पाङ गाउँपालिकालाई लिन सकिन्छ।
त्यहाँको काउले र भाल्चेका भूकम्पपीडितले पुनःनिर्माणमा पर्मा चलाए । श्रमदानमा पर्म गरेरै एक अर्काका घर निर्माण सम्पन्न गरे ।
पर्मको यस्तो मर्म हुँदाहुँदै पनि अहिले अवस्था बदलिएको छ। आजकालको कृषि कर्म पर्ममा भन्दा ज्यालामा चल्न थालेका छन् । उसो त, ज्यालामा पनि मान्छे पाउन धौ–धौ छ । किनभने गाउँमा युवा उस्तो छैनन् । कि सहरमा छन् कि त विदेशमा ।
यसैले पर्म रीति बिस्तारै लोप हुँदै जान थालेको अनुभूति हुन्छ । यो हुनुमा गाउँहरु आधुनिकताको खोजीमा सहरीकरण हुँदै जानु हो । जति सहरीकरण हुँदै जान्छ, मानिस सामूहिकभन्दा व्यक्तिवादी बन्दै गइरहेका देखिन्छन् । लाखौंबीच पनि एक्लो महशुस गरिरहेको छ मानिस । अर्को कारण हो, औद्योगीकरण र यान्त्रीकरण । दाँदे र हलो जोतिनुको सट्टा खेतका गराहरूमा ट्याक्टर कुद्न थालेका छन्।
दिनभरि १५–२० जनाले जोडतोडले चुट्ने धान/गहुँ थ्रेसर मेसिनले एकाध घण्टामै काम तमाम् गरिदिन्छ। अनि बिस्तारै मानिस पर्म भुल्दै जान थाल्छ। अहिलेसम्म आइपुग्दा नयाँ पुस्ताले त पर्म शब्द झुक्किएर पाठ्यपुस्तकमा मात्रै पढ्लान्।
अब के त ? पुरानो रीत थियो, पर्म हराए हराओस् भन्ने त ? के यसको औचित्य सकिएको हो ? मेरो विचारमा पर्मको औचित्य सकिएको छैन, बरु यसको आवश्यकता अझ बढेर गएको छ ।
हुबहु नहोला, स्वरूप केही बदलिएला तर नेपालको सन्दर्भमा पर्मको मर्मलाई अझ आत्मसात गर्नुपर्ने हुन्छ। वास्तवमा, हराउँदै गएको पर्ममा पुनर्जागरण ल्याउनु पर्नेछ। किनकि, कृषिप्रधान देशमा कृषि क्रान्ति हुनु नै छ। तर, व्यक्तिवादीपनले यो सम्भव नहुन सक्छ । विदेशिएका लाखौं युवा कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीले गर्दा यतिबेला नेपाल फर्किने क्रममा छन्।
यता, बाझो खेतबारी फेरि जोत्नु छ, उर्बर बनाउनु छ । उत्पादन बढाउनु छ । यसका निम्ति सामूहिक खेती प्रणाली, वैज्ञानिक उत्पादन र हाम्रा पुर्खादेखिको सामाजिकीकरणलाई आत्मसात गर्नै पर्छ ।
निःसन्देह समाजमा सामाजिकीकरणको उदाहरण हो पर्म । सामाजिकीकरण यस कारणले कि पर्ममा घर–घरको समस्या एक अर्कामा सुनाउने मौका मिल्छ । समाधानका निम्ति सामूहिक प्रयत्न हुने गर्छ । वास्तवमा, सामूहिक खेतीको अनुपम प्रथा पनि हो पर्म । तर, पर्म प्रथालाई ज्यूँदो बनाउँदै गर्दा हिजो यसमा भएका कमी–कमजोरीलाई पनि त्याग्नु उचित हुन्छ ।
खेतको डिलमा बसेर मुखियाले हलिया, कमैयालाई काम लगाएर आफ्नो भकारी मात्र भर्ने हिजोको सामन्ती प्रथा अब दोहोरिनु हुँदैन।
देशका केही स्थानमा यो प्रथा अझै पनि अस्तित्वमा रहेको खबरहरू आइ नै रहेका छन्।
युवाहरू प्रशस्त जमिन भएमा स्वदेशमै कृषि गर्न तयार रहन्छन्, मूल कुरा उनीहरूलाई जमिन उपलब्ध गराउने सरकारी नीति हुनु पर्छ। त्यसो त, नारी–पुरूषबीच समान श्रममूल्य हिजोको पर्ममा थिएन। एक लाठे (पुरुष)बराबर दुई रोपहार (महिला)को हिसाब गरिन्थ्यो। उत्ति समय उही श्रम गरेका पुरूष–महिलाबीचको भेदभाव हटाएर पर्म रीतिलाई ज्यूँदो तुल्याउनु अहिलेको आवश्यकता हो।
आधुनिकताको खोजीमा वैयक्तिक निराशामा जकडिएर एकाङ्की बनिरहेको समाजलाई फेरि पर्मले जगाउनु छ। समाजलाई एकीकृत र बलियो बनाउनु छ। त्यसैले पर्ममा जाँदा असारे गीत सम्झाउँदै यो लेखको बिट मार्न मनलाग्यो–
छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला ।
बनाइ कुलो, लगाइ पानी, आएर गोडौंला...(१)
होहोरी हो–हो–हो...
बनाइ कुलो, लगाइ पानी, आएर गोडौंला...(२)