एकजना चिनियाँ साथीलाई नेपालबाट ल्याएको अकबरे खुर्सानी उपहार दिएको थिएँ। सिसाको सानो बोतलमा राता अकबरे खुर्सानी हेर्दैमा लोभलाग्दा र आकर्षक थिए। अझ इलामबाटै ल्याएको। इलामका विभिन्न 'अ' मध्ये अकबरे खुर्सानी एउटा हो। पहिले इलामबाट काठमाडौंमा अकबरे ल्याएर बाँडिन्थ्यो अहिले बेइजिङसम्मै बाँड्न थालियो।
स्थानीय बजारमा कतै पनि नपाइने र नदेखेको कुरा उपहारमा पाएर चिनियाँ साथी दंग पर्दै गएको थियो। म पनि आफ्नै बारीको उपहार दिन पाउँदा मख्ख। तर भोलिपल्टै त्यो चिनियाँ साथी त कोठामा आइपुग्यो रिसले चुर हुँदै। उस्तै परेमा उसले त मुद्दा हाल्ने सम्मको कुरा पो गर्यो बा। के भएछ भनेको त अकबरे खुर्सानीको करामत रहेछ।
हरेक वर्ष बिदामा नेपाल गएर फर्कंदा ठूलो दुविधामा पर्ने गर्छु 'चिनियाँलाई के उपहार लिएर जाने?'
बजारमा पाइने चिटिक्क परेका र आकर्षक वस्तुहरू सबै चीनमा बनेका छन्। अब चीनमा बनेका वस्तु नेपाली बजारबाट किनेर चिनियाँलाई उपहार टक्र्याउने धृष्टता कसले गरोस्?
सुरूका केही वर्ष पाटनबाट बुद्धका मूर्ति र काठका झ्यालहरू किनेर ल्याएँ। मयूर झ्याल, आँखी झ्याल, लगायतका काठका झ्यालहरू आकर्षक र मौलिक नेपाली पाराका भएकाले आकर्षक लाग्नु स्वभाविक पनि हो।
बेइजिङको केन्द्रभागको थिआनआनमन स्क्वायरको पूर्वपट्टि रहेको राष्ट्रिय संग्रहालयमा पचास वर्ष अगाडिदेखि नेपालका तत्कालीन राजा तथा प्रधानमन्त्रीहरूले चिनियाँ नेताहरू माओत्से तुङ, तङ स्याउ फिङ, हु चिनथावो लगायतका नेतालाई दिएका बुद्धको मूर्ति र झ्यालहरू राखिएको देख्दा ठीकै गरिएछ भन्ने पनि लाग्यो।
काठका झ्याल र बुद्धको मूर्ति उपहार दिँदा दिनेलाई त आनन्द आउने रहेछ तर लिनेलाई नि!
बिचरा चिनियाँले ती काठका झ्याल कहाँ लगेर सजाऊन्। एकाधपटक नेपाल गएका अथवा नेपालको बारेमा राम्रो जानकारी लिएका छन् भने त ती उपहारको महत्व उनीहरूलाई थाहा होला, नत्र के मतलब!
३५ करोडभन्दा बढी बौद्धमार्गी रहेको चीनमा बुद्धको मूर्ति उपहार पनि उत्ति सान्दर्भिक नहुने रहेछ।
एकजना सहकर्मी चिनियाँ साथीलाई मैले बुद्धको मूर्ति उपहार दिँदा उनले लिन अनकनाइन्। सोझै अस्वीकार गर्न पनि उनलाई अप्ठ्यारो थियो। उनले घुमाउरो पारामा भनिन् 'अरु कोही साथीलाई दिनुहोस् नै है!'
बुद्धको मूर्ति उपहार लिन अप्ठ्यारो लागेकोबारे उनले खुलाइन्। उनको कुरा सुनेर म आश्चर्यचकित भएँ।
मान्छेका भावना, सोचाइ र विश्वास यति सारो गहिरो हुन्छ भन्ने कुरामा मैले कहिल्यै ख्याल गरेको थिइनँ। उनका अनुसार बुद्धको मूर्ति घरमा राखेपछि परम्परागत चिनियाँ पात्रो अनुसार महिनाको पहिलो दिन र पन्ध्रौं दिन (औँशी र पूर्णिमा)मा पूजा गर्नुपर्छ, मानभाउ पुर्याउनुपर्छ।
बुद्धकै मूर्ति राखेपछि त्यसलाई सम्मान गर्नुपर्छ। त्यसो गर्न दुइटा कारण प्रतिकूल हुन्छन् रे।
पहिलो कामका सिलसिलामा ती दिनमा बाहिर गएको बेला पूजा गर्न छुट्छ र बुद्धलाई अपमान गरेको ठहर्छ।
दोस्रो चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यलाई पूजा गर्ने र धार्मिक विश्वासमा लाग्न प्रतिबन्ध छ। उनी पनि चिनियाँ कम्युनिष्ट पार्टीकी सदस्य थिइन्।
ओहो! मैले बुद्धको बारेमा यस्तो कहिल्यै सोचिनँ। बुद्ध भारतमा जन्मिएका हुन् भनेर कसैले भन्दा मुर्मुरिन्थें। त्यसो भन्ने व्यक्तिलाई पाखुरा सुर्किएर कुटिहालौं जस्तो लाग्थ्यो। तर, हामीले बुद्धलाई व्यापारको साधन मात्र बनाएछौं। पर्यटक तान्ने साधन, विदेशी पाहुनालाई उपहार दिइने वस्तु, आत्मगौरव र आत्म सन्तुष्टिका लागि विज्ञापन। आफैंलाई कुरीकुरी लाग्यो।
फेरि बुद्धका मूर्ति बोकेपछि विमानस्थलमा चेकिङमा उस्तै कडाइ। कहिले त पुरातत्व विभागबाट 'यो मूर्ति पुरानो हैन' भनेर लेखाएर ल्याउनु पनि भनिदिन्छन् जागिरे कर्मचारीहरू।
पुरातत्व विभागको त्यही प्रमाणपत्रलाई दुरूपयोग गरेर मूर्ति व्यापारीले नेपालका ऐतिहासिक मूर्तिहरू समुद्रपार पुर्याएका छन्। एउटा मूर्तिका लागि प्रमाणित र लाहा छापलाई ऐतिहासिक पुराना मूर्तिमा साटफेर गरेर मूर्ति ओसारपसार गर्न सजिलो र वैधानिक बाटो पनि भएको छ।
हामीजस्ता दुई चार सयका मूर्ति उपहारका लागि किन्नेलाई चाहिँ विमानस्थलमा झन्झट गराउँछ आफ्नै कानून।
बुद्धको मूर्ति उपहार दिएँ भनेर मख्ख पर्नु पनि बिडम्बना नै रहेछ। पसलमा चिटिक्क र टलक्क परेका मूर्ति केही दिनमै कालो भएर विरूप हुने रहेछन्। कोत्रिएर पत्रपत्र निस्कँदो रहेछ। बेच्ने बेलामा चाहिँ सधैं उस्तै हुन्छ भनिदिन्छन्। हो भनेर पत्यायो आखिर हामी बुद्धका मूर्ति व्यापारी न पर्यौं।
काठका झ्यालका उही हविगत। हाम्रा सिकर्मी/डकर्मीहरूले झ्याल त बनाउँछन् तर त्यसलाई प्याकिङ गर्ने कुनै उपाय छैन।
लगेजमा हालेपछि दुई तीनवटा झ्यालले लगेज भरिन्छ। बेइजिङ आएर खोल्दा सकल्दो पाउनै मुश्किल। चोइटिएका, फुटेका, टुक्रिएका, चर्किएका र भत्किएका उपहार कसरी दिनू!
त्यसो भए नेपालीले चिनियाँलाई दिने उत्तम उपहार के हो त? त्यसको चर्चा गर्नुभन्दा अगाडि चिनियाँले नेपालीलाई दिने उपहारको पनि चर्चा गर्नु बान्छनीय होला।
चिनियाँले नेपालीलाई दिने अधिकांश उपहार 'ग्रिनटी' हो। ठूलो कार्टुन बक्स उचाल्दा दुई किलोभन्दा बढीको वजन। खोलेर हेर्दा कार्टुनबक्सभित्र रेशमी कपडाको बीचमा सेरामिक्सको बट्टा। अनि त्यो सेरामिक्सभित्र जम्मा एकसय ग्राम ग्रिनटी। सबै तौल त सेरामिक्सको बट्टा र कार्टुन बक्सले पो लिएको रहेछ। गुदी जस्तोसुकै भए पनि आवरण बढा गज्जब।
आखिर मान्छेलाई पहिलो प्रभाव त आवरणले नै पार्ने हो। ठूलो दुःखले ओखर फोरे जस्तो पाउने चाहिँ इत्रु।
सन् २०१९ को डिसेम्बरमा नेकपाका नेता देव गुरुङ बेइजिङस्थित रममिन विश्वविद्यालयले आयोजना गरेको एउटा सेमिनारमा सहभागी हुन आउनु भएको थियो।
चिनियाँ प्रोफेसरलाई उपहार दिन उहाँले फ्रेममा हालिएको माछापुछ्रेको फोटो ल्याउनु भएको रहेछ। तर झोलामा हालेर ल्याउँदा फ्रेमको सिसा फुटेछ। उहाँलाई सहयोग गर्न हपईमा पिएचडी गरिरहनु भएका मुक्ति मसारिनी बेइजिङ आउनु भएको रहेछ।
राति एघार बजेतिर मलाई मुक्तिजीले फोन गरेर सिसा कता फेर्न पाइन्छ थाहा छ कि भनेर सोध्नुभयो।
भोलिपल्ट बिहान ८ बजेको कार्यक्रममा गुरुङले चिनियाँ प्रोफेसरलाई उक्त उपहार टक्र्याउनु पर्ने रहेछ। सिसा कहाँ फेर्छ भन्ने पनि थाहा थिएन त्यसमाथि रातिको समय। मसँग एउटा झ्याल थियो। त्यो झ्याल पनि नेकपाकै नेता जगन्नाथ खतिवडाले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका एकजना नेतालाई दिन भनेर पठाउनु भएको।
दुई वर्ष अगाडि उहाँले पठाएको नासो मसँगै थियो। जसलाई दिनुपर्ने थियो ती चिनियाँ नेताको सम्पर्कै हुन सकेन। जगन्नाथले पनि सम्पर्क गर्न नसकेपछि कतै काम लाग्ला तपाईंले राख्नु भन्नु भएको थियो।
आखिर नेकपाकै एकजना नेताले ल्याएको उपहार अर्को नेतालाई काम लाग्ने ठानेर मैले मुक्तिजीलाई भनेँ 'अब सिसा फेर्ने कुरा छोड्नुहोस्। मसँग एउटा काठको झ्याल छ, बिहानै ल्याइदिन्छु काम लाग्ला।'
मुक्तिजीले देव गुरुङसँग सल्लाह गरेपछि हुन्छ भन्नुभयो। म बिहानै झ्याल लिएर गएँ। गुरुङजीले नेपालबाट ल्याएको उपहार हेरेँ। लिस्टिकको फ्रेममा एक लाइनको सिसा राखिएको र भित्रपट्टि माछापुच्छ्रे हिमालको फोटो रहेछ।
उपहार देखेर टिठ लाग्यो। विदेशी प्राध्यापकलाई नेपाली नेताले दिने उपहार हाइस्कुल पढ्ने टिनएजरले आफ्नो मायालुलाई दिएको उपहारजस्तो।
अकबरे खुर्सानीको उपहारबाट सुरू गरेको बरालिएर कता कता छरिएछु। फेरि सुरू गर्छु अकबरेबाटै।
बेइजिङको सानलीथुनमा पाँच वर्ष अगाडि साथीहरू उत्तम घिमिरे र प्रकाश अधिकारीसँग कुरा गर्दा मैले इलामको पहिचानको रूपमा रहेको अकबरे खुर्सानीको कुरा झिकें।
उत्तमजी अकबरे खुर्सानीका पारखी हुनुहुँदोरहेछ तर मुख्य उत्पादन चाहिँ इलाममा हुन्छ भन्ने थाहा रहेनछ।
उत्तम घिमिरे त्यतिबेला नेपाली दूतावासका कर्मचारी हुनुहुन्थ्यो भने प्रकाश अधिकारी कोरियाबाट रसायनशास्त्रमा पिएचडी गरेर एक अमेरिकी कम्पनीमा कार्यरत हुनुहुन्थ्यो। दसैं आउन लागेको थियो।
दसैं मनाउन नेपाल जाने कुरा थियो मेरो। उत्तमजीले भन्नुभयो 'फर्कदा अकबरे ल्याउन नबिर्सनु नि।'
दसैंमा अकबरे ठीक्क पाक्ने समय भएकाले मैले पनि हुन्छ भनें।
इलाम घरमा पुग्दा भाउजूले रोप्नु भएको अकबरे मिर्गले खाएर सबै ठुट्टै रहेछ। मावली दाजुकी छोरी चन्द्रकलाले ल्याइदिइन् पाकेका अकबरे खुर्सानी दुई किलो। त्यसलाई सधैं ताजै नूनपानीमा चोबलेर राख्नुपर्छ भनेर भाउजूले सिकाउनुभयो।
नून पनि ढिके नै चाहिने रे। असनबाट ढिके नून किनें र तातोपानी बिलाएर खुर्सानी राखेको बयममाथिबाट भरें। नपोखियोस् भनेर बयमलाई वरिपरिबाट प्लास्टिकले राम्ररी मोडें। अनि राखें लगेज ब्यागमा दुइटा ठूलठूला अकबरेका बयम ठाडो पारेर। मेरो बुद्धि पनि कोठामा पो ठाडो पारेर लगेज ब्यागमा राखेको थिएँ। ट्याक्सीमा ब्याग राखेपछि त ढलिहालेछ। विमानस्थलमा बोर्डिङ पास लिने लाइन बस्दा सबै मान्छे रुमालले आँखा पुस्न थालेँ। मेरा पनि आँखा पोलिरहेका थिए। एकजना महिलाले मतिर हेर्दै भनिन् 'तपाईंको ब्यागबाट के बगिरहेको छ हेर्नुहोस् त। गन्ध पनि कस्तो कडा!'
यसो हेरेको त सुलुलु पानी पो बगिरहेको छ। खुर्सानी रागले आफ्नै आँखा पोलेको पनि पत्तो थिएन। के गर्ने भनेर अलमलमा परेँ म।
लौ के हो भन्दै सबैजना हेर्न थाले रुमालले नाकमुख छोपेर। सुरक्षा कर्मी आउने डर पनि थियो। हतार हतार लगेज तानेर कुनातिर गएँ र ब्याग खोलखाल गरेर हेरेको त दुइटै बयमबाट खुर्सानी पानीले लगेजमा भएका कपडा सबै निछुप्र। अझ केही किताब किनेर बोकेको थिएँ तिनको पनि हातल खराब। बयमको पानी सबै फालेर प्लास्टिकले बाँधबुँध बनाएँ तर राग त उस्तै थियो। बोर्डिङ पास लिने ठाउँमा हैन के हो यस्तो सर भन्दै थियो। आँ उँ गरेर टारें। धन्न लगेज पास भयो।
बेइजिङको कोठामा पुगेर लगेज खोजेको त तुसारो परेजस्तो सेता छन् लुगाहरू। पानी सोसिए पनि नून धुलोको रूपमा लुगामा टाँसिएछ। किताबहरू अख्रक्क परेका। पानाहरू टाँसिएका छन्। विस्तारै खोलेको अकबरेको राग उस्तै कडा। यो थियो पहिलोपटक अकबरेको चीन यात्रा।
***
डा. प्रकाश अधिकारीकी श्रीमतीले अनु गौतमले भन्नुभयो 'नेपालमा सर्वसुलभ रूपमा फ्रिज नभएर हो नूनमा डुबाएर राख्ने चलन। यहाँ फ्रिज भएपछि नून हाल्लै पर्दैन। डिफ्रिजमा राखेपछि वर्षौंसम्म जस्ताको तस्तै रहन्छ।'
त्यसपछिका वर्षमा हरेकपटक नेपालमा ताजा अकबरे खुर्सानी ओसार्न थालें। न नून राख्नुपर्ने झन्झट न पानी हाल्नुपर्ने। लगेर फ्रिजमा राखेपछि सधैं ताजा। मेरा कोसेलीका ग्राहकहरू पनि थपिन थाले। दूतावासका तत्कालीन इकोनोमिक मिनिष्टर बिनोद आचार्य अकबरेका सबभन्दा डाइहार्ट फ्यान। भन्नुहुन्थ्यो 'पुर्याइपुर्याइ खान्छु। एउटा मात्र बाँकी रहेपछि खाना खाँदा अगाडि राख्छु र हेर्दै खान्छु तर चलाउँदिनँ। यसै गरी कयौं दिन भात रुच्छ।'
लीलामणि पौड्याल भर्खरै राजदूत भएर आउनुभएको थियो। उहाँलाई पनि एक बट्टा त्यही अकबरे लगिदिएँ।
'ओहो यो त ग्यास्ट्रिको दबाइ पो त' भन्नुभयो। धेरैले भनेको सुनेको छु ग्यास्ट्रिको दबाइ भनेर तर प्रमाणित हो वा अफवाह, थाहा छैन। आफ्नै बारीमा उत्पादित भनेपछि अर्गानिक पनि भयो। उहाँले खाना खाँदा कर्याप्प एउटा अकबरे टोक्नुभयो। ए उहाँ त पहिलेदेखि नै अभ्यस्त हुनुहुँदोरहेछ भन्ने लागेको थियो। उहाँले त पहिलोपटक पो खानु भएको रहेछ। हेर्दाहेर्दै पसिनै पसिना हुनुभयो।
'हैट खान नसकिने रहेछ' भन्दै रालसिगान पुस्तै उठ्नुभयो। पछि खानु भयो कि भएन थाहा भएन।
चिनियाँले जहिल्यै ग्रिनटी उपहार दिन्थे पैंचोमा अकबरे दिनुपर्यो भनेर दिएको थिएँ। उनले खुसी भएर लगेका पनि थिए तर भोलिपल्ट रिसाउँदै आए। लाने बेलामा कसरी खाने भनेर सोधेका थिए मैले सामान्य रूपमा अर्थ्याउँदै भनेको थिएँ 'तरकारी अथवा अचारमा हालेर खाए पनि हुन्छ। भात खाँदा यसै कर्याप्प टोकेर खाए पनि हुन्छ। खासमा यसको बासनाले पनि खानेकुरालाई मीठो बनाउँछ।'
उनले कसरी खाए थाहा भएन। भोलिपल्ट भाम रिसाएर भनें 'खुर्सानी भनेर किन ढाँटेको? झन्डै मरियो। हैट श्रीमतीले तुरून्तै फ्याँक्क लगाइन्।' सप्रिएका चेरी अथवा बयर भनेर पो चपाए कि मित्रले?
अझ उहाँको सात वर्षे छोराले पनि खाएर उधुम मच्चाएको हो कि? मसँग कुनै जवाफ थिएन। उनका अगाडि अकबरे कर्यामकर्याम चबाएर खान त म पनि सक्तिनथें। भातसँग एउटासम्म खान सक्थें।
उनलाई देखाउनका लागि खाना खाने समयमै बोलाउनु पर्ने थियो तर त्यो मौका पनि भएन। उनी रामवाणजस्तो बजेर आए र गाली गरेर फर्किहाले।
सहकर्मी लक्ष्मी लम्सालकी श्रीमती रोसिना अधिकारीले कोठामा फूल रोपेको गमलामा खुर्सानीको बिया राख्नु भएछ। दुइटा गमलामा दुइटा बिरूवा उम्रिए।
अब फलेपछि चिनियाँ साथीलाई यही हो अकबरे देखिस् भनेर प्रमाणित गर्ने विचार मनमा थियो। बिरूवा बढ्दै गयो, बढ्दै गयो, फुल्यो पनि तर फलेन। बिरुवा बढेर डेढ मान्छेभन्दा अग्लो हुँदै सिलिङमा पुग्यो। एकदिन लक्ष्मीजी दुई बित्तामाथि छुरीले ठुन्क्याइदिनु भएछ। बेलुका कोठामा आउँदा खुर्सानी त ठुट्टै। ठुन्क्याएका ठाउँबाट फेरि हाँगा पलायो अनि फुल्यो र फल्न पनि पो थाल्यो। त्यसका बाजे कहाँको अकबरे हुनु लामो खुर्सानी पो परेछ। हैन रोसिना म्याडमले त अकबरेकै बियाँ भन्नुहुन्थ्यो कसरी यस्तो भयो भनेर गुगलमा खोजी गरें।
अकबरेका पात डल्ला हुने रहेछन् अरु खुर्सानीका लाम्चा। अकबरेकै बारीमा हुर्किएको मलाई थाहा थिएन।
राम्ररी बिरूवा हेरें फल्ने चाहिँ लामपाते परेछ। डल्ला पात हुने त अझै फल्ने तरखर गर्दैन। रोसिना म्याडमले अकबरेको बियाँसँगै अर्को खुर्सानीको बियाँ पनि रोप्नु भएको रहेछ। अकबरे फले त चिनियाँ साथीलाई देखाउनुहुन्थ्यो। बोट र फल एकैचोटि देखेपछि उसले खुर्सानी नै रहेछ भनेर पत्याउँथ्यो भन्ने मेरो विश्वास अझै कायम छ।
सन् २००८ मा चिनियाँसँग बिहे गरेर चीनको आन्हुई प्रान्तमा बसोबास गरिरहेकी सोलुखुम्बुकी शकुन्तला राईले बारीमा रातै अकबरे फलाएको देखाएकी थिइन् भिडियो च्याटमा। उनले पनि नेपालबाट बिउ ल्याएकी रे।
तर, सबै डल्ले खुर्सानी अकबरे नहुने रहेछन्। डा प्रकाश अधिकारी बेइजिङबाट मलेसिया सरेको दुई वर्ष भयो। मैले बानी पारेपछि उहाँलाई अकबरेको लत बसेछ। काठमाडौंबाट दुई किलो अकबरे किनेर लानुभएछ। त्यो खाएपछि भन्नुभयो 'इलामे अकबरेजस्तो न स्वाद न बासना। लौ मलाई तपाईंकै बारीको चाहियो।'
अनि बेइजिङ यात्रा गरिरहेको अकबरे मलेसिया यात्रा गर्न थाल्यो।
तेह्रौँ शताब्दीमा अरनिकोसँगै पालुङ्गोको सागले चीनको यात्रा गर्ने अवसर पाएको थियो रे। पालुङ्गोले चिनियाँको मन जिते पनि अकबरेले बेइजिङमा चिनियाँको भन्दा नेपालीकै मन जित्यो। बिदामा नेपाल गएर फर्कंदा सात वर्षदेखि अकबरेले मसँगै हरेक वर्ष चीनको यात्रा गरिरहेको छ।