साँझको ६ बजे कार्यालय समयको समाप्तीपछि हतार-हतार घर पुगेँ। मेरो आमाले मिठो चिया बनाएर दिनुभयो। एकछिनको आरामपछि सामाजिक संजाल फेसबुक खोली हेरेँ, नयाँ समाचार भाइरल भईरहेको रहेछ।
'कपनको चौरमा कागजको बाकसमा नाबालिका भेटियो'
भिडिओ हेरेँ, अनेक आंकलन यो मनले पनि लगायो। आफ्नै मनले आफैलाई प्रश्नहरुको ओइरो लगायो। मानौँ कसैलाई अन्तर्वार्ता लिदैंछु। अनि उत्तर पनि आफूले आफैलाई दिँदैछु।
को होला यसरी भर्खर जन्मिएको शिशुलाई बेवारिसे तरिकाले फाल्ने? जन्मदिने आमा नै त होली...अरु त कस्ले गर्ला? बालगृह अगाडि किन फालेको होला?
सायद बच्चाले छिट्टै न्यानो काख पाओस् भन्ने आशा थियो होला।
हेर्दा त राम्रो कपडा लगाईदिएको छ। सफा सुग्घर, घरमै स्याहार गरी राखेको जस्तो…
सायद बाबु-आमा गरिब होलान् लालनपालन गर्न सक्ने अवस्था थिएन होला। त्यही भएर होकी...
कस्ती आमा रहिछ २/४ महिना त आफ्नै छाति चुसाएर पनि पाल्न सक्थी नि! सायद आमाले खाने खानेकुराको पनि अभाव नै थियो होला।
के होला त ती आमाको समस्या?
यी मेरा मनले मसँग गरेका प्रश्नहरुको ओइरो थियो। मानौँ उत्तर लोकसेवाको बहुबैकल्पिक ढाँचाका थिए, ठिक उत्तर कुन हो ठम्याउनै गाह्रो। समाजसेवीले जिम्मा लिइन्। नाम पनि राखिन्- प्राप्तिका।
आहा! कति राम्रो नाम। सुन्दर अबोध बालिका जस्तै...
यो पाटोले मन गद्गद् भए कि एउटी आमाले त्यागिन अनि अर्की आमाले प्राप्त गरिन्। उनका भनाई साँच्चै नै कदर योग्य थिएँ। नयाँ शिशु ‘प्राप्तिका’ सहित अब सायद १६ जना बालबालिकाको आमा भएकी थिइन् पुष्पा दिदी।
यदि शिशुको परिवार वा आमा प्रमाण सहित बच्चा दाबी गर्न आए जिम्मा लगाउने वाचा पनि गरिन्। भिडिओ भाइरल भएपछि कमेन्ट बक्समा प्रतिक्रियाको ओइरो लागेको थाहा भयो। मलाई पनि प्रतिक्रिया दिऊ कि जस्तो लाग्यो। पहिले अरुको हेरौँ भनि हेरेँ। त्यहाँ एउटा समाजसेवीको प्रशंसाभन्दा बढी त त्यो जन्म दिने आमालाई गाली गरेको प्रतिक्रियाको बहुमत देखेँ।
विभिन्न किसिमका गाली-गलौज, पढ्दा दिक्क लाग्ने। सत्यतथ्य थाहा नै नभई मै हुँ भन्नेले आफ्नो आफ्नो कठघरामा उभ्याई तर्क वितर्कको बाढी नै उर्लिएको। यही क्रममा सामाजिक संजालमा भाइरल भएपछि युट्यूबर भाग्य न्यौपानेको तात्तातो खबरको भ्यूज् बढेको थियो भने अर्को तिर समाजसेवीलाई स्याबासी दिई सहयोगी मनहरु त्यता तिर तानिएका थिए। दुवै पक्षको वाह-वाह र आर्थिक पाटोको गाँठो पनि दरिलोसँग कसिदै गईरहेको थियो सायद।
आफैसँग मनमनै बोलेँ, सोचेँ कति राम्री शिशु आफूले ल्याएर एक बच्चा पाल्न सक्ने हिम्मत ममा छैन तर पुष्पा अधिकारीको हिम्मतलाई मान्नुपर्छ। यतिका संख्यामा अनाथ बालबालिकाहरुलाई आश्रय, शिक्षा दिक्षा र आमाको ममता बाँडेकी छिन्। उनले गरेको कार्यलाई मनैदेखि नमन नगरि रहन सकिनँ।
भोलिपल्ट बिहानीपख अफिस जाने हतारोले खासै समाचार सुन्न पढ्न भ्याइनँ मैले। दिउँसो खाजा खाने समयमा पुनः सामाजिक संजाल तिर हातका औलाहरु सल्बलाए। फेरि त्यही विषयमा अर्को समाचार भाइरल भईसकेको रहेछ।
‘सामाजसेवीको नाटकको पर्दाफास’
शिशुकी आमा भेटिई शिशुलाई लिन गइन् र साथमा लिएर फर्किइन्। त्यसपछिका विभिन्न कुराहरुले नाटक भनौँ या समाजसेवा वा पत्रकारितामा विभिन्न प्रश्नहरुको ओइरो लाग्यो। भाग्य न्यौपानेले मयार्दा विपरित कार्य गरे। समाजसेवीले नाटकीय ढंगबाट पैसा कमाउने बाटो रोजिन् यावत्...
पक्ष र विपक्षमा फेरि उर्लियो प्रतिक्रियाको आइरो। दुवैको पक्षमा बोल्नेको वादविवाद प्रतियोगिता नै चल्यो तर अप्ठेरोमा परेकी ती महिला ती आमाको पक्षमा बोल्ने र उनलाई अप्ठ्यारो होला भनि सोच्ने खासै भेटिएन। बाकसमा भेटिएकी नाबालक शिशुको बारेमा कठै भन्ने मनकारी मनहरुले आमाको विवशतालाई अझै बुझ्न सकेनन्।
जुन समाजबाट अपहेलित हुने डरले, आफ्नो परिवार समाजले अर्काको बच्चा सहित नस्वीकार्ला कि भन्ने डरले आफूले जन्म दिएको बच्चालाई त्यागेकी थिइन्, त्यही कुरा सामाजिक संजालबाट उनको परिवारसम्म पुर्याउन फेरि उनको अन्तर्वार्ताको भिडिओ बाहिर आयो।
सामाजिक संजालबाटै थाहा भयो कि शिशु जन्माउने आमाको कथा कति ह्रदय विदारक रहेछ। आफ्नो घरको नाजुक अवस्था, मृगौलाको रोगी श्रीमान् र आफ्नो दुई सन्तानको अत्यावश्यक आवश्यकताका पोकाहरु पूरा गर्न विदेशीएकी ती आमाको कथा सुन्दा सायद मनकारी मनहरुमा शिरिङ्ग काँडा उम्रिएन होला र!!
बलाकृत भएर शिशु गर्भमा आउँदा ती आमाको मनस्थिति कस्तो अवस्थामा थियो होला, त्यो पनि परदेशमा। कति पटक आत्महत्या गरु कि भन्ने सोच पनि आयो होला र हरेक पटक आफ्नो घरमा छोडेर आएका सन्तानको आमाबाट आश गरिरहेका अनुहारहरुले रोक्यो होला जीवनको इहलिला समाप्त गर्न।
बच्चा जन्माउने पीडाभन्दा पनि आफूले जन्माएको शिशुलाई समाज सामु कसरी परिचय गराउने। आमाले कमाएर पठाउँछिन भन्ने आशमा रहेका घरका बालबच्चा, रोगी श्रीमान्, नातागोता समाजले स्वीकादैनन् भन्ने पिरलोले ती आमा दिन दिनै जिउँदै मरेकी थिइन् होली। त्यो भर्खर जन्मिएकी शिशु लिएर आफ्नो घर गएकी भए महिलाको विवशतालाई यो समाजले बुझ्थ्यो होला र?
यो कदम चालेकी भए पनि उसले विभिन्न लाल्छनाको सामना गर्नुपर्थ्यो। अनि श्रीमान् र श्रीमतीको माया प्रेममा जन्मिएका सन्तानलाई त्यागी हिड्नु पर्थ्यो। दोसाँधमा परेकी निरिह एउटी आमाको मनको ब्यथालाई कथा बनाएर पैसा कमाउने भाँडो बनाउनु के जायज थियो। त्यो पनि ब्यापार गरेर हैन सामज सेवा र देशकै चौथो अंग मानिने पत्रकारिताबाट!
कहाँ गए नेपालको संबिधानमा लालमोहर लागेका भाग ३ मा रहेको मौलिक हक भित्रका धारा २८ को गोपनियताको हक र धारा ३८ को महिलाको हक? समाजसेवा गर्दा वा पत्रकारिता जगतमा रहेका व्यक्तिहरुले यी कुराको हेक्का राख्नु जरुरी थिएन र!
दोष कस्को जानेकी छैन ती शिशुकी आमाले। सायद मनमनै आफ्नै भाग्यलाई दोष दिईरहेकी होलिन्। हरेक पक्षले एक अर्काको पक्षमा को सही र को गलत भनि तर्क वितर्क गरेर उनको अन्तर्वार्ता लिएर ती आमालाई अझ उदाङ्गो बनाउनुभन्दा पनि ती आमाको ठाँउमा आफू बसेर उनको पीडा र अब आउने ती आमाको अन्यौलताको महशुस गर्ने हो कि?
गल्ति मान्छेबाट नै हुन्छ, समाजसेवी पुष्पा अधिकारी ज्यूले पनि यतिका वर्ष हिम्मत गरेर बालबालिकाहरुलाई आश्रय र संरक्षण दिनु भएकै हो र युट्यूबर भाग्य न्यौपाने जीले पनि अहिलेसम्म आफ्नो तर्फबाट गर्नु भएका कार्यहरु प्रशंसनिय नै थियो। गल्ति कस्को हो त भन्ने कुराको पाटो केलाउने कार्य सम्बन्धित निकायबाट सायद होला।
एक अर्कालाई दोषारोपण गरिरहँदा ती निरिह आमाको चोट लागेको छातीमा नुनचुक त छरिरहनु भएको छैन? आफ्नो अस्तित्वको चिर हरण नहोस् भन्ने सोची आफूले जन्म दिएको नाबालकलाई परित्याग गर्ने हिम्मत गरिन् एउटी आमाले।
आफू-आफूलाई सही साबित गर्ने कार्यमा पटक-पटक उनको चिरहरण त भएको छैन। यो प्रश्न पनि आफूलाई सही साबित गर्न लागि परिरहेकाहरुले आफैलाई एक पटक गर्ने हो कि त?