Setopati ब्लग
Subscribe Setopati
शुक्रबार, असार २७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

‘इजा’   

चेतना शर्मा

चेतना शर्मा

रातो पुरानो थोत्रो पातलो कपडाले बाँधिएको टाउको, ब्लाउजभित्र परिवारका पुरूषहरूले प्रयोग गर्ने पुरानो गन्जी (जसलाई स्थानीय भाषामा बनियान भनिन्छ), त्यस्तै  जीउमा नमिलाएरै  बेरिएको पटुका र  धोतीको पहिरन।

यो भेषभूषा देख्दा मेरा आँखालाई  असहज  भइरहन्थ्यो। यद्यपि, बाहिरबाट हेर्दा जति असहज र  अव्यवस्थित देखिएता पनि उनी  आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरूप्रति भने सधैं व्यवस्थित भएर प्रस्तुत भैरहन्थिन्।

उनी थिइन् मेरी साथीकी ‘इजा’ अर्थात् आमा।

मैले आफ्नो जीवनमा पहिलो पटक भेटेकी ‘इजा’ पनि उनी नै थिइन्।  सुरूमा, आमालाई गरिने यो  सम्बोधनमा  उनको पहिरनजत्तिकै  कताकता के नमिले झै लागिरहन्थ्यो। किनभने मेरो परिवारमा सबैले आमालाई ‘आमा’ नै भन्ने सुनेकी थिएँ।

सुदूरपश्चिममा प्रयोग हुने केही यस्ता शब्दावली छन् जसले यस स्थान विशेषको भाषाको मौलिकता मात्र होइन समाजको परम्परा र संस्कारहरू समेत ती शब्दमा खाँदिएको जस्तो लाग्छ। 

यस स्थानको धेरै इजाहरूलाई नजिकबाट भेट्दा उक्त सम्बोधनको भाव र तिनका लागि बनाइएका सामाजिक परम्पराबीच तालमेलको स्वरूप प्रतिबिम्वित भयो।

आमालाई सम्बोधन गरिने शब्दहरू समयप्रारूप अनुसार फेरिँदै आएका छन्। यसोभन्दैमा  सम्बोधनका कारणले मात्रै  भावनामा  विचलन आउँछ भन्न खोजिएको त होइन।

तर, समाजका भाषा र  संस्कृति वा भनौं लवजहरूले समेत  कुनै युगको समग्रतालाई प्रतिबिम्बित गराइरहेका हुन्छन्।

मेरो मस्तिष्कले  प्रश्न  गथ्र्यो,  के इजाहरू आमाहरूभन्दा फरक हुन्छन्? यो प्रश्न मेरालागि सधैं इजाहरूतर्फ आकर्षित गर्ने आधार बन्यो।  र  केवल साथीको माध्यमबाट नाता गाँसिएकी  मेरी साथीकी इजातर्फ  म  प्रत्येक भेटपछि आकर्षित हुन थालें।

इजा सखारै उठ्थिन्। उनको दैनिकी गाई भैंसीको दूध  दुहुनु र  गोठको गोबर सोहरेसँगै अविरामरूपले चलायमान हुन्थ्यो।

परिवारमा उनले थामेको बिंडोलाई नजरअन्दाज गर्ने संस्कार समाजमा ‘इन्टरनलाइज्ड’ थियो। इतिहासदेखि नै इजाहरूले गर्नुपर्ने कामहरूको फेहरिस्तहरूमा एकमूर्तता थियो।

सकेसम्म आफू त्यो सीमारेखा बाहिर जान नपरोस् भन्ने कुरामा  स्वयं पनि प्रयासरत रहन्थिन्।  कामको गतिले उनलाई पकडेको हो वा उनले कामलाई कुदाइरहेकी छन् पत्तै हुँदैनथ्यो।

महीमा पिठो हालेर पकाएको ‘पलेउ’ वा तिहुन मेरी साथीकी इजाले प्राय: भातसँग पकाउँथिन्। पलेउमा तैरिरहेको  खुर्सानीका राता बोक्राहरूको  स्वाद जिब्रोले पनि  बेग्लै प्रकारले दिन्छ।

सबैलाई खाना पस्किसकेपछि इजाले आफ्ना लागि खुर्सानीका बोक्रा छुट्याएर अलग राख्दथिन्। जिब्रोमा भातसँगै खुर्सानीका स्वाद लिइरहँदा थकानलाई पनि सँगै मेटिरहे झैं लाग्थ्यो । त्यस्ता खुर्सानीका बोक्राहरूले तरकारीका अभावमा उनका लागि राम्रै सितनको काम गर्दथे।

सबै सदस्यले खाइसकेपछि रित्तिसकेका भाँडाहरू पुछपाछ गरेर खानेबानी उनलाई त्यस घरमा भित्रिएसँगै परिसकेको थियो।

हुनत उनले आफ्नी इजालाई पनि यस्तै अवस्थामा देखेकी थिइन्। यो अभावमा बाँच्ने संस्कृति  एउटा युगबाट अर्को युगमा सरेर आएको मात्र थियो। इजाले निर्वाह गर्नुपर्ने भूमिकामा भने कुनै चलमलाहट थिएन। पात्रहरू मात्र न फरक थिए।

कहिलेकाहीँ इजाको अनुहारमा परिरहेका ठाडा र तेस्रा रेखाहरूले हेरिरहँदा एउटा धर्सा र अर्को धर्साहरूबीच मन अल्भिरहन्थ्यो। पुनः प्रश्न गर्थें किन सुकिलामुकिला हुँदैनन् इजाहरू ?   मलाई ती रेखाहरूलाई चाउरी भन्न अझै पनि  मन लाग्दैन। ती  अनुहारका धर्साहरू उमेरजन्य परिणामभन्दा भोगाइले सृजना गरेका असामयिक जलप बढी  लाग्दथे। जसले यो पिंढीका हामी छोरीहरूलाई समेत  अंगालोमा  लिन तम्तयार भइरहेका  हुन्छन्।

अर्थात् आउने पिंढीहरूले समेत यही धरातलमा उभिएर बाँच्नुपर्ने अघोसितरूपमा पढाइरहेका पाठ थिए।

जवानीका पलहरूसँग साक्षात्कार नहुँदै  विवाहको अनिवार्य बन्धनमा बाँधिएका कयौं इजाहरू अबोध बाल्यकालबाट सोझै बुढेसकालमा प्रवेश गरेका संकेतलाई उनीहरूको मानसिक र शारीरिक व्यवहारले जाहेर गरिरहेको हुन्छ।

कहिलेकाहीँ तरक्क चुहिने उनका आँसुले मुटुमा अल्झिरहेका पीडालाई सरक्कै पखालेर ल्याउँथ्यो।  तिनलाई पनि सधैं प्रकट हुने अनुमति कहाँ हुन्थ्यो र!  

मनलाई शब्दमा कैद गर्न नसकिने अव्यक्तताले मलाई झन्झनाहट उत्पन्न गराइरहेको हुन्थ्यो। पुनः प्रश्न गर्थें के भावरहित हुन्छन् इजाहरू ?

मेरी साथीलाई प्रश्न गर्थे तिम्री इजा किन कम बोल्छिन्?

इजा ‘पुतारी’ अर्थात् महिला भएकोले घरमा ठूलाबडालाई बोलेको मन पर्दैन त्यसैले हो भन्ने सहज उत्तर साथीबाट पाउँथे।

तर, कता पखाल्छिन् र कता थन्क्याउँदी होलिन् इजा आफ्नो मौनता अथवा साँघुरिनु अघि उठ्ने हुरीबतासलाई भन्ने चाहिँ लागिरह्यो। त्यसैले मेलापात गर्न जाँदा आफूसरहका साथीभाइसँग यदाकदा आफूलाई खुकुलो पार्थिन् अवकुण्ठित मन। त्यो पनि ‘यदाकदा’।

मतमातान्तर भन्दा भिन्न रहने त्यो स्थिर मनलाई पनि यो भन्दा बढी स्वतन्त्रताको चाहना हुँदैनथ्यो होला भन्ने लाग्छ।

अन्य सदस्यका एक चौथाइ निद्रा पुगिसकेपछि मात्र राति ओछ्यानमा आफ्नो शरीरलाई विश्राम दिन भ्याउँथिन्।

उनीजस्ता  इजाहरू अथकित हुन्थे वा उनीहरूले थकानलाई नजरअन्दान गर्न जानेको हुन्थे? यो प्रश्न गौण हो यिनका सामु।

घरमा श्रीमानलाई खान पर्खंदापर्खंदै चुल्हामै आधा निन्द्रा पुगाइसक्ने तर, श्रीमान भन्दा छिटो खान हुँदैन भन्ने मान्यता बोकेका इजाहरू पतिभक्तिका कस्तो सरोवरमा तैरिरहेका हुन्थे! त्यो बुझ्न कठिन त थिएन तर, त्यो विश्वासको  सरोवरमा जतिसुकै ढुंगा हान्दा पनि कुनै हालतमा तरंग उत्पन्न हुँदैन भन्ने कुरा बुझ्दै गए।

यस अर्थमा मेरी साथीकी इजा पनि बेजोड लागिरहिन्।

घर चलाउन आवश्यक पर्ने आधाजसो अप्रत्यक्ष आर्थिक भार उनले बोकेकी थिइन्। यतिगर्दा पनि  यिनको बुहार्तन र अन्य जिम्मेवारीलाई  ‘केही गर्दिनन्’  भन्ने ठप्पा झुण्ड्याइएकोमा कुनै अनौठो मान्नुपर्ने कारण हुँदैन।  उनी स्वयं आफूलाई पनि सधैं केही नगरेको भन्ने लाग्थ्यो वा यी सबै संघर्ष महिलाले जन्मेसँगै प्राकृतिक आउने र झेल्नुपर्ने हुन्छ भन्ने उनको बुझाइ रहेको हुन्छ।

‘रातो रंग’ यिनको प्रिय थियो। रातो रंग, परिवार, लोग्ने यी एक आपसमा जोडिइरहने उनका जीवनका सेरोफेरो थिए किनभने रातो रंग  यिनका जीवनमा पतिको भौतिक उपस्थिति रहेसम्म प्रिय हुनैपर्छ भन्ने विचारको जरा निक्कै गहिरो थियो।

त्यो रंग प्रिय हुनैपर्छ भन्ने मान्यता समाजले खाँदी दिएको थियो।  मन पराइ र मन नपराइमा उनको मनको कुनै ‘चाहना’ को कुनै स्थान रहँदैन थियो। अर्थात् उनको मन पराइ यस्तै हुनुपर्छ भन्ने कुरा पनि समाजले उनको जन्मसँगै निर्धारण गरिदिएको थियो।  त्यसैले  टाउको दुख्दा  पुरानो रातो  कपडालाई टाउकोमा कसिरहेको देख्दा अचम्म मान्न नहुने कारण भेटें।

सधैं घर व्यवहार, वृद्घ सदस्य र पाहुनाहरूलाई देवतुल्य मानेर सेवा गर्ने संस्कारहरू निर्वाह गर्दा पोषणयुक्त खानाको अभाव,  रोपाइँ चल्ने याममा  माटो र पानीले कुहिएर चर्राउने उनका खुट्टाहरू र धेरै पटकको सुत्केरी हुँदा उचित स्याहार नपाउँदा चस्किरहने कम्मरले यावत काममा कुनै अवरोध पार्दैनथे।

लोग्नेको कमाइमा उनले वर्षको मुश्किलले एक जोर लुगा पाउँथिन्। शरीरमा गाईभैंसीका  गोबर सोहरेको गन्धहरू हुन्, अङारले काला भाँडा माझ्दा बनेका कालाम्य नङहरू  वा कपालमा  अल्झिरहने घाँस परालका तना नै किन नहुन् यी सबैले नैसर्गिक रूपमा जन्मको बिंडोलाई थामिरहे जस्तो लागिरहेको हुन्छ। यति गर्दा समाजको दृष्टिमा पनि सबै काम  घरका ‘बुवाहरूले’ नै गर्दथे !!

एकदिन खबर पाएँ, मेरी साथीकी इजाले यो संसार छाडिन् रे!  किन र कसरी बितिन् भन्दा पनि उनी यो संसारमा छैनन् भन्ने कुराले मलाई विचलित तुल्यायो। स्मृतिका श्रृंखलाहरू एकाएक मेरा आँखामा बिझ्न थालें।

पाठेघरबाट निरन्तर रूपमा बगिरहेको रगतका लप्काहरू नरोकिएपछि उनका प्राण पखेरु उडेर गए। उनी शून्यतामा बिलाइन् भन्ने थाहा पाएँ।  औषधि उपचार नपाएर उनको कम्मर दुख्ने समस्या झन्झन् बल्झिँदै गएपछि केही दिन थला परिन्। धामी झाँक्री गराइयो। 

तीन पुस्ताअघि उनको परिवारमा कसैले भाकेको भगवानले पाएका छैनन रे! त्यसैले भगवान रिसाएका छन्। ठूला भलादमी भनाउँदाहरूले उनको  बिरामीको  समस्याको मूल कारण पहिचान गरे र यही निष्कर्ष निकाले।

 मेरी साथीकी इजाजस्तै उपचार नपाएर सुदूरपश्चिमका धेरै घरहरूका  इजाहरूले अकालमै संसार त्यागेका छन्।

उनीहरूको जीवनले  बुवाको जीवन जत्तिको महत्व पाउँदैन। बुवाहरूले त अर्की इजा ल्याउने अनुमति पाएका छन्।

केही दिनपछि घरको कामलाई फेरि अर्की इजाले सम्हाल्छिन्।   यो भने पक्कै हो त्यो घरकी आधारस्तम्भ ढलिन्। यस्ता थुप्रै इजाहरू छन् जो समाजको नजरमा केवल पत्नी, आमा, बुहारी, काकी, ठूली आमाको जिम्मेवारीहरू निभाइरहेका हुन्छन्, जो आफू स्वयंलाई भने बिर्सन पर्छ भन्ने मानसिकतासँग बाँचिरहेका हुन्छन्।

यी इजाहरू आफ्ना जन्म र कर्मको मिलनलाई आफ्नो भाग्य ठान्दछन्। हुनसक्छ, त्यसैकारण आफूभित्र सल्बलाइरहेका संवेदनाहरूको कुलो थुनेर राख्नु कुनै अनौठो होइन् यिनका निमित्त।

मेरी साथीकी इजा पनि कुनै गुनासो नगरिकनै गइन् लाग्यो।  मनमा अड्किएका गुनासासँगै कतै विश्राम गर्दै होलिन्।

मुटुको कम्पनले तरंगीत गर्दै आँखाका डिलमा केवल तरल पदार्थको रूपमा  रूपान्तरण गर्ने तर,  निःशब्दरूपमा  भेदभावहरूलाई  झेलिरहेका यो समाजका इजाहरूका लागि जीवन केवल ‘एक’ जन्ममात्रै बनेर रहन गए।

अहिले पनि कतिपयका लागि सो अवस्था र सन्दर्भहरूमा बदलिएको छैन। उनीहरूका आवाजबाट आफैंले गरिरहेका संघर्षका कथाहरू व्यक्त भएनन् र हुँदैनन् पनि। किनभने उनीहरूको जन्म र कर्महरू बुवाहरूका भन्दा फरक हुँदैन भन्ने मान्यताको जरा उखेल्नसक्ने  ‘साहस’  यो समाजमा निकै कोशिसका  बावजुदमात्र जन्मिनसक्छ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १९:१६
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

ताल्चा लागेका दुई कोठा!
सरकारको नुन खाने रहर!
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?'
प्राइभेट जागिर भर्सेस लाेक सेवा
छोरीको बिहेमा जानुभन्दा पहिले पालना गर्नुपर्ने यी मापदण्ड!
डिभी परेपछि…      

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP