लकडाउन भर्खर-भर्खर खुलेको बेला थियो। म काम विशेषले बजारतिर निस्केकी थिएँ। मेलाम्चीको पानी ल्याउन बाटो खनिँदै गरेको सडकको एक गल्लीमा हिलो र धुँवासँग मितेरी गाँस्दै गरेकी एक वृद्ध महिलामा मेरो आँखा पुग्यो। उनले कलंकी खड्का गाउँको एक गल्लीको छेउमा धुँवा पुत्ताउँदै आगोमा मकै सेकिरहेकी थिइन्।
‘लकडाउनको बेला मकै किन्न आउनेहरु कोही भएनन् होला, कसरी गुजारा चलाउनुभो त आमा?’ प्रश्न भुँइमा खस्न नभ्याउँदै ती आमैले प्रतिप्रश्न गरिन् ‘लकडाउनले कति हन्डर दिएको छ, त्यो त मलाई मात्र थाहा छ। भनेर पो के गर्नु? हामीलाई कसले पो सहायता गर्छ र?’
लकडाउनमा मानिसका दैनिक कामकाज ठप्प भएजस्तै उनले बिहान बेलुका छाक टार्ने मेलो पनि ठप्प थियो। ज्यामी काम गरेर परिवार पाल्दै र बच्चा पढाउँदै आएकी ओखलढुंगाकी ५८ वर्षिय सिता कटुवालको चुलो लकडाउन भएसँगै निभेको रहेछ।
घरको चुलो सघैँ निभ्न त दिन भएन। बरु सडकको गल्लीमा चूलो बालेमा घरमा पनि बाल्न सकिन्छ कि? उनको मनमा नयाँ कामको लहड चल्यो र सडकको छेउमा आगो बालेर परिवारको पेटमा ताप दिने निधो गरिन्।
एक दिन बिहानै आफूसँग बचेको जम्मा ५ सय लिएर हरिया मकैको खोजिमा निस्कीन्। दिनभर सडकको एक छेउमा मकै पोलेर साँझ सम्म ७ सयको व्यापार गरिन्। साम कटाएर २ सय नाफा निस्कियो।
उनले भनिन् ‘दिनदिनै यसरी नै कहिले मकै पोल्ने कहिले तरकारी बेच्ने गरें भने त जेनतेन गुजारा चल्ला नि भन्ने लागेको छ।’
ज्यामी काम गर्दा पनि मालिकले समयमा ज्याला नदिने र दिएपनि अड्कलेर दिने गरेका कारण उनलाई सो काममा झर्को लाग्न थालेको रहेछ। लकडाउनले त उनलाई नयाँ काम थाल्ने बाटो देखाइदियो। सुरुमा परिवार पाल्ने विकल्प र बाध्याताले यो काम थाले पनि अहिले भने रहर र खुसीमै सो काम अघि बढेको छ उनको।
यति बेला कोरोना कहरले दिएको हण्डर बिर्सेर जीवनचर्याका नयाँ विकल्प खोज्दै छन् उनीजस्तै लाखौँ मजदूर। अहिले कतिपय श्रमिक आफ्नै गाउँ फर्केर खेती किसानी गर्न थालेका छन् भने कतिपयले सहरका छेउछाउमा नाङ्लो व्यापार गर्न थालेका भेटिन्छन्।
कोराना कहरका कारण विश्वले नै आर्थिक संकटको सामना गरिरहेको यस घडीमा मजदूरहरु बाँच्नका लागि अनेक विकल्प खोज्न थालेका छन्। ज्लादारीमा काम गर्ने अधिकांश मजदूरले मालिकहरुबाट काम अनुसारको ज्याला नपाएको गुनासो गर्छन्।
सधैँ न्यून ज्यालमा मजदूरी गरेर कष्टपूर्ण जीवन बाँचेकाहरु आफ्नै बलबुँतामा नयाँ काम थालेमा बरु परिवार सहजै पाल्न सकिनेमा ढुक्क हुन थालेका छन्। विश्वभर फैलिएको कोरोना महामारीका कारण लाखौं श्रमिकहरु अहिले कामविहीन भएका छन्। अझै कतिले त काम गरेको ज्याला समेत पाउन नसक्दा परिवार पाल्ने पीडाले रन्थनिएका छन्।
तर श्रमिककै पसिनाले सहरमा आलिसान महल ठड्याउनेहरुले भने न त ती मजदूरका पसिना पुछिदिए न त पीडाको घडीमा मलम बन्न नै सके। रोजगारदाता तथा उद्यमीहरुले लकडाउन भएपछि रोजगारी गुमाएका श्रमिकको पुर्नवहालीको व्यवस्था मिलाउन र आर्थिक संकट पर्न नदिने आश्वाशन दिएका थिए। तर, श्रमिकले भने न त काम गरेको बेलाको तलब पाए न त रोजागारीमा पुर्नवहालीको वचन।
अहिले पनि मजदूरका मालिक बनेकाहरू तिनै मजदूरलाई भर्याङ बनाएर शासकमा रूपान्तरित भएका छन्। तर, आम मजदूरको स्थिति भने उस्ताको उस्तै छ। अहिले नेपालमा मात्र होइन विश्वकै श्रम बजारमा शारीरिक श्रम गर्ने र मानसिक श्रम गर्नेबीच ठूलो खाडल छ। जबसम्म यस्तो खाडल रहिरहन्छ, मजदूरहरु अनेकौं पीडामा रन्थनिइरहनु पर्छ।
कोरोना महामारी देखिएपछि बेरोजगारी अझै बढ्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अध्ययनले बताएको छ। वैशाखमा सार्वजनिक गरेको तथ्यांकले कोभिड-१९ का कारण अनौपचारिक क्षेत्रमा काम गर्ने एक अर्ब ६० करोड मजदूरको रोजगारी खोसिएको आइएलओको प्रतिवेदनमा उल्लेख छ।
कोभिड १९का कारण सबैभन्दा जोखिममा अनौपचारिक क्षेत्रका मजदूर परेका छन्। यस महामारीकै कारण अहिलेसम्म अनौपचारिक क्षेत्रका ६० प्रतिशत मजदूरले रोजगारी गुमाएका छन्। आइएलओ यसअघि सन् २०२० मा आंकलन गरेको भन्दा पनि तीव्र गतिमा रोजगारी घट्ने जनाएको छ। यसरी बेरोजगार भएकामा अनौपचारिक क्षेत्रमा रहेका नेपाली मजदूर पनि परेका छन्।
दिनहुँ कमाएर आफ्नो ज्यालाबाट गुजारा चलाउने वर्गको आम्दानीको दिगोपन हुँदैन। उनीहरू आश्रित कम्पनी वा व्यवसायमा अप्ठ्यारोमा पर्दा कामका आधारमा तलब खाने वर्गको आम्दानी रोकिन्छ। अर्थात आफ्ना रोजगारदाताले पाएको हानीमा उनीहरु पनि भागिदार बनिदिनुपर्छ।
तर, बहुसंख्यक व्यवसायी र रोजगारदाताको व्यवसाय धानिदिएका वर्ग समस्यामा पर्दा तिनै उद्योगी व्यासायी मौन छन्। मजदूरहरु निर्बल हुने वित्तिकै रोजगारदाता तथा उद्योगधन्दा पनि धरासायी बन्ने खतरा बढ्छ। कोराना महामारीको रोकथाम गर्न गरिएको बन्दाबन्दीको कारण अति विपन्न वर्गको गरिखाने मेलो नै रोकियो। जसको कारण उनीहरु पुन गरिबीको भूमरीमा धकेलिंदै छन्।
१९ औं शताब्दीको मध्यबाट युरोपमा उर्लिएको मजदूर आन्दोलनले धनी र गरिबबीच असमानता अन्त्य गर्न मजदूरको शासन हुनुपर्ने मान्यता स्थापित गरेको थियो। तर, सो मान्यता धेरै समय टिक्न सकेन। असमानता अहिले पनि उस्तै छ।
अन्तर्राष्ट्रिय श्रम संगठनले तयार पारेको प्रतिवेदन ‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोसियल आउटलुकः ट्रेन्ड्स २०२०’ अनुसार संसारभर ४७ करोड मानिस बेरोजगार वा अर्धरोजगार छन्। १८ करोड ८० लाख मानिस बेरोजगार भएको प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदव अनुसार १६ करोड ५० लाखले कामअनुसारको ज्याला पाएका छैनन् र १२ करोड मानिससँग श्रम बजारसम्मको पहुँच नै छैन।
तथ्यांक अनुसार विश्वभर रहेको श्रम शक्तिको १३ प्रतिशत जनसंख्यया बेरोजगारीबाट पीडित छ। समग्रमा ४७ करोड मानिस बेरोजगारीका कुनै न कुनै पक्षबाट प्रभावित भएको देखिन्छ। पछिल्लो ९ वर्षमा विश्वव्यापी बेरोजगारी तुलनात्मक रूपमा स्थिर थियो। सो बेला विश्व आर्थिक वृद्धिदर घट्दै गइरहेको र श्रम शक्ति बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा सन् २०२० मा २५ लाख थप मानिस बेरोजगार हुने अनुमान गरिएको छ।
कोराना महामारीले राजगारी खेसिएका वर्ग तथा काम अनुसारको ज्याला नपाएका वर्गको आर्थिक स्थिति उकास्न सरकार तथा स्थानीय निकाय तथा रोजगारदाताले आय आर्जनका नयाँ कार्यक्रम तथा योजना तत्काल थालनी गर्नैपर्छ। रोजगारी गुमाएका र गुजाराको लागि विकल्प खोज्दै गरेका श्रमिक वर्गको जीवनस्तर खस्कन नदिन सरकाले तत्काल आर्थिक उपार्जनका व्यवस्था मिलाउनुपर्ने देखिन्छ।
मुलुकमा गरिबीको दुष्चक्र फैलिन थाल्यो भने त्यसले पुस्तौं पुस्तासम्म असर पार्छ। खासगरी दिनहुँ कमाएर बिहान-बेलुका छाक टार्ने वर्गलाई गरिबीको भूमरीमा फस्न नदिन आय अर्जन र रोजगारीका कार्यक्रम ल्याउनु जरुरी छ।