पाइलाहरु अन्नत यात्रामा दौडिएपछि जीवनको एउटा राजमार्ग भत्किएर खण्डहर भीरहरुमा परिणत भएको बेला लम्बेतान यात्राको गोरेटो खन्ने प्रयास वा प्रयत्न भइरहेछ। महाभूगोलको अर्को गोलार्धमा आइपुग्दा जीवनको श्रृङ्खला टुटेको छ, संवाद टुटेको छ, सम्बन्ध टुटेको छ।
सम्बन्धका, जीवनका, गोचरका यावत परिभाषाहरु आफै अपरिभाषित छन्। खै दर्शनहरु प्यारालाइसिसको नाटक गरिरहेछन्। यो सन्दर्भमा दार्शनिकहरु पनि असमर्थ नै छन् होला संसारको सार बुझाउन र त पैतलाले टेकेको जीवन टाउकाले टेकेर बाँच्नुको विवशता खेपिरहेछ।
आज जीवनको केही दशक गुज्रिरहँदा भोगेका वासन्तिक अनुभूतिहरु अन्योलमा छन्। भक्ति थापा र भीमसेनका वीर कथाहरु कागजका पानाहरुमा नै टालिएका छन्। पच्चीस/सत्ताइस वसन्तले भोगेका अनुभवहरु कुनै मिथकीय चिज जस्तै मष्तिष्कभित्र तरल रुपमा सल्बलाई रहेछन्।
काँडाघारी, खेत, आली, डिलहरुमा र त्यो माटोमा फोक्सो फुलाउन्जेल दौडेको त्यो घर्षणको काउकुती अझै पनि कुत्कुताइ रहेछ। समीपमा बोल्न नसकेका यी वाचाल ओठहरु वनजङ्गल र एकान्तमा कसरी पड्किएका थिए, मायालुको सम्झनामा र भूगोल कसरी नाँचेको थियो आत्मियतामा।
आत्मा छुट्नु र मिल्नुको अन्योन्याश्रिसता तब महशुस हुन्छ जब ती दुवै भोगिन्छन्। संसारको विराट राज्य संरचना र भविष्यमुनि अस्तव्यस्तता चलिरहँदा तिम्रो उचाई देखेर आफ्नो अथवा जीवनको समथर मैदानमा विकृति, अभाव, दुष्टता र स्वको युद्ध चलिरहे पनि गौरवान्वित हाँसो हाँस्न मन लाग्छ।
प्रिय, जिन्दगी भनेको टुटेका भित्र जुट्नु र जुटेका भित्र मिल्नु हो, होइन र? तर प्रशंसामा, संवादमा हामी जुटिरहे पनि एउटा निरीह आउटसाइडरको अदालतबाट साक्षात्कारको न्याय नपाउनुले जीवनभर न्याय नपाएको महशुस हुन सक्दछ घरि-घरि। कति सम्बन्धहरु तिमीलाई हेरेर आशातीत भइरहे र लम्कीरहे अघि-अघि।
कति सम्बन्धहरु त अरुहरुलाई हेरेर पनि निर्धारण भए होलान्, बाँच्ने यो गोरेटोमा। कति लोभले, डाहले, प्रगतिले र आहारिसले पनि जीवनमा आशातीत नै बनायो होला। केही जोडिएका सम्बन्धहरु भए पनि, केही टुटेर गए पनि, अहिले छुटेको कुराहरुबाट एक्लिएको छु। कुनै पनि बेला मैले आफूलाई एक्लो ठानिरहेछु।
दौतरीहरुसँग गोठालो जाँदा र कुनै मनहरुसँग, आत्मीयहरुसँग गहिरो गरी पग्लिरहँदाको त्यो क्षण, गुराँस घारीमा लुट्पुटिने र चिसा खोचहरुको स्पर्शमा पहाडभरी झुसिल्किरा सल्बलाईरहने तीव्र अभिलाषा स्खलित भएको छ। त्यसपछि प्रिय, जीवन आफ्नै गतिमा मोडिदै छ, घोत्लिदै छ।
विभिन्न छालरुपी चरमोत्कर्षहरु जीवनले नभोगेको र महशुस नगरेको होइन तर विगतको सम्मोहनलाई वर्तमानले कदापी पूरा गर्न नसक्ने रहेछ। खोलाहरुमा माछाहरु जस्तै ढुंगाका कापहरुमा प्रेमको उत्कर्षमा हराउने र देखिने भल्गर दृष्य युद्धमा हिडेको छापामार योद्धालाई लुकी–लुकी हेर्न कति मजा लाग्दो हो।
कुनै बेला निरस र पट्यारलाग्दो कमरेड जीवन नियाल्दा-नियाल्दा, जीवन एउटा अव्यवस्थित तर सुदुर भविष्य खोज्न हिड्ने यात्रा हो जस्तो धेरै नजिकबाट अनुभूत भएको थियो। संवाद, कहिले सपनामा, कहिले मध्यान्नको रापिलो घाममा र कहिले निशाचर अध्यारोमा मनले खिचेका तस्बिरहरु पल्टाइरहँदा रक्सीको मातले जस्तै मस्तिष्क झङ्कृत भएको छ।
जीवनले पहिलो पाइला टेकेको भूगोलको माटोमा खेलेका कुस्ती, लगाएका प्रित र नवयौवनामा गाएका गीतहरु साथै तिमीले लुकाएका प्रेम, आँखा चिम्लेर, मनले साउती सुनेर चुपचाप बसेका रसरंगका चरमोत्कर्षहरु आँखाभरी आइरहेछन झल्झली मनमा आइरहने, मनले गीत गाइरहने र सम्झनाले नाचिरहने नोस्टाल्जीया भएको छ यतिखेर। मलाई लाग्छ घरको मायाले तानेको, सम्झनामा डुबुल्की मार्न थालेको मुग्लान पसेदेखि हो, यो दलदलमा फसेदेखि हो।
पातहरु, बोटहरु, बुट्यानहरु, धानबारी र खेतका सप्रमाण संवादहरु जसलाई भोगिसके पनि आफ्नै भूगोलको उचाइबाट आफै गुमनाम भइरहँदा, कल्पनाले खिचेका न्याना तस्बिरहरु बल्दछन्, अर्को भूगोलमा देदिप्यामान दीपजस्तै। घरि-घरि अनुभूत हुन्छ तराईका फाँटहरुमा, भर्खर गाँज उघारेको धानको गह्राको छिपछिपे पानीमा गिराई माछाहरु एक्लो महशुस गरिरहन्छन् झुक्याउने बल्छी नपाउँछ।
मकैबारी सोचिरहेछ गाउँका बदमासहरु कता बेपत्ता छन्। बचेखुचेका बदमास र उखरमाउला केटाकेटीहरु मोबाइलको स्क्रिनमा क्षितिजपारिको सुन्दरीसँग प्रेमालाप गर्दै होलान्। जो क्षणिक छ र आवेगपूर्ण छ। डिजिटल प्रेम जतिबेलै पनि भत्किन सक्छ। मलाई लाग्छ समय र जीवन जति धेरै डिजिटल हुँदै गएको छ, त्यति धेरै भत्किदै गएको छ।
त्यो आनन्दको चरमउत्कर्ष त्यतिबेला हुन्थ्यो, जतिबेला मनको प्रस्फुटन हुन वर्षो लाग्थ्यो। एउटा फूल, मनभित्रको फूल, मनमै फुलेर, फक्रिएर र भित्रै औइलाएर जान्थ्यो बाहिर नआउँदै। जे आउथ्यो बाहिर र त्यो अजर, अमर भएर जान्थ्यो। खहरे खोलाको पानीमा लुकीछिपी गरेका स्पर्श र ढुकुरे जोडीलाई बथानबाट छुट्याउँदाको आनन्द स्मृतिको गहिरो खाडलमा च्यापिएर बसेका छन्।
स्मृतिहरुलाई गहिरो खाडल खनेर राखेका तहहरु उत्काउँदा नराम्रो गरी घाउका माम्रीहरु उत्काएपछिको अवस्था जस्तै यो क्षण चहराइरहन्छ।
प्रिय माटो, संवादसँगको श्रृङ्खला टुटेको बेला मनको एकमुठी स्वतन्त्रतामा अग्लो पहाडमा चढेर हतार-हतार टुक्र्याउँदा आनन्दको परिभाषा लेख्न कुनै विज्ञ बोलाइरहनु पर्दैन। भूगोलसँगका, माटोसँगका र आत्मीयसँगका अविश्रान्त संवादहरु इतिहास कोट्याउँदै जाँदा रायोको सागजस्तै निमोठिएका छन्, पिरोलिएका छन् र रुन्छन् घरि-घरि आफ्नै इतिहासको सम्झनामा।
घिउ जस्तै पग्लिरहने मनको चञ्चलता र ढुङ्गाजस्तो कठोरता यो अर्थहीन स्थिरतामा कसरी बाँच्दो हो। साथै यान्त्रिकताको पाङ्ग्रे गाडीमा झाकल झुकल गर्दै कसरी गतिशील भइरहँदो हो। महाभूगोलको जुनसुकै सुन्दरताले आलिङगनमा बाँध्न खोजे पनि आमाको न्यानो चुम्बनको लेपन कहिल्यै छुट्ने छैन।
वर्तमानमा जुनसुकै माटोका पदचापले हिँडाइरहे पनि पैतलामा धेरै वसन्त कुदेका माटोका पदचापहरु अझैँ टाँसिइरहेको अनुभूति हुन्छ। जसले धेरै वसन्तहरु आफ्नै मायालु क्रिडास्थलमा भोगे। आँखाको नानीमा टाँसिएका खेत, खलीहान, कुलो, बारी, जंगल र दोबाटोका स्मरणीय प्रोफाइलहरू मेटिन गाह्रै छ। कदापि बन्न सक्दैनन्, जीवनका अरु प्रोफाइलहरु, कर्मले जता लहसिए पनि, झोसिए पनि र मुग्लानको कुनै माटोमा पुल–पुल भए पनि।
संवाद, हिमालको वारिपट्टि सल्लाघारीमा कोइलीहरुसँग दोहोरी भाका मिलाइरहँदा मैले गएको त्यो गीत त शताब्दीयौँसम्म मनमा बसिरहने संगित पो भएछ। गोठालो जाँदा मनमा फूलिरहेका गुलाब सम्झेर सुसेलेका शब्दहरु जीवन जीउने आत्म भएका रहेछन्। त्यो रुखको छहारी, भुटेका मकै, चिसो पानी र साथमा नुन-खुर्सानीको समिश्रण त वर्गर पिज्जाले कहिल्यै पूरा गर्न नसक्ने स्वादमा परिणत भएका रहेछन्।
सँधै भइरहेको, खाइरहेको कुराको स्वाद त त्यतिखेर सम्झनलायक हुँदो रहेछ जतिखेर ती सबै-सबै आफूसँग हुँदैनन्। जति सेक्सपियर र टोल्सटोयहरु पढे पनि र जति आधुनिक गीतहरु सुने पनि, नारायण गोपाल र देवकोटाका भावनाहरु कहिले नअघाउन्जेल भरिएका छन् मनभरी।
न्यानो सम्बन्ध र शितलतालाई छाडेर हाम्रा अग्रज भनाउदाहरुले सफा पानीलाई धमिल्याएपछि बाँच्नुको विवशतालाई अन्तिम सत्य मानेर एउटा फकिर मीठो सपना खोज्न मरुभूमि र उजाड राज्य–व्यवस्थामा धकेलिएको छ। यो मरुभूमिमा कसरी पुग्दछन् जीवनको गहिराईमा बाटो नपाएका पथीकहरु, कसरी भेट्दो हुन् त्यो कलकल वगिरहने पानी। जति रंगीन होस् दुनियाँ, जति कलरफूल होउन चमझम, तर आफ्नै घर आँगनको प्यास भने यो आधुनिक सभ्यताले कहिल्यै मेट्न सक्दैन।
यी विकसित सभ्यताले जति आकाश छोएको होस् र जति आरामदायी होस् जीवन, बेलको काँडाको घोचाइमा, ऐसेलुको चिथोराइमा हुर्किएको यो जीवन त्यही सुगन्ध खोजिरहन्छ, त्यही आभा खोजिरहन्छ। अहो पथिक जमातहरु, काहाँ पोख्दछन् सुख र दुःख यो घनघोर कङ्क्रिटका जङ्गलमा। एकान्त र एक्लो हुने न समय छ र वातावरण।
संवाद, बाँच्नुको पराकाष्टमा हजारौँ रेक्टर–स्केलका भूकम्पले धेरै पर उछिट्याएपछि त्यसको क्षति यी लाखौँ नेपालहरुले भोगिरहेछन्, बिछोड, पीडा, बाध्यता र मृत्युवरणसँगै। जिजिविषाले हामीलाई संसारको कुना–कुनामा पुर्याइरहेछ र बदलामा नेपालमा बुबा–आमा रातो बाकस भित्र्याइरहेछन् उपहार स्वरुप। सान्नाटा छ अहिले, होस गुमेको छ अहिले।
यी मनका गहिरा पीडाहरु तिमी हामीले भोगिरहेका छौँ। तर, मनको चञ्चलतामा रमाउने निष्ठुरी ठुस्केर बसेको छ कतै पाखा–पखेरामा। मनको गहिराइले विवशताको सत्य नुबुझेपछि त्यो मनलाई बुझाउने सामर्थ्य अहिले मसँग पनि छैन। मनलाई सम्हाल्न सक्ने सामथ्र्य आफैसँग भैदिए, तिमीसँगको सामिप्यता कल्पेर सुन्दर सपना देख्दै एउटा मीठो निद्रा परिभाषित हुने थियो अर्को बिहान।
कुनै दिन आत्मीयहरुको पर्खाइ खेर जाने थिएन। मेरो आगमनले त्यो आँगनमा सुमधुर गीत गुञ्जिने थियो। त्यो एउटा आत्मीयताको, अपनत्वको, पाखावारीको र सँगै बाँच्ने–मर्ने कसम खाएकी गौथलीको भव्य सम्मेलन हुने थियो। यसमा रमाउने थिए आफ्नै सभ्यताका पात्रहरु।
संवाद, अन्त्यमा म त्यहाँ आउँदा आफू जस्तै भएर फर्कनेछुँ वा छैन वा म मजस्तो नरहुँला। तर, प्रिय संवाद, यो स्मृतिको प्रोफाइल मरुभूमिका बाकसमा प्राणहीन भएर कैद भएँ भने पनि मेटिने छैन। आखिर मृत्यु उत्सव मनाउँदै हजारौँ झट्का करेन्ट र स्पातिलो तरबारका धारहरुमा हिडेको कृतिम सभ्यतामा तिम्रा पूर्व स्मृतिका शितलताहरुले मात्र पनि मलाई यो खञ्जहर मरुभूमिमा हरियाली र पानी पिउन पाएको आभाष हुने गर्दछ।
यी कर्कश जीवनका ध्वनिहरुसँगै कोइलीको स्वरलाई सम्झेँ भने पनि म देवकोटाभन्दा बढी बहुलाएर नाचुँला। मनमायाले पल्लो पाखामा गएको गीत सम्झेर म अत्याधुनिक ब्याण्डलाई मर्लक्कै बिर्सनेछु र मनले हरेक क्षण संवाद गरिरहने छ मेरा आत्मीयसँग र पाखा–बारीसँग।
सगरमाथाको चुचरोमा गुँरास शिरमा सिउरेर कोइलीका स्वरहरुमा मध्यरातमा मादकता र मुजुराको स्वरमा म नाँचिरहने छु, निरन्तर निरन्तर।