कोरोना कहरको बितेको ६ महिनाको लकडाउन सहितको अवस्थाको मूल्यांकन गर्दा न त कोरोना संक्रमण नियन्त्रण गर्न सक्यौँ, न उचित व्यवस्थापन। हिजो नेपालमा पहिलो चरणमा एम्बुलेन्स नपाएर, अस्पतालमा उपचार नपाएर, समयमा परीक्षण नभएर जसरी कोरोना संक्रमितहरु मरिरहेको थिए, आज पनि त्यही कारणहरुले कोरोना संक्रमित मरिरहेका छन्।
हिजोका कोरोना संक्रमणको सुरुआती दिनहरुमा छिटो परीक्षण गर्न नसकेको, कोरोना संक्रमितहरुको पहिचान गर्न ढिलो भएको, परीक्षणको लागि आवश्यक ल्याब अपुग भएको, आइसोलेसन, क्वारेन्टाइन व्यवस्था गर्न नसकेको, क्वारेन्टाइनहरु सरकारले जारी गरेको मापदण्ड अनुसार नभएको, भारतीय सिमानाबाट संक्रमितहरुलाई व्यवस्थित गर्न नसकेको भनेर जुन आरोप नेपाल सरकारलाई लगाइन्थ्यो, आज पनि त्यही समस्याहरुबाट देश जुधिरहेको छ।
कोरोना मात्र होइन, कुनै पनि माहामारीसँग लड्नको लागि आम नागरिकको विश्वास जित्न सक्ने नेतृत्व महत्वपूर्ण हुन्छ जुन नेपालको सन्दर्भमा पटक्कै देखिएन। कुनै पनि युद्धमा नैतिकवान, इमान्दार, विश्वासिलो र आम सेनाले मनैदेखि आत्मसाथ गर्न नसकेको सेनापति रह्यो भने जस्तोसुकै सर्वशक्तिवान सेना भएपनि जसरी महाभारतको युद्धमा दुर्योधन पराजित हुन पुगे, त्यही हालत सबै युद्धमा हुन्छ नै। यही हविगत आज हाम्रो देशले कोरोनाको युद्धमा व्यहोर्नु पर्ने संकेत देखिएको छ।
आम-नागरिक, बुद्धिजिवी, प्रतिपक्ष र आफ्नै पार्टीका नेता तथा कार्यक्रर्ताहरुमा कोरोनासँग लडिरहेको देशको नेतृत्व प्रति विश्वास रहेन। यसको प्रधानमन्त्रीको बेतुकका भाषणबाट सुरु भई गोकुल बास्कोटा काण्ड हुँदै अन्ततः कोरोनाको स्वास्थ्य सामाग्री खरिद प्रकृयामा आएर झन् झाँगियो।
यहाँसम्मकी नेता मन्त्रीहरुको सानो आर्थिक स्वार्थको लागि स्वास्थ्य सामाग्री खरिद प्रकृयामा सेनालाई तानेर स्वच्छ र आम जनतामा अलिकति भने पनि मन जितीरहेको सेनालाई विवादित गर्ने काम समेत गरियो। हुँदा-हुँदा आज सेना प्रमुख र रक्षामन्त्रीबीच बोलचाल नभएको समाचारहरु सुन्न आम नागरिक बाध्य भएका छन्।
यदि हामीले यो अवस्थालाई समाधान गर्न सकेनौँ भने संकट झन्-झन् जकडिने र हामीले न कोरोनाको संक्रमण कम गर्न सक्छौँ न देशलाई आर्थिक माहामारीबाट जोगाउन। हामीले कोरोनाको माहामारीसँगै आर्थिक माहामारीलाई सँगै जोडन सक्नु पर्नेछ। नत्र कोरोना माहामारीबाट प्रताडित हुनु त छदैछ, सँगै समाजिक, राजनीतिक र आर्थिक रुपमा देश संकटमा फस्ने निश्चित छ।
यसबीच देशबासीले लगातार सत्तासिन पार्टीको सत्ता भागबण्डाका बाहेकको समाचार कहिल्यै सुन्न पाएनन। आज पनि पत्रपत्रिकाहरुको मुख्य समाचार यही सत्ता भागबण्डाहरुले भरिएको हुन्छ भने झण्डै ६ महिनादेखि आम नागरिक कोरोना, बाढी पहिरोसँग नेतृत्व विहीन, सरकार विहीन नागरिकको रुपमा आफै लडिरहेका छन्।
दुई तिहाई मत प्राप्त पार्टी जो सत्तासिन छ, उसको पूरै संयन्त्र विभाजित मात्र भएन कोही नयाँ पार्टी दर्ता गर्न, कोही कोरोनाको निषेधाज्ञाबीच जुलुस निकाल्न, जनप्रतिनिधिहरु गाँउटोलमा जनतासँग हुनु पर्नेमा पक्षबिपक्षको जोड घटाउमा हस्ताक्षर गर्न र सरकार आफू अनुकूल अध्यादेश जारी गर्न तिर रुमल्लियो।
उदेक त यो लाग्छ, हिजो बहुमतको सरकार नभएर नेपालको राजनीति अस्थिर भयो, जसको कारण विकास गर्न सकेनौं, देशले विकास प्रगतिको रफ्तार लिन सकेन भनेर थाकेका हामी आज झण्डै दुई तिहाईको सरकार रहँदा पनि त्यही अवस्थाबाट एकरति पनि पछि हटेका छैनौँ। आज पनि उही सत्ताको वरीपरी झिँगा जस्तै भुनभुनाउन छाडेनौँ। त्यही सत्ताको स्वादमा र्याल चुहाने बाहेक जनताको मनछुने कुनै काम गर्न सकेनौँ।
माहामारीसँग एक भएर लड्नु पर्ने सत्तासिनको सबै शक्ति यसरी भाडिओ कि जसले माहामारी र संकटबीच कमाउन खोज्नेहरुले रजाई गर्न पुगे, भ्रष्टाचार र अनियमिता झन् बनमारासरी मौलायो। अन्ततः आम-नागरिकले सरकारले दिएको खर्चको विवरणलाई पत्याउन सक्ने वातावरण बनेन।
यससँगै केन्द्रिय सरकारले कोरोनाको लडाइमा हात उठाउन बाध्य भयो र लकडाउनलाई निषेधाज्ञाको नाममा प्रमुख जिल्ला अधिकारीलाई कोरोना युद्धको कमाण्ड छाड्न पुग्यो। केन्द्रिय सरकार कोरोनाबाट मर्ने र संक्रमण हुनेहरुको विवरण घोषणा गर्ने काममा सीमित हुनपुग्यो।
सत्तापक्षमात्र होइन प्रतिपक्षको भूमिका समेत आलोचित हुन पुग्यो। छाँया सरकार संचालन गरिरहेको प्रतिपक्ष पनि आफ्नै पार्टीसत्ता संघर्षमा रमाउन पुगे भने सत्तापक्षले काम गर्न नसकेकोमा विरोध गर्नु सिवाय कुनै पनि ठोस योजनाहरु सरकार समक्ष दिन सकेन। आज पनि कोरोना विपत्तिको सन्दर्भमा प्रतिपक्ष र यसको छाँया सरकार कहाँ छ खोज्नु पर्ने अवस्था छ।
नेपालमा मात्र होइन, विश्वका सबै राष्ट्रहरु आज कोरोनासँग लडिरहेका छन्। हामीले देखेका छौँ, सुनेका छौँ ती देशहरु जसले सहज र सरल तरिकाले कोरोनासँग लडिरहेका छन्, त्यो देशको प्रमुख कारण नेतृत्व नै हो। आम नागरिकहरुको आफ्नो नेतृत्व प्रतिको विश्वास हो। यसकारण पनि महामारीको प्रमुख हतियार यसको नेतृत्व हो।
नेतृत्वको आफ्नो जनता प्रतिको उच्च दायित्वबोध हो। तर नेपालमा त्यस्को ठिक उल्टो नेताहरुको भूमिका रह्यो। हो, केही नेताहरु अहिले पनि चिन्तित देखिन्छन्। एकल प्रयासमा केही गर्ने, केही सुझावहरु दिने गरिरहेका देखिन्छ तर राज्य र राज्यको श्रोत तथा साधन प्रति कुनै पहुँच नभएका विचराहरुको आवाज शून्य सरह हावामा हराईरहेको छ। यसरी यत्रो महामारीमा दुर्भाग्यबस आज हामी नेतृत्व विहीन अवस्थामा छौँ।
समस्याहरुलाई सही बाटोमा हिडाउन सही र उचित व्यवस्थापन अर्को प्रमुख पाटो हुन्छ। योजना बनाउन जति सजिलो छ त्यस योजनालाई पूरा गर्न सही व्यवस्थापनको समूह चाहिन्छ। कोरोना नियन्त्रणमा अर्को डरलाग्दो कमजोरी कोरोना व्यवस्थापनको व्यवस्थापकीय नेतृत्वमा रह्यो।
नेताहरु नै सर्वेसर्वा, विद्वान र विशेषज्ञ हुन पुगेको स्वस्थ्य मन्त्रालयदेखि सबै क्षेत्रमा विषय विज्ञभन्दा नेता, मन्त्रीका परिवारबाद र पार्टी कार्यकर्ताहरुको जमातहरुले व्यवस्थापनलाई कब्जा गर्न पुगे। कब्जा मात्र हाइन, सबै मन्त्रीदेखि नेता तथा कार्यक्रर्ताहरुले यही महामारीको दुखद अवस्थालाई कमाउने धन्दाको रुपमा मौकामा चौका हान्न तिर लागे। यो अर्को दुखद पक्ष रह्यो।
आज पनि यो अवस्थाको अन्त्य भएको छैन। सरकारले तल्काल मन्त्रालयको कोरोना व्यवस्थापनको जिम्मा पूर्णरुपमा विषय विज्ञलाई जिम्मा दिने र उनीहरुलाई स्वतन्त्ररुपमा अगाडि बढ्नको लागि स्रोत तथा साधनहरु दिने हो भने अहिलेको अवस्थालाई नियन्त्रण गर्नको सहज हुने देखिन्छ। आम जनतामा गिरेको विश्वास जित्न पनि यो एक प्रस्थान बिन्दु हुनसक्छ यो सरकारको लागि।
अर्को पाटो, कम्तिमा कोरोनासँग जोडिएको स्वास्थ्य समाग्री खरिद प्रकृयामा नाजायज आर्थिक लाभ लिन पुगेका र यस काण्डमा जोडिएका मन्त्रीदेखि व्यापारी सम्मलाई कुनै न कुनै प्रकारको कारबाहीको दायरामा लिन सक्नु पर्छ। जसले आम नागरिकमा सरकारको लागि विश्वासको अर्को आधार खडा गर्न सक्छ।
आजको टड्कारो आवश्यकता आर्थिक अनियमिततामा नेतृत्व कठोर हुन सक्नु पर्छ नत्र अवश्य पनि कारोनासँगै आएको आर्थिक संकटले देशको आर्थिक भार धान्न सक्ने देखिदैन। तर विडम्बना, ओली नेतृत्व भाषणमा भनिने गरेको भ्रष्टचारमा शून्य सहनशीलता व्यवहारमा देखाउन तत्पर भएको पटक्कै देखिदैन।
अन्त्यमा, विश्वासिलो, नैतिकवान र देश र जनताप्रति इमान्दार नेतृत्व बिनाको लडाई देशबासीहरुको लागि अभिषाप हुन्छनै। सबै पक्ष तथा प्रतिपक्ष सम्पूर्ण रुपमा एक भएर आम विश्वासको साथ अगाडि बढनु आजको कारोनासँग लडने एकमात्र सशक्त हतियार हो। यही दरिलो मनोविज्ञान सहितको समक्ष नेतृत्वले नै आम नागरिकलाई एक मालामा उन्नेछ र कोरोनाको यो युद्धबाट सहज जित हासिल गर्नेछ।
के देशले नेतृत्व विहीन अवस्थाबाट मुक्ति पाउला? पाउनु पर्छ र यसको पहल हुन जरुरी छ।