बन्दाबन्दी सुरू हुनुभन्दा एक दिन अगाडि काठमाडौंबाट इलाम पुगियो।
करिब १०० दिन घरमा बसेपछि काठमाडौं फर्किनु पर्ने थियो तर काठमाडौं फर्किन सजिलो थिएन।
पहिलो गाडीको व्यवस्था हुनुपर्थ्यो, दोस्रो पास पनि चाहिन्थ्यो। पासको लागि आफू बसोबास गरेको वडामा निवेदन दिएपछि वडाले त पास बनाई दियो त्यो पासले मात्र काठमाडौं जान सम्भव थिएन। त्यो पास जिल्ला प्रशासन कार्यालयमा पेस गरेपछि जिल्ला प्रशासनले पास दिन्छ भन्ने कुरा सुनेकाले वडाले दिएको पास बोकेर जिल्ला प्रशासन पुगें।
जिल्ला प्रशासनमा कार्यरत अर्जुन सरलाई बाबाले फोन गरिदिनु भएकाले मैले उहाँलाई भेटें।
उहाँले काठमाडौंमा आफू बसोबास रहेको वडाको पनि सिफारिस चाहिन्छ भन्नुभयो। अब पर्यो फसाद बिहानको ११ बजिसकेको थियो।
बेलुकासम्ममा झापा झर्नु थियो झापामा गाडी थियो काठमाडौँ जानलाई। इलामबाट झापा झर्ने गाडी थिएन।
रातिसम्ममा तरकारी लिएर जाने गाडी पाइन्छ भन्ने आशा थियो। बिहान ५ बजे झापाबाट काठमाडौं हिँड्ने सल्लाह भएको थियो।
काठमाडौं आफू बसेको वडाको सिफारिस निकाल्न सजिलो थिएन। पास नबनाई काठमाडौं जाने असम्भव।
काठमाडौंमा नै फोन छुटेकाले काठमाडौंमा रहनुभएका साथी कसैको फोन नम्बर थिएन। फेसबुकमा यसो साथीहरूलाई खोजेको अनलाइनमा साथी डासुराम घिमिरेलाई देखें।
उहाँको नम्बर मागेर फोन गरेर वडासम्म गएर पास बनाइदिन आग्रह गरें।
उहाँ उति नै खेर गएर मलाई फोन गर्नुभयो र मेरो सम्पूर्ण विवरण माग्नुभयो। उहाँले वडाको सिफारिस निकालेर मलाई पठाइदिनु भयो। त्यो सिफारिस र उताको वडाको सिफारिससहित एउटा निवेदन जिल्ला प्रशासन कार्यालयमा पेस गरे । त्यतिबेला दिनको १ बजेको थियो।
इलाम जिल्ला प्रशासन भक्तपुरसँग अनुमति लिनुपर्ने भएकाले उहाँहरूले समय लाग्छ भन्नुभयो। बेलुका ४ बजेसम्ममा हुन्छ भन्नुभएकाले म झापा जाने गाडीको खोजीमा लागें।
कोरोना त्रासले बजारमा घुम्ने अवस्था थिएन। साथीभाइ भेट्ने उपयुक्त समय पनि नभएकाले के गरेर समय व्यतित गर्ने होला मन दोधारमा थियो। इलाम क्याम्पस पुगेर फर्किनु पर्यो भनेर जिल्ला प्रशासनबाट झरे तर आधा बाटो पुगेपछि अनायासै क्याम्पस बन्द रहेको सम्झना भयो। त्यसपछि काकाको घर गएँ त्यहाँ पुगेर चिया खाँदैमात्र थिए। फोनको रिङटोन बज्यो, उठाए उताबाट आवाज आयो दिवसजी बोल्नु भएको हो ? मैले हो भने, तपाईंको पास बन्यो लिन आउनुहोस्।
४ बजे बन्छ भनेको पास २ बजे नै लिन बोलाउँदा खुसी हुँदै जिल्ला प्रशासन पुगें। लाइन थिएन। गएर झ्यालबाट पास मागें।
एक जना कर्मचारीले ‘ल यो पास। यति भए तपाईं काठमाडौं छिर्न पाउनुहुन्छ।’
धन्यवाद दिएर फर्किएँ।
फर्किनलाग्दा विपिन भाइलाई भेटें। मेरो झोला बिब्ल्याँटेमा भएकाले उसलाई त्यहाँसम्म पुर्याइदिन भनें।
झापासम्म जाने गाडी बेलुकीमात्र जाने भएकाले हामीसँग अलिकति समय बचेको थियो। त्यसैले हामी दिलिप दाइको घर तोरीबारीतर्फ लाग्यौं।
दाइसँग भलाकुसारी गर्दा थाहा भयो-एउटा गाडी अहिले पोखरा जाँदै छ। जाने भए झापासम्म लगिदिन्छ भनेपछि सुनमा सुगन्ध भयो। बेलुका ८ बजे इलामबाट गाडी हिँड्यो। इलामबाट हिँडेको गाडीलाई बाटोमा कहीँ पनि प्रहरीले रोकेन।
फिक्कल बजारमा त पक्कै प्रहरी हुन्छ सोधिखोजी गर्छ होला भन्ने लागेको थियो। तर फिक्कल पुग्दा पनि रोकेन हामी अगाडि बढ्यौं। इलाम र झापाको सीमाना पुग्दा प्रहरीले गाडी रोक्ने इसारा गर्यो। गाडी रोकेपछि प्रहरीले गाडी चालकलाई कहाँसम्म हिँड्नु भएको भनेर प्रश्न गरे। उनले हाइड्रोको मेसिन बिग्रिएर बनाउन हिँडेको भन्ने जवाफ दिए र आवश्यक कागजपत्र देखाए।
त्यसपछि प्रहरीले म र मेरी श्रीमतीलाई देखाएर तपाईंहरू कता हिँड्नु भएको भनेर प्रश्न गरे।
मैले पास देखाउँदै काठमाडौं हिँडेको गाडी बुधबारेमा छ अहिले बुधबारे जाने भनेर भने। उनले जान अनुमति दिए।
हामी राति १०:३० मा बुधबारे पुगेर बस्यौं।
हामी दुई भाइ किरण चालक भएको कारणले हाम्रो पास थियो। दुई जना मेचीनगरका बहिनीहरू पनि हामीसँगै काठमाडौं जाने रहेछन् तर उनीहरूको पास थिएन। पासमा एउटा गल्ती भएको रहेछ, हाम्रो गाडी नम्बर नै फरक परेछ। बिहानमात्र थाहा भयो। बिहान जति नै छिटो हिँड्न खोज्दा पनि हामी ६ बजेभन्दा अगाडि हिँड्न सकेनौं। चारआलीबाट ती दुई जना बहिनीहरू चढे। हामी गाडीमा पाँच जना भयौं।
मनमा डर भयो सानो गाडी कोचाकोच पाँच जना बस्यौं त्यहीमाथि ३ जनाको मात्र पास थियो। गाडी जहाँ पनि रोकिन सक्ने थियो। हामीलाई फर्काउँछ कि भन्ने ठूलो डर मनमा थियो।
गाडी झापाका प्रमुख सहर विर्तामोड, दमक हुँदै मोरङ पुग्दा पनि बाटोमा कहीँ पनि चेकजाँच भएन। इटहरीमा हुन्छ होला जस्तो लागेको थियो तर कहीँ गाडी रोकिएन। प्रदेश २ प्रवेश गर्दा चेक हुन्छ होला भन्ने लागेको थियो।
अहँ हामी २ नम्बर प्रदेश प्रवेश गर्दा पनि चेक कहीँ भएन। बाटो खाली होला भन्ने लागेको थियो। बाटामा गाडीका लावालस्कर थिए। भारदहमा एक ठाउँमा गाडी रोकेर पास देखाउन भनियो।
म उत्रिएँ, पास देखाएँ। बाटामा बसेका प्रहरीले मास्क मुखमा नलगाएर चिउँडोमा राखेका थिए। हातमा पन्जा थिएन। आवश्यक सावधानी अपनाएका थिएनन्। अब फसियो भन्ने लागेको थियो तर प्रहरीले पास राम्रोसँग हेर्दै नहेरी जानुस् भने।
म चुपचाप गाडी आएर बसें। अघि यही उत्रिनु पर्छ कि भनेर डराएका बहिनीहरू खुसी भए। गाडी अगाडि बढ्यो। अब हामी एउटै निष्कर्षमा पुग्यौं। साँगाबाहेक अरू ठाउँमा गाडी चेक हुँदैन। बर्दिबास आएर खाना खायौं। त्यहाँबाट बीपी राजमार्गतर्फ लाग्यौं। भिमान र सिन्धुली बजार छेउमा गाडी नम्बर, यात्रु सङ्ख्या र गन्तव्य बताएपछि हामीलाई अगाडि बढ्ने अनुमति दिइयो।
ती बहिनीहरू भन्दै थिए,‘दाइ किन पास बनाउनु भएको पासको कुनै काम रहेनछ। एउटा पहेंलो कागज देखाए हुने रहेछ।’
हुन पनि हो कहीँ पनि चेक भएन। हामी धुलिखेल आइपुग्यौं। मैले ती बहिनीहरूलाई भने, ‘तिमीहरूलाई साँगामा चाहिँ झार्छ होला त्यो प्रमुख नाका हो।’
‘त्यहाँ त्यसरी झार्यो भने तपाईंहरू जानुहोस् हामीलाई लिन दाइहरू बाइक लिएर आउनुहुन्छ। बाइकलाई केही भन्दैन रे,’ बहिनीहरूले भने।
बनेपाबाट यता गाडीको ताँती नै थियो। अरूबेला जस्तै जाम। हाम्रो गाडी बिस्तारै अगाडि बढ्यो। साँगा आएपछि एक जना सई कड्किए।
‘खोइ पास। म पास लिएर बाहिर निस्कनलाई ढोका खोलें। ती सईले तपाईं होइन, ड्राइभर आइज’ भने।
ड्राइभरभन्दा अलिक तिरस्कारपूर्ण तरिकाले भनिएको थियो। भाइले मलाई त ड्राइभर पो बनायो त यसले भन्दै गाडीबाट उत्रियो। अब हामी समातियौं। तीन जनाको पास छ। हामी पाँच जना छौं।
गाडी नम्बर पनि अर्कै। पक्कै पनि हामीलाई अप्ठ्यारो पर्ने भयो। सईले पास हेरे जसो गरे। कहाँबाट आउनुभएको भनेर सोधे अनि हाम्रो पास अरूलाई देखाउँदै पास भनेको यस्तो हुन्छ। यस्तै पास लिएर आउने अनि जाने भनेर अन्य पासविहीन गाडीका चालकहरूलाई भने।
हामीलाई काठमाडौं छिर्ने अनुमति हातको इसाराले दिए। हामी अलितल आएर मरिमरि हाँस्यौं। पास कस्तो हुन्छ रे ! यस्तो पास लिएर आउनू रे । बहिनीहरू हाँस्दै त्यही कुरा दोहोर्याइरहेका थिए।