युवावस्था हुँदा शरीरमा के कस्ता लक्षण देखिन्छन्? युवाले के काम गर्न सक्षम हुन्छन्? युवाको जिम्मेवारी के हो?
सबै प्रश्नको सरल उत्तर हो– तागत, बल, हिम्मत र साहसले भरिपूर्ण उमेर भएकोलाई युवा भनिन्छ।
नेपाली उखानमा पनि भनिन्छ– यो उमेरमा माटो, ढुंगा, फलाम, जे खाए पनि पच्छ।
देश, मुलुक, राष्ट्र, नागरिकहरूको साझा घर। भौगोलिक रूपमा सीमावद्ध परिधि हो देश। विकास उन्नति, प्रगतिको पर्याय हो। युवा देशका संवाहक हुन् भने उद्यमशीलताले कुनै पेसा व्यवसायलाई संकेत गर्छ।
१८–४० वर्ष उमेर समूहका व्यक्ति युवा अन्तर्गत पर्छन्। राष्ट्रका अमूल्य सम्पत्ति, वर्तमानका साझेदार युवा भविष्यका भरोसा समेत हुन्। मनभरी साहस, आँट, धैर्य, चेतना रहेका युवाशक्ति नै देश निर्माणका बलिया आधार स्तम्भ हुन्। सचेत युवा शक्ति जोस, जाँगरले जुर्मुराएर उद्यममा लागे नै समृद्ध राष्ट्र निर्माण हुन सक्छ।
तपाईंको सोच्ने तरिका, तपाईंका धारणा कति जीवित र बैज्ञानिक छन्, पुराना रुढीवादी रिवाज फाल्ने र अरूलाई परिवर्तन गर्ने साहस कति छ, त्यसमा तपाईंको युवकत्व मूल्यांकन हुन्छ। तर ठीक उल्टो हाम्रो देशमा मान्छे जन्मिँदै बुढो जन्मन्छन्।
पहिलापहिला गाउँमा ढुंगा-माटोका घर बन्थे। त्यतिबेला घरमा राख्ने काठका ठूला दलिन तथा मैनी खाँबो बोक्ने, प्राकृतिक तथा दैवी प्रकोपका बेला सहयोग गर्ने व्यक्तिलाई युवा भनिन्थ्यो। विभिन्न देशहरूमा उमेर हिसाबले अलि तलमाथि भए पनि नेपाली संविधान २०७२ मा उल्लेख भएनुसार १६ वर्षदेखि ४० सम्मको उमेरलाई युवा मानिएको छ।
भिन्नभिन्न देशका संविधानले भिन्नभिन्न उमेर समूहलाई युवावस्थाको सूचीमा राखेका छन्। २०७२ को संविधानअघि नेपालमा १५ देखि २९ वर्षसम्मलाई युवा मानेको पाइएको छ। कृषि विकास मन्त्रालयले ५० वर्ष सम्मलाई तथा राजनीतिक दल र विभिन्न सामाजिक संघ-संस्थाका आ-आफ्नै अनुकूल अनुसारको उमेर समूहलाई युवा भन्ने गरेका छन्।
संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष, फिलिपिन्स र बंगलादेशले १५ देखि ३०, साउथ अफ्रिकी मुलुकमा १५ देखि २९, जर्मनीले १४ देखि २६ र हाम्रै छिमेकी भारत र चीनले क्रमशः १५ देखि ३५ र १४ देखि २८ लाई युवावस्था मान्दै आएका छन्।
कुनै पनि राष्ट्र या समाजको तरक्की वा विकास युवा पिँढीको चेतनाको विकास कति छ भन्नेमा पनि भर पर्छ। युवाहरूको आचरण, विचार, सोच्ने तरिका, कार्यशैली, उच्च शिक्षा हासिल आदिमा उनीहरूको विकाससँगै देशको विकास पनि भर पर्छ।
अहिलेका युवा शिक्षित छन्। उनीहरूसँग देश-विदेशको अनुभव पनि छ। हाम्रा युवा वैज्ञानिक पनि छन्, दक्ष इन्जिनियर पनि छन्। युवा देशका धरोहर हुन्, परिवर्तनका शक्ति हुन्। युवाले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य सबै तहमा परिवर्तन गर्न सक्ने खुबी राख्छन्। सरकार सबै अंगमा पनि युवाको सहभागिता अपरिहार्य छ।
तर युवाहरू नयाँ ऊर्जा र सिर्जनशीलताका साथ अगाडि बढिरहेका छैनन्। किनकि उनीहरूलाई काम गर्ने अवसर मिलेको छैन। नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका सम्भावित ठाउँमा अटाउन सकेको छैन।
हामी युवाहरू विदेशी भूमिमा पसिना बगाइरहँदा, गाउँमा उर्वर जमिन बाँझिएको छ। त्यस्तै किसानलाई उन्नत जातको बीउ र मल उपलब्ध गराउन नसक्नू, सिँचाइ व्यवस्था राम्रो नहुनु पनि अर्को कारण हो।
बिडम्बना, यसरी संसार परिवर्तन गर्ने युवा शक्तिलाई देशमै सञ्चालन गर्न नसकेर ६० लाख युवा खाडी र युरोपेली मुलुकमा पसिनासँग जीवन साट्न बाध्य छन्।
हामीसँग केही कमी छैन। कमी छ भने केवल उद्यमशील सोचको। सरकारले पनि उद्यम गर्न चाहनेका लागि सस्तो र सरल कर्जा प्रवाह गर्ने नीति लिएको छ। युवाहरू उद्यमशील भए उनीहरूमा नकारात्मक सोच आउन पाउँदैन।
आज विश्वमा विकासको अग्रगतिमा रहेका चीन, जापान, अमेरिका जस्ता मुलुक पनि युवा उद्यमशीलताकै कारण यो स्थितिमा पुग्न सफल भएका हुन्। युवामा काम गर्ने जोससँगै नवीन सोच र स्मृति क्षमता समेत हुन्छ। युवाले चाहे पहाडलाई मैदान र मैदानलाई पहाड बनाउन सक्छन्। युवाहरु आशा र भरोषाका मूल हुन्।
युवाले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?
त्यसैले उमेर पुगेका सबै राजनीतिक दलका नेतृत्वहरूसँग मेरो अनुरोध छ– देशको जिम्मा युवालाई दिनुस्। आफू बसेर युवाहरूलाई सल्लाह-सुझाव दिनुस्। यसो गरे, तपाईंहरूलाई पनि आराम मिल्नेछ, देशले पनि नयाँ तरिकाले विकासको गति पाउनेछ।