(यदि तपाईलाई थाहा छैन भने निकाब भनेको अरब देशहरुमा महिलाहरुले लगाउने एक थरि पोशाक हो, बुर्का जस्तै। कालो रंगको त्यो पोशाकले महिलाको आँखाहरु बाहेक अरु सबै अंग छोपेको हुन्छ। बुर्कामा आँखाको भागमा जाली जस्तो राखिएको हुन्छ तर निकाबमा आँखाको भाग खाली हुन्छ।
यो कथाको शिर्षक देख्दा पाठकहरुलाई सायद हाँसो उठ्ला। शिर्षक नै त्यस्तै हाँसो उठ्ने खालको छ। पहिलो त निकाब, त्यो माथि पनि कालो चस्मा। तर यो कुनै हाँस्य कथा हैन, न त यो कुनै समुदायलाई व्यङ्ग्य गर्न लेखिएको कथा नै। यो त पीडाको कथा हो, सत्य घटनामा आधारित कथा हो।)
निकाबमाथि कालो चस्मा लगाउने कथाकी पात्र अरु कोही नभएर म आफू नै हुँ। तर मैले रहरले हैन, बाध्यताले निकाब र कालो चस्मा लगाएकी हुँ। मैले कुनै धर्ममा आस्था राखेर या धर्म परिवर्तन गरेर निकाब लगाएकी हैन, न त कुनै नयाँ फेसनको लागि मैले यसो गरेकी हुँ। पूरै अनुहार छोप्ने मन भए बुर्का नै लगाए भै’गो नि किन चस्मा लगाउनु पर्यो भन्नुहोला, तर बुर्काभन्दा निकाब अलि सजिलो हुने हुनाले निकाब र त्यो माथि चस्मा लगाएकी मात्र हुँ।
अहिले म एउटी एकल महिला हुँ, लोग्नेसँग सम्बन्ध विच्छेद गरेर बसेकी महिला। मेरो एउटा छोरो पनि छ तर उ पनि मसँग छैन, उसकै बाबुसँग बसेको छ। उनीहरु मसँग बस्न नमानेर हैन, म नै आफै उनीहरुसँग छुट्टिएर बस्ने निधो गरेकी हुँ। यसमा उनीहरुको केही दोष छैन, मैले नै सम्बन्ध विच्छेदको प्रस्ताव राखेकी हुँ अनि कहिले भेट नगर्ने वाचामा हामी आ-आफ्नो बाटो लागेका हौँ।
अहिले मेरो सम्पर्कमा मेरा परिवारका कुनै पनि सदस्य र मेरा पुराना साथीहरु छैनन्। मलाई उनीहरुसँग भेट्ने हिम्मत छैन। म कहाँ बस्छु, के गर्छु कसैलाई थाहा छैन। म यसैगरि एक्लै गुमनाम भएर बाँचेकी छु।
म एक शिक्षित महिला हुँ। अंग्रेजी विषयमा दुई पटक ब्याक लागेर तृतिय श्रेणीमा भए पनि मैले बीए पास गरेकी छु। बीए पढ्दा पढ्दै मेरो मागी बिहे भएको थियो। जीवन राम्रैसँग चलेको थियो, अन्य सामान्य मानिसहरुको जस्तै। तर मेरो मनमा एउटा समस्या थियो- पैसा कमाउने इच्छा। खान नपुग्ने परिवार थिएन तर धेरै पैसा कमाएर सबैलाई देखाउने गरि रवाफको जिन्दगी बिताउने इच्छा थियो।
मेरो लोग्ने गाउँकै प्राथमिक स्कुलमा शिक्षक थिए र त्यो पनि अस्थायी शिक्षक। मेरो केही इलम थिएन। छोरो स्कुल जाने भैसकेको थियो, त्यसैले म घरमा एक्लै हुन्थेँ। आफ्नो पढाइप्रति मलाई अलि घमण्ड पनि थियो। बीए पास गरेर पनि त्यत्तिकै बस्नु पर्दा मलाई आफूले पढेको व्यर्थ भयो जस्तो लाग्थ्यो। केही न केही गर्ने जोस थियो तर के गर्ने थाहा थिएन।
लोग्नेको तलबबाट आएको पैसाले घर खर्च धान्ने बाहेक अरु केही हुँदैनथ्यो। मैले उनलाई जागिर छोडेर बरु कतै विदेश कमाउन जाने भनेर आग्रह गर्दा उनले आँट गरेनन्। अलि डरपोक थिए अनि कुनै खतरा मोल्न नचाहने खालका।
उनले आँट नगरेपछि उसो भए ‘म आफै जान्छु’ भनेर म नौलो संसारको परिकल्पना गर्दै घरेलु कामदारको रुपमा तीन वर्षको लागि विदेश गएँ। उनले पनि बिरोध गरेनन्।
एउटा धनि मान्छेको घरमा काम गर्ने जागिर थियो। पहिले-पहिले त ठिकै थियो तर त्यो घरको जेठो छोरोले मलाई निशानामा पारेको कुरा मैले अनुभव गर्न थालिसकेकी थिएँ। उ मसँग नजिकिन खोज्थ्यो, मलाई छुन खोज्थ्यो तर मैले वास्ता नगरेर आफ्नो काम गरिरहेकी थिएँ।
त्यो कुरा मैले अरु साथीहरुलाई भनेपछि उनीहरुले त्यो काम छोड्ने सल्लाह दिएका थिए। तर म आफूलाई शिक्षित, आत्मविश्वाशी र निडर ठान्थेँ। फेरि काम फेर्न त्यति सजिलो थिएन। त्यसैले डरलाई दबाएर मैले त्यो काम जारी राखेँ। सबैले निकाब लगाउने त्यो देशमा बाहिरको देशबाट गएका हामी जस्ता घरेलु कामदारहरुले सबै छोपेर लगाउँदा पनि सायद उनीहरुलाई सह्य हुदैनथ्यो।
उ विवाहित थियो तर आफ्नी श्रीमती हुँदाहुँदै पनि उसले मलाई आँखा लगाएको थियो। म उसवग बचेरै काम गरिरहेकी थिएँ तर एकदिन म उसको पञ्जामा परेँ।
त्यो दिन म दोश्रो तल्लामा बैठक सफा गर्दै थिएँ। घरका मानिसहरु सबै तल्लो तलामा थिए। उ माथि आयो, कोठा सफा गरिदिन बैठकबाट मलाई अर्को कोठामा लग्यो र मलाई समात्यो। उसको चालचलन देखर मलाई डर लाग्यो। उसले मलाई चुप लाग्न इशारा गर्यो। म उसको हात फुत्काउन तिर लागेँ।
सुरुमा त उसले अलि माया देखाए जस्तो गरेर मलाई फकाउन खोज्यो तर मैले मानिनँ। अनि आफ्नो खल्तीबाट पैसा निकालेर मलाई दिन खोज्यो मैले त्यो पनि इन्कार गरेँ र उसको हात फुत्काएर कोठा बाहिर निस्कन खोजेँ। तर उसले फेरि मेरो हात तानेर मलाई बाहिर जान दिएन र कोठाको चुकुल लगायो। म चिच्याउन थालेकी थिएँ तर उसले तुरुन्तै आफ्नो हातले मेरो मुख च्याप्पै छोपेर कुनै आवाज बाहिर जान दिएन अनि अर्को हातले आफ्नो खल्तीबाट एउटा रुमाल निकालेर मेरो मुखमा त्यसैले पट्टी लगाइदियो।
उसले त्यति बेलासम्म पनि मलाई अनुरोध गरेझैँ गर्दै थियो। तर मैले उसले बाँधेको पट्टी खोलेर चिच्याउने प्रयास गर्न थालेपछि भने उ रिसायो र मलाई गालामा एक झापड लगाएर मलाई धकेलेर भुइँमा लडायो अनि मुखमा आधा खुलेको पट्टी म बोल्न नसक्नेगरी भाधिदियो र मेरो शरीरका कपडा लछार पछार् गर्दै फुकालेर आफ्नो प्यास बुझाउन थाल्यो।
मैले भुइँमा नजिकै सिसा बोतल देखें र हातले तानेर उसलाई टाउकोमा हिर्काएँ। उसले टाउको छाम्यो तर उसलाई चोट लागे पनि खासै केही भएन, मेरो बल पुगेन होला। त्यसमाथि उ निकै बलियो र हट्ठाकट्टा थियो। हातले टाउको छाम्यो र निकै रिसाएको नजरले मलाई हेर्दै मेरो हातबाट बोतल खोसेर उसले पर फाल्यो र आफ्नो काम सुरु गर्यो। म रिस र पीडाले छटपटाएँ तर त्यो दानवको अगाडि मेरो केही लागेन, उसले मेरो शरीरबाट आफ्नो प्यास मेटायो।
आफ्नो काम सकाएर उ उठेर कपडा मिलाउँदै थियो। उसले मेरो हातबाट खोसेर बोतल फाल्दा बोतल फुटेको थियो। म रुँदै भुईँमा लडिरेहेकी थिएँ। फुटेको बोतल देखेपछि मेरो जोस आयो। अनि जुरुक्क उठेर त्यही फुटेको बोतलले समातेँ। चुकुल खोलेर उ बाहिर निस्कनै लागेको थियो, मैले उसलाई पछाडिबाट लात्तिले हानें। रो लात्तीको बलले गर्दा उ ढोकामा उछिट्टिएर बाहिर लड्यो अनि म गएर भुइँमा पल्टेको उसलाई त्यही बोतलले छातीमा हानेँ।
उ निकै बलियो थियो। अलि अलि चोट त लाग्यो तर उसलाई खासै केही भएन बरु मेरो उ चिच्यायो र मेरो हातको बोतल खोसेर मलाई नै पछारेर मेरो अनुहारमा हान्न थाल्यो।
मैले आफ्नो मुखको पट्टी निकालेर फालिसकेकी थिएँ, उसले मलाई हान्न थालेपछि म पीडाले चिच्याएँ। तर उसले मलाई हान्न छोडेन, उ निकै रिसाएको देखिन्थ्यो। बोतलले लगातार हानेर एकैछिनमा उसले मेरो अनुहार क्षत विक्षत पारिदियो। बोतलको सिसाले मेरो एउटा आँखामा पनि गहिरो चोट लाग्यो। उसका परिवारका मान्छेहरु दौडेर माथि आए त्यो बेला म रक्ताम्य भएर ढलेकी थिएँ। उनीहरुले के-के कुरा गरे मैले बुझ्ने कुरा पनि भएन। उनीहरुले उसलाई एकातिर लगे अनि मलाई अस्पताल लगे।
एक महिनाभन्दा बढी समय अस्पतालमै राखेर उपचार गरेर मलाई डाक्टरहरुले निको त पारे तर मैले आफ्नो देब्रे आँखो गुमाएँ अनि अनुहारभरी डरलाग्दा खतहरु बसे। अनुहारको पट्टी खोलेर पहिलो पटक आफूलाई ऐनामा हेर्दा म आफ्नो अनुहार देखेर आफै डराएकी थिएँ।
त्यसपछि मैले आजसम्म पनि मेरो पूरै अनुहार ऐना हेर्ने आँट गरेकी छैन। म धेरै दिन निकै रोएँ। साथीहरुले सम्झाए। आत्महत्या गर्ने प्रयास पनि गरेँ तर साथीहरुले नै रोकेर बचेँ। पछि थाहा भयो मैले उसलाई आक्रमण गरेको हुनाले उसले प्रतिरक्षाको लागि मलाई आक्रमण गरेको भनेर उनीहरुले प्रहरीमा भनेका रहेछन्। त्यसैले उसलाई कुनै कारबाही भएन।
त्यो थाहा पाएर मलाई असह्य भयो। रिस र बदलाको आगो मेरो मन भित्र दनदनी बलिरहेको थियो। बरु उसलाई मारेर फाँसीमा झुन्डिन्छु भन्ने विचार पनि आयो। तर समयसँगै पीडामा पनि मल्हम लाग्दो रहेछ र रिस पनि कम हुँदो रहेछ। मैले उसलाई मारे पनि मेरो गैसकेको इज्जत र मेरो सुन्दरता फर्केर आउने छैन भनेर उसले गरेको पापको सजाय भगवानले कुनै न कुनै रुपमा उसलाई दिनु हुनेछ भनेर चित्त बुझाएर आफूलाई सम्हालेँ।
कानुनी उपायबाट केही गर्न सकिन्छ कि भनेर एउटा घरेलु महिला कामदारको अधिकारको लागि काम गर्ने संस्थाबाट मैले उजुरी पनि दिएँ। तर मुद्दा मामिला गरेर केही नहुने, समय पनि लामो लाग्ने हुनाले सबैले मिल्ने सल्लाह दिए। मेरो मुख बन्द गराउनको लागि मलाई सोझै नदिएर त्यही संस्थाको माध्यमबाट उनीहरुले मलाई केही पैसा पनि दिए र मैले पनि नजितिने मुद्दा नलड्ने बरु नेपाल नै फर्कने निश्चय गरेँ।
पैसा कमाउने र सुखी जीवन व्यतित गर्ने सुन्दर सपना बोकेर त्यहाँ एक वर्ष पनि नपुग्दै मेरो विदेश यात्रा त्यहीं टुङ्गियो। उनीरुले दिएको त्यही रकम लिएर म नेपाल फर्किएँ।
मलाई लिन मेरो लोग्ने पनि एयरपोर्टमा आएका थिए। म निकाब र कालो चस्मामा थिएँ। उनले मलाई चिनेनन्, म आफै गएर बोलाएँ। लोग्ने डराउलान् भनेर मैले त्यहाँ मेरो निकाब खोलिनँ। मेरो लोग्ने मात्र हैन, मैले निकाब खोलेको भए त्यहाँ वरपर बसेका सबैको सातो जान्थ्यो होला, सबै डरले भाग्थे होला।
हुन पनि एउटा आँखा फुटेकी, अनुहार पूरै नै छत बिक्षत भएकी, सबै तिर टाटैटाटा भएकी म कुनै ‘हरर’ सिनेमाकी भूत या बोक्सिनीभन्दा कम देखिदैन।
हामी घर गएनौँ। काठमाण्डौंमा एउटा सस्तो होटलमा कोठा लिएर बस्यौँ। होटलको कोठामा पुगेपछि मैले उनलाई आफ्नो अनुहार देखाएँ, उनी खुब रोए। अर्को दिन छोरोलाई पनि त्यहीं बोलाएँ। छोरो पनि मेरो अनुहार देखेर डराएर रुन थाल्यो। छोरोलाई काखमा लिएर म पनि निकै रोएँ तर रुनु समस्याको समाधान थिएन। म उनीहरुको बोझ बनेर बाँच्न चाहन्नथेँ। त्यसैले मैले नै उनीहरुसँग सम्बन्ध टुटाउने निर्णय गरेँ ता कि मेरो जीवनको असर उनीहरुलाई नपरोस्।
म काठमाण्डौंबाट आफ्नो गाउँ नगएर सोझै पूर्वी तराइको एउटा बजारमा सडकको किनारामा एउटा झूप्रो बनाएर एउटा सानो किराना पसल चलाएर बसेकी छु। छोरोको माया त लाग्छ तर म आफूलाई उसको आमाको रुपमा चिनाएर उसका साथीहरुको सामु उसलाई लज्जित बनाएर उसको जीवनमा तनाव दिन चाहँदिनँ। त्यसैले आफ्नो माया मुटु भित्र दबाएर जिएकी छु।
जीवन यसरी नै चलिरहेको छ। अझैं पनि मलाई पटक-पटक मर्ने पनि सोच आउँछ तर म मरेर कस्लाई के नै हुने हो र भनेर फेरि सम्हालिन्छु। तर जे भए पनि जिन्दगीले आफूलाई दिन प्रतिदिन बलियो बनाएको र जीवनसँग संघर्ष गर्न सक्षम गराएको अनुभव गरेकी छु। अब बाँकी जिन्दगी म यसै गरि नै बाँच्ने निधो गरेकी छु। जे छ त्यसैमा खुशी हुन सक्नु पर्नेरहेछ, म पनि यसैमा रम्न प्रायसरत छु।
क्याम्पस पढ्दा लियो टल्सटायको कथा ‘मानिस केले बाँच्छन् भन्ने पढेकी थिएँ। उनले त्यो कथामा मानिस मायाले बाँच्छन् भनेका थिए। तर मेरो जीवनमा त्यो मिथ्या भएको जस्तो लाग्छ। मलाई माया गर्ने कोही छैन। म सबैबाट पूर्णरुपमा अलग्गिएकी छु। कसैलाई पनि मेरो बारेमा थाहा छैन र म थाहा पनि दिन चाहन्न।
नयाँ ठाउँमा कसैले मेरो बारेमा सोधखोज गर्ने पनि आँट गरेको छैन, मैले पनि कसैलाई बताएकी छैन। मेरो निकाबको कारणले नै सायद उनीहरुले केही सोधखोज गर्ने आँट गर्दैनन् जस्तो लाग्छ।
मलाई साहित्यामा सानैदेखि निनै रुची थियो। अहिले फुर्सदको बेला भेटाएका जति साहित्यका सबै किताबहरु पढ्ने गरेकी छु। त्यसले गर्दा मन बहलाउन र केही सिक्न पनि सजिलो भएको छ र जीवन र भविष्य प्रति केही आशा पनि जगाएको छ। त्यसैले मैले आफ्ना कहानीहरु कम्प्यूटरमा लेख्न थालेकी छु।
एक पटक प्लास्टिक सर्जरी गर्ने कुरो पनि सोचेकी थिएँ, तर पैसा पनि हुनु पर्यो। तर अब यही निकाब र कालो चस्मा नै मेरो चिनारी भएको छ। यही नै मेरो चिनारी होस् भन्ने चाहन्छु ता कि मैले भोगेको त्यो अत्याचारले मलाई सधैं प्रेरणा दिइरहोस् र मेरो प्रेरणाले समाजलाई भविष्यमा त्यस्ता अतयाचारको शिकार हुनबाट जोगाउन सकोस्।