शिरमा निख्खर कालो निकाब, त्योमाथि आँखा छोप्ने कालै चस्मा अनि निकाबले छोपिएको मेरो विभत्स अनुहार- त्यही भैसकेको थियो मेरो नयाँ परिचय।
तर मुहार जति विभत्स र कुरूप भए पनि मेरो मन सुन्दर छ र मेरो आत्मविश्वास डगेको छैन भन्नेमा मलाई शंका थिएन।
त्यही पवित्र मन र आफ्नो आत्म विश्वाशलाई साथमा लिएर म त्यो दिन पति र छोरोसँग अब कहिल्यै नभेट्ने भनेर बिदा मागेर आफ्नो नयाँ पहिरनमा नयाँ जिन्दगी र नयाँ परिचय बनाउन आफ्नो बाटो लागें।
आफ्नो बालक छोरोलाई त्यसरी चटक्कै छोडेर जान सक्ने म त्यति निकृष्ट आमा पक्कै हैन। मैले छोरोलाई आफूसँग लिएर जान खोजेकी थिएँ। तर उसको अगाडि मैले निकाब खोल्दा मेरो विभत्स अनुहार देखेपछि ऊ सातो उडेजस्तै गरी रोएको थियो।
त्यसपछि मलाई देख्दा नै ऊ रुन थाल्थ्यो। म उसकी आमा हुँ भन्ने समेत उसले स्वीकार गर्न छोडिसकेको थियो।
उसको बाल मस्तिष्कमा मैले जबर्जस्ती आफ्नो कुरूप मुहारलाई उसकी आमाको तस्वीर बनाएर टाँसिदिन चाहिनँ। त्यसैले मुटु दह्रो पारेर मैले उसलाई पनि उसको बाबुसँग छोड्न बाध्य भएँ। त्यसैमा नै उनीहरूको र मेरो पनि भलाइ थियो। उनीहरूको बोझ बनेर जिन्दगीभरि बाँच्न मलाई सजिलो हुनेछैन भन्ने कुरो मैले बुझेकी थिएँ।
मेरा पतिले, बाबु आमाले र परिवारका अन्य सदस्यहरूले सुरू सुरूमा त मेरो स्थितिप्रति सहानुभूति देखाउलान्, माया गर्लान्, सहयोग गर्लान् तर जिन्दगी त्यति छोटो छैन।
मलाई थाहा थियो- मैले जिन्दगीको कुनै न कुनै मोडमा पति र परिवारबाट तिरस्कृत हुनु पर्नेछ, आमाबाबु परिवार र समाजको लागि म बोझ बन्नेछु। त्यसैले समय छँदै आफ्नो बाटो लाग्नुलाई नै मेरो दिमागले उत्तम विकल्प देख्यो।
मेरो कारणले गर्दा उनीहरूको जिन्दगीमा नकारात्मक असर नपरोस् भन्ने एउटा उद्धेश्य त थियो नै तर मैले नयाँ जीवन सुरू गर्नुमा मेरो अर्को स्वार्थ पनि लुकेको थियो। त्यो स्वार्थ थियो- म स्वतन्त्र भएर आफ्नै तरिकाले आफ्नो जीवन जिउन चाहन्थें। त्यति धेरै वर्षसम्म परिवार र समाजको दायराभित्र बसेर उनीहरूले निर्देषित गरेको कर्ममा म हिँडे तर अब म आफ्नै मार्ग बनाउन चाहन्थें। निकाबभित्र गुम्सिएर नै सही तर म आफ्नो जीवन आफैं व्यतित गर्न चाहन्थें।
काठमाडौंबाट बस चढेर म नौलो यात्रामा निस्कें। मनमा डरभन्दा पनि खुल्दुली थियो। अर्को दिन बिहान बसपार्कमा ओर्लेपछि जिन्दगीको संघर्ष सुरू भयो।
सबभन्दा ठूलो चुनौती त भोक र प्यास नै थियो। तर केही पैसा खल्तीमा हुँदासम्म जोश हुने रहेछ। त्यसैले मलाई भोकै मर्ने डर थिएन। तर महिला हुनुको कारणले मलाई सुरक्षाको चिन्ता थियो। तर त्यसमा पनि समस्या आएन। भोक र सुरक्षाको त्रास हटेर आफू बस्ने स्थान निश्चित भएपछि मन अलि शान्त भयो।
बस्ने र खानेको स्थायी टुङ्गो लाग्न तीन हप्ता लाग्यो। त्यो तीन हप्तामा मेरो पूरै ध्यान त्यसैमा नै केन्द्रित थियो। बस्ने र खानेको टुङ्गो लागेपछि मात्र अन्य कुराहरू मनमा खेल्न थाले।
सुरूसुरूमा एक्लो जीवन निकै रमाइलो भयो तर त्यो त पिसाबको न्यानो जस्तै रहेछ। मानिस परिवार र समाजमा बस्न रुचाउँदो रहेछ। मेरो डिएनएमा नै करोडौं वर्ष पहिले लेखिएको त्यो गुण मेरो एकछिन्को आवेगले कसरी मेटाउन सक्थ्यो र ? दिनहरू बित्दै जाँदा म पनि परिवार र समाजको लागि तड्पिन सुरू गरें।
मेरो पहिरनको कारणले त्यो नयाँ ठाउँमा मसँग नजिकिने भन्दा टाढिने मान्छेहरू बढी थिए। मेरो निकाबमै त्यति टाढिनेहरू झन् मेरो अनुहार देख्दा के गर्लान् भन्ने मलाई डर थियो। त्यसैले म पनि उनीहरूसँग दूरी नै कायम गर्न चाहन्थें।
जब मेरो जीवनले सामान्य रूप लियो मलाई विस्तारै एक्लोपन महशुस हुन थाल्यो। दिनभरि त म पसलमै व्यस्त हुन्थें तर रातमा छोराको सम्झनाले निकै सताउन थाल्यो। ऊ मलाई सम्झेर कति रुन्छ होला, आमा भनेर मलाई कति पुकार्छ होला भन्ने सम्झेर म हरेक रात रोएर बिताउन थालें।
उनीहरूसँग छुट्टिनु मेरो ठूलो गल्ती थियो कि जस्तो लाग्न थाल्यो। लोग्नेले त अर्की बिहे गर्लान् तर मेरो छोरो सौतेनी आमाको टोकसो सहेर कसरी बस्ला भनेर सोच्न थालें। सौतेनी आमाले उसलाई दिनदिनै गाली गरेको, पिटेको, खाना खान नदिएको, हेला गरेको अनि त्यसमा निरिह, ख्याउटे, मलिन मुख गरेको मेरो बालक छोरोको तस्वीर नजर अगाडि नाच्न थाल्यो।
जति बिर्सन्छु भन्दा पनि मेरो मानसपटलमा उसको त्यही निरिह मुहार आइरह्यो।
मनले मानेन, अनि के छ उसको हाल खबर सोध्छु भनेर आमालाई फोन गर्ने विचार गरें।
मैले सिम कार्ड त परिवर्तन गरिसकेकी थिएँ तर सबै ‘कन्ट्याक्ट’हरू फोनमै थिए। फोन गर्छु भनेर आमाको नम्बर डायल गर्न आँटेकी थिएँ तर मेरा हात रोकिए।
मेरो फोनबाट म कहाँ छु भन्ने उहाँहरूले थाहा पाउनुहुनेछ र मलाई खोज्न आउनुहुनेछ भन्ने लाग्यो र रोकिएँ। म कसैगरी पनि उहाँहरूको सहानुभूति र दयामा बाँच्न चाहँदैनथें।
अरू कसैको फोन मागेर गर्छु या पिसिओमा गएर गर्छु भन्ने सोचाइ आयो तर सबैको परिणाम त्यही हुन्थ्यो- बुवा आमाले म कहाँ छु भन्ने थाहा पाउनुहुन्थ्यो। त्यसैले तड्पिएर बस्नुभन्दा मैले अर्को उपाय देखिनँ।
तर त्यो एक्लो जीवन मैले नै रोजेकी थिएँ। भविष्यमा आउने समस्याहरूको बारेमा मैले पहिले नै विचार गर्नुपर्थ्यो। मैले त सजिलै होला भन्ने सोचेकी थिएँ। आफ्नो नयाँ जिन्दगीको यात्रामा त्यति कठिन होला भन्ने मैले सोच्न सकेकी रहिनछु।
मेरो कल्पना शक्ति त्यति ठूलो थिएन ताकि परिवारसँग अलग्गिएर एक्लै बस्दा भविष्यमा आउन सक्ने कठिनाइका बारेमा मैले सबै सोच्न सकूँ।
मजस्ता सामान्य मानिसहरूका लागि आफूलाई नपर्दासम्म थाहा नहुँदो रहेछ। मैले सोचेभन्दा मेरो एक्लो यात्रा सयौं गुणा कठिन निस्क्यो। सुनेकी थिएँ- हरेक वस्तुको मूल्य हुन्छ र त्यो वस्तु पाउनको लागि त्यसको मूल्य चुकाउनु पर्छ।
मेरो स्वतन्त्रताको पनि त्यस्तै मूल्य रहेछ जुन पाउनको लागि मैले पनि मूल्य चुकाइरहेकी थिएँ। मेरो लागि त्यो मूल्य भनेको एक्लोपनको पीडा र सन्तानको माया रहेछ।
गुमनाम भएर स्वतन्त्रसँग बाँच्ने सुन्दर सपना लिएर नयाँ जिन्दगीको सुरू गर्न निस्केकी मैले पुरानो जिन्दगीमा फर्कने आफ्ना सबै बाटा भत्काइसकेकी थिएँ।
त्यसैले मेरो लागि पहिलेको जिन्दगीमा फर्कनु असम्भव भैसकेको थियो। बरु मर्छु तर फेरि पहिलेको जीवनमा फर्किंदैनँ भनेर म हिँडेकी थिएँ।
तर एक्लोपनमा तड्पिन थालेपछि लाजै पचाएर, आफ्नो प्रतिज्ञा तोडेर अनि आफ्नै नजरमा आफैं गिरेर भए पनि घर फर्कनेतर्फ मेरा विचारहरूले मलाई गाँज्न थालिसकेका थिए।
अरू त म सहन गर्न सक्ने भएकी थिएँ तर दिनहरू बित्दै जाँदा छोराको यादले यति सतायो कि उसको यादमा म हरेक रात डाको नै छोडेर रूँन थालेकी थिएँ।
मलाई सान्त्वना दिने, सम्झाउने कोही थिएन। रोएर थाकेपछि आफैंले आफूलाई सम्हाल्थें। कुनै दिन गएर म छोरोलाई भेट्नेछु भन्ने निश्चित हुँदो हो त मलाई त्यति पीडा हुने थिएन होला।
तर मैले उसलाई छोडेर आउँदा उसलाई पुनः भेट्ने आशाका सबै त्यान्द्राहरू चुँडेर आएकी थिएँ। मेरो पीडाको मुख्य कारण त्यही थियो। अब मैले मेरो छोरोलाई कहिले भेट्न पाउने छैन भन्ने सोचाइले मेरो वेचैनी बढेको थियो।
एउटी आमा भएर पनि म आफ्नो सन्तानप्रति त्यति निष्ठुरी कसरी बन्न सकें होला जस्तो लाग्यो। उसलाई जिन्दगीभर नभेट्ने आफ्नो अडान मैले राख्न सकुँला जस्तो लागेन।
मेरा प्रतिज्ञाहरू धर्मराउन थाले, मेरो आत्मबलका पर्खालहरू वात्सल्यको हुरीसामु निर्बल भएर गर्लम्म ढल्न थाले। आफ्नो इज्जत र आत्मसम्मानलाई मैले एकातिर पाखा लगाएर मैले छोरो भेट्न जाने निश्चय गरें।
आफ्नो सन्तानको लागि आमाले आफ्नो ज्यान त दिन्छन् भने मेरो प्रतिज्ञा, मेरो लाज, मेरो इज्जत, मेरो आत्मसम्मान के नै थियो हो र भनेर मैले मनलाई सम्झाएँ अनि अर्को दिन बिहानै बसपार्कमा गएर टिकट सोधें।
“सिधै जाने बस छैन, नारायणघाटबाट अर्को बस फेर्नुपर्छ, भोलि दिउँसो मात्र पुगिन्छ” काउन्टरको मान्छेले भन्यो।
“हुन्छ म सोच्छु” भनेर मैले टिकट लिइनँ। अलि यता आएर मैले एकछिन सोचें- मेरो छोरोलाई के नै भएको छ र ? ऊ त आफ्नै बाबुसँग छ। मेरो जति दायित्व ऊमाथि छ, त्यति नै दायित्व उसको बाबुको पनि त छ।
फेरि म गएर भेट्दा उसले मलाई चिन्ने पनि हैन, उल्टो मलाई देखेर डराउने मात्र हो। म हुनुभन्दा नहुनुमा उसको कल्याण छ। उसको जिन्दगीको शान्त भैसकेको तलाउमा गएर फेरि आफ्नो स्वार्थले गर्दा ढुङ्गो फाल्ने ?
उसलाई उसको जिन्दगी जिउन दिनु नै उसको लागि भलाइ हो। आफ्नो पीडाले गर्दा अर्काको जिन्दगी बिगार्ने मलाई अधिकार छैन।
त्यही सोचले मलाई विवश बनायो र तत्काल उसलाई भेट्न जाने इच्छा मारेर फर्किएँ। तर मन किन मान्थ्यो ? दुई दिनपछि फेरि मन उर्लन्थ्यो अनि कसैलाई थाहा नहुने गरी उसलाई लुकेर भए पनि हेर्न जान्छु भन्ने सोच्थें र फेरि बसपार्क पुग्थें। तर फेरि के के सोचाइ आउँथे र मेरा पाइलाहरू अडिन्थे। त्यसै गरी केही हप्ताहरू बिते।
म आफ्नै निर्णयले गर्दा अनिर्णयको बन्दी भैसकेकी थिएँ। दुइटा डुङगामा खुट्टा हालेर नदी पार गर्न लागेको नाउजस्तो कुन बेला म दुर्घटनामा पर्छु भन्ने मलाई थाहा थियो।
त्यसैले मैले जतिसक्यो छिटो एउटा नाउबाट आफ्नो खुट्टा निकाल्नु नै थियो।
एक दिन बसपार्कबाट फेरि अनिर्णय बोकेर फर्केपछि मैले एक पटक केही कठिन निर्णय गर्नैपर्छ भन्ने सोचें। मैले पहिले पनि कठिन निर्णय गरिसकेकी थिएँ त्यसैले म फेरि पनि गर्न सक्छु भन्ने आत्मविश्वास थियो।
त्यो रात म निकै कठोर बनें। मैल सोचे- अब मेरो परिवार र विशेष गरी मेरो छोरो मेरो नयाँ मार्गमा बाधक बन्नु हुँदैन। यो संसार कमजोरहरूको लागि हैन, यहाँ त हरेक पाइला पाइलामा चुनौती छ, पीडा छ, असुरक्षा छ। जो ती सबै चुनौतीलाई पन्छाएर अगाडि बढ्छ त्यो नै सफल हुन्छ।
भावनामा बगेर केही नगर्ने मान्छे जसरी गुमनाम जन्मिन्छ त्यसरी नै गुमनाम संसार त्याग्छ। के त्यही हो जीवन भनेको ? कसैको लागि होला, तर मेरो लागि हैन।
म केही गर्न चाहन्छु, म आफ्नो जीवन आफूले चाहे जस्तो बनाउन चाहन्छु। केही कठिनाइ आए भन्दैमा बीचबाटै भाग्ने योद्धा हैन म। म मरेको भए मेरो छोराको के हुन्थ्यो ? त्यसैले म मरिसकें भन्ने सोचेर मैले छोरोको बारेमा नसोचेर आफ्नो यात्रामा निरन्तर लागिरहनु पर्छ।
तिनै सोचले मैले आफ्ना सबै पुराना कुराहरू त्यगिदिने र तिनको प्रभावबाट निस्कने विचार गरें। पुरानो नत्यागेसम्म नयाँ सुरूआत हुँदैन भन्ने निश्चय गरेर मैले आफ्नो फोन निकालें।
सबभन्दा पहिले मेरो फोनमा भएका सबै कन्ट्याक्टहरू मेटाइदिएँ ताकि कसैलाई फोन गर्न चाहने मेरो विचारमा तगारो लागोस्। त्यसपछि फोनका सबै ‘मेसेज’हरू पनि मैले मेटाइदिएँ। त्यसपछि फेसबुक खोलें।
फेसबुक मेरो एकान्तको साथी थियो, मेटाउनको लागि कता कता मनले मानिरहेको थिएन। एक पटक मेरो ‘प्रोफाइल’ तस्वीरमा राखेको छोरोको तस्वीर हेरें। मेटाउन खोज्दा मन पिरो भयो तर मनलाई बाँधेर मेरो एकाउन्ट पनि ‘डिएक्टिभेट’ गरें र फोनबाट पनि फेसबुक मेटाइदिएँ। भाइबर पनि पूरै मेटाइदिएँ।
अनि फोनमा भएका ‘कल हिस्ट्री’ पनि मेटियो।
सबै गरिसकेपछि लामो सास फेरें। कता कता मन हलुको भएजस्तो भयो। अब मलाई कसैले भेटाउन सक्ने छैनन् अनि मलाई पनि कसैलाई सम्पर्क गर्ने चाहना आउने छैन भनेर मन ढुक्क भयो।
एउटा ठूलै काम गरें जस्तो मानेर फोन राख्न लागेकी थिएँ खै के सोच आयो, फोनको ‘फोटो फोल्डर’मा गएँ। के गरूँ के गरूँ जस्तो भयो तर मैले आफैंलाई भने- विगतका सबै कुरा मैले मेटाउनै पर्छ, म कठोर बन्नै पर्छ, यी तस्वीरहरू मेरो कमजोरी बन्न सक्छन्, त्यसैले यी तस्विरहरू पनि मेटाउनै पर्छ। अनि मुटो दह्रो पारेर मैले सबै तस्वीरहरू ‘सेलेक्ट’ गरें र एकै झड्कामा सबै मेटाइदिएँ।
तस्वीरहरू मेटाएपछि फोनको ‘होम बटन’ दाबेर ‘फोटो फोल्डर’बाट बाहिर निस्कें।
मेरो फोनको ‘वाल पेपर’ नीलो भएको थियो। मैले वाल पेपरमा मेरो छोरोको बामे सर्न लागेको नाङ्गो तस्वीर राखेकी थिएँ। ठूला चम्किला आँखाले सिधै हेरेको अलि अलि मुस्कुराएको त्यो फोटो मलाई सबभन्दा मन पर्ने तस्वीर थियो। एकाएक ‘वाल पेपर’बाट तस्वीर गायब भएपछि म झस्कें।
मेरो मनले तुरुन्त थाहा पाइहाल्यो- त्यो तस्वीर पनि मैले भर्खर मेटाएका तस्वीरहरू मध्येको थियो।
झट्टपट्ट फोनको ‘डिलिट’ गरेको फोल्डरबाट छोराको तस्वीर ‘रिस्टोर’ गर्छु भनेर फोन खोलें तर दुर्भागय सबै तस्वीरहरू मैले ‘डिलिटेड फोल्डर’मा पनि नरहेन गरी पूरै हटाएकी रहेछु ।
‘डिलिटेड फोल्डर’ रित्तो देखेपछि मेरो सातो उड्यो। त्यसपछि मलाई एकाएक भक्कानो फुटेर आयो। अब मेरो छोराको तस्वीर समेत मैले देख्न पाउने छैन भन्ने भावनाले मलाई चारैतिरबाट जकड्यो। शरीर काँप्न थाल्यो। पाइताला मुनिको जमिन भासिएजस्तो भयो, म माथिको आकाश खसेर मलाई थिचेजस्तो हुन थाल्यो। म ‘हिस्टेरिक’ भएँ।
सम्हाल्न खोज्दा पनि सकिनँ। मैले गल्ती गरें, ठूलै गल्ती गरेंजस्तो भान भयो। कुनै लागुऔषधिको दुर्व्यसनीले लागुऔषधि नपाउँदा छटपटिए जस्तै म छट्पटिन थालें। आङ सिरिंग भयो, चिसो पसिना आयो, मुख सुक्यो।
मेरो छोराका त्यति धरै तस्वीरहरू मैले अब कहिल्यै पनि हेर्न पाउने छैन भनेर म डाको छोडेर रूँन थालें। तर ढिलो भैसकेको थियो। आफ्नो मुर्खताको कारणले गर्दा पश्चातापमा डुब्नुबाहेक अरू बाँकी थिएन।
मलाई आफू सायद पागल नै भएँजस्तो भयो अनि लामो सास फेरें र आँसु पुछेर आफूलाई सम्हाल्न प्रयत्न गरें। आफूलाई निकै आत्मबल भएकी ठान्ने म एक निर्बल र निरिह आमा भएको महशुस गरें।
तस्वीरहरू मेटाउनु भन्दा पहिलेकी त्यति कठोर म अचानक निकै कमजोर भएँ, हात खुट्टा लुला भएका थिए। मलाई छोराको तस्वीर नहेरी चैन भएन। एकातिर मेरो मनले भन्दै थियो- तँ कठोर हुनै पर्छ। तर अर्को तर्फ छोराको माया झन् तीव्र हुँदै थियो।
मेरो मनले मलाई सोध्यो- तेरो छोरो तेरो कमजोरी भयो भने तँ कहिले पनि नयाँ जीवनमा अगाडि बढ्न सक्ने छैनस्। यदि छोराको त्यत्रो माया थियो भने त्यो बेला नै किन छोडेर आइस् ? के तँ अझै पहिलेकै जीवनमा फर्कन चाहन्छेस् ?
मैले आफैलाई उत्तर दिएँ- अहँ म फर्कन चाहन्नँ।
मेरो मनले फेरि भन्यो- उसो भए केही पाउनको लागि तैंले केही गुमाउनै पर्छ । तेरो छोरोलाई केही भएको छैन । ऊ आफ्नै बाबुसँग छ । मरेको छैन । तँ जुन निर्णय लिएर आएकी होस् त्यसैमा अडिग हुनुपर्छ नत्र समाजले तँलाई हाँसोको पात्र बनाउने छ।
मैले भने- तर मैले अब उसलाई फेरि देख्न पाउँदिनँ । म के गरूँ ? कस्ती आमा हुँ म ? मलाई केही चाहिन्न मेरो छोरो हेर्न पाए पुग्छ।
तर त्यसपछि मेरो मनले मलाई उत्तर दिएन। अनि मैले चित्त बुझाएँ। तर पनि छोराको तस्वीर एक पटक नहेरी सुख भएन। मलाई अचानक याद आयो- मेरो पर्समा उसको र मेरो तस्वीर थियो। सिरानीमुनि राखेको पर्स निकालें अनि त्यहाँबाट तस्वीर निकालेर त्यो तस्वीरलाई मनभरि हेरें । त्यसलाई चुम्बन गरें, सुंघे । तस्वीरबाट पनि छोरोकै गन्ध आएजस्तो लाग्यो । मन अलि शान्त भयो । त्यो एउटा तस्वीर चाहिँ अब कहिले फाल्ने छैन भनेर तस्वीरलाई हेर्दै त्यसलाई छातीमा राखेर सुतें।