हुन त सारा हामी सदियौँदेखि पीडा भोगिरहेका छौँ। पीडामाथि पीडामा पर्नु नेपालीको नियती हो। कसैलाई विकासका पीडा, कसैलाई भूगोलका पीडा र कसैलाई मुटु बल्झाउने बज्रपात त कसैलाई विषखेप नरसंहारका पीडा।
एक वर्ष अगाडिको कुरा हो, मैले त्यो चितवनको चेपाङ बस्तीकी राजुमाया दिदीलाई त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा भेटेको थिएँ। पहाडको स्वास्थ्य चौकी धन्न विकटमा भएपनि त्यहाँका स्थानीयहरुको जीवन आधार रहेछ। केही खुल्ला चौर, वरिपरि रोपिएका बोटबिरुवा, अनि भर्खरै निर्माण भएको आठकोठे त्यस स्वास्थ्य चौकीमा म प्रिमियर कलेजबाट आयोजित बिएसडब्लूको पाँच दिने क्याम्पमा जाँदा भेटेकी थिएँ।
'दिदी सञ्चै हुनुहुन्छ?’ उनी झन्डै भक्कानिएकी थिइन्। यो सोधाइमा उनको ब्यथा थाहा पाउने एकान्त सोधाइमा एक्लै थिएँ। सायद त्यहाँ भित्र गुम्सिएका उनका पीडा निस्कन खोज्दै थिए, सहानुभूति खोज्न तछाडमछाड गर्दै। भन्छन्, धेरै पीडामा मानिस बोल्न खोज्दा आँसुको ढिक्का र मुखको आवाजले शब्द नै लुकाईदिन्छ।
हामीले देखेको र भोगेको यथार्थ हो यो। त्यसैले होला सायद उहाँबाट शब्द होइन, मात्र कापेको शब्द बिहीन आवाजमा हिक्का छुट्दै थियो। ‘दिदी सम्हाल्नु आफूलाई, त्यसरी कम्जोर हुनु भयो भने जिउन गाह्रो हुन्छ।’
'कति नै जीउने होला र बहिनी! जीउनको लागि समय भए पो गाह्रो हुनु। बरु एउटा पिर छ¸ यी सन्तानको तपाई त सहर तिर पढ्ने मान्छे¸ समाज सेवातिर संलग्न हुनु होला पछि है? बरु सक्नु हुन्छ भने म मरे पनि यिनीहरुलाई सहर तिर बाल गृह हुन्छन् रे! अलपत्र परे भने पछि त्यहाँ राखी दिनुहोला।
तर साने मोरोको मेरो जस्तै रोग छ¸ मभन्दा त केही बाँच्न सक्छ। त्यस्ले¸ एकैपल्ट जान पाए पनि त हुन्थ्यो। त्यो त औषधीले केही बाँच्न सक्छ रे तर कस्ले पो औषधी केनेर खुवाउला र त्यसलाई! न यस्ले काम गर्न सक्ने हो न मरुनजेल यस्लाई कस्ले पो रेखदेख गरेर पाल्ला। अरुले त काम गर्न पाएमा दुखै भए पनि खानाले त मर्दैन होलान्।’
अहिले उहाँभन्दा पनि आफूलाई भक्कानो छुटेर आउँछ उनका ती कुराले। आमाको सन्तान प्रतिको माया कति निश्चल छ। आमाको अन्तिम घडीमा आफ्नो होइन, सन्तानको मायाले पालेको रहेछ उहाँलाई। कर्तव्यहरु पाखा लाग्न सकेका रहेनछन्। उहाँलाई झुट्टा आशा दिँदै भनेका थिए¸ यी नहुर्किनजेल तपाईलाई केही हुन्न।
बुझ्दै जाँदा उहाँ एचआइभी अनि त्यसैमाथि क्यान्सरको बिरामी रहेछन् भन्ने थाहा पाएँ। थाहाँ पाए पनि मानिस न परियो, केही गर्न नसके पनि झुट्टा आश दिलाउन नैसर्गिक अधिकार नै हो जस्तो लाग्छ। छि! सोच्दा पनि मनै दुख्छ अनि मान्छेहरु पर्ति वितृष्णा जाग्छ।
श्रीमती भने श्रीमानको पर्खाइमा आफ्ना शारीरिक भोक जति पनि खप्नु पर्ने र सक्ने श्रीमान् भनाउँदाहरु भने किन त्यो शारीरिक भोक खप्न नसक्ने? समाजले दिएको स्वच्छन्दता पुरुषको मात्र नभई महिलाको पनि नैसर्गिक अधिकारमा जोडाइ दिएको छ।
आखिर भोक त भोकै हो नि, चाहे पुरुषको होस् या महिलाको, अनुशासनको कठघरामा महिला मात्र बाँधिनु पर्ने किन होला? समाजले दिएको त्यो बन्धन दुवैका लागि होइन र? सायद पुरुषको अहमले त्यो अनुशासन नतोडेको भए आज कृष्णलाल चेपाङको अकालमा ज्यान जाने थिएन। साथै उसको श्रीमती सहित बच्चाको त्यो दुर्दशा हुने थिएन।
जीवन भनेको पीडा नै पीडाको पोका हो जस्तो लाग्छ। सानोलाई सानै र ठूलोलाई ठूलो पीडा तर पनि कुनै कुनै पीडाले जीवनलाई किन दखल पुर्याउँछ होला, मनसपटलाई किन खलबल्याई रहन्छ? झलझली याद आउँछ यो प्रकृतिको निर्दयी रुप देखेर। डाँडामा रहेको घर, पहिरोले लग्नै आँटेको घरको आँगन, भारतमा पैसा कमाउन भएको छोराको गाडीको ठक्करबाट मृत्यु बोल्दै रुदै थिइन्, ती बाजुराकी गिता बोहरा दिदी।
आँगन पनि के भन्नु, पहिरोले माटो सबै भत्काएर एक छेउमात्र बाँकी राखेको थियो। नातिनातिनी र बुहारीको मुखतिर दृष्टि पोख्दै बलिधारा आँसु झार्दै भन्दै थिइन्- 'अभागी केटाकेटी हो, पाउने भयौँ जिन्दगीमा दु:ख। म त डाँडामाथिको घाम भैसके, अब के गरेर खान्छौ? भएको खेतबारीले तीन महिना पुग्दैन, कमाउने भनेको एक उही थियो।
शत्रु लाग्यो कि मेरो भाग्यले ठग्यो। भएको यही ओत लाग्ने एउटा घर पनि अर्को बर्खा नकट्ला जस्तो छ। कहाँ बस्छौ के खान्छौ? एक दिन त्यस्ले काम नगरी घरमा माड लाग्दैन’ यति भन्दै भक्कानिएर लडेकी थिइन्।
म त्यहाँ साथिसँग घुम्न र रमाइलो गर्न गएकी थिएँ तर के सुन्न र देख्नु पर्यो! म पनि त आखिर रमितै त थिएँ। त्यो उनको दु:ख हेर्नु र सान्त्वनाका दुई/चार शब्द ओकल्नु बाहेक अरु त के नै पो गर्न सक्थे र! अहिले आफू जति नै सुरक्षित भए पनि सामाजिक सञ्जालमा प्रकृतिले गरेको विपत्ति वा विनाशकारी भएको एउटा सामाचार देख्दा पनि ठूलो पहाडबाट खसेको भान हुन्छ।
त्यो नौ वर्षको बालापनमा घटेको वा आफ्नै जीवन माथि आईलागेको त्यो उग्रपात कुनै सञ्जालको विनाशरुपी चित्रसँग जोडिएर आफ्नै जीवनमाथि चसक-चसक बनाउँछ।
पानी मानिसको लागि नभई नहुने वस्तु हो, तर यसको विनाशकारी रुप देख्नु मेरो लागि कुनै नौलो कुरा होइन। किनकी आफैले भोगेको भएर होला। मनसपटलमा आलै छ। त्यो रातभरिको समय तालिका मिलाए जस्तो, एकै सुरमा परेको मुसलधारे पानी, त्यसैमाथि पाँच गाउँ रित्याउने पहिरोसँगै पश्चिमबाट उर्लिएको आर्दोला खोला अनि उत्तरबाट आएको बुढीगंगा नदीको संगममा हाम्रो सारा संसार।
बिहानको समय¸ विलीन भएका गाईवस्तु, पसल. घर खाने रासन लुगाफाटा सबै जति अन्नबाली सबै बगाएर खेतिबारी मरुभूमि बनायो क्षणभरमै। किन प्रकृति यस्तो निर्दयी हुन्छ, बेलाबेलामा आखिर मानिसलाई जित्न कहाँ पो सकेको छ र? तर पनि प्रकृतिलाई बिटुल्याउने काम भनेको मानिसबाट भईनै रहेको छ हरपल।
एउटाबाट अर्कोतिर जोडिनु पुगाईदिन्छ, कहिले मान्छेले आफै बज्रपात निम्त्याउछ, कहिले नचाहँदा नचाहँदै समस्याको शिकार बन्नुपर्ने त कहिले गन्तव्य बिहीन सपनाको पछाडि दौडेर जिन्दगीलाई भूमरीमा अल्झाउनु पर्ने बाध्यता। सम्झनामा आईरहन्छ, काठमाडौँ नयाँ बानेश्वर स्थित निर्मल बाल विकास आपाङ्ग स्कुलमा इन्टन गर्दा त्यहाँकी स्याहार सुसारे दिदीको कुराले मन पिरोल्छ।
विचरा भन्ने गर्थिन ‘नानी किन सधैँ गरिब र दुखीलाई मात्र भगवानले दु:ख दिन्छ होला है? साउदीमा कमाउन गएको थियो मेरो छोरा, भएको सबै जग्गा जमिन साहुसँग छत्तिस प्रतिशत धितो राखी। त्यस्तो नगर छोरा भनेर कति ढिपि गरेँ तर मानेन। झन् मलाई, आमा त्यो पैसा त एक वर्षको कमाईमै तिरेर पनि कमाएको पैसा बाँकी रहन्छ भन्थ्यो।
गएको दुई महिनामै उसको लास यहाँ आयो। साहुको पैसा तिर्न नसक्दा सबै जग्गा जमिन साहुले लिए। आज म आफ्नै गाउँको सुकुम्बासी भएकी छु।’
लाग्छ आखिर कहिलेसम्म होलान् हाम्रा युवा दाजुभाइ विदेशमा पाखुरी बजार्न। सयौं दाजु भाइ छोड्छनु आखिर बाँच्नैको लागि यति दुख। दुख भए पनि मान्छे धेरै दिन बाँच्ने रहेछ त, भोको पीडाले नबाँच्ने रहेछ, आज करोडौंको अमूल्य जीवन आत्महत्या गर्नेबाट बताईरहेको छ।
अनि जनतालाई अनुदानमा खाद्य पदार्थ उपलब्ध गराउन नसक्ने देशको सेवाप्रति घीन लागेर आउँछ। भोकले थलिएर अर्थात् आत्महत्या गरेर मर्नु¸ रोगले गलेर जिउँदै कुहिएर मर्नु र विदेशीको दास बनेर विदेशमै लास अलपत्र हुनु हामी सबै नेपालीको जीवनसँग जोडिएको लाग्छ, अनि सरकार भन्नु जनताको लागि दन्त्यकथा।