परीक्षा हलमा धमाधम लेख्दै थियौँ। निरीक्षक सरले जोडले भन्नुभयो 'ल है केटी हो! चिटसिट के-के छ, निकालीहाल। म त तिमीहरुको कुँडे (दुध तताउने भाँडो) पनि छोडदिन नि!' केटाहरु गलल्ल हाँसे। केटीहरुको शिर झुक्यो। लाजले राता भयौँ। सरको हातले केटाका शरीर छोएझैँ गरे तर केटीका शरीर छोइरहे। मन नपर्दा नपर्दै पनि हामी मौन बस्यौँ।
साथी असाध्यै राम्रो भलिबल खेल्थी। विद्यालयको राम्रो भलिबल, नेट र ग्राउण्ड त केटाहरुको कब्जामा हुन्थ्यो। हामी सानो चौरीतिर हावा खुस्केको बल खेलेर चित्त बुझाउँथ्यौँ। यसरी खेल्दाखेल्दै पनि उ भित्रको खेलाडी प्रस्फुटित भैसकेको थियो। केहीकेटाहरु पनि उसलाई आफ्नो टिममा राखेर खेलाउँथे।
एकदिन सानो चौरीमा बल (फिंगरिङ) खेलिरहेको बेला एकजना माथिल्लो कक्षाका दाजु आए। उसँग बल खेले। केही समयमै भएभरको सामर्थ्य निकालेर उसको वक्षस्थललाई निशाना बनाएर सर्ट हाने। निशाना चुकेन। साथी बेस्सरी ऐया! भन्दै थुचुक्क बसी। उनी कुटिल हाँसो हाँस्दै बललाई लात्ताले फ्याँकेर गए। छातीमा लागेको चोटभन्दा गहिरो चोट उसको मनमा लाग्यो। त्यो दिनदेखि उसले भलिबल छोइन। अहिले लाग्छ एउटा उत्कृष्ट खेलाडीको हत्या भयो त्यतिखेर।
'ओए फलानाकी छोरी! तेरो बालाई पनि मैले पढाएको, तलाई पनि पढाएँ। यस्तै हो भने तेरा छोराछोरी पनि पढाउँछु बुझिस्।' ढ्याप्प ढाडमा मोटो हातको पन्जा आइपुग्यो। एकछिन अडियो। ब्राको हुक नेर रबर ब्यान तन्काएझैँ तन्काइयो र झ्वाट्ट छाडियो। ब्राको फिताको चोट्ले भन्दा कैँयन गुणा ती हातको छुवाइले उत्पन्न गराएको ग्लानी र हिनताबोधको तरंगले मुटु कापीरह्यो।
बाका गुरुमाथि प्रश्न! त्यत्रो हिम्मत कहाँ पाउनु? त्यसैले त यस्ता शृङ्खलाबद्ध भैरहने अधिकांश घटनामा हामी साथीहरु मुखामुख गरेर मौन बस्यौँ। सह्यौँ। गाउँमा गाँइगुँइ चल्यो, दलित बस्तीमा फलानाले फलानीलाई जबरजस्ती गर्यो रे। रातारात पञ्चायती बस्यो। केटीको इज्जत गयो भनेर सोही बलत्कारीलाई नै जिम्मा लगाइयो।
बलात्कारीलाई पुरस्कार दिइयो कि दण्ड? त्यो पीडित किशोरीको विक्षिप्त मनोभाव सम्झदाँ अझै पनि दिक्क लागेर आउँछ।
घरदेखि एक घण्टा उकालो हिँडेर एकाबिहानै गणितको ट्यूसन पढ्न गडेखोला जान्थ्यौँ। छरिएको गाउँ बीचमा जंगल र खोला अर्कातिर माओवादीको सन्त्रास। समय सहज थिएन। १० कक्षामा पढ्ने मेरो गाउँबाट म एक्लै, उसको गाउँबाट उ मात्रै थिई। एक बिहान ट्यूसन सुरु भएको केही समयपछि मात्र उ आत्तिदैँ आइपुगी।
उसका आँखाहरु भयबाट मुक्त भएका थिएनन्। पछि थाहा भयो, बाटोमा आज उसको पिछा त्यो केटाले गरेछ जसले विगत केही समयदेखि म प्रेम गर्छु भन्दै पत्र पठाइरहेको थियो। कक्षाकोठाका भित्ता उसको र आफ्नो नाम जोडेर भर्थ्यो। त्यो घटनादेखि आत्तिएकी उसले आमालाई वृतान्त सुनाई, आमाले बाबालाई सुनाइन्। भोलिपल्टदेखि उ ट्यूसन आइन।
दशको नतिजा आउनुभन्दा अगाडि उसको बिहेको निमन्त्रणा कार्ड आइपुग्यो। त्यस बीचको उसको समय लगभग लकडाउनमा नै बित्यो। उदाहरणका रुपमा मात्र प्रस्तुत हिंसा र सहनका यी केही घटनाहर बीस वर्ष अगाडिका हुन्। यी र यस्ता प्रकृतिका घटनाहरु अधिकांश किशोरीले भोगेका थियौँ र भोगिरहेका छन्। हुनसक्छ केही घटनाहरुको प्रकृति फेरियो होला तर प्रवृत्ति फेरिएको छैन।
आज पनि हामी, हाम्रा छोरीहरु, बहिनीहरु, साथीहरु कुनै न कुनै रुपमा हिंसाबाट पीडित भएका छौँ। विद्यार्थीहरु विद्यालयमा, कर्मचारीहरु कार्यालयमा, नानीहरु घरमा सुरक्षित छैनन्। हामी जहाँ छौँ त्यहीं असुरक्षित छौँ।
हिंसाका चपेटामा बालिका र किशोरी
कक्षामा प्रथम हुँदै गरेकी छोरीको ७,८ कक्षा तिर पुग्दा पढाई खस्किदैँ जान्छ, परिवारसँग टाढिन थाल्छे, झर्किने, एक्लै बस्ने, कम बोल्ने हुन थाल्छे। हामी भनिदिन्छौँ वैश आयो। छोरी तरुनी भइ। तर यसो कहिल्यै सोच्दैनौँ- ‘कतै मेरी छोरी कुनै खालको हिंसाको शिकार त भैरहेकी छैन!’
किशोरवयमा प्रवेश गर्दै गरेका किशोरीहरुसँग बसेर सुन्नुस त! हिंसाका कति अनौठा र विरुप किस्सा थाहा लाग्छ। कपडाको नाप दिँदा चिमोटिएको छाती, सुइ लगाउँदा कक्रक्क समाएर प्याट्ट पड्काइएको नितम्ब। कम्प्यूटर कक्षामा किबोर्डमा हात राख्न सिकाउने बाहनामा निचोरीएका औँलाहरु, गम्लङ पछाडिबाट आफ्नो शरीरको भारी नै थोपरेर कलिला कानहरुमा बिझाइरहेका खस्रा दारी,
कुनै सार्वजनिक यातायातमा पछाडि उभिएको मानिसले असहज हुने गरी गरिरहेको घर्षण, छुवाई, फागुमा रङ्ग दल्ने बाहनामारङ्ग सँगै दलिएको हात, बढ्दै गरेको छातीको उचाइ र कम्मरको गोलाई हेरेर कसैले गरेको भद्दा मजाक, आफ्नै मोबाइलमा फोटो खिचिदिन्छु भनेर शरीरका केही अंगहरुलाई मात्र फोकस गरेर खिचिएका तस्बिरहरु, प्रेमप्रस्ताव नस्वीकारेको बाहनामा गरिने अनौठा हर्कत, अझै भर्चुअल दुनियाँका भर्चुअल हिंसाका किस्साहरु त कति छन् कति।
उसो त हिंसाबाट भुर्णदेखि वृद्ध महिलाहरु सबै पीडित छन्। विश्वस्वास्थ्य संगठन अनुसार प्रत्येक ३ मध्ये १ महिलाले शारीरिक या यौन हिंसा सहन्छन्। ओरेक नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार श्रावण २०७५ देखि असार २०७६ सम्मको समय अवधिमा १ हजार ३ सय १९ वटा हिंसाका घटनाहरू छन्। जसमा सबैभन्दा बढी महिलाहरू घरेलु हिंसाबाट प्रभावित भएको पाइएको छ।
प्राप्त तथ्याङ्कका आधारमा यस वर्ष सबैभन्दा बढी ६६.७२ प्रतिशत (८ सय ८० जना) महिलामाथि घरेलु हिंसा भएको छ। घरेलु हिंसापश्चात धेरै महिलाहरु सामाजिक हिंसाबाट प्रभावित भएका छन्।
ओरेक नेपालबाट प्राप्त जानकारी अनुसार गत वर्ष १७४१ जना महिलामा गरेको सर्वेक्षणमा १७ प्रतिशत (१७४१ जनामध्ये २९५जना) महिलामाथि सामाजिक हिंसा भएको पाइएको छ। त्यसमा ५४ प्रतिशत (१६० जना) छिमेकीबाट, १८ प्रतिशत (५४ जना) परिवारका सदस्यबाट, १० प्रतिशत (३० जना) नजिकको साथीबाट, ९ प्रतिशत (२७ जना) साथीबाट, ७ प्रतिशत (२० जना) कुनै पनि सम्बन्ध नभएका व्यक्तिहरूबाट, २ प्रतिशत (४ जना) सेवा प्रदायक संस्थाका व्यक्तिहरू जस्तै प्रहरी, स्वास्थ्यकर्मी आदिबाट महिलामाथि सामाजिक हिंसा भएको पाइएको छ।
हो, हिंसात्मक घटनाले सबैलाई असर गर्छ, त्यसमा दुइमत छैन। तर विशेष रुपमा प्रभावित बालिकाहरु र किशोरीहरु नै हुन्छन्। शैक्षिक दृष्टिकोणले हेर्ने हो भनेपनि भविष्यको आधार स्तम्भ खडा गर्ने अवस्था किशोरावस्था हो। शारीरिक रुपमा हेर्दा किशोरावस्था आफैमा समस्यापूर्ण उमेर हो।
आकस्मिक रुपमा देखिएको शारीरिक परिवर्तन सँगसँगै अन्य मनोवैज्ञानिक पक्ष तछदैँ छन्। त्यस बाहेक यस्ता थुप्रै हिंसात्मक घटनाहरुले बालिकाहरु मानसिक रुपमा क्षतविक्षत भैरहेका हुन्छन्। सामान्य लाग्ने विषयले पनि असामान्य असर पारिरहेको हुन्छ। आफ्नै शरीरप्रति घृणा र अपमानबोधको आगोमा जलिरहेका हुन्छन्। जसको प्रत्यक्ष असरउनीहरुको अध्ययन र अतिरिक्त कृयाकलापमा परिरहेको हुन्छ।
स-साना घटना र दुर्घटनाले नै सिङ्गो जीवनको रुपरेखा बदलिदिन्छ। कतै हाम्रा आफ्ना नानीहरुको जीवनमा पनि केही दुर्घटना घटिरहेका पो छन् कि! हरेक अभिभावकले आफ्नो ध्यान यता लैजान जरुरी छ।
हिंसा सहने किन?
यस्ता अधिकांश हिंसाहरु महशुस मात्र गर्न सकिन्छ। महशुस गरेका घटनाहरुका बारेमा भन्ने कि नभन्ने? भन्दा कसलाई भन्ने? बल्लतल्ल आँट निकालेर आमा, दिदी, साथी भाउजू या यस्तै नारी पात्रलाई भनिन्छ तर उहाँहरुबाट आउने प्रतिक्रिया यस्ता हुन्छन्-
'लोग्ने मान्छेको जातै छुच्चो, केटीहरु आफै जोगिनु पो पर्छ त!' घरी-घरी लाग्ने गर्छ लोग्ने मानिसले हिंसा गर्नका लागि जन्मसिद्ध अधिकारप्राप्त गरेको छ। यही सोचका कारण कतिपय हिंसा त हाम्रो समाजलाई पाच्य छ। र सकेसम्म जोगिने दुर्घटना दुर्घटित भैहाले चुपचापसहन गर्ने परम्परा नै बनिसकेको छ।
किशोरीहरु आफूमाथि भएको हिंसाका बारेमा बोल्दैनन्। बोल्न चाहदैनन्। र बोलुन पनि कसरी? कसैले बोल्ने आँट गरिहाल्यो भनेपनि प्रश्न उल्टो तेर्सिन्छ। उसको चरित्र, पोसाक, हिँडाई, बोलाई जताततै प्रश्नचिह्न खडा हुन्छन्। उल्टो पीडित नै पिडक ठहरिन्छ। अर्कोतिर पाइरहेको स्वतन्त्रता या अवसर पनि गुम्ने डर हुन्छ।
पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाजले छोरीलाई मानिस सरह व्यवहार गर्दैन। छोरी छोरी हो, 'अन्या' हो। अझै पनि छोरीलाई भविष्यमा राम्रो सक्षम लोग्ने प्राप्त गर्नका लागि शिक्षा प्रदान गरिन्छ। यहाँका अधिकांश बाबा-आमालाई छोरीको करियर, छोरीको लक्ष्यभन्दा पनि छोरीको सुरक्षा अर्थात भर्जिनिटीको सुरक्षामा चासो छ।
उनीहरुको लागि महत्वपूर्ण छोरी बेदाग रहनु हो। मारे पाप, पाले पुण्य भनेर ज्वाइँको हातमा छोरीको हात थमाउनु नै जीवनको ठूलो अभिष्ट हो। त्यसैले छोरीको सुरक्षा अझ भनौँ कुमारित्व र सो कल्ड 'इज्जत' का खातिर अभिभावकहरु छोरीका जीवनका यावत सम्भावनाका द्वार बन्द गर्न तयार हुन्छ्न्।
यस्तो अवस्थामा कुनै किशोरीमाथि भैरहेको हिंसाको जानकारी परिवार र समुदायलाइ भयो भने के हुन्छ? परिणाम अंगिरा पासीको कहालीलाग्दो दुर्घटना हाम्रै सामु छ। यसकारण पनि किशोरीहरु यस्तो सुरक्षाभन्दा असुरक्षित रहन मन पराइरहेका छन्। र चुपचाप हिंसा सहन बाध्य छन्।
कानुनतः हेर्ने हो भने नेपालको संविधानको धारा ३८ '३' मा महिलामाथि कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनेर महिला अधिकारको सुनिश्चित गरिएको छ।
धारा ३९ '६' मा बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक-मानसिक यौनजन्य वा कुनै प्रकारको शोषण वाअनुचित प्रयोग गर्न नपाउने उल्लेख गर्दै उक्त कार्यलाई दण्डनीय पनि मानिएको छ। तर व्यवहारत! प्रमाण हुँदाहुँदै पनि गीता ढकाल, रलीला देवकोटाहरूले न्याय पाएका छैनन्। निर्मला हत्याकाण्ड त जगजाहेर छदैँ छ।
कानुन निरिह बनेको राज्यमा म माथि हिंसा भो भनेर बोल्ने आँट गर्न सानो हिम्मतले पुग्छ र! आफूमाथिको हिंसा बोल्ने। एकदमै कम महिलाहरूले यस्तो आँट गर्छन्। गरेका पनि छन्। तर ती आँट गर्ने महिलाहरू प्रति हाम्रो सम्मान र समभाव खोइ? उनीहरुलाई गरेको व्यवहारले अब अर्को महिला पनि आफूले भोगेको हिंसाको बारेमा बोल्न सक्ने वातावरण बनेको छ? कि इज्जत र करियर भन्दै चुपचाप पलायन हुने अवस्था सृजना भएको छ?
नो मौनता प्लिज!
हिंसाका पनि विविध स्वरुप छन्, यहाँ उल्लेख गर्दै गरेका धेरै हिंसा त्यस्ता हिंसा लाग्ल्न सक्ला जो झट्ट हेर्दा सुन्दा सामान्य समाजमा सह्य र नगण्य पनि मानिएला। तर यो पनि नभुलौँ एकातिर एसिड आक्रमण, बलात्कार र हत्या यस्तै नगण्य अपराधका जगमा मौलाएका जघण्य अपराध हुन् भने अर्कातिर यस्ता हिंसाले कैँयन प्रतिभाशाली व्यक्तिको प्रतिभाको हत्या गरेको छ। जीवनलाई छिन्नभिन्न पारिदिएको छ।
अहिलेको नेपाली समाज मिश्रित चेतनास्तरको छ। ७ वर्षकी गोमालाई ७० वर्षे वृद्ध ब्राह्मणलाई सुम्पिएको घटना चुपचाप सुनेर यज्ञ गर्ने आयोजक पनि यहीँ छन्। नो खुट्टाको पानी भनेर महिला पुरुषको समानताको गीत घन्काउने सोफिया थापाहरु पनि यहीँ छन्। निर्धक्क आफ्नो भोगाई व्यक्त गर्ने साम्राज्ञीहरु पनि यहीँ छन्।
अब तपाई हामी कता लाग्ने? हाम्रा छोरीहरू पुग्ने ठाउँमा उनीहरूले सहज वातावरणमा निर्धक्क साथ काम गर्न पाउने अवस्थाको सृजना कसले गर्ने?
हामी धेरैले जीवनका कुनै न कुनै खण्डमा हिंसा भोगेका या देखेका छौँ। त्यतिखेर हामी बोल्न सकेनौँ, अब त सक्छौँ नि। बोलौँ। जहाँ सक्छौँ, त्यहीँ बोलौँ। जरुरी छैन सबैले सामाजिक संजालमा बोल्नुपर्छ। अन्यत्र कहीं बोल्न नसकेपनि आफ्ना सन्तानको अगाडि बोलौँ। छोराछोरीसँगै राखेर बोलौँ। स्वस्थ र समुन्नत राष्ट्रको जग परिवार नै हो। हाम्रो बोलीले हाम्री छोरीलाई हिंसा विरुद्ध बोल्न र छोरालाई हिंसा नगर्न प्रेरित गर्नुपर्छ।
छोरीको सुन्दर र उज्जवल भविष्य छोरीकै सक्षमतामा निहित छ। निर्मला र अंगिरा पासी त इतिहास बनिसके। मुस्कान खातुनको जीवनको मुस्कान कायम राख्ने जिम्मेवारी तपाई हाम्रो काँधमा छ। सँगसँगै आगामी दिनमा हिंसात्मक गतिविधि रोक्ने जिम्मा पनि।
कुनै पनि बाहनामा हिंसा स्वीकार्य हुनु हुँदैन। हिंसा सहन गरेर बस्नु भनेको हिंस्रकलाई बढावा दिनु हो। अर्को हिंसा गर्न प्रेरणा प्रदान गर्नु हो। त्यसैले खुलेर हिंसाको विरुद्धमा बोलौँ। नो मौनता प्लिज!