प्रिय कवि माधव प्रसाद घिमिरे ज्यूको स्वर्गारोहणले दुखित बनाएको छ। उहाँ सबैले अति मानसम्मान गर्ने कवि हुनुहुन्छ। उहाँका स्वच्छन्दवादी लयात्मक कविताहरु जनजनको जिब्रोमा धेरै लोकप्रिय छन्। उहाँले आफ्नो प्रिय जीवन संगिनी गौरीलाई गुमाउँदा लेख्नु भएको 'गौरी’ शोककाब्य आज पनि नेपाली समाजमा अत्यन्त लोकप्रिय छ।
म कक्षा चार/पाँच तिर पढ्दा घरमा 'गौरी' पुस्तक देखेको हुँ। पातलो र सानो थियो त्यो पुस्तक। साँझ तिर कहिलेकाहीँ आमाले बुबालाई त्यो किताबको कुनै अध्याय पढन अनुरोध गर्नुहुन्थ्यो। बुबाले भाका हालेर ती कविताहरू वाचन गर्दा-गर्दै आमा भने रून थालिहाल्नु हुन्थ्यो।
केही समयपछि बुबा पनि घुक्क-घुक्क गर्दै मुश्किलले त्यो अध्याय पूरा गर्नु हुन्थ्यो। मलाई बुबा-आमा रुदा नरमाइलो लाग्थ्यो। अन्तर कुन्तरबाट मैले यस्ता दृश्यहरू भने हेरिरहेको हुन्थेँ। त्यस किताबमा त्यस्तो के होला जसले मेरा बुबा-आमालाई पटक-पटक रुवाउँछ भन्ने कौतुहलता मनमा आईरहन्थ्यो। हामी छोराछोरीहरु बुबासँग बोल्न डराउथ्यौँ। केही सोध्न सक्ने हिम्मत नै थिएन।
अलि ठूलो भएपछि आमाले गौरीका श्लोकहरु हामीलाई सुनाउन र बुझाउन थाल्नु भयो। त्यसबेला हाम्रो टोल नै करिब-करिब कविमय थियो। छ कक्षा तिर पढ्दा त मैले गौरी किताब पढ्न थालिसकेको थिएँ।
आमाले मलाई गौरी पटक-पटक लय हालेर पढ्न लगाउनु हुन्थ्यो। बुबाले सुनाएर उहालाई मुखाग्र भएका कतिपय श्लोकहरु उहाँ बेला-बेलामा सुनाईरहनु पनि हुन्थ्यो। पछि अलि बुझ्ने भएपछि गौरी पड्दै गर्दा कतिपय ठाउँहरुमा मन भक्कानिएर आउन थाल्थ्यो। पूरै श्लोकहरु पढन नसकेर ठाउँ-ठाउँमा रोकिन थाल्थ्यो। म पटक पटक रोएको छु 'गौरी' पढ्दा।
गौरी शोक काब्य कतिपटक सुरुदेखि अन्त्यसम्म पढियो गिन्ती छैन। अझ आफूलाई मन परेको भाग त अनगिन्ती नै पढियो होला। यसरी दोहोर्याएर पढ्दा-पढ्दै मलाई दश कक्षामा पुग्दा करिब-करिब गौरी कन्ठै थियो। यदा-कदा साथीभाइसँग तथा एकान्तमा पनि म गौरीका श्लोकहरु नै धेरै गुनगुनाउने गर्दथे। त्यसो त अहिले पनि कहिलेकाहीँ गुनगुनाईनै रहेको हुन्छु।
हामीहरू स्कुलमा पढ्दा बुबाले कराएर पढाउन सिकाउनु भएको थियो। सायद छोराछोरीले पढेका छन् भनेर उहाँलाई सुनेपछि ढुक्न हुने भएर होला। त्यसैले गौरी पनि ठूलो स्वरमा भाका हालेर गाउने मलाई बानी नै परेको थियो।
मलाई गौरी शोक काब्यको प्रमुख पात्र गौरीभन्दा आफू पनि त्यसबेला सानो भएर होला उहाँका छोरीहरू कान्ति र शान्ती प्रति अत्यन्तै माया लागेर आउथ्यो। अझै पनि सोच्छु उहाँहरु कहाँ हुनुहुन्छ होला? के गर्दै हुनुहुन्छ होला? बुबाको जस्तै कविताहरू लेख्नु हुन्छ कि हुन्न होला? भनेर।
त्यसबेला सम्पूर्ण नेपाली समाजमा गौरी प्रति अत्यन्तै माया र आदर थियो। सबैले भाका हाली-हाली गौरीका श्लोकहरु गाउँथेँ। दु:खमा मन बहलाउ धेरैले गौरीको सहारा लिन्थेँ। धेरैको घरमा गौरीको किताब हुन्थ्यो।
त्यसबेला देखिनै कवि माधवप्रसाद घिमिरे प्रति मेरो अधिक श्रद्धा थियो। उहाँ कस्तो हुनुहुन्छ होला भन्ने कौतुहलता पनि मनमा हुन्थ्यो। पछि काठमाडौं पढ्न आएपछि कविबरलाई देख्न र भेटन पनि पाइयो। अत्यन्तै खुसी भइयो।
मलाई गौरीमा अत्यन्तै मन पर्ने कविबरले लेख्नु भएको चार-चार पङ्क्तिहरु दुई फरक-फरक अध्यायबाट भने यस्ता छन्:
मैले सोधिन अन्त्य काल कुनमा धोको अडेको थियो।
मैले रोइन प्राण जान कतिको बाधा परेको थियो।
हेरे टुल्टुल खाली दीन मुखमा हेरिरहेकी थियौ।
हेरि आखीर घाटबाट रसिला आँखा ममा चिम्लियौ।
त्यस्तै अर्को:
गाईलाई लग्यो नि आज कसले बाछो छुटाईकन।
पोथी पास परि मरिनी गुणका बच्चा नहुर्कीकन।
के हेर्छौ धरती बिजोग यतिको माता तिमी फाट हे।
आमा बालकको नमार भगवान संसार हेर्ने भए।
कलेज पढ्ने भएपछि मलाई माधवप्रसाद घिमिरेको वैशाख कविता पनि अन्त्यन्तै मन पर्न थाल्यो। सौन्दर्यताको खानी हो वैशाख कविता। शृंगाररस यस कवितामा बेजोड पाइन्छ। मेरो लागि यो कविता आज पनि एउटा ठूलो बाच्ने रहर भएर रहेको छ। वैशाख कविताका केही पंक्तिहरू भने यस्ता छन्:
डाँडाकाँडा चउर हरिया देखिए पालुवाले।
बोकि ल्यायो बकुल वनको बास मीठो हावाले।
डाकि मौरी मधुर रसमा लेक पाक्यो गुहेली।
गोठालाले वन-वन घुमी हाल्न थाल्यो सुसेली।
लाऔ कानै तिर भनि टीपीन गुर्सीनीले गुराँस।
नेवार्नीले मधुसुमनले जेल्दिईन् केश पास।
भोटीनीले मगमग बुकी फूल बाधिन तुनामा।
कोइली बोल्यो वन-वन नयाँ प्रीतीको सम्झनामा।
कोइली बोल्यो वन-वन नयाँ प्रीतीको संझनामा।।
अहिले मन द्रवित भएको छ उहाँ अब हामीहरू बीच हुनुहुन्न भन्ने सुनेर। तर यो यथार्थ रहेछ। मेरा तथा हाम्रा प्रिय कवि माधवप्रसाद घिमिरे ज्यू प्रति हार्दिक श्रद्धासुमन।
प्रिय कवि तपाई अमर रहनुहोस्।