'लरी लरी लै लै...नाच्छु बरिलै...' चर्को आवाजमा लाकुरी चौतारीमा तीज गीत घन्किरहेको थियो।
धेरै दिदीबहिनी जम्मा थिए, कोही नाच्दै कोही फरिया मिलाउँदै गरेका। लामो समयपछि भेट भएका पुराना साथी कुममा कुम जोडेर ओहोदोहोर गरिरहेका थिए। कोही छक्क परेर एकअर्कालाई अंकमाल गरिरहेका थिए।
पातली आफ्नो घरको छतबाट सबै दृष्य हेरिरहेकी थिइन्। अकस्मात उनका श्रीमान आउँछन्।
'तिमी नाचगान भा ठाउँमा जाने होइन? आज त तीजको दिन। अरूझैं चटिक्क परेर नाच्नगाउन जाऊ न तिमी पनि,' भनी आग्रह गर्छन्।
पातली श्रीमानलाई अँगालेर भक्कानो छोडेर रुन्छिन्।
श्रीमान अनभिज्ञ भएजस्तै गरी सम्झाउँछन्, 'तीजको दिन पनि रुन हुन्छ? आज त तिमी सोह्र श्रृँगार गरेर नाच्ने, रमाउने दिन पो हो त! म तिम्रो आँखामा आँसु हेरी सुसाएँ भने यो व्रतको के अर्थ? एकपटक मेरो आँखामा हेर। मेरो मुहारमा हेर। तिमी सौभाग्यवती भएको हेर्न देख्न चाहन्छु।'
यति सुनिसकेपछि पातली आफ्नो मनको गाँठो अलि खुकुलो बनाएर चौतारीको जमघटका लागि तयार हुन्छिन्।
पातलीका श्रीमानले भन्छन्, 'तिमी घरको कत्ति चिन्ता नगर। म सबै गर्छु। तिमी खुसी भएर साथीसंगीसँग रमाइलो गर।'
पातली सुन्दर देखिएकी थिइन्। उनका श्रीमान मुस्काउँदै पातलीलाई एकटक लगाएर हेरिरहेका थिए। पातली पनि पतिको मायामा मग्न भएर घरबाट निस्किन्छिन्।
चौतारीमा दुई चार जना नाचिरहेका थिए। अरू महिला प्रफुल्ल भएर ताली पिटीपिटी स्वरमा स्वर मिलाइरहेका थिए। एकातिर लाखेको नृत्य हेर्नेको भीड थियो, अर्कोतिर सुन्दर नारीको लचकता हेर्नेको। यति ठूलो भीडमा पनि पातलीले आफूलाई एक्लो भएको महशुस गर्छिन्।
बेढंगको, बेस्वादको मुस्कान मुस्काउँदै आफ्नो मनमा आफ्नी आमासँग बिताएका पल सम्झिन थाल्छिन्।
दुई वर्षकी मात्र हुँदा आफ्नो पिता गुमाएकी पातली एक्ली छोरी थिइन्। आफ्नी आमाको फरिया समाएर, कहिले आमाका औंलाको सहारा लिएर भित्र र बाहिर छुमछुमाउँथिन्। सानैदेखि नाच्न, गीत गाउन औधी मन पराउने स्वाभाव थियो। सुन्दर पातलीलाई देखेर उनकी आमा मग्न हुन्थिन्। सबै दुःख बिर्सिइन्थिन् उसको बाललीलामा।
पातली नयाँ वर्ष सुरू भएलगत्तै तीज आएको महशुस गर्न थाल्थिन्। बाकसबाट आमाका साडी निकालेर त्यो कलिलो सानो कम्मरमा बेरिरहन्थिन्। आमाको टीका, लिपस्टिक, गाजल, पाउजु लगाएर ऐना हेरेर मुस्कुराउँथिन्। गाउँमा मादल बझेको सुनेपछि हावा झैं उडेर पुगिहाल्थिन्। उनको चञ्चलतालाई सबैले मन पराउँथे। यसरी वर्षौं बित्दै गए।
पातलीलाई आमाले राम्रो पालनपोषण गरेकी थिन्। उमेर पुगेपछि एउटा राम्रो केटासँग बिहे भयो पातलीको।
बिहेपछि उनको घर साँच्चै स्वर्गजस्तो थियो। उसको स्पन्दन बुझ्ने, खुसीहरूको ख्याल राख्ने श्रीमान थिए। आमालाई पनि छोरीको घरजम भएको देखेर ढुक्कको सास निस्किएको थियो।
बिहेपछिको पहिलो तीज उनका लागि सबभन्दा उत्कृष्ट थियो। घरमा पुग्नेबित्तिकै आमाले दिएको मिश्री पानी, अलैंची राखेर पकाएको दूधको बाक्लो चिया स्वादिलो थियो। बेलुकापख बेडेको कलिलो रायोको साग, तोरी राखी पकाएको घिरौंला, मकैबोडीको तरकारी, कलेठी परेको दही, जिरे खुर्सानी, मेथी र भाङ राखी बनाएको चुकाउनी, अनि अनदी चामलमा दूध हालेर बनाएको लट्टे, मुखैमा झुण्डिने गरी स्वादिलो थियो।
आमाका हातले पकाएको जे सुकै होस् छोरीलाई अत्यन्तै मीठो लाग्छ। खाएर सन्तुष्टि मिल्छ। सन्तानलाई भोजन गराउँदा तृप्त र प्रसन्न देखिने देवी पनि आमा हुन्। अुनहार पढेर हामीलाई सुख, दुःख के छ भनी चिन्न सक्ने पनि आमा नै हुन्।
तर पातलीको बिहेपछि उनकी आमा एक्ली भइन्। दिन प्रतिदिन उजाड देखिन थालिन्। बिरामी परिन्। पातलीले आमालाई राम्रो अस्पताल लान्छिन्। डाक्टरले उनलाई बचाउन नसकिने जवाफ दिन्छन्।
यस्तो कुरा सुनेपछि धर्ती फाटेको अनुभूति गर्छिन् पातली। निराकार फिस्लिएको मन, शून्यता छाएको मस्तिष्कका साथ आमालाई लिएर आफ्नो माइतीघर आउँछिन्।
भोलिपल्ट बिहान आमाले हात समाउँदै 'पातली, तलाईं भनेर शिरबिन्दी किनेर राखिदिएकी छु। म मरेर गए पनि यो शिरबिन्दी हरेक तीजमा तेरो सिउँदोमा झल्किरहोस्,' लरबराउँदै यति भनेर पातलीकी आमा अस्ताइन्।
यस्तै अनेकौं कुरा मनमा खेलाउँदा खेलाउँदै पातलीका परेली चिसो बन्छन्। आडैमा बसेकी साथीले 'पातली, ए पातली! अब त रात पर्न लागिसक्यो। जाऊँ भो' भनी झक्झकाएपछि बल्ल पो थाहा पाउँछिन, उनी त अहिलेसम्म कल्पनामा डुबेकी रहिछन्। आफ्नो इतिहासका पाना पढिरहेकी रहिछन्।
पातली हत्तपत्त पछ्यौरीको सप्कोले आफ्ना भिजेका आँखा पुछेर त्यहाँबाट उठ्छिन्। अरू साथीहरु नाचगानमा मस्त रहिरहँदा पातली र उनकी साथी त्यहाँबाट छुट्टिन्छन्।
पातलीका लागि तीज फिक्का रंगहीन भएर बित्यो। उनी सोच्छिन्- चाडपर्व भन्ने कुरा आमाबाको काखमा रहुञ्जेलसम्म रमाइलो रहेछ!
पातली जस्ता धेरै छन् जसलाई आमाको सम्झना विशेषगरी हरेक चाडपर्व, अझै मुख्य रूपमा आफैं आमा बन्दा आउँछ। हामी सबैले भोगेका छौं। नभोगेकाले पनि अवश्य भोग्नुपर्छ यो सत्य।
हामी सबभन्दा बढी समय जोसँग बिताउँछौं उसैलाई बढी मन, मस्तिष्क र हाम्रा हरेक इन्द्रीयका स्पन्दनमा सजाइन्छ। उसैको याद बढी आउँछ।
तपाईंले आमाबिनाको आँगन कसरी महशुस गर्नुभएको छ, त्यो तपाईंको कुरा हो। तर म आमा बिनाको महल व्यर्थ सम्झन्छु। हजारौं ताराका बीच आफूलाई अन्धकार भएको महशुस गर्छु।
संसारका भाग्यमानी त ती हुन् जसले आफैं हजुरआमा बन्दा पनि आफ्नी जननीको मुहारको दर्शन पाएका छन्।
(लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छिन्।)
कमला अधिकारीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्ः