हेलो साथीहरू, सन्चै? अनि कसरी बित्दै छ त नि दिनहरु? ल भन्नुस त, यो लकडाउनमा के-के सिक्नु भो? कुन-कुन नयाँ परिकार पकाउन सिक्नु भो? अनि टिकटकमा फलोवर्स कति पुगे नि? युट्यूबमा कति वटा भिडियो अपलोड गर्नु भयो?
अनि अस्ति भर्खर साथीहरुसँग मिलेर अब त कस्सेर पढ्ने प्लान बनाको होइन? कस्सिदै हुनुहुन्छ नि? भाडमे जाए दुनियाँ, यो लकडाउनमा सबै जिके खाइदिने विचार गर्दै हुनुहुन्थ्यो नि, खादै हुनुहुन्छ नि? अनि लोकसेवाको च्याप्टर-च्यापटरको नोट बनाउने प्लान थियो नि, कुन च्यापटरमा पुग्नु भयो त? तपाई त बाहिर जान भाषा सिक्दै हुनुहुन्थ्यो होइन? कति निखार्नु भो त नि आफूलाई?
सुरुमा एक महिना लकडाउनको घोषणा हुँदा बुरुक्क उफ्रिनु भाको थियो है? पढ्न इनफ टाइम हुने भो, नोट त बनिसक्छ नि... ब्ला, ब्ला…
अँ साच्ची, तपाईले त अलिकति फ्रि टाइम भाको भए, अहिले पढ्न नपरेको भए, अहिले जब गर्न नपरेको भए, कस्ता-कस्ता विषयमा कस्ता-कस्ता आर्टिकल लेख्थेँ, कविता लेख्थेँ, कथा लेख्थेँ, अझ उपन्यासनै लेख्थेँ भन्ने सोच्नु हुन्थ्यो नि! अहिले लेख्दै हुनुहुन्छ नि?
यसो लेखम् कि भनेर लेख्न बस्दा केमा लेख्नी होला भनेर टपिककै खडेरी त परेको छैन नि? कोरोनाले सिकाको पाठभन्दा बढी टपिक दिमागमा नआएर दिक्क लागेको त छैन नि? अब नवराज विकको हत्या बारे लेख्न मन लागेर पनि सबैले लेखिसके, अब म नलेखु भो भन्नि त लागेको छैन नि?
युट्यूबमा आफ्नो फिल्डको वा आफ्नो रुचीको भिडियो बनाएर अपलोड गर्न नि लाइक, सेयर केही आउने होइन, साथीले त्यस्तो राम्रो भिडिओ बनाएर त्यत्रो ग्रुपमा सेयर गर्दानी खै त १००, २०० भन्दा बढी भिउज भाको होइन भनेर युट्यूब च्यानल दिमागमा मात्र कृयट गरेर बस्नु भाको छैन नि?
ल, अब म दुई वटा फ्याक्ट कुरा सुनाउछु है, हुनत सोध्न र लेख्न मन लागेको त माथिको मात्रै हो तर क्यार्नु त्यति लेखेर मात्रै मेरो आर्टिकल छापिदैन, अब यथार्थ भनेर त फेरि त्यस्तो साइन्टिफिक फ्याक्ट, डाटा साटा त होइन है फेरि, अब यो लकडाउनमा त्यति धेरै फुर्सद कहाँ? मिम् पनि त पढ्नै पर्यो हास्नै पर्यो, बाच्नै पर्यो।
सायद अहिलेसम्म मैले मिम् दोहोर्याई, तेहेर्याई नपढेको भन्नी छैन तर त्यही न्युज फिडमा आइरहने नागरिकता, लैंगीक समानता आदिको समाचार र आर्टिकल भने पढुँ/पढुँ लागेनी ह्या होस्, पढेर नि के पो हुन्ने हो र भनेर कति छोड्दिएँ, छोड्दिएँ। तर कुनै-कुनै मन लगाएरै पढ्छु है। आखिरी फेसबुक र टुइटरलाई अलि-अलि अरुले लेखेको समाचार र आर्टिकलबाटै भएनी मलजल गर्नै पर्यो।
अब दुई वटा फ्याक्ट कुरा सुनाउछु भनेर के-के लेख्या भन्नु होला, के गर्नु? मेरो राशी मिथुन, मिथुन राशीको तत्व वायु हो रे, अलि अलि उड्ने खालका।
अँ साच्ची, तपाइँले थाहा पाउनु भो 'केही सर्जकहरुले लकडाउनमै उपन्यास तयार पारेछन्, सुबिन भट्टराईले दिनको बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म लेखिरहन्छन्।'
कस्तो के है? यहाँ आफुले एउटा किताब पढि नभ्याएको बेला, उता कसैले उपन्यासनै लेखी भ्याएछन्। कस्तो डिप्रेसनमै लैजाला जस्तो न्यूज क्या तर खैर केही छैन, अब साथीलाई फोन गर्न पर्छ, केही पढ्या छैन यार, लास्टै बोर भईराछ, केही प्रगति भएन यो लकडाउनमा भन्ने रिप्लाई आईहाल्छ, अनि त्यस्तो जाबो डिप्रेसन सिप्रेसन त छु मन्तर।
युट्यूबका अनुसार लकडाउनका समयमा मान्छेले नयाँ सीप सिक्ने किसिमका भिडिओ सबैभन्दा धेरै हेरेका छन्। यसमा ‘स्टेप बाइ स्टेप’ र यो कसरी गर्ने, भन्ने ‘हाउ टु डु’ किसिमका भिडियो अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशत लामो समय हेरिएको युट्यूब प्लेटफर्मले जनाएको छ।
बीबीसीका एसइओ विशेषज्ञ नलिना एगर्ट भन्छिन्, 'यहाँ यो कसरी गर्ने, त्यो कसरी गर्ने’ भन्ने जस्ता प्रश्न धेरै छन् जस्तै, ह्यान्ड स्यानिटाइजर कसरी बनाउने, ब्रेड कसरी बनाउने, फेस मास्क कसरी बनाउने, कपाल कसरी काट्ने' आदि।
अनि तपाईले के-के सर्च गर्नु हुन्छ नि?
हुनत हामीलाई अवगत नै छ, अब देशको आर्थिक स्थिति केही धरापमा जाने छ, हामीले सजिलै पाउने रोजगारी सजिलै पाउने छैनौँ। हिजो हामीले बनाएको योजना अब काम नगर्न पनि सक्छ, हजुरले बनाउनु भएको बिजनेस प्लान अब फेल खान पनि सक्छ। सबै कुराको दुई वटा साइड हुन्छ रेः पोजेटिभ र नेगेटिभ।
यस महामारीले केही नयाँ अवसर त पक्कै छोडेर जानेछ, ती अवसरलाई चिन्न सक्नको लागि तयारी र तत्परता भने आजै जरुरी छ कि क्या हो।
हो, यही कुरा लेखेर मलाई आर्टिकल टुङ्याउन मन लाको हो तर केही कुरा लेख्नको लागि मात्र लेखिन्छ। पहिलो पटक पढ्न नि राम्रै लाग्छ तर ती कुरा अरुबाट पाएको मोटिभेशन जस्तै हुन्छ जसले एकछिनभन्दा काम गर्दैन।
अँ, साच्ची! मैले दुई वटा यथार्थ भन्छु भनेको थिए कि क्या है, अब हेर्नुन, त्यो बाचा नि पूरा गर्न सकिनँ। अब के गरुँ? जबरजस्ती मन नलागेको
फ्याक्ट लाएर प्रस्तुत गरुँ कि, ह्या जेसुकै होस्, भनेर चील बसिदिउ? भन्नुको मतलब के भने, अहिले म आफूले गरेको बाचा पूरा गर्न नसकेकोमा दुखी छैन। बरु म त चील बसिराछु। आखिरी निराश हुनुभन्दा चील भएर बस्दा पनि त रोगसँग लड्ने क्षमता बढ्छ, अहिले यत्ति मात्र गर्नु सक्नुनै सबैभन्दा ठूलो उपलब्धि होलानी। कि कसो?
आकाशको तारै झार्न पर्दैन, मैले यस समयलाई उपयोग गर्न सकिनँ भनेर चिन्ता लिनु पनि पर्दैन। आखिरी आफ्ना परिवारसँग बिताएका पलले पनि त खास अर्थ राख्छ नि। आफ्नो आमा, बुवा, भदा-भदै, छोरा-छोरी हाँस्दा गालाको मासु कुन ठाउँ दोब्रिन्छ भन्ने कुरा जान्दा पनि सिक्नुनै हो।
यो फूलको नाम यो रहेछ, यो बोटको नाम यो रहेछ भन्ने जान्नु, यति खेतमा कति हलको गोरु लाग्ने रहेछ भन्ने जान्नु नि सिकाइनै हो। आखिरी सबै सिकाई प्रत्यक्ष रुपमा काममा नआए पनि अप्रत्यक्ष रुपमा काम आईहाल्छ नि।
आमाको सारी लगाएर फोटो खिच्ने फुर्सद यसपछि नपाइन पनि सक्छ, खेतबारीमा काम गरेको पल मोबाइलको ग्यालरीमा मात्रै सिमित हुन नि सक्छ। अब लास्टमा भन्नु होला, टपिकसँग मिल्ने त खासै केही लेख्या छैन त। के खालको टपिक राखेर के लेखेको? आखिरी यस्तै त रैछ नि जीवन पनि।