हामी सबैलाई रहर हुन्छ खुसी भएर बाँच्ने, सुखी भएर बाँच्ने। सुखमय जीवन, सन्तुष्टिको जीवन, आनन्दको जीवन। आहा! सोच्दा पनि कति आनन्द। मन्दिरमा गएर भगवानसँग हामी प्रायःले माग्ने बरदान भनेको खुसी नै हो। ति बहाना अनेक हुन् सक्छन् जस्तै: कुनै कुरामा सफल हुनु, कुनै कुरामा जित हात पार्नु अथवा कुनै कुरा पाउनु आदि इत्यादि।
जीवनको अन्तिम लक्ष्य भनेको सुखमय यात्राबाट खुसी प्राप्त गर्नु हो। दुई निश्चित जन्म र मृत्यु बाहेक जीवनका सबै घटना नाटक जस्तै हुन्। नाटक? हो! जीवन भनेको नाटक नै हो। नाटक अनिश्चित हुन्छ, अपरिकल्पनिए हुन्छ, अदृश्य हुन्छ। जिन्दगीको परिभाषा आफ्नो आफ्नो हुन सक्छ। ठ्याम्मै मेल खाए जस्तो देखिने दुई फरक मान्छेको जिन्दगीको परिभाषा पनि फरक-फरक हुनसक्छ।
अर्को अर्थमा भन्ने हो भने जीवन यात्रा हो। योजना बिहीन यात्रा। हामीले एक/दुई दिन या एक दुई हप्ताको लागि बनाएको यात्राको योजना जस्तो जिन्दगी नहुँदो रहेछ। जिन्दगीको कुनै यात्रामा बीच बाटोमै रोकिनु पर्ने, कुनै कुनै यात्रा योजनामा नै सीमित हुने। धेरै जसो जिन्दगीको यात्रामा यात्रा जस्तो फर्केर आउँन नमिल्ने। यस अर्थमा आफ्नो जिन्दगी आफ्नै तरिकाले आफू अनुकूल परिभाषित गर्नु नै जिन्दगी हो।
जन्म विसं २०५१ साल- जेष्ठ। स्थान सल्यान जिल्ला। एक दाइ र एक दिदीपछि आमाको गर्भमा सात महिना हुर्किएर मेरो जन्म भएको हो। मेरो जन्म हुनुभन्दा अगाडीदेखि नै मेरो बा-आमा सामान्य ब्यापार गर्नु हुन्थ्यो। व्यापारको शिलशिलामा नै हामी विसं २०६२ साल तिर सल्यान जिल्लाको घरदेखि नजिकै हाट बजार लाग्ने ठाउँमा बसाइँ सरेका हौँ।
बसाइँ सर्नुको कारण ब्यापार मात्र नभएर गाउँमा धेरै दु:ख हुनु पनि हो। गाउँमा धेरै दुख हुन्थ्यो। मेलापात गर्न होस् या कुनै पनि सुबिधाको भोग गर्न आजभन्दा १५/२० वर्ष पछाडि फर्केर हेर्ने हो भने गाउँले जीवन साह्रै गाह्रो थियो। सुबिधाको भोग? कुनै विलाशी सुबिधा होइन। आधारभूत आवश्यकता जस्तै: शिक्षा, स्वास्थ्य, खानेपानी, बिधुत आदि इत्यादी।
गाँस, बास र कपासलाई आधारभूत आवश्यकता मान्ने हो भने पनि धेरै पछाडि फर्किनु पर्दैन। मेरै हजुरबाहरुले ती सब भोगेका हुन्। सुन्दा लाग्छ, विश्वका धनी र सम्पन्नशाली देसहरुले २१औँ शताब्दी सेलिब्रेट गरिरहँदा नेपाली १८ औँ शताब्दी सेलिब्रेट गरिरहेका थिए। त्यसो त आज पनि नेपाल गरिबी, भ्रष्टचार र राजनीतिक अस्थिरतामा जहाँको त्यही छ।
जन्म भएको दश वर्षसम्म गाउँमै हुर्कें। गाउँमै खेलेँ। गाउँमै रमाएँ। गाउँमा सरकारी विद्यालय। सरकारी विद्यालयनै पढेका शिक्षक। पढ्ने समय दश-चार बजे। शुक्रबार दश-एक बजे। एक वर्षमा १५० दिनभन्दा बढी कुनै पनि विद्यार्थी हाजिर भएको पाएमा पुरस्कृत गरिन्थ्यो। विद्यार्थी मात्र होइन, विद्यालय पनि १७०/१८० दिनभन्दा बढी खुलेको कुनै रेकर्ड थिएन। कारण अनेक होलान्।
जनआन्दोलन पनि त्यति बेलानै चलिरहेको थियो। थरि-थरिका सरकारी बिदाले गर्दा हप्तामा पूरै ६ दिन पढ्नको लागि पौष-माघ नै कुर्न पर्थ्यो। घरमा गएर होमवर्क गरेको कुनै याद नै छैन्। धेरै जसो समय साथीभाइसँग खेलेरै बित्थ्यो। कति रमाइला थिए ती दिनहरु। सम्झिदाँ पनि मन फुरुङ्ग हुन्छ, भित्र कता-कता आनन्दको महशुस हुन्छ। त्यसैले त सानो हुँदा हरेक मान्छेले सोध्ने तिमी ठूलो भएपछि के बन्छौ? भन्ने प्रश्नको जवाफ अहिले दिन मन लाग्छ फेरी सानै हुन् मन छ।
२०६२ सालमा बसाइँ सरेर गाउँको सहरमा झरेपछि धेरै कुरा परिबर्तन भए। विद्यालय परिबर्तन भयो। साथीभाइ परिबर्तन भए। गाउँका जस्तो काका-काकी त्यहाँ थिएनन्, हजुरबा हजुरआमा त्यहाँ थिएनन्। बच्चैदेखि खेलेको मसँग सबैभन्दा मिल्ने साथी सौरभ पनि त्यहाँ थिएन। मसँग सानैदेखिसँगै विद्यालय जाने सन्जु पनि त्यहाँ थिइन।
त्यति मात्र होइन, म जन्मिनुभन्दा अगाडी मेरी आमालाई बेथाले च्यापेपछि घरका अरु सदस्यको लाजले घरदेखि बाहिर नजिकै एउटा पलमको रुखको फेदमुनि घन्टौँसम्म छट्पटिएपछि मलाई जन्म दिनु भएको हो रे। मैले हरेक दिन बिहान पुजा गर्ने त्यो पलमको फेद पनि त्यहाँ थिएन। हाम्रा पूर्खाले गरेको पेशा गाईबस्तु त्यहाँ थिएनन्, मेलापात त्यहाँ थिएन। गाईबस्तुसँगै घनाघोर जंगलमा प्रकृतिसँग रमाउन सिकिसकेको थिएँ। त्यो नयाँ ठाउँमा जंगल पनि थिएन। मैले खोजे जस्तो रमाउन प्रकृति पनि थिएन।
राजनीतिक परिबर्तनसँगै गाउँमा साना-तिना देखिन लायकका परिबर्तन हुन् थालेका थिए। गाउँमा मोटर बाटो जान लागेको थियो। विद्युतका खम्बा ठाउँठाउँमा ठडिएका देखिन्थे। स्वास्थ्य चौकीमा सिटामोल खोजेको बेलामा पाउन थालेको थियो। जिल्ला अस्पतालमा डाक्टरहरु सजिलै भेट्न पाइन्थ्यो। गाउँमा मेरा बा-आमाको उमेरका मान्छे मात्र होइन, हजुरबाको उमेरका मान्छे पनि भन्थे 'हामीले त् पढ्न लेख्न सकेनौं। तिमीहरुले धेरै पढ्नु पर्छ। ठूलो मान्छे बन्नु पर्छ।'
म सोच्थेँ, ठूलो मान्छे भनेको कस्तो हुन्छ होला? परिबर्तन शिक्षाबाट सम्भब छ भन्ने प्रायमा चेतना जागीसकेको थियो। विद्यालय भर्ना दर बढ्दै थियो। सामान्य बिरामीबाट हुने बाल मृत्यु दर केही हदसम्म घटेको थियो। समय यसरी नै विस्तारै बित्दै थियो। विसं २०६८ सालमा सल्यान जिल्लाकै महेन्द्र माविबाट प्रथम श्रेणीमा एसएलसी उर्तिण गरेँ।
गाउँको सरकारी विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उर्तिण गर्नु ठूलै कुरा मानिन्थ्यो। एसएलसीको लागि केन्द्र तोकिन्थ्यो। चार वटा विद्यालयको एसएलसी केन्द्रबाट हामी ८ जना प्रथम श्रेणीमा उर्तिण हुँदा मेरो सबैभन्दा बढी प्रतिशत आउँदा हर्षको कुनै सीमा थिएन। मान्छे त्यति बेला खुसी हुन्छ जति बेला आफूले सोचेको कुरा पूरा हुन्छ।
सायद मैले सोचेको पूरा भएको थियो र त दुखी हुनु पर्ने कुनै कारण थिएन। कहिलेकाहीं त् भन्न मन लाग्छ धेरै ठूलो सपना देख्न हुँदैन्। देखेको सपना पूरा नहुँदा मान्छे दुखी हुन्छ। फेरी अर्को मनले भन्छ, सपना भनेको ठूलै देख्नु पर्छ। लक्ष्मीप्रसाद देबकोटाले भने जस्तै 'उद्देश्य के लिनु? उडि छुनु चन्द्र एक।'
उच्च शिक्षाको लागि मैले गाउँ छोड्न पर्थ्यो। म मात्र होइन, हाम्रो स-परिवार नै गाउँ छोड्दै थियो। अर्थात गाउँबाट गाउँको बजार झरेका हामी सहरको बजार बसाइँसर्दै थियौँ। मेरो दाइ उच्च शिक्षाको लागि २०६४ सालदेखि नै काठमाडौं बस्दै आउनु भएको थियो। दिदी पनि पढाइकै शिलशिलामा केही वर्षदेखि घर बाहिर हुनुहुन्थ्यो।
२०६८ सालमा हामी सल्यान जिल्लाबाट नेपालगंज-बाँके जिल्लामा बसाइँ सरेर गयौँ। मेरो घर परिवारले गाउँ छोड्दै थियो, मैले मेरा साथीभाइ छोड्दै थिएँ। मेरा तितामिठा अनुभब र यादहरु छोड्दै थिएँ। बिदाको बेला भेट्न मिल्ने सौरभ र सन्जुलाई छोड्दै थिएँ। फुर्सदमा म जन्मिएको ठाउँ र प्रकृतिसँग रमाउन गाउँमा जान छोडेको थिएन। मैले म रमाउने प्रकृति छोड्दै थिएँ। म हुर्किएको घर र जन्मिएको पलमको फेद छोड्दै थिएँ।
गाउँबाट सहर बसाइँ सर्दा मान्छे कति खुसी हुन्छन्। यो लहर आज पनि उत्तिकै छ। देश वा विदेशमा दुख गरेर पैसा कमाउने अनि गाउँ छोडेर सहरमा एउटा घर बनाउने र सधैँको लागि बसाइँ सर्ने। सहर? हो! सहरमा बसाइँ सर्ने। एउटा पीछडिएको गाउँको लागि नजिकैको हाटबजार लाग्ने ठाउँ सहर हो। ती हाटबजार लाग्ने ठाउँको मान्छेको लागि नजिकैको व्यापारिक केन्द्र सहर हो।
जस्तै हाम्रो लागि नेपालगंज थियो। त्यसपछिको सहर काठमाडौँ हो। काठमाडौँमा बस्नेहरुको लागि सहरको परिभाषा काठमाडौँले दिन्छ होला तर बसाइँ सराई रोकिदैन्।
विसं २०७० सालदेखि म पनि पढाइको शिलशिलामा काठमाडौँ बस्दै आएको थिएँ। बसाइँ-सराइको एउटा खुड्किलो बाँकी थियो। मेरो अनुभवले यही भन्थ्यो कि बसाइँ सराईको प्रत्येक खुड्किला पार गर्नु पर्छ। अर्थात नेपालगंजबाट काठमाडौँ बसाइँ सर्न बाँकी नै थियो। काठमाडौंमा बस्दै आएदेखि पढाइको क्रममा होस् या जागिरको शिलशिलामा धेरै नयाँ साथी बनि सकेका थिए।
काठमाडौँ साँच्चिकै ठूलो सहर हो। एउटै घरमा बस्ने एउटा कोठाको मान्छेले अर्को कोठाको मान्छे चिन्दैन् भने एउटा घरको मान्छेले अर्को घरको मान्छे चिन्ने कुरै भएन। घरबेटीले कोठाको मान्छे चिन्दैनन्, मासिक आउने घर भाँडा मात्र चिन्छन्। अफिसको हाकिमले पारिवारिक दुख कष्टको त के कुरा, आफ्नै कर्मचारीको सुख-दुख बुझ्दैनन्, मात्र उसले गरेको काम र कार्यशैली बुझ्छन्।
सायद विश्वका धनी देश र ठूल्ठूला सहरमा हुने मानवीय व्यवहार पनि यस्तै होला। मान्छेको व्यस्त दैनिकी पनि यस्तै-यस्तै होला। काठमाडौँको केही वर्षको पढाइपछि मेरो दाइ पढाइलाई निरन्तरता दिनको लागि नेपाल छोडेर अष्ट्रेलिया जानु भएको हो।
अष्ट्रेलिया मात्र होइन, विदेशमा पढाइभन्दा बढी कमाइले लोभ्याउदो रहेछ। केही अपवादलाई बिर्सिने हो भने विदेशको पढाइ बहाना मात्र हुने रहेछ। कति सजिलो भाग्यमा विस्वास गर्नु पर्ने। भगवान दाहिने भएपछि आफूले सोचेकै पूरा हुने। ग्रीन कार्ड, पीआर पाउनुको खुसी बेग्लै हुने रैछ। देशलाई सधैँको लागि छोड्दा पनि मान्छे भ्याग्यशाली सोच्दो रहेछन्।
केही समयको बसाइँपछि दाइले पीआर पाउनु भयो। नयाँ घर किन्नु भयो। नयाँ गाडी किन्नु भयो। बिदेशमा घर, गाडी खरिद गर्न पनि कति सजिलो। नेपालमा सामान्य जागिर गर्ने मान्छले फाइनान्स गरेर दुई/तीन लाखको बाइक किने जस्तो। २०७४ सालमा उच्च शिक्षा एमबिएको लागि म पनि अष्ट्रेलिया प्रस्थान गरेँ। प्रस्ताव दाइको थियो। अष्ट्रेलियामा सुरुसुमा साह्रै गाह्रो हुँदो रहेछ।
काम पनि भनेको जस्तो नपाउने। ट्यूशन फि पनि तिर्न हम्मे-हम्मे हुने। धन्न दाइको घरमा बस्नु परेकोले बस्न र खान कुनै अप्ठ्यारो थिएन। होइन भने नेपालमा सोचे जस्तो अष्ट्रेलिया, अमेरिका काहीं पनि त्यति सजिलो नहुँदो रहेछ। दिनभरी काम गरेन भने खान पनि पुग्दैन्। एक जनाले काम गर्ने अर्को जना बस्ने हो भने एक जनाले खाने अर्को जनाले हेर्ने मात्र हुन्छ। आफ्नो लागि सबथोक आफैले गर्नुपर्छ। कसैको भरमा कोहीपनि बस्न सम्भव नै छैन्। सायद 'आफ्नो खुट्टामा आफै उभिनु पर्छ' अर्थात 'सेल्फ डिपेन्डेन्ट' भन्ने कन्सेप्ट यस्तै मुलुकबाट आएको होला।
आज सब कुरा ठिक छ। दाइको एक मात्र चाहना छ, बा-आमा पनि अष्ट्रेलिया नै गएर बसुन्। हामीले बसाइँ-सराईको एउटा खुड्किला पार गर्न बाँकी नै थियो। तर, अब त्यो कसैको चाहाना भित्र पर्दैन। काठमाडौँमा घर जग्गा किनेर नबसे पनि धेरै लामो समय बिताएका छौँ। काठमाडौंको बसाइँ बसाइँसराइको परिभाषा भित्र नपरे पनि मेरा लागि त्यो बसाइँसरेर बसेको जस्तै हो।
बसाइँ सरेको नयाँ कुन ठाउँमा दुई/तीन वर्षभन्दा बढी बस्न मिलेको छ र। भेट्टिनु र छुट्टिनु त् जिन्दगी रहेछ। नयाँ ठाउँ र नयाँ मान्छेसँग भेट्टिनु र छुट्टिनु मेरो जिन्दगीको परिभाषा भित्र परेको छ। सबैले यसो भन्छन्, नयाँ ठाउँमा घुम्नु पर्छ, नयाँ साथी बनाउनु पर्छ, नयाँ-नयाँ ठाउँमा घुम्नु पर्छ अर्थात नयाँ ठाउँको यात्रा गर्नु पर्छ।
मेरो जिन्दगी नै यात्रा जसरी घुमिरहेको छ। तर, अपसोच यात्राबाट घर फर्किन मिलेको छैन्। नयाँ-नयाँ साथी बनाउनु पर्छ अर्थात् जुन ठाउँमा गएपनि साथी थप्दै जानु पर्छ। तर, अपसोच नयाँ साथी बनाउने बाहना र बाध्यतामा मेरा पूराना साथीहरु छुट्टिदै गएका छन्।
झट्ट हेर्दा सबथोक ठिक्ठाक जस्तो देखिने बसाइँ-सराईले निम्त्याएको मेरो यात्राको जिन्दगी, मलाई भताभुंग जस्तो लाग्छ। सब थोकले भरिपूर्ण हुँदा पनि रित्तिएको भकारी जस्तो लाग्छ। हजारौं साथीभाइ प्रत्येक दिन सम्पर्कमा हुन्छन्। हजारौं साथीहरु सोसिएल मिडियामा सम्पर्कमा आउछन्। तर, म एक्लो अनुभव गरिरहेछु।
जति धेरै मिल्ने साथी भेट्टिए पनि मसँग बालापनमा गुच्छा खेल्ने सौरभ जस्तो जिन्दगीको कुनै क्षणमा भेटिएको छैन्। सानो छदाँ मसँगै विद्यालय जाने सन्जु। सन्जु केटी साथी थिई। सायद बालापनमा केटा र केटी साथीको खासै फरक नहुने भएर होला विद्यालयमा जाने जतिसुकै साथी भेटिएपनि सन्जु जस्तो कोही भेटिएनन्। नयाँ ठाउँमा बसाइँ सर्दै जाँदा नयाँ-नयाँ छिमेकी आफन्त भए।
तर म जन्मिएको, मेरा पूर्खा हुर्किएको, मेरा बा-आमा हुर्किएको मेरो पूरानो गाउँको छिमेकी जस्तो कोही भेटिएनन्। एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नुको एक मुख्य कारण सुखको खोजि हो। सुखको खोजीमा सन्तुष्टि काहीं भेटिएन्। आज त्यहिँ फर्किन मन छ जहाँ मेरो बालापन बित्यो।
दिनभरीको कामको थकाईले मेरा बा-आमाको मिठो निन्द्रा छरपष्ट देखिन्थ्यो। पैसाको कमि थियो होला, आफन्त र सुख दुखमा साथ दिने छिमेकीको कमि थिएन। चाडपर्वमा आफन्तले घर भरिएको हुन्थ्यो। कति रमाइलो हुन्थ्यो। आफन्त हुनु र आफन्त बन्नुमा नितान्त फरक रहेछ।
एकान्तमा पनि आनन्द दिने, मेरा यादहरु साटिएको त्यो म हुर्किएको र खेलेको जंगल र प्रकृति काहीं र कुनै ठाउँमा पनि भेटिएन। बेला बखत छुट्टिमा गाउँकै घर फर्केर जान्छु। सबथोक परिबर्तन भएको छ। छिमेकी परिबर्तन भएका छन्। साथीभाइ फेरिएका छन्। त्यो भन्दा पनि ठूलो कुरा म जन्मिएको पलमको फेद फेरिएको छ।
कहिले सुक्यो होला त्यो पलमको बोट? बढो भएर ढाड निहुँर्याउदै जमिनमा कहिले नबिउझिने गरी लम्पसार हुँदा एकपल्ट मेरी आमाको छ्ट्पटि र मेरो चिच्याहट सम्झिएन होला? आज त्यही फेदमा लटरम्म सुन्तला फलेको छ। तर मलाई त्यो सुन्तलाको बोट फागुन-चैतमा पात झरेर लाज नमानी ठिङ्ग्रिंग उभिएको किम्बुको बोट जस्तै लाग्छ।