पीपलचौर/लेकगाउँमा गाउँका नाइके, बुढ्यौली, विद्वान, जान्नेसुन्ने, उच्च शिक्षित र जनप्रतिनिधिहरूले बृहत भेला गरेका थिए।
'गाँउघरतिर हो-हल्लाले डाँडो काटिसकेको छ। तिमी फेरि दिनरात यसैमा तल्लीन भएर लागिरहेकी छ्यौ रे। किन व्यग्र हेर्ने, सोच्ने, परिकल्पना गर्ने र लेख्ने काम गरिरहेकी छ्यौ काव्यता? वर्षौं भयो तिमीले यो दैनिकी देख्न थालेको। जवानीको जोसमा पनि यस्तो बौलाहाजस्तो झिनोमसिनो, व्यर्थैको काम गरेर हुन्छ? अलि अर्थपूर्ण काम गर्नु नि, ताकि हाम्रो सिंगै गुरिल्ला गाउँपालिका विश्व मानचित्रमा चिनियोस्,' गाउँपालिकाका प्रमुख डा.भालेप्रसादले मलाई भने।
लाग्थ्यो, ग्रामिण भेगको सोच प्रौढ भएको होला। सोचेकी थिएँ, यो भेला विगत र वर्तमानको मूल्यांकन अनि भविष्यको परिकल्पनाको निम्ति हो। तर अँह, जमघट सिर्फ मेरै निम्ति रहेछ।
भेलाको आस्था यही अंकुसे पूर्णविराम लगाइदिने र मलाई मेरो औचित्य बोध गराउने पो...? डाँडेभाँटे (चुल्होचौका, खेतीपाती) मात्र अर्थपूर्ण काम!
जब महिलाहरूले देश र समाजको समकालीन अवधारणाबारे सोच्छन्, आफ्नो मत राख्छन्, कलम चलाउँछन्, तब उसको परिचय बन्छ पोथी बासेको। पागल्नी/बेकामे आईमाई।
मजस्तै महिलाले मुख खोल्दा पागल, बेकामे र पोथी बासेको भन्दै काटेर खाइदिन खोज्छन्। अचम्म !
सोधेँ, 'गाउँघरका ढुंगामाटोमा हड्डी घोट्दै नंग्रा खियाएर गरिने संघर्ष जसरी अर्थपूर्ण मानिन्छ, त्यस्तै दिमाग खियाएर समाज रुपान्तरणका लागि ल्याएको सोचविचार पनि अर्थपूर्ण छ। म आफू बाँचेको परिवेशमा उभिएर कलम चलाएको मात्र हो। ल भन्नुस्, मैले आफ्नो स्वतन्त्रताको हक प्रयोग गर्न पनि केकस्ता सम्झौता गर्नुपर्थ्यो? नयाँ नेपालले ल्याएको संघीयताको पीडा महिलाले पनि भोग्ने तर नेपाललाई चिनाउन र परिवर्तन गर्न भने नपाउने?'
छेउमै बसेका नाइकेले जोगिएर जवाफ दिए, 'हो, यदि काव्यताको कलमले कसैमाथि न्याय गरेन भने भन्नुस्। समकालीन समाज जोखेर, दूरदर्शी धार दिने लेखक–लेखिका कम छन्। लेखन कार्यमा काव्यता सिपालु छिन्।'
बेलामौकामा जोकोहीलाई फुर्काउन पछि पर्दैनन् नाइके दाइ। यी गाउँभरिमा सबैका ठालु पल्टिन्छन्। अरुलाई छल्न माहिर नाइके दाइलाई कसैले भेट्न सक्दैन।
वर्तमान समय बुझेर आगामी बीस/पचास वर्षमा नेपाल कहाँ पुग्न सक्ला? केकस्ता आयाम आउलान्? कस्तो हुन सक्ला सामाजिक, आर्थिक र राजनैतिक अवस्था? समानता र सोच परिवर्तन आउला या नआउला? आए पनि कसरी आउँछ होला? कुनचाँहि विकासवाद आउने होला?
दीर्घकालीन दृष्टिकोणबारे अबका बालबालिका र देश निर्माण गर्ने युवायुवतीले नयाँ नेपालको राज्य र समाज छर्लंग चहार्न पाउनुपर्छ। अबको नेपालको परिकल्पना बुझ्न पाउनुपर्छ–संसारको जुनसुकै कुनामा बसेर पनि। आफ्नो देशका लागि आफ्नै जन्मभूमिबाट योगदान स्वरूप इतिहासको वीर हैन, भविष्यको वीरनी बनौं भने सुरूआत गर्दैछौं।
यतिबेला तगारोको तापमा उम्लेको छ, 'द गुरिल्ला' गाउँपालिका।
सबैजना आ–आफ्नो दुनो सोझ्याउन माहिर छन् यस गुरिल्ला गाउँपालिकामा। पुराना हुन् या आधुनिक पुस्ता, पुरातनवाद होस् या आधुनिकवाद। विद्वान, राजनीतिज्ञ, जनप्रतिनिधि, नाइके, ह्रस्टपुष्टे, कुपोषणे, घुसे, हरुवाभरुवा, नाके, चम्चेदेखि उच्चशिक्षित अन्तिममा सबैको लेखाजोखा गर्दा इतिहास र वर्तमान उही छ।
यिनीहरूले सोझासाझा आममानिसको रगत-पसिना चुसे, छाला निकालिसके। हड्डी चपाउन नसकेर मात्र हो, नत्र त्यो पनि भ्याइसक्थे। यत्रतत्र भ्रष्ट जराहरु छरपस्ट छन्। भोलिवादको खम्बा, अत्याचारको हाँगाबिँगा र विभेदका पातपतिंगरको उत्पादन बढेको छ। जनसत्ताले उत्पादन गरेको बीउलाई कुल्चिएर कुरुपतामा गर्वका साथ सजिएका छन्। झनै दह्रो बन्दै गएका छन्, जनताको गाउँपालिकाका नाममा।
मेरो मनमस्तिष्कमा तमाम विचारको वर्षा लाग्दै थियो, ती सबै थाती राख्नु उचित सम्झिएँ।
०००
सन्ध्या राततर्फ द्रुत गतिमा हिँडिरहेको थियो। गाउँघरमा म एक्लिएको पात्रजस्तै थिएँ। त्यसैले होला, घरजानुअघि एकपटक आफू पढेको स्कुल पुग्नु मेरो नियमितता नै थियो।
'अमेरिकी साम्राज्यवाद नेपाल छोड, वैदेशिक हस्तक्षेप बन्द गर, महिला हिंसा, हत्या, लुटपाट बन्द गर...!' उबेला स्कुलमा जनभेला, सांस्कृतिक कार्यक्रम हुन्थे। राष्ट्रिय हैन, जनवादी गीत घन्किन्थे। विद्यालयको भित्ता, ग्राउन्ड वरिपरि लेखिएका ती 'दमदार' नारा अझै मेटिएका छैनन्। अनि यिनै नारा रच्नेहरू उच्च सफलताको शिखरमा आसीन छन्। सबै बिर्सिएर बाघको छालामा स्यालको रजाइँ गर्दैछन्।
समयले गति लियो, विकास, परिवर्तन र रुपान्तरण सुस्तायो...। एकछिन नारामै घोत्लिएकी थिएँ।
स्कुल छुट्टीको बेला पनि अकस्मात पाले दाइ आइपुगे।
'उहिले बुर्जुवा शिक्षा पढ्नु हुन्न भनेर स्कुल बन्द गराए। नारा लेखेर गए। तिमेरूलाई राम्ररी पढ्न दिएनन्। तिनीहरूले सयौंलाई बुवाआमा बनाए। दाइदिदी, भाइबहिनीको साइनो गाँसे। सबैसँग नजिकिए। आफ्नो हकहितका लागि लड्न र संघर्ष गर्न सिकाए। तमाम सपना देखाए। सत्तामा पुगेर प्रणाली बनाए। अहिले एक-दुई जना भाग्य फुटेका महिलाबाहेकले सत्तामा जान पाएका हैनन् क्यारे,' पाले दाइले प्वाक्कै भने।
'हो दाइ, स्कुलका प्राङ्गणमा युद्धको अभ्यास गराए। शिक्षाबाट बञ्चित गराए। उहिलेका कम्युनिस्ट र अहिलेका कम्युनिस्ट निकै फरक जन्मिए। उहिलेकाले सबैकुरा समान हुन्, महिलालाई सम्मान गर्ने, जातीय विभेद र छुवाछुत अन्त्य गर्ने, अनुशासित आचरण र भौतिकवादी व्यवहार लगायत कुरालाई मान्यता दिए। अहिलेकाहरू ठ्याक्कै उल्टो गर्दैछन्। हातहतियारसहितको लडाइँ काम आएन। विकास, परिवर्तन र रुपान्तरणका लागि सकारात्मक सोचविचार सहितको लडाइँ लड्नुपर्छ,' मैले भनेँ।
'समय बहुलायो भन्ने कि मान्छे? सबै हेर्दा सही अर्थमा विश्वास गर्नै मुश्किल छ। तिमी त कलम चलाउने मान्छे, थिति-बेथिति जान्ने मान्छे। ल है नानी, तिमी पनि आफ्नो र गाउँठाउँको भविष्यका निम्ति सोच। हामीले त आफ्ना दिन खाइसक्यौं।'
स्कुल स्थापनाकालदेखिका पाले दाइ अहिले पनि यतै रहेछन्। पहिलादेखि नै समकालीन विषयवस्तुमा र घटनाक्रममा चासो राख्ने उनी सबैको भलो चाहन्थे। यिनलाई स्कुलबाट हटाउन गाउँलेले चाल चले थिए। स्कुलमा विद्यार्थीकै मायाले टिकेछन्। पढाई कम भए पनि अलिअलि जान्नेबुझ्ने भएकाले गाउँमा यिनी बुड्यौली नामले चिनिन्छन्।
पाले दाइसँग छुट्टिएपछि स्कुलका भित्ताको दर्पणमा आफ्नो मुहार हेरेँ। स्कुलमाथिको वडापालिका भवनमा गएँ। छेउमा पीपलबोट र तल विशाल चेप्टो ढुंगा थियो। र ढुंगामा गएर सन्ध्यासँगै म पनि एकछिन सुस्ताएँ।
०००
'म हार स्विकार्ने वाला छैन। आगामी दिनमा पनि निस्फिक्री परिकल्पना गर्छु, लेख्छु। यो मेरो संवैधानिक अधिकार हो। विभिन्न वादको विद्रोह गरेर क्रान्तिको द्रुतमार्ग तय भयो। यसरी पाएको संवैधानिक अधिकार म भरपुर प्रयोग गर्नेछु। सकारात्मक ढंगले अघि बढ्दा समकालीन समाजलाई छर्लंग पार्ने परिकल्पनाको पथमार्गमा मनग्य फाइदा होस्। यो कुरा मध्यनजर गरेर पूर्ण तयारी गर्दैछु। यो आख्यानले द गुरिल्ला गाउँपालिका आज, भोलि र भविष्यको भाव देखाउने अधुरो नक्सा पूरा हुनेछ। मैले लेखेका स्वर्णिम अक्षरमा मेरो गाउँपालिका सजिनेछ...' राती सोच्दै आँगन नजिकैको प्रतिक्षालय पुगेँ।
पल्लो गाउँको बाटोमा नजर पर्यो। बाटोमा राँकाहरूका पिलपिल उज्याला यताउति गरिरहेको देखेँ। सायद गाउँका युवा राँके जुलुसमा निस्किएका हुनुपर्छ। यता तल्लो गाउँकी जुनकिरी भाउजू टर्च बालेर हाम्रैतिर आउँदै थिइन्।
'अँध्यारोमा टर्चको उज्यालोले के खोजिराख्नु भा'को भाउजू?' मैले सोधेँ।
'एक्लो छोरो, त्यसलाई पनि ज्वरो आयो। वैद्यलाई खबर गर्न जान ला। स्वास्थ्य जाम् भने टाढा छ। पैसो पनि छैन। एकघर, एक क्लिनिक अभियानका प्रमुखले गाउँमा आफ्नो मेडिकल राखेका छन्। पैसा हुनेले जाँच गर्छन्। बाँकीलाई के-के औषधि भिराउँछन्, सलाईन चढाएर फिर्ता पठाउँछन्। पैसा मात्र ज्यादा लिन्छन्। निको भएन भने भोलितिर जाम्ला,' अघि बढ्दै भाउजूले भनिन्।
दैलादैलामा अस्पताल, विद्यालय खोल्छम् भन्नेहरू पनि लुटकै रमितामा छन्। काम गर्नेहरू मरिरहेका छन्। तै पनि रचना गर्नेहरू, राँके जुलुस बाल्नेहरू र विभिन्न अभियान चलाउनेहरूको मुडभेड जारी छ। गाँउमा गरिबी, सामाजिक, आर्थिक, समानता र जातीय विभेदको पहिरो गएको गयै छ। अत्याचारको बाँध फुटिसकेको छ।
रुपान्तरण र सुधार भयो भन्ने भ्रम देखाइदिन्छन्। त्यही भ्रमको अन्धविश्वासमा बाँच्न जानेका छन्। अल्छी बोटको उत्पादन न पर्यौ !
यस्तै सिलसिला जारी हो भने पक्का शिथिल शित युद्धमा प्रवेश भइनेछ। खरिलो बल छ, चराझैं उड्ने हो। प्यासी यौवन छ, उडेको चरा भुइँमा झार्ने हो भन्दै, संघर्षको नाटक गर्दागर्दै समयले नेटो काटेको पत्तै हुँदैन यो दौडमा।
अन्तिममा उमेर ढल्किन्छ, ढाड लत्रिन्छ, छाला चाउरी पर्छ। समावेशी विचारमा एकल वक्तव्य दिन्छन्– 'सोचेजस्तो सहजै फैलिँदैन विचारको विजय, रुपान्तरणको रुख, सुधारको सपना। भोगेजस्तो गहकिलो हुँदैन काल्पनिक विम्ब प्रतिविम्व। अब सुधारका लागि के गर्ने होला? अब नसोचेर भयो त? पालिकाका प्रमुख र अरु भातमाराहरूले जेसुकै भनून्। भन्नेको मुख टाल्न सकिन्न जनताको छोराछारीले राज्यसत्ता चलाएको, हाम्रो नेपालमा...'
एकैछिन विश्राम गर्दै थिएँ विचारहरू बर्सिए। यत्रतत्र छरिएका अनगिन्ती सोच धमिला छन्, किरमिर छन्। अब अत्ति भयो, सोचहरूको जोडघटाउ र हिसाबकिताब मिलाउनुपर्यो। मिलाउने पो कसरी? आममानिसलाई बुझाउने र परिवर्तनको पथमार्गमा लैजाने कसरी? व्यवस्थित रुपमा कार्यान्वयन गर्ने कसरी?
'एकल रणभूमिभित्र मुर्छित मोडमा अल्झेझैं किन अल्झेकी हौ काव्यता? जति बेला पनि एक्लै हिँड्या छ, टोलाई बस्या छ। अनसन बस्याजस्तो रातभर जागा बस्ने विचार हो? सिंगो गाउँ निदाउने बेला भैसक्यो। भोक, निद्रा ला'को छैन? अहिले खाना खाएर सुत्ने, जेजे सोच्नु छ भोलि सोच्ने,' भान्साबाट आमाको क्रोधसहितको स्नेहपूर्ण आवाज आयो।
आज्ञाकारी बालिकाजस्तो खाना खाएर सिरकभित्र पसेँ।
०००
घरमा एक्लै थिएँ। बाहिर कोही हिँडेको सुनेँ। निस्केर हेर्दा, मलाई भेट्न भनेर पल्लो गाउँका टिके दमाई, पालिका प्रमुख र महिलामैत्री अभियन्ता जुनेलीदेवी आएका रहेछन्।
'विभेद, घरेलु हिंसा, कुन्नि के आयोजना-परियोजनाविरुद्ध गाउँमा निकै रँडाको मच्चाएछन् हिजोका राँके जुलुसवालाहरूले। अब के हुन्छ?' मलाई देख्नासाथ उनले ताजा समाचार सुनाए।
सुधार गर्न सके त हुन्थ्यो। तर के गर्ने? नयाँ आयामहरुको नक्शा तयार भए पनि बाटैमा पितृप्रसाद बनिदिन्छ हाम्रो यो गुरिल्ला गाउँपालिका। अनि आङ सिरिङ्ग हुन्छ। सोच्ने र परिवर्तनको कार्य भनेजस्तो सजिलो होइन भन्ने चेत कहिले आउने होला।
एकातिर यो गाउँका कोही युवायुवती नयाँ सोच र परिवर्तनको एकल अभियानमा छन्, कोही समय ज्ञान र ध्यानको मुद्रामा। अर्कातिर गाउँपालिकाका कमरेडहरू भने सोच परिवर्तन कहिलेबाट सुरू गर्ने?
हुनत विभिन्न वादविद्रोहको ट्रयाक तय गरेर आएको हो, समकालीन गुरिल्ला गाउँपालिका, सुन्दा मात्र नयाँ हो। ग्रामिण समाजको परिचयात्मक चोलो नयाँ छ। तर चोलोभित्रको धागो पुरानो। समकालीन अवस्थामा पनि कुनै फड्को मार्न सकेको छैन।
मानिसहरु खोक्रो परिवर्तनमा रमेका छन्। समाज प्रत्येक दिन जिर्ण बन्दै छ।
०००
एक्कासि हिजोका बन्दुकधारी अनि आजका कलमधारीहरुको विज्ञप्ती जारी गरे –
अबदेखि चरम हेर्ने, सोच्ने, परिकल्पना गर्ने र लेख्ने काम बन्द भएको छ गुरिल्ला गाउँपालिकामा। नयाँ नीतिनियम, संविधान, कार्यनीति, रितीथिती र विकासका नापनक्सामा अग्रसर भएर सबै गाउँपालिका मान्छे मिलेर त्यसलाई सुधार गर्ने निर्णय भएको छ। क्रान्तिले मात्र परिवर्तन गर्दैन। भएका वा बनिसकेका संरचना सुधार्नु झनै शक्तिशाली र परिवर्तनको फास्ट ट्रयाक हो। समकालीन समाज रुपान्तरणमा काव्यता लगायत नव युवापुस्ता, घुसे, हिस्टेपुस्टे, नाइके, बुढ्यौली, जुनेली, हरुवाभरुवा सबैले साथ दिनुहुनेछ।'
'समाजको नीतिनियम र प्रणाली मान्नुपर्छ। मैले आजैबाट आफ्नो दिमागी भूगोलमा ग्रेटवाल लगाउने भएँ। अनावश्यक सोचका सबै प्रवेशद्वारमा भोटेताल्चा लगाइदिएँ। समाजले दिएको निर्देशनअनुसार सुधार सत्याग्रहको भूमिकामा अग्रसर भएर लागिरहनेछु। परिकल्पनाको यो रुपान्तरणमा कसैले कसैलाई छल गर्न पाउने छैन। हामी निश्वार्थ भएर सुधारका लागि साथ दिनेछौं,' मैले सहभागिताका लागि पूर्ण प्रतिज्ञा जनाएँ।
दिन, महिना, वर्ष बित्यो। केही वर्षको संघर्षको अन्तरालमा सोच परिवर्तनमा सुधार आयो। 'द गुरिल्ला गाउँपालिका' नमूना गाउँपालिका बन्यो।
म र अभियानमा लागेका आममानिस पीपलचौतारीमा भेला भयौं।
यतिका वर्षपछि आज लागिरहेछ– कहिलेकाहीँ सोच्न बन्द गरेर बनेको निर्देशन पालना गर्दा पनि फाइदा हुने रहेछ। शरीरको ताकत मात्रैले होइन, दिमागी ऊर्जाको कमाल पनि गतिलै हुँदो रहेछ।