‘तिमी जस्तो हो र? मेरो पुरानो प्रेमिकाले कति धेरै माया गर्थी, कैले नि शंका नै गर्दिन थिई। मेरो मोबाइल नि चेक गर्दिन थिई तर तिमी त सधैँ क्यार-क्यार, सधैं शंका। उ कति राम्री थिई, कस्तो राम्रो लुगा लगाएर हिँडथी। यस्तो गर्थी, त्यस्तो गर्थी, बेकारमा ब्रेकअप गरेछु, तिमीसँग कसरी फसेँ होउ।’
‘चुप लाग तिमी! मेरो पुरानो प्रेमी त झन् कति राम्रो थियो, कति माया गर्थ्यो, कति ख्याल गर्थ्यो। के दशा लागेर ब्रेकअप भएछ।’
दुई जना केटा र केटी प्रेममा परेछन्। दुवै पहिलो प्रेमबाट धोका खाएका रहेछन्। दोस्रो पटक रहेछ। दुवै प्रेममा परेछन्। दुवैले आफ्नो पहिलाको प्रेमि/प्रेमिका सम्झेर एकअर्कालाई दाँज्न थालेछन्। यसरी उनीहरुको दिन प्रतिदिन झगडा हुन थालेछ। सधैं उनीहरु दु:खी भएर समय काटीरहेछन्।
न त उनीहरुसँग कुनै भबिष्यको योजनाहरु नै छ, नत कुनै उमंग, न कुनै कुराहरुको रहर तथा चाहना नै। मात्रा उनीहरुसँग रहेछ त पुराना प्रेमी-प्रेमिकाको यादहरु। आखिर किन हुन्छ यस्तो? के फरक छुट्टयाउ खेल खेलिरहेका हुन त उनीहरु? किन मनिसहरुमा एड्जस्टमेन्टको समस्या छ त? यदि पुरानो नै राम्रो थियो भने किन छुटेको त?
अनि छुट्टिसकेर नयाँ सुरुआत गरिसकेपछि किन छैन त नयाँ सोच, जाँगर, नयाँ योजनाहरु? के प्रेम एउटा खेल हो त? के प्रेम सजिलै जो कोहीसँग पनि हुने कुरा होत? के संसारका सबै मनिसहरुमा एउटै किसिमका गुण र अबगुणहरु हुन्छन् त? पुरानो कुराहरुबाट पाठ सिकेर अगाडि बडेर नयाँ जीबनको प्रारम्भ गर्ने कि त्यसैमा अल्झेर नानाथरी, चाहिने-नचाहिने गुनासोहरु गरेर आफूलाई दु:खी बनाउने? यो एक किसिमको रोग होइन र?
एक वर्ष अगाडि उपासना र विवेक (नाम परिवर्तन) ठूलो झगडा गरिरहेका थिए। म बीचमा पुगेँ र थाहा पाएँ उनीहरुको झगडाको कारण। उनीहरु झगडा गरिरहेका थिए, पहिलाको उनीहरुको प्रेमी-प्रेमिका सम्झेर एक-अर्कालाई दोषारोपण गरिरहेका थिए। पहिलाकोले धेरै माया गर्थ्यो, यस्तो गर्थ्यो त्यस्तो गर्थ्यो भनेर। आखिर किन त्यस्तो हुन्छ त? पुरानो कुरा त सकिसकेको छ जुन कसैको हातमा हुँदैन।
त्यसैगरी केही महिना अगाडि दुई जना जोडी (श्रीमान र श्रीमती) ठूलो झगडा गरिरहेका थिए। उनीहरुको झगडाको विषय नि त्यही थियो, पुरानो सम्बन्धलाई लिएर। ठूलो चर्का-चर्की भएको थियो उनीहरुको बिचमा पहिलाको सम्बन्धलाई लिएर। उनीहरु एकअर्कामा तर्कबितर्क गरिरहेका थिए। पुरानो सम्बन्ध धेरै सुमुधर थियो। बाध्यताबस छुटेको थियो। अहिलेको सम्बन्धमा कुनै माया नै छैन।
करकापमा परेर एकअर्कालाई स्वीकारेका हौँ हामीले भनिरहेका थिए उनीहरु। म पूरै चकित परेँ उनीहरुको कुरा सुनेर। तर कुनै जवाफ भने दिइनँ। किनकी त्यहाँ मेरो जवाफको कुनै जरुरत नै थिएन। यस्ता टन्नै उदाहरणहरु छन जहाँ धेरै व्यक्तिहरु छन्, पुरानो सम्बन्धलाई लिएर आफ्नो वर्तमान सम्बन्ध नै बिगार्छन।
एकजना युवती नितिशा (नाम परिवर्तन), भर्खरै उनको विवाह भएको थियो। उनी आफू विवाह बन्धनमा बाँधिएकोमा निकै खुसी थिईन् तर उनलाई एउटै कुराले सताइ रहेको रहेछ- पुरानो प्रेमीको सम्बन्धलाई लिएर उनको हालको श्रीमानले उनलाई घरी-घरी घोच-पेच, शंका-उपशंका गरेर मानसिक रुपमा पीडा दिरहेको रहेछ।
हामी कुनै चिया पसलमा चिया पिएर कतै नजिकैको खुला ठाउँमा गएर एकान्तमा गफियौँ। उनको सबै कुरा सुनिसकेपछि मैले मेरो तर्फबाट उनलाई केही सल्लाह दिएँ। मेरो सल्लाहले काम गरेर हो अथवा उनीहरुको त्यो कुरा सल्टिएर हो, त्यसपछि उनले त्यो विषयमा अहिले कुरा गरेकी छैनन्।
कुनै एउटा पत्रिकामा पढेको थिएँ। एउटा कथा थियो कुनै जोडीको पुरानो सम्बन्धलाई लिएर सम्बन्ध बिच्छेद भएछ। यस्ता धेरै उदाहरणहरु छन् जहाँ धेरै मान्छेहरु पुरानो सम्बन्धलाई शंका-उपशंका गरेर, कपोकल्पित कुराहरु गरेर आफ्नो सम्बन्धमा दरार ल्याउँछन र आफू पूरै दुःखी भएर जिइरहेका हुन्छन्।
हरेक मान्छे फरक स्वभावको हुन्छ। केही कुराहरु र सोचाइहरुमा समानता देखिएता पनि मान्छे फरक हुन्छ। हरेक मान्छे कुनै न कुनै सम्बन्धमा पक्कै पनि जोडिएको हुन्छ। चाहे त्यो राम्रो होस् या नराम्रो होस्। छुटिसकेको सम्बन्धलाई लिएर मनिसहरुले किन आफूलाई दु:खी बनाउँछन्? बितिसकेको कुराबाट पाठ सिक्ने र आफ्नो वर्तमान सम्बन्धलाई किन सुमधुर नबनाउने?
जसरी बगेको खोला फर्केर आउँदैन, त्यसैगरी बितिसकेको समय, बितिसकेको घटना मानिसको आफ्नो बसमा हुँदैन। विगतलाई खोतलेर, नचाहिने कुरामा बहकिएर कुनै क्रान्ति पक्कै पनि आउँदैन। बरु यसले आफ्नो वर्तमान समयलाई नै बिगारइदिन्छ। विगतमा भएको सम्बन्ध पनि कुनै कारणबस नै छुट्यो होला। त्यसमा पनि कुनै समस्या थियो होला र त टिकेन।
जब कुनै मान्छेसँग नयाँ सम्बन्धमा जोडिन पनि त त्यतिकै जोडिदैन। धेरै कुराहरु गरेर, वार्तालाप गरेर त निर्णय गरेर मान्छे सम्बन्धमा गाँसिन्छ। अनि गाँसीसकेपछि किन आउँछ विगतको सम्बन्धलाई लिएर नानाभाँती तर्त-बितर्क, झै-झगडा, नचाहिने उतार-चडाव? किन बनाउँछन् मान्छेहरु आफूलाई दुःखी?
पुरानो कुराहरु जसले आफूलाई कुनै लाभ गर्दैन तर हानी र बिचलित बनाउँछ, त्यस्तो कुरामा अल्झिनु त एक किसिमको ठूलो मानिसिक रोग हो। जसको जति खर्च गरेर जुनसुकै अस्पातलमा गएर उपचार गरेता पनि निको हुन्न। यो सब मान्छेको आफ्नो हातमा छ। जीवन छोटो छ र अनिश्चित पनि छ। जतिबेला जे पनि हुन सक्छ अनि किन दु:खी हुने? किन निराशामा जीवन बिताउने?
परापूर्व कालदेखि नै मानिसको शंका गर्न प्रवृत्ति देखिन्छ। धेरै नारीहरुले कठिन जीवन जिएको पाइन्छ। रामायाण पढ्दा नारीले नै दु:ख पाएको देखिन्छ। रावणले सीता हरण गरेर लगेपछि सीतालाई धेरै शंकाको दृष्टिले हेरिएको थियो। जहाँ सीताको कुनै गल्ती नै थिएन।
धोबीले आफ्नो श्रीमतीलाई पिटेर सीताको बारेमा नराम्रो कुरा गरेपछि सितालाई शंकाको दृष्टिले हेरेर गर्विणी अवस्थामा नै उनलाई त्याग गरेको कुरा कति दर्दनाक र हृदयविदारक छ। के रामलाई सीताको बारेमा केही थाहा थिएन र सीता कस्ती हुन् भनेर? यस्ता उदाहरणहरु अरु-अरु शास्त्रमा पनि अनगिन्ती पाइन्छन् कि पुरानो सम्बन्धलाई लिएर नयाँ सम्बन्ध धरासाही भएको।
मेरो एक जना हितैषी मित्र सधैँ भन्छ कि विगतमा अल्झिने, त्यसमा तड्पिने, बारम्बार त्यसैमा कल्पिएर निराश हुने मान्छे कहिले पनि खुसी र सुखी हुँदैन। यो कुरा मलाई धेरै चित्त बुझ्छ। त्यसैले उसँग निराशाको कुनै सुची नै छैन। उसको कुराबाट के बुझ्न सकिन्छ भने हामी कुनै पनि कुराहरुबाट आफूलाई निराश र दुःखि बनाउनु हुँदैन, आफूलाई बिगार्नु हुँदैन।
यसरी माथिका सबै कुराहरु केलाउँदा के देखिन्छ भने अधिकांश मानिसहरु आफ्नो पुरानो सम्बन्ध र विगतलाई लिएर वर्तमानमा तड्पिन्छन् र आफू दुःखी हुन्छन्। कुनै नयाँ सम्बन्धमा जोडिनु तथा बाधिनु भनेको कुनै नयाँ लुगा फेर्नु र अरु लुगासँग दाँज्नु होइन। कुनै फरक छुट्ट्याउ खेल्न पनि होइन। कसैको विगतले वर्तमानलाई असर पार्दैन, यदि दुवै पक्षमा आपसी समझदारी छ, बुझाई छ, प्रेम छ भने एक थोपा नि असर पर्दैन।
यदि आपसमा माया नै छैन, प्रेम नै छैन, सद्भाव नै छैन भने विगतमा जति नै राम्रो अथवा कुनै सम्बन्धबाट नगुज्रिएको भएता पनि त्यसले कुनै अर्थ नै राख्दैन। विगतमा ठूलो अपराध नै गरेको होस्, नराम्रो काम नै गरेको होस्, ज्यादै नराम्रो सम्बन्धमा नै परेको होस् त्यसबाट सिकाइ लिएर जीवनलाई सुन्दर बनाउनु नै उपयुक्त हुन्छ।
कुनै पनि सम्बन्धमा परेपछि विगतको कुरालाई लिएर एक-अर्कामा मनमुटाव ल्याउनु अर्थहीन मानिन्छ। सबै कुरा मनिसको दृष्टिकोणमा निर्भर गर्दछ। दृष्टिकोण बदलियो भने जति नराम्रो कुरा नि राम्रो देखिन्छ र जीवन सार्थक हुन्छ। तसर्थ कुनै पनि मानिसलाई कुनै पनि मानिससँग तुलना नगरम्।
हरेक मनिसका राम्रा-नराम्रा पक्षहरु हुन्छन्। सम्बन्धमा गाँसिसकेपछि कुनै पनि सम्बन्ध राम्रोसँग निर्वाह गर्नुपर्छ। चाहे केटा होस् वा केटी होस्, दुवै पक्ष एक अर्काप्रती इमान्दार र समर्पित हुनु जरुरी हुन्छ। विगतमा जे भयो सकियो। प्रेम थियो त थियो, थिएन त थिएन, राम्रो थियो या नराम्रो थियो। जेसुकै होस्। वर्तमान राम्रो बनाम अवश्य पनि भविष्य सुन्दर हुनेछ।
सम्बन्धमा उपयुक्त मलजल गरेर समबन्धमा मिठास, मधुरता, दिगोपन र आनन्द पक्कै पनि ल्याउन सकिन्छ। सम्बन्ध निर्माण गर्ने जिम्मा मान्छे स्वयमको हातमा हुन्छ।