महिनामा दुई/चार पटक बसको यात्रामा धकेलिदै गर्दा एउटा यात्रा स्मरणमा बसेको छ मेरो। दाजुभाइ यातायातको एउटा सिटमा बसेर गाडीको फ्रन्टबाट अगाडि नियाल्दै थिएँ, एक्कासी एउटा आवाज ठोक्कियो कानमा।
‘भन्ने बेला नारी-पुरुष बराबर अरे, पुरुषलाई जतिनै अधिकार चाहियो अरे अनि गाडीमा चढ्दा चाहिँ सिट पनि चाहियो?’ एक पुरुष आवाज बजारियो कानमा बिछट्टासँग। उनको शब्दबाट स्पष्ट भाव प्रसारित हुँदै थियो, ‘नारी र पुरुष बराबर भन्नेले बसको यात्रामा पनि बराबर र समानरुपमा पुरुष सरह उभिनु पर्दछ।’
मेरा नजर उनै महिलाको आँखा तिर डुल्न पुगे। उनको आँखा भरिएको थियो। अवाक मुद्रामा, म नियाली रहेँ। उनैलाई देखेँ। उनको पाइला म तिरै बढे जस्तो लाग्यो मानौँ त्यो भीडमा उनको नजर सग नजर ठोकिँदा उनले मेरो नजरलाई पच्छ्याइन् कि जस्तो लाग्यो। मैले अझै नियाली रहेँ। एकनास उनी मेरो नजिकै आएर भनिन्- ‘बैनी मलाई बस्न दिनुस न।’
उनको त्यो शब्दले बिना प्रतिप्रश्न मलाई सिटबाट उठ्न मन लाग्यो, उठिदिएँ र उनी मेरो सिटमा बसिन्। म उनको छेवैमा उभिएँ। गाडीको स्पिड बाटोको अवस्थासँगै उनको अनुहार पनि अमिलो हुँदै थियो। छिन-छिनमा अमिलिने उनको अनुहार र केही खुम्चेको अनुहारको भावले म उनको अवस्था महशुस गर्दै थिएँ।
उनको अनुहारको खुम्चनसँगै म पनि केही प्रसारित हुँदै थिएँ। मनमा धेरै प्रतिप्रश्न हुँदै थियो, उनै पुरुष आवाज र समानताका। फेरि उनै महिलाले मेरो अनुहार हेर्दै अर्को प्रश्न तेर्साइन्- ‘बैनी दुखाइ कम गर्ने औषधि छ?’
मानौ उनको नजरले मलाई सायद नर्स नै देख्यो होला र त सजिलै सोधिन् औषधि छ भनेर। सायद म पनि नर्सकै भूमिका निर्वाह गर्दै थिएँ कि के हो, मेरो ब्यागमा एउटा औषधि थियो डोलापार नामको जुन म आफू पनि खाने गर्दथेँ दुखाइ कम गर्छ भनेर।
सायद म उनको अवस्था महशुस गर्दै थिएँ। त्यसैले उनले माग्नासाथ ब्यागबाट निकालेर औषधिसँगै पानी र बिस्कुट पनि दिएँ, एउटा कुशल नर्स जस्तै बनेर। उनले त्यो बिस्कुट समाइनन् तर त्यो औषधि यति चाँडो समाइन् र पानीसँगै निलिन् कि मैले भन्नै भ्याइन- खाली पेट छ भने बिस्कुट खाएर मात्रै खानुस् भनेर। न सोचिन् एकपल, यो अपरिचितले कुन औषधि दिइन् मलाई।
हेर्दा स्मार्ट देखिने उनी केही समय पश्चात मलाई धन्यवाद भन्न छुटाइनन् र
त्यही मौकामा मैले पनि सोधेँ- ‘कम भयो।’ थोरै मुन्टो हल्लाउँदै भनिन्- ‘अलि कम भयो।’
फेरि सोधेँ- ‘कहाँ जानु हुन्छ?’
उत्तर आयो- ‘वीरगञ्ज।’
मनमनै सोचेँ, बस्ने पालो नआउने रहेछ। आज कुनै सिट खाली छ कि भनेर नजर डुल्यो तर सिट मात्र हैन, बस नै भरि-भराउ थियो। उभिएँ चुपचाप। अवस्था मेरो पनि उस्तै थियो। फरक थियो उनीले भर्खर औषधि खाइन्, म घरबाट निस्कने बेला खाएर औषधिको पत्तो ब्यागमा राखेर घरबाट निस्केको थिएँ।
उभिदा गाह्रो भएर पसिना छुट्दै थियो। त्यसैले घरको बाटो छोट्याउँदै माइति लागेँ अलि चाँडै पुगिन्छ घर भन्ने सोचेर। नारी र पुरुषमा शारीरिक फरक पन छ। नारीभन्दा केही बलिया छन् पुरुषहरु। शारीरिक रुपमा पुरुषले नारीले जस्तो प्रत्येक महिना रक्तकुन्डको बहावसँगै बग्नु पर्दैन र त्यो बहावका निम्ति आफ्नो शरीर निचोरिदाको पीडा सहनु पर्दैन।
नारीले जस्तो गर्वधारण गरी मृत्युसँग निकट हुँदै प्रसवित हुँदा गुमाएको शारीरिक उर्जा, पुरुषले गुमाउनु पर्दैन। त्यसैले पनि बलिया हुन्छन् पुरुष नारीभन्दा। तर पनि उनी तिमीसँगै तिम्रो दाँजोमा उभिने जमर्को गर्छिन्, तिम्रो आर्थिक बोझलाई आधा-आधा गरी तिमीसँगै सहयात्रामा निस्कन्छिन्।
नारीले मागेका अधिकारले पुरुष घाटामा परेको पक्कै हैन। बरु तिम्रो आर्थिक बोझ कम भएको छ। तिमीले जीवनसाथी मात्रै हैन, सहयात्री पाएका छौ। नारीले आफ्नो कर्तब्यका साथ-साथै तिम्रो कर्तब्यलाई समेत आधा गरी तिमिलाई अझै स्वतन्त्र हुने अवसर दिएकी छिन्।
आजको यो शून्य सडकमा पनि मलाई तिम्रो त्यस दिनको समानताका शब्द याद आउँछ। त्यसैले होला, त्यो यात्रा मेरो मस्तिस्कमा बसेको छ।