मन आफैंमा चञ्चल हुन्छ र कहिले पनि स्थिर भएर बस्न सक्दैन। त्यस्तो चञ्चल मनलाई पीडाले दबाइदिँदा र पोख्ने ठाउँ नपाउँदा निकै असह्य महशुस हुन्छ।
हामी जति पीडालाई मनभित्र दबाउँछौं, उति नै चिन्ताले चिता पुर्याउँछ भनेझैं चितामा पुर्याउन केहीबेर नलाग्ला भन्न सकिँदैन।
नेपालीमा गीत नै छ- मनको कुरालाई बाँधी नराख.. । मनको बह त पोख्ने हो, तर को सँग र कसरी पोख्ने? सहन सक्नु त उत्तम उपाय भैहाल्यो। तर कहाँसम्म र कुन हदसम्म सहने भन्ने कुरा पनि आउँछ।
जीवनमा सायद बाल्यकाल नै सबभन्दा रमाइलो र स्वतन्त्र हुन्छ, सानो कुरामा रोइदिए भैहाल्यो। त्यो बेला कुरा पोख्ने विश्वासिलो पात्र भनेकै आफ्नो बाबु आमा। बाबु आमा भन्दा सुरक्षित र विश्वासिलो ठाउँ अरू कहाँ नै हुन सक्छ र?
तर ठूलो भएपछि चाहिँ त्यो कुरामा पनि परिवर्तन हुँदै जाँदो रहेछ। बाबु आमामाथि आफ्नो दु:ख थुपारेर उहाँहरूलाई पीडा दिएर आफ्नो मन हलुंगो पार्न फेरि मनले पनि मान्दैन।
बाबु आमालाई कहिलेसम्म आफ्नो मनको कुरा भन्ने यो हाम्रो विवाहपछि झन् बढी उब्जिएको प्रश्न हो।
विवाहपछि सबभन्दा विश्वासिलो पात्र भनेकै जीवन साथी हुन्छन्। त्यही सोचाइ राख्दै दुई मुटु एक भन्दै एक बनाउन खोजिन्छ र बाबु आमा भन्दा नजिक उनैसँग हुँदै गइन्छ अनि विस्तारै बाबु आमा सँगको दूरी पनि टाढिँदै जाँदा बाबु आमासँग दु:ख पोख्न संकोच पनि लाग्दै जान्छ।
यो कुरा महिलामा मात्र लागू हुन्छ भन्न खोजेको चाहिँ होइन,पुरूषहरूका पनि यस्तै गुनासा हुन्छन्।
म महिला भएको नाताले महिला पात्रलाई जोड दिएर लेखेकी मात्र हुँ।
मन मिल्दासम्म त लोग्नेसँग भएभरको गोप्य र नितान्त व्यक्तिगत कुरा पनि निसंकोच खोलिन्छ,फेरि लोग्ने र स्वास्नीको बीचमा पनि एकापसमा मनमुटाव भएर आरोप-प्रत्यारोप बढ्न थाल्यो भने त्यही कुराले गर्दा झन् खाँदै गरेको गाँसमा ढुंगा भेटिएजस्तै निल्नु न ओकल्नु भैदियो भने....?
त्यसपछिको अर्को उपाय भनेको मन मिल्ने साथीसँग मनको कुरा पोख्नु हो।
सबैका साथी भरपर्दा र विश्वासिला हुन्छन् भन्ने पनि छैन। अहिले साथी भेटें भनेर मनको सबै गुदी खोल्ने तर त्यही कमजोरीको फाइदा साथीले उठाइदिए भने के गर्ने?
आफ्नो राम्रो पक्षको कुरा गर्दा या प्रगतिको कुरा गर्दा त खुट्टा तान्ने कति हुन्छन् अझ कमजोरी भेटाउँदा त झन् के होला? फेरि उनीहरूमार्फत् आफ्नो कुरा एकान दुकान मैदान हुँदै सबैले थाहा पाएर झन् मर्नु न बाँच्नु भैदियो भने....?
त्यसपछि अरु नजिकका भनेका दिदीबहिनीहरू नै हुन्छन्। तर आफ्नो कमजोरी, गल्ती र दु:ख पीडा दिदीबहिनीहरूलाई कसरी भन्ने? उपाय नलागेमा भन्नु पनि पर्ने स्थिति आउँछ।
दिदीबहिनीसँग त मनको बह र कुरा राखिन्छ तर दिदी बहिनीले आफ्नो लोग्ने या परिवारका अन्य सदस्यहरूसँग त्यो कुरा खोलिदिए भने दिदी बाहिनी त हो उनको लोग्ने र परिवारका अन्य सदस्यहरूबाट पनि अपहेलित भइन्छ र उनीहरूले हेर्ने दृष्टि पनि फेरिन थाल्यो भने...?
जस्तै: आफूले आफ्ना सन्तानलाई गाली त गरिन्छ, तर त्यही गाली आफूबाहेक अरु कसैले गरिदिए भने आफ्नो मन कति दुख्छ। त्यस्तै आफूले त चित्त नबुझेको भनिन्छ तर अरू कसैले आफ्नालाई भनिदिए भने आफ्नै मन दुख्छ किनकी त्यहाँ माया लुकेको हुन्छ। त्यसैले भन्नु पनि उचित रहेन।
त्यसपछि दाजु भाइको पालो आउँछ। एक त दिदीबहिनी जस्तो दाजुभाइसँग धेरै कुरा हुँदैन र कुनै कुरा दाजुभाइसँग गर्न नमिल्ने पनि हुन सक्छ। तर गरिहालियो भने पनि दाजुभाइले बुहारी अथवा भाउजूसँग भने पछि माइतीको आँगन टेक्दा नै त्यही अनुरूपको व्यवहार आइदियो भने...?
मनको कुरा भन्न त भन्ने हो तर कोसँग भन्ने त?
यसै मनमा कुरा खेलाउँदै जाँदा छोराछोरीहरू पनि हुर्किसकेका हुन्छन् र कुरा बुझ्ने पनि भैसकेकका हुन्छन्।
सबै भन्दा सजिलो त आफ्नै सन्तानसँग मनको कुरा पोखे भैहाल्यो नि भन्ने मनमा त आउँछ तर भन्ने इच्छा मनमै मार्नुपर्छ।
सन्तानले आजसम्म त बाबुआमालाई भगवानको रूप देख्दै आएका हुन्छन् फेरि उनै सन्तानले त्यही कुराले गर्दा आफ्नै बाबुआमालाई हेर्ने दृष्टि फेरियो भने.....?
मनको बाघले खानु भन्दा वनकै बाघले खाओस् भनेर मनको भारी बिसाउन त खोजिन्छ, झन् बिसाउन खोज्यो तर झन् दुई चार शब्दका वाण थपिएर झन् भारी बढ्यो भने के गर्ने?
यो म स्वयं आफैंले पनि भोगेको कुरा हो- मनको कुरा पोख्दा पछि पछुताउनु परेको थियो। त्यसैले त हाम्रो समाजमा कथन छ- मनको बह कसैलाई नकह.... ।