मेरो एक जना म्यानुअल नाम गरेको साथी छ। ऊ ५५ वर्ष भयो। उसका आमाबुवाको निधन भइसक्यो र ऊ अहिले एक्लै बस्छ।
हामी सँगै काम गर्छौं। पेसाले ऊ रेस्टुरेन्टमा सेफ हो।
५५ वर्षको हुँदा पनि किन बिहे नगरेको भन्ने प्रश्नमा उसको जवाफ हुन्छ, 'बिहे गर्यो भने श्रीमती पाल्नुपर्छ। घर खर्च बढ्छ। अनि अर्काको दास होइन्छ। त्यसैले मैले बिहे नगरेको।'
अरू कसैले पनि बिहे गर्नु हुँदैन भन्ने उसको धारणा छ।
अर्को एक जना जोस नामको साथी बिदा मनाउन ७ दिन बार्सिलोना, पेरिस हुँदै एम्सटरड्यामसम्म पुगेर फर्कियो। ऊ पनि ३५ वर्षीय सिंगल केटा नै हो।
मैले सोधेँ, 'यत्रो रमाइलो यात्रा एक्लै जाँदा के रमाइलो भयो? कमसेकम एक जना बोल्ने साथी त हुनु पर्थ्यो?'
उसले भन्यो, 'म कहाँ एक्लै थिएँ र? लिस्बन एअरपोर्टमा खचाखच मान्छे थिए। प्लेन पूरै भरी थियो। बार्सिलोनाको किनारमा हजारौं मान्छे थिए। अनि एम्सटरड्याममा मजस्तै पर्यटक भेट्टाएँ। सँगै गाँजा तानियो। पेरिसको आइफल टावरमा पनि निकै रमाइलो भयो।'
हामीलाई लाग्छ, जीवन काट्न जहान परिवार हुनै पर्छ। हरेक ठाउँमा साथी अनिवार्य छ। तर युरोप, अमेरिका, अस्ट्रेलिया, जापान लगायत केही मुलुकको जीवनशैली हेर्दा लाग्छ- जीन्दगी जसरी पनि चल्दो रहेछ।
अब नेपाली परिवेशका केही उदाहरण हेरौं।
एक जना ३५ वर्षका युवकको असमायिक निधन हुन्छ। सारा आफन्त इष्टमित्र, गाउँले भेला हुन्छन्। माहोल एकदमै सुनसान, सबै शोकाकुल।
अर्कातिर उनकी अधवैंशे श्रीमती अनि साना दुई सन्तान। अल्पायुमै बितेकाले सबैलाई चिन्ता छँदैछ। अब उनका सन्तान र श्रीमतीको भविष्य के होला? सबैका आँखामा यही प्रश्न देखिन्छ।
सबै मौन छन्। यत्तिकैमा एक जना वृद्धा आमा लामो सास फेर्दै बोल्छिन्, 'के गर्ने बाबै, भावीको लेखान्त यही रहेछ। टुहुराका पनि दिन आउँछ भन्छन्। अब जे नहुनु भइगो, पिर मानेर के गर्नु। अब यी प्युसा (छोराछोरी) लाई भगवानले केही न केही बाटो देखाऊलान्।'
त्यो बेला ती आमाले सबै आशा भगवानमाथि थोपरी दिइन्। अहिले महशुस हुन्छ, ती आमाको आशय जिन्दगी जसरी पनि चल्दै जान्छ भन्ने रहेछ।
एक जना १८ वर्षीया युवतीको बिहे हुन्छ। उनलाई आफ्ना लोग्नेका परिवारलाई 'रिझाउन' नसकेको आरोप लाग्छ। केटा पक्षबाट धेरै गुनासो आयो।
'कस्ती आमाले हुर्काएकी, कस्तो संस्कारमा हुर्केकी छोरी हो यो, यस्तो पाराले जीन्दगी चल्दैन' आदि इत्यादि।
पछाडि ती युवतीलाई माइत बोलाएर सम्झाउने क्रममा बुढा हजुरबुवाले भने, 'नआत्तिऊ, विस्तारै सिक्दै जाली। कमिलाले त दिन काटेर खाएको छ। यो त मान्छे हो। जसो तसो दुई दिनको जिन्दगी बिती जान्छ।'
एक जना इमानदार किसान रहेछन्। उनी मेहनति अनि आफ्ना जहान परिवारलाई धेरै माया गर्थे। उनका एक श्रीमती, तीन छोरा र एक छोरी थिए।
उनले कुनै कसर बाँकी नराखी आफ्ना सन्तानलाई बडो स्नेह साथ हुर्काए। उनी बिस्तारै बुढा अनि कमजोर हुँदै गए। तीन छोरा पनि लक्का जवान भएछन्।
उनी अब के-कसो गर्ने, छोरालाई के काम धन्दामा लगाउने, यिनले जीन्दगी कसरी काटेर खालान् भनेर हरबखत चिन्तामा डुब्दा रहेछन्।
एकदिन बुढाको दिमागमा एउटा उपाय सुल्झेछ अनी सोचेछन्, 'अब म डाँडामाथिको घाम भइसके अब कति नै बाँचुला र? कहीँ कतै म तलमाथि भइहालेँ भने यी छोराले के गरी खालान्? यिनलाई म ज्युँदै हुँदा केही सबक सिकाउन पर्यो।'
यति सोचेर एकदिन बुढा बिहानै झिसमिसेमै कसैलाई केही नभनी मुग्लानतिर भागे। पछि उनका परिवारलाई बा हराएको थाहा भयो।
गाउँ, पल्लोगाउँ, इस्टमित्र संसार खोजे बा भेटिएनन्। प्रहरीलाई समेत खबर गरे, बाको कुनै अत्तोपत्तो पाइएन।
सुरूमा त ठूलो शोकमा डुबे। पछाडि बिस्तारै सामान्य जीवनमा फर्किएर आफ्नो दैनिकी चलाउन थाले।
तीन वर्ष पछाडि बुढा एकदिन बिहान भाले नबास्दै कसैले थाहा नपाउने गरी घर फर्के। सबभन्दा पहिले भैंसी गोठमा गए। बुढा अचम्म परे। उनको पालामा दुइटा भैंसी थिए, अहिले चार वटा भैंसी।
उनी जाँदा एउटा बुढो गोरू थियो, अहिले एकहल गोरू घरमा पालेका। दुइटा परालका टौवा, घरमा पनि कोठा थपेछन्।
बुढाले सोचेका थिए- म नभए यी मरिहाल्छन्।
तर यहाँ त चमत्कार भएछ।
बुढाले मनमन सोचेछन्- बरू म घर भएको भए पक्कै यति गर्न सक्ने थिइनँ। अब छोराहरूलाई व्यवहार सुम्पनु पर्छ। आखिर म भए पनि नभए पनि घर व्यवहार अनि जिन्दगी चल्दो रहेछ।
जीवन दुःखसुखकै सँगालो हो। आशावादी बनौं, सकारात्मक बनौं। सुखी र सार्थक जीवन बाँच्ने कोशिश गरौं।
(लेखक जनक बराल पोर्चुगल बस्छन्।)