लकडाउन सुरु नहुँदै बुहारी श्रेयाले कलेज बिदा भयो, म केही दिन माइत जाउँकि भन्ने मनसाय देखाइन्। सिराहा निवासी उनको बुवाआमा कामको सिलसिलामा अहिले बनारसमा हुनुहुन्छ। उनी पनि बनारस नै गइन्।
उनी बनारस पुगेको एक हप्ता भित्रै नेपाल इन्डिया दुवै तिर लकडाउनु सुरु भयो। कोरोनाको कहर पनि कम होला, लकडाउन पनि खुल्ला भन्दाभन्दै चार महिना बित्यो। सलहले देखिने गरि आकाश ढाक्यो भने कोरोनाले नदेखिने गरि धर्ती।
'मामु असाध्यै गर्मी भयो, कुनै उपायले आउन सकिदैन काठमाण्डु?' बुहारी श्रेयाले फोनमा भनिन्। बुहारीको चाहना बुझेपछि म पनि लागे कसरी ल्याउने होला भन्ने तिर। बनारसबाट चार्टर प्लेनको सुविधा पनि थिएन। त्यसैले गाडीबाटै आउनु पर्ने भयो।
अर्को जिल्लाबाट आउन त सरकारले पासको व्यवस्था गर्यो तर अर्को देशबाट आउँदा बुहारीलाई अव्यवस्थित कोरन्टाइनमा राखिदेला भन्ने डर मनमा थियो। सुनौली नाका हुँदै मनिशा कोइराला आएको मिडियामार्फत थाहा पाएपछि मैले पनि सोधखोज बढाएँ।
वडाबाट सिफारिस लिईसकेपछि सिडियो कार्यालयबाट पास लिएर जाँदा सिमा नाकामा नरोक्ने कुरा थाहा भयो। इन्डिया पट्टिको नाकासम्म सम्धीज्यूले गाडीमा ल्याईदिनु हुने भयो। भाइसित गाडी मागेँ। लामो यात्रामा कम्मर दुख्ने समस्या भएकोले भाइलाई ड्राईभिङ गर्नको लागि भन्नै सकिनँ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ट्रष्टि तथा केन्द्रीय सांस्कृतिक विभागका प्रमुख राजेन्द्र केसीलाई अनुरोध गरेँ। उहाँले असल मित्रको परिचय दिनुभयो, सकरात्मक उत्तर दिएर। अब समस्या बाँकी थियो सीमा-नाकाको।
रुपन्देहीकै मित्र सांसद बिनोद पहाडीलाई सबै कुरा गरेर सहयोग मागेँ। उहाँबाट पनि सकरात्मक जवाफ नै पाएँ। राजेन्द्र जि र बिनोदजीले सहयोग गर्ने कुरा सुनिसकेपछि 'अंकलहरूसित म जानुभन्दा हजुर जानु' भन्दै छोराले मलाई नै बुहारी लिन जान अनुरोध गर्यो।
लकडाउन भएदेखिनै घरबाट बाहिर निस्किएको थिइनँ। पहिलो पल्ट आवश्यक कागजपत्र लिएर सिफारिस लिन वडा कार्यलय पुगेँ। वडा कार्यलय जनताको सेवाकै लागि हो। मानिसको विभिन्न समस्याको समाधान त्यहीबाट हुने भएकोले लकडाउनमा पनि त्यहाँ भीड नै थियो। आउने मानिस कसैले मास्क लगाएका थिए भने धेरैको मास्क खल्ती भित्र थियो या घरमै छुटेको थियो तर अनुहार भने खाली थियो।
साँघुरो भर्याङ र कोठामा सेवाग्राहीहरू ठेलमठेल गरेर आफ्नो काम गराउन हतारिरहेका थिए। न त कार्यलयले आउनेहरूको लागि सेनेटाइजरको व्यवस्था न त मास्क अनिवार्य। उफ् घर भित्रै बसिरहेकी मलाई कोरोनाले तर्साइ हाल्यो त्यहाँको माहौलमा पुगेपछि। मनमनै भन्न पुगेँ, जय पशुपतीनाथ रक्षा गर मलाई र हामीले चुनेर पठाएका हाम्रा जनप्रतिनिधीहरूलाई।
एउटा वडा कार्यलयको व्यवस्थापनले तर्साएको मेरो मनलाई सिडिओ कार्यलय जाने कुराले झन् डर डर देखायो। तर पासमा आफ्नै नाम हुने भएकोले मैले नै जानु पर्ने होला भनेर त्यहीबाट सिधै सिडियो कार्यलयमा पुगेँ। वडा कार्यलयबाट तर्सिएकी म सिडियो कार्यलयमा पुग्दा भने अलि सन्तोषको साँस गर्न सकेँ।
गेटबाट नै सुरक्षाकर्मीले सोधखोज गरेर पठाएको रहेछ। भित्र पनि हात धुने व्यवस्था गरिएको। सोसल डिस्टेन्सको पालना गरेर उभिएका मानिसहरू।
काठमाडौँबाट बाहिर जानको लागि बाबु, दाजु मरेको झुटो कुरा पनि लिएर पास माग्न आएका मानिसहरू देख्दा भन्न मन लागि हाल्यो खाने मुखलाई जुँगाले छेक्छ र? तर वडाको सिफारिस कसरी ल्याए होलान् यिनीहरूले? साँच्चै अप्ठ्यारो परेर जानेहरूका लागि त यस्ता झुट्टो कुरा गरेर पास लिन आउनेले अप्ठ्यारो पारी हाल्छन् होला नि।
त्यही उभिएर सबै कुरा सुनिरहेका कर्मचारी मतिर हेरेर मुसुक्क मुस्कुराए। कर्मचारी सित मैले भने 'यस्तो झुटो कुरामा पनि पास किन दिनु हुन्छ त?' वडाबाट सिफारिस ल्याउन नसक्नेलाई त फर्काई दिन्छौँ तर वडाबाट सिफारिस ल्याईसकेपछि हामीले नदिन मिल्दैन पास।' म भन्दा अगाडि उभिएका पुरुषले भने 'वडाले नै धेरै ध्यान दिनु पर्ने रहेछ।'
कर्मचारीले फेरि थपे 'यस्ता आफन्तलाई मारेर पास लिन आउने प्रायः सुमो व्यवसायीहरू देखिएका छन्।' 'ए रहस्य त यो पो रहेछ।' हाम्रो गफ सुनिरहेकी अर्की महिलाले भनिन्। 'आफन्तलाई मारेर भएपनि सुमो व्यवसायीले पनि बाँच्ने मेलो गरेछन्। ‘आखिर चार महिना भैसक्यो उनीहरूले पनि के गरून्?' मैले भनेँ।
एउटा कारमा तीन जनालाई मात्र पास दिने भएकोले मैले पनि राजेन्द्र जि र मेरो लागि पास पाएँ। वडाको सिफारिस रुपन्देहीको लागि रहेछ। असार १९ गतेदेखि २३ गतेसम्मको लागि सिडिओ कार्यलयबाट जाने एकतर्फि पास पाइयो।
मित्र विनोद जि र बहिनी कमला रिसालले त एक रात रुपन्देहीमा बसेर भोलिपल्ट फर्कनु भन्ने अनुरोध नै गरेका थिए। होटलमा बस्न आफ्नै मनले मानेन भने अरूको घरमा बस्न आँट आएन। मलाई पो थाहा थियो श्रेया घरको गेटबाहिर पनि ननिस्कि बसेकी थिइन् र आफ्नै गाडीबाट दसगज्जासम्म कतै नओर्लि आउदै थिइन्।
तर अरूको सोचको लागि त उनी इन्डियाबाट कोरोना नै लिएर आएकी पनि हुनसक्ने थिइन्। त्यसैले राजेन्द्र जि सित सबै कुरा अर्थाएर हामी उसै दिन काठमाडौँ फर्कन सक्छौ होला? भनेर सोधेँ। गाडी चलाउने त उहाँले हो, बढी थाक्ने पनि उहाँ नै हो। तर राजेन्द्र जिले पनि उसैदिन फर्कने कुरामा सहमती दिँदै घरबाट लगेकै खानेकुरा बाटोमा खाने सल्लाह पनि दिनु भयो।
२१ गते बिहान चार नबज्दै राजेन्द्र जिको फोन आयो 'तल ओर्लिनु म आइपुग्नै लागेँ।' बाहिर पानी परिरहेको थियो, त्यसैले गाडीको हर्न सुनेपछि म मात्र दौडेर गाडीमा बसेँ। उहाले पाँच मिनेट भनेर फोन गरेपछि नै आधाघन्टाभन्दा बढी लागेको कारण रहेछ बाहिरको पानी र गाडीमा वाइपरले काम नगरेको। उसले सिसाको पानी काट्न नै नसकेर गाडी अगाडि केही नदेखिने भएर गाडी नै पन्चमीको पइला चाल्नेमा पुगेछ।
नागढु्ंगामा पुगेपछि सुरक्षाकर्मीले हाम्रो पास जाँच गरे। नागढुंगामै हामीलाई यता र उता गर्दै आधा घन्टा लाग्यो। बिहानै र पानी पनि परिरहेकोले बाटोमा वाइपर पाउनसक्ने पसल खुलेकै थीएनन्। साना गाडीहरू र ट्रकहरू मात्र बाटोमा भेटिन्थे। विस्तारै विस्तारै मलेखु पुगेपछि त्यहा अर्को वाइपर किन्न त पाइयो तर दोब्बर दाममा।
दोबाटो कुरेर बसेका व्यापारीले अप्ठ्यारोमा परेकालाई त लुट्ने हुन भनेजस्तो लाग्यो। राजेन्द्र जिले त भन्नु पनि भयो 'बढीमा छ सयमा काठमाडौँमा पाइन्छ भाइ, यहाँ एघार सय त अति भएन र?'
'लैजान मन भए लिनु, नभए नलिनु। कहाँ कति पर्छ हामीलाई के मतलब, यहाँ एघार सय नै हो' कस्तो रुखो जवाफ पसलेको। मरता क्या न करता किन्नै पर्यो। वाइपर फेरेर राजेन्द्र जिले चिनेको एउटा बन्द भएको होटल खोल्न लगाउनु भयो।
कोरोनाको डरले होटल नखोलेको कुरा बताउँदै साहुनी बैनीले रातो चिया पकाएर दिइन्। रातो चिया र आफूले लगेको ब्रेकफाष्ट खाएर हामी बाटो लाग्यौँ।
वाइपर बनेपछि गाडीले पनि स्पिड समायो। बाटोबाट श्रेया र बिनोद जि सित पनि कुरा गर्दै गइरहेका थियौँ। हामीभन्दा श्रेयाहरू पहिले पुगे। हामी पुगेपछि के-के गर्नु पर्छ भनेर सोधखोज गरियो। इन्डियाबाट आउनेलाई के-के टेष्ट गर्ने हो जस्तो लागेको थियो।
जाँदा नेपालतर्फ भन्सार अगाडिको पेटीमा सुरक्षाकर्मी, स्वस्थ्यकर्मीहरू लाइनै बसेको पनि देखेँ। दसगजामा पुगेपछि टेन्टमा सुरक्षाकर्मी पुलिस र आर्मी बसेको देखेँ। पुलिसले एउटा रजिष्टरमा के-के टिपीरहेका थिए। मैले पनि त्यही गएर सोधेँ 'हामी काठमाडौँबाट आफ्नु मान्छे लिन आएको के-के गर्नु पर्छ?'
'तपाईको इन्डियाबाट आएको मान्छे को हो बोलाउनुस्' भन्यो। सुरक्षाकर्मीको आदेश पाउनासाथ मैले श्रेयालाई गेट कटेर आउन भने। बुवाछोरी ब्याग र सुटकेस गुडाउँदै आईपुग्नु भयो। त्यहाँ श्रेयाको विवरण टिपाउनु पर्ने रहेछ। ‘वडाको सिफारिस अगाडि आर्मीलाई देखाउनु होला’ भने तीनै विवरण टिप्ने पुलिसले। हामीले त हाम्रो गाडी पार्किङमा राखेर गएका थियौँ तर सुरक्षाकर्मीले गाडी दसगजामै ल्याएर सामान राख्ने अनुमती पनि दिए।
हाम्रो गाडी त्यहीसम्म लगेर सामान राखेर सम्धीज्यूसित बिदाको हात जोड्दै हामी अगाडि बढ्यौँ। अगाडि लाइनै बसेका सुरक्षाकर्मीले रोकेर सिधै सोधे 'इन्डियाबाट आउनु भएको को हो?' ए अब आरटि–पिसीआर टेष्ट गर्छ होला भन्ने लाग्यो। तर परबाट श्रेयाको ज्वरो मात्र टेष्ट गरे।
अर्का एक आर्मी आएर मसित भने 'काठमाडौं जान आर्मीको पास नभई हुँदैन। अगाडि आर्मीको बाट पास लिएर मात्र जानु होला।' ओहो! पिपिई लगाएर बसेका पुरुषहरू र महिला स्वास्थ्यकर्मीहरूको के काम रहेछ त यहाँ? यिनीहरुले सीमापारिबाट आएकालाई टेष्ट गर्नु पर्ने हो नि भन्ने लाग्यो।
सीमाना नाकामा जाँच गरेर मात्र पठाइन्छ भनेर देखाउने दाँतको रुपमा बसेका मात्र हुन् कि के हो जस्तो पनि लाग्यो। श्रेयाको मात्र होइन, कसैको पनि कुनै किसिमको त्यहाँ जाँच गरिएको देखिएन्।
त्यहाँबाट हामी अगाडि बढ्यौँ। सेनासित पास लिनु पर्ने थियो। त्यसको लागि झण्डै एक डेढ किलोमिटर भैरवा तिर लागेपछि देब्रेतिर सेनाको टेन्ट पनि देखियो। त्यहाँ त केही सोध्ला भनेको उहीँ कहाँबाट आउनु भएको? कहाँ जाने? जस्ता सामान्य कुरा। श्रेया गाडीबाट नओर्ली यताबाट लगेको वडाको पास पनि नदेखाइ उनको लागि काठमाडौं आउने पास बन्यो।
'काठमा्डौँबाटै गाडी लिएर आउनु भएको?' टेन्ट भित्र बसेका सेनाले हामीलाई सोधे। 'हो, आफ्नै गाडी लिएर आएको बुहारी लिन' राजेन्द्र जिले जवाफ दिनु भयो।
'गुरुजी, तपाईको नाम के हो?' त्यहाँ अरू मानिसहरू पनि थिए, त्यसैले मैले सोधेँ। 'कसलाई भन्नु भएको?' उनले डटपेन तेर्साउदै राजेन्द्र जिलाई देखाए।
'राजेन्द्र केसी'
'ड्राइभरको मोबाइल नम्बर?'
उफ्! के हो यस्तो? गाडी चलाउने सबै गुरुजी वा ड्राइभर त हुँदैनन नि। गाडी मालिकले पनि आफ्नो गाडी चलाएको हुन्छ भन्ने ज्ञान यिनीहरूलाई किन नआएको होला? त्यसमाथि आफ्नै गाडी लिएर बुहारी लिन आएको भनिसकेका थियौँ। त्यै पनि ड्राईभर भनेर राजेन्द्र जिलाई सम्बोधन गरेको सुन्दा कस्तो नरमाइलो लाग्यो।
अरूले आफूलाई हियाएर कुरा गर्दा कतिसम्म पीडा हुने रहेछ। हामी भाडाको गाडीमा त गएका थिएनौँ गुरुजी, ड्राइभर भनेर सम्बोधन गर्न। कस्तो सोमत पनि नभएको जस्तो लाग्यो तर के भन्ने उनीहरूसित किन ड्राइभर र गुरुजी भन्यौ भनेर कराउने कुरा पनि भएन त।
काठमाडौंमा पनि मलाई सोधेको थियो वडामा पनि र सिडिओ कार्यलयमा पनि तर त्यहाँ गाडी चलाउने व्यक्तिको नाम भन्नु त भनेको थिए। यहाँ त छि के भनेका त्यस्तो जस्तो मनमा लागि रह्यो। त्यहाँबाट गाडीसम्म फर्कदा राजेन्द्र जिसित कुरा पनि गरेँ।
'त्यहा किन ड्राइभर र गुरुजी भनिस भनेर विवाद गर्नुभन्दा आफ्नो काम लिनु थियो त्यसैले मैले केही नबोलेको' आफू भित्रको भद्रपन कति सजिलै देखाउनु भयो राजेन्द्र जिले।
हाम्रो पछि-पछि एक हुल इन्डियनहरू पनि पास लिन आए। यिनीहरू सित त कागज पत्र माग्न, सोध खोज गर्ने गर्लान भनेको उनीहरूले पनि सजिलै पास पाए। जहाँ जाँच गरेर मात्र पठाउनु पर्ने हो, त्यहाँबाट बिना सोधखोज दस हात पर बसेर सजिलै पास दिएर पठाएको देखेर अचम्म लाग्यो।
बाटोमा फर्किदा भने सुरक्षाकर्मीहरुले ठाँउठाँउमा रोक्दै पास हेर्दै पठाइ रहेका थिए। पानी परिरहेकोले नारायणघाट र मुग्लिन सडक खण्डमा पहिरो गएर झन्डै एक घन्टा जाममा बसियो। मलेखु आएर फेरि त्यै होटलमा चिया र झोलामा भएको नास्ता गरियो।
नौबिसेबाट उकालो लागेदेखि नै साना गाडी र ट्रकको जाममा परिहालियो। नागढुंगामा के कस्तो चेक गर्ने हो भन्ने लागि रहेको थियो तर त्यहा पनि कागजको मात्र नजर गराउनु पर्यो।
उफ्! मेरो बुहारी इन्डियाबाट यति सजिलै काठमाडौं आइपुग्लिन् भन्ने लागेकै थिएन तर कुनै किसिमको जाँच नगराइ उनी राति नौ बजे घरकै गेट खोल्न आईपुगिन्। उनी त एउटी प्रतिनिधि पात्र थिइन् तर यसरी दौनिक कति भित्रिन्छन र उनीहरूले यसरी बिना जाँचको आउन पाउँदा कोरोना पनि भित्रिएन होला त?
घर आईपुगेर नुवाईधुवाई सकेर विस्तरामा पल्टिएपछि फेरि मनमनै भन्न पुगे- राज्यको काम त हेरेर आईपुगेँ। सीमा क्षेत्रको दसगजादेखि नागढुंगासम्मको कोरोनाको लागि कति खुल्ला छ बाटो भन्ने। अब हे पशुपतीनाथ तिमीले नै बचाउछौ होला नि हामीलाई?