हतारहतार ठेलमठेल गर्दै भीड छिचोलेर सूचना-पाटी नेर पुगेँ। मेरा औंलाहरू सूचना-पाटीमा टाँसिएको कागजमाथि सल्बलाउन थाले।
सूचना-पाटीमा आफ्नो नाम देख्न आतुर मेरा आँखाले औंलाहरू पछ्याइरहेका थिए। तर औंला कतै टक्क अडिने ठाउँ नपाएपछि क्रमशः आँखा तिरमिराउन थाले। ज्यान गलेर आयो, हात खुट्टा काम्न थाले, निधारमा चिटचिट पसिना आयो।
मेरो त्यो भावमा अरूको आँखा नपर्दै भीडबाट म अलग्गिएँ। केही पर पुग्न नपाउँदै साथीले बोलाएको सुनेर परक्क मुन्टो बटारेर पछाडि हेरेँ।
साथी हात हल्लाउँदै 'म त फस्ट भएँ नि' भनेर चिच्याउँदै मलाई पछ्याइरहेको थियो। म चाहन्थेँ त्यो माहोलबाट टाढै बसूँ। किनकि उनीहरूसँग खुसी साट्न मसँग केही थिएन। म मात्रै त्यहाँ रुझेको बिरालोजस्तो लुत्रुक्क परेर अरूको अघि मुख देखाउन लाज लागेर छेउ लागको थिएँ।
'ल बधाइ छ' मेरो मुखले गाह्रो मानी-मानी साथीका लागि शब्दहरू खर्चिए। मेरो वाक्य भुइँमा खस्न नपाउँदै 'ल धन्यवाद' थमाएर साथी त्यहाँबाट आफ्नो बाटो लाग्यो। उसको खुसीमा आफू पनि सामेल भएजस्तै देखाउन फुंग उडेको मनसँगै अनुहारमा खुसीको भाव झल्कने गरी कृत्रिम रङ पोत्ने कोशिसमा थिएँ म।
स्कुलको गेटबाट बाहिर निस्किएँ। घरतिरको बाटो हेरेँ। पैतालाहरु अँतिला भए। मन गह्रुङ्गो बनाएर ज्यानलाई जबर्जस्ती घिस्याउँदै अगाडि बढेँ। हिँड्दै गर्दा मनमा कुरा खेल्न थाले। बालापनका स्मृति भुमरीझैं मानसपटलमा घुम्न थाले। भोगेका ठक्कर र हन्डरको जोड घटाउ हुन थाल्यो। झिनामसिना सबै स्मृतिहरू मडारिन थाले।
तीता-मीठा सबै अनुभवले झझल्को दिने क्रममा सानो छँदा आगो र तातोपानीले पोलेको अनि चक्कुले काटेको र त्यसबाट सिकेका पाठदेखि अहिलेको यो तेस्रो भल्ड्याङले पनि आँखा उघार्न नसकेको समेतका कुरा समेटिए।
यी घटनाबाट आर्जित पहिलो अनुभवबाट नै मैले पाएको ज्ञान र शिक्षाका साथै ती घटना जसले जीवनभर मेरा गुरु बनेर मलाई सिकाउन कहिल्यै थाकेनन्, यी कुराको पनि लेखाजोखा भयो।
ती घटनामा पनि अधिकांशले मेरा गुरु बनेर अज्ञानताको पर्दा उघारेर ज्ञानको संघार टेक्ने कोशिसमा अनवरत लागिरहे। तर थोरै घटनाले मात्र मलाई रित्तो हात गराए। मेरो गुरु बन्न नसकेको आजको घटना पनि एक थियो।
आज पहिलो पटक घरदेखि विद्यालयको दुरी लम्बिए पनि हुने थियो भने सोचेँ। जहिले स्कुलबाट हिँड्दा घर कहिले पुगूँ लाग्ने। तर आज घर नआइदिए हुन्थ्यो, टाढा भइदिए हुन्थ्यो जस्तो महशुस हुन थाल्यो। गह्रुँगा पाइलाले ज्यानलाई बल गरेरै भए पनि घिसारिरहेको थिए।
घर पुग्दा हजुरबुवा पिँढीको भित्तामा आडेस लगाएर केही पढ्दै हुनुहुन्थ्यो। आमा बार्दलीमा लुगा सुकाइरहनुभएको। बुवा गोठमा भैंसीको थरीमा सोत्तर हाल्दै।
'बाबु आज तेरो रिजल्ट हैन, के भइस्, पहिले जस्तै त गुल्टिस् होला नि अहिले नि?' कानमा डोरीले बेरेको चश्मा निकालेर किताबमाथि फ्यात्त फ्याँक्दै हजुरबुवाले भन्नुभयो।
मैले आमाबुवालाई हेरेँ। आमाबुवा काममा जुटिरहेका हात रोकेर हजुरबुवाको त्यो आंशिक उत्तर मिसिएको प्रश्नको प्रत्युत्तरको प्रतीक्षामा हुनुहुन्थ्यो।
मैले 'हो' को भाव झल्किने गरी मुन्टो हल्लाएँ। तर मेरो शिर धानिन सकेन, टेको माग्यो। टेको लाइदिने भनौं वा त्यो बेला सान्त्वना दिने मैले कोही पाइनँ। किनकि म योसहित तेस्रो पटक परीक्षामा असफल भएको थिएँ।
बेलुकीको खानाका लागि सबै भान्सामा जमघट भयौं। आमाले टेबलमा राखिदिएको खाना आफूतिर तान्दै हजुरबुवाले भन्नुभयो, 'हेर त, कान्छी अहिले नि फस्ट भइछ। तँ जहिले फेल, तैंले त गरी खान्नस् के हो? आस लाग्नै छाड्यो हामीलाई त तेरो।'
मेरै कारणले मेरी बहिनी आफ्नो त्यो सफलतामा पनि खुलेर घरपरिवारसँग खुसी साट्न सकिरहेकी थिइन। ऊ घोसे मुन्टो लगाएर भात खेलाउँदै थिई। त्यही बेला मेरो नजर बुवाको नजरमा गएर ठोक्कियो। यसअघिका मेरा दुइटा रिजल्टको बुवाबाट भएको भव्य स्वागतको सम्झना अझै ताजा छ।
तर यो पटकको परिस्थिति मैले सोचेभन्दा भिन्न बनिदियो। मलाई लाग्थ्यो, त्यतिबेला बुवाले मलाई झपारे हुन्थ्यो, पिटे हुन्थ्यो। बुवाको त्यो मौनताले मलाई अटसमटस गरायो। बुवाको आँखामा आँखा जुधाउने कोशिस गरेँ, सकिनँ। बुवाको त्यो मलिन अनुहारसँगै आँखामा टिलपिल आँसु सालिन, सौम्य र शान्त लाग्यो मलाई।
बुवाको आँसु पढेँ। मैले जिन्दगीमा पहिलो पटक केही पढेर बुझेको र मनमा लिएको ज्ञान यही थियो।
बुवाको त्यो अवस्था देखेर मन अमिलो भयो। आज स्कुलको सूचना-पाटीबाट सुरू भएर भान्साको टेबलसम्म आइपुग्दा जिन्दगीका किताबका केही पाना च्यातिए र केही थपिए। यो कुरा पछि मात्रै थाहा भयो।
यत्ति सानो घटना र परिवेशले यति ठूलो परिणाम ल्याउला, जिन्दगीमा कहिल्यै कल्पना गरेको थिइनँ। यो घटनालगत्तै मेरो वास्तविक गुरु जो आफैंमा रहेको पूर्ण क्रियाशीलता, स्वपरिचालित प्रेरणा र आत्मानुभूतिबाट प्राप्ति हुन्छ, सुटुक्क मेरो जीवनमा कतिबेला प्रवेश भयो, मैले पत्तै पाइनँ। मभित्र रहेको गुरु जागेको सुइँकोसम्म भएन मलाई।
यो थियो मेरो जीवनको एउटा घटना जसले गुरुको महत्व उजागर गर्यो। यहाँनेर मलाई यो अर्थमा डर लागिरहेको छ, जिन्दगीको हरेक पाटोमा प्रत्यक्ष भूमिका रहने गुरुको संकुचित महिमा गर्न खोजेर कतै गल्ती त गरिनँ?
परिस्थितिको साथ मनस्थिति सुरू हुन्छ, त्यो सुरुवाती बिन्दुको मुख्य कारक तत्व नै गुरु कृपा हो। भनिन्छ, आमाले जन्म दिन्छिन् र गुरुले जीवन दिन्छन्। आमा यस्ती देवी हुन् जसले आफ्नो सन्तानलाई थप्थपाउँदै सुताउँछिन्। गुरुले सुतिरहेको आफ्नो चेलालाई थप्थपाउँदै जगाउँछन्।
असल गुरु त्यो हो जसले वस्तुमा रहेको सम्भावना खोजेर त्यसको वास्तविक मूल्य निर्धारण गरिदिन्छ। हामी सधैं आफ्नो तारिफ गरिदिने, ढाडस दिने र आफूलाई सहज हुने खालका गुरुको खोजीमा हुन्छौं। वास्तवमा यस्ता गुरुले मुक्ति दिँदैनन्।
यो घटनाले मेरो जिन्दगीमा एउटै मात्र शिक्षा दियो- हामी पूर्ण क्रियाशील हुन्छौं भने हामीलाई साक्षात् गुरूको आवश्यकता पर्दैन, मन मस्तिष्कमा सजाइएको गुरुको एउटा प्रतिमा काफी हुन्छ। यदि हामीभित्र म अनभिज्ञ छु, केही जान्दिनँ भन्ने भाव वा आफैंमा खालिपन महशुस हुन्छ भने हामी सजिलै गुरु नजिक पुग्न सक्छौं।
(लेखक प्रकाश कुमार सिग्देल श्री बालसिद्ध मा.वि, वालिङ–७, केवरे भञ्ज्याङ्, स्याङ्जामा शिक्षक छन्।)