प्रभा दिदी मेरो आफन्त दिदी पर्छिन्,उनको बिहे भएको आठ वर्ष भयो अनि भिनाजूबाट अलगिएको पनि झन्डै पाँच वर्ष भइसकेको छ।
दिदी छोरोसँग खुसी साथ,स्वतन्त्र जिन्दगी बाचिराखेकी छन्। आजभोलि त झन् छुट्टै चमक छ उनको अनुहारमा,ठूलै बन्दनबाट मुक्ति मिलेजस्तो देख्छु उनको हाँसो देख्दा।
न कुनै पश्चाताप,न कुनै दु:ख छ एक्लिएकोमा। काका काकी छोरीको सम्बन्ध टुटेको चिन्ता लिएर बस्नुभाको छ।
आफन्त घर परिवारबाट बिहेको लागि,कहिले बुढी मरेको लोग्ने,कहिले बुढीले छाडेका यस्तै यस्तै प्रस्ताव नआएको भने हैन। तर उनी लोग्ने शब्दबाट अगाएँ अब बिहे गर्दिनँ भन्छिन्।
जति भन्दा पनि नमानेपछि आजकाल आफन्तबाट बिहेको प्रस्ताव आउन बन्द भएको छ। उनी आफ्नो दुनियाँमा मस्त छिन्।
यहाँ टाउको त हाम्रो पो दुख्छ,कहाँ हामी उनको खुसी देख्न सक्छौं र कुरा काट्नु पर्यो,फलानी खराब भएर लोग्नेले छोडेको रे,अचेल त फलानो केटासँग चक्कर चलेको छ रे,यही गर्नलाई लोग्ने छाडेकी रे,आदि इत्यादि। अझ छुट्टिँदा एक कौडी सम्पत्ति पनि लिएकि छैन उनले ,बच्चा पाल्न र आफ्नो लागि कसैको सम्पत्तिको जरूरी नपर्ने भन्दै अंश पनि लिन मानिनन् ,उनको हिम्मत र साहसको कदर गर्नुपर्ने होइन र हाम्ले?,नारी पनि कुनै पुरूषभन्दा कम छैनन् भन्ने कुराको आधार हुन उनी।
एक्लै छोरी पाल्न सक्छु भनेर लोग्नेसँग एक कौडी पनि सम्पत्ति नलिने उनको हिम्मतको कदर गर्नु त परै जाओस् उल्टै नानाभाती कुरा गर्नमा तल्लिन रहन्छौं।
आवश्यकता उनलाई लोग्नेको पटक्कै होइन,आवश्यकता त हाम्रो सकारात्मक सोच अनि दृष्टिकोणको हो। उनलाई हौसला चाहिएको छ,साथ समर्थन चाहिएको छ।
असुरक्षा वा पीडाका कारणले लोग्ने छाडेकी उनलाई फेरि अर्को विवाहबाट सुरक्षा,साथ र माया पाउँछिन् भन्ने के ग्यारेन्टी छ र? के विवाह नै सुरक्षा हो र? आफ्नै बाआमाको छत्रछायामै रहँदा पनि असुरक्षित हाम्रा चेलिबेटीहरू एकै छिनको चिनजानबाट दाम्पत्य जीवनमा बाधिँदैमा सुरक्षित हुन्छन् भन्ने ग्यारेन्टी दिने हाम्रो समाजको चलिआएको परम्परा तोड्नु जरूरी छैन र?
अझ कतिपय जमातले त पढेलेखेकाको बुद्धि नै हुँदैन भन्नछन्,दिन रात पीडा सहेर मेरो पति परमेश्वर भनेर बाँच्नु चाहिँ बुद्धिमानीको उदाहरण हो त?अझ अर्को रोचक कुरा त के छ भने जो दिनरात श्रीमानबाट पीडित भएर बसेका छन् उनैले अघि सर्दै प्रभा दिदीजस्ता साहसी महिलाको स्वतन्त्रतामाथि प्रश्न उठाउँछन्।
हामीले शिक्षा केका लागि लिएका हौं ? सही र गलतको पाटो छुट्टाउँदै जीवनमा पर्न सक्ने समस्याको समाधानको लागि होइन र? इज्जतको नाम दिएर हरकुरामा महिलालाई परिबन्धमा पार्ने,स्वतन्त्रतामाथि नै प्रश्न उठाउने त्यस्तो इज्जतको के काम? हाँस्न र बोल्न समेत रोकावट गर्ने त्यो इज्जतको के काम? वास्तवमा हामी सबै काल्पनिक दुनियाँमा छौं।
एउटा समाजले मौखिक रूपमा निर्धारण गरेका कुरालाई इज्जतको परिभाषा दिइरहेका छौं।
हो यही सोचलाई बदल्नु जरूरी छ,आफ्ना पारिवारिक आधारमा नभएर कर्मका आधारमा इज्जतलाई निर्धारण गरौं।
होला उनले सानो कुरामै सम्बन्ध विच्छेदको मोडमा पुगिन्,के महिलाले नै सहेर बस्नुपर्छ भन्ने छ र? सानातिना कुरा भन्दै पुरूषले ठूलै गल्ती गर्न हुने अनि महिलाले तिनै गल्तीको माफी माग भन्दा नमाग्ने पुरूषसँग सायद जिन्दगी कटाउन गाह्रो नै हुन्छ।
श्रीमान छोडेर स्वतन्त्रता रोजेका महिलाहरूलाई मानसिक तनाव दिने र गिराउने काम गर्नु भन्दा बरु उनीहरूको निर्णयको सम्मान गरौं।
श्रीमानले श्रीमती हुँदाहुँदै पनि जति जनासँग हिँड्न र घुम्न हुने तर श्रीमानसँग अलग्गिएकी महिला चाहिँ कोहिँ पुरूषसँग हाँस्न, बोल्न पनि नहुने ? वाह! हामी अनि हाम्रो समाज ?
के एक्लिदैमा रोएरै बस्नु पर्ने हो र?
खुसी हुनै नपाइने हो?
केटा साथी बनाउन अनि केटी साथी जसरी घुम्न नपाइने हो र?
श्रीमान छाड्नु ठूलै महापाप जसरी जिन्दगीभरि तपस्यै गरेर बस्नु पर्छ भन्ने छ र?
हामी कमसेकम आफूले सही निर्णय गर्न नसके पनि उनीजस्ता एकल नारीले आफ्नो पारिवारिक भविष्यप्रति लिएको निर्णयलाई मनन गरौं।
हामी अझै पनि सोच र विचारमा धेरै पछाडि छौं। मन्चमा उफ्रेर ठूला-ठूला कुरा गर्छौं तर व्यवहारमा जहाँको तहीँ छौं।
उनको परिबन्द,बाध्यता हामीले नबुझे पनि उनको निर्णयलाई साथ दिँदै आउने दिनमा हाम्रो तर्फबाट सहज वातावरणको सिर्जना गरिदिऊँ।
एकल महिला हुनु पक्कै पनि रहर भने होइन।कोही आफ्नो लोग्नेलाई भौतिक रूपमा गुमाउन पुग्छन् भने कसैले वैचारिक एवं पीडित भएर लोग्ने छाड्न बाध्य हुन्छन्।
जिन्दगीभर सँगै रहने बाचा कसम खाएर एक भएका जो कोही जोडीलाई परिस्थितिले दिएको चोट सहन गाह्रो भएको अवस्थामा हामी केही गर्न नसके पनि थोरै भए पनि मल्हमको काम गर्न त सक्छौं नि?