मलाई मेरा बासँग हिँड्न कठिन लाग्छ। मेरा बा कालो वर्णको हुनुहुन्छ। उमेर ढल्कदै गर्दा बूढो रुखबाट पात छुटिएर गएझैँ उहाँको दाँतहरुले बिदा लिईसकेका छन्। त्यस्ता थोते बालाई लिएर म कसरी सँगै हिडौँ?
कमिजभरि धमिराले खाए जस्तो देखिन्छ, त्यस्तो टाटै टाटाले भरिएको कमिज लगाएका होचा कदका दाँत खुस्केका, तालु खुइलेको टाउको माथि पुरानो खुइलेको ढाका टोपी लगाएका, गुन्द्रुक भन्दा बढी मुहारमा मुजा परेका, चराको झैँ चुच्चे नाक परेका, केही नसुन्ने सुतिरहेको कान भएका बालाई म जस्तो सुकिलो लुगा, चमकदार जुस्ता,फेन्सी पाइन्ट, छालाको पेटी अनि गज्जबको क्याप लगाएको अग्लो कदको युवकलाई साथैमा देखेर को पो हाँस्न बाध्य नहोला र?
हाँस्नेले मनमनै भन्छन्, कुन चैँ मर्न नसकेको बुढोलाई के खान लिएर हिँडेछ। मेरा अझैँ कयौँ वर्ष बाँच्न सक्ने बालाई म कसरी मर्न नसकेको बनाउन सक्छु होला र? गाईवस्तु, गोबर, खेत गर्दा गर्दै फलाम खिईएका जस्तै खिईएका, फुटेका फुस्रा हातहरुलाई मेरा चिल्ला हातहरुले कसरी पो समाउन सक्छन् र?
म खरायो जस्तै दौड्न सक्ने मान्छेले कछुवाभन्दा ढिलो हिँड्ने बालाई अघि अघि लगाएर हिँड्दा कछुवा र खरायोको कथाले सार्थकता पाउन सक्ला त? बाटामा देख्दै पिच्छे यो के हो? कस्तो हो? कसरी हो? भनेर अनगिन्ती सवाल र जवाफ गर्नुपर्ने बालाई म कसरी साथ लिऊँ?
मेरा बा लोसे छन्, ढिट छन्। म चलाख छु, म तेज छु। त्यसैले त सडकमा सँगै हिड्दा कसैले देख्ला कि भनेर म तर्की-तर्की हिँड्छु। म कसरी साथ लिएर हिँडौँ र यी बृद्ध बालाई?
यति मनमनै प्रश्नोउत्तर गर्दै, म आफ्नो बृद्ध बालाई साथ लिएर हिँड्न नसक्ने परिकल्पनामा हराए। जोस गर्दै यी सब कुरालाई आज चैँ अन्त्य गरेरै छाड्नुपर्छ भन्दै बा सुत्ने कोठा तर्फ लागे, बाको ओछ्यान बा बिनै गणितमा सुरुआती पूर्ण संख्याको शून्य जस्तै रहेछ। अनि पुर्पूरामा हात राख्दै बा! भनेर भक्कानिन पुगेछु।
मेरा बा त पोहोर साल म विदेशमै हुँदा स्वर्गबास हुनुभएको थियो, म त अन्तिम दाहसंस्कारमा समेत उपस्थित हुन सकेको थिइनँ। यस घटना पश्चात् मलाई आज बाको खुब झझल्को आइरहेछ। बा हुनुहुन्थ्यो भने थोते मुस्कान भरिएका मुहार सहितको बालाई साथमा लिएर म गाँउ, सहर, चोक, गल्ली हर्षित हुँदै खुब हिँड्डुल गर्ने थिएँ।
सम्पूर्ण बाहरुलाई कुशे औँशी तथा बुबाको मुख हेर्ने दिनको शुभकामना!