‘छोरीहरू त ठूला भइसकेछन् त ! स्कुल जाने उमेर कटिसकेछ। स्कुल पठाउनु पर्दैन ? ल भोलीदेखि स्कुल पठाउनू।’ यसो बाटो पर्दा मास्टर साबहरूले भन्ने गर्थे।
म उनीहरूतिर फर्केर खिस्स हास्थें......... ।
‘तेरै छोरीको भविष्यको लागि भनेको हुँ, आफूले नपढेर अहिले दुख पाइस्, छोरीहरूलाई पढाइस् भने बुढेसकालमा तँलाई पाल्छन्।’
सबैले एउटै कुरा भन्थ्ये, म खिस्स हाँसेर सहमति जनाएझैं गरेर सुनेको नसुनेझैं गरेर बस्थें। अझ भनौं अटेरी हुन्थें, स्कुल पठाउदिनँ,पढ्नुपर्छ भनेर छोरीहरूलाई भन्दा पनि भन्दिनथें।
आफ्नो जग्गाजमिन छैन, आम्दानीको कुनै स्रोत पनि छैन। ५ जना छोरीहरू र मसहित ६ जनाको परिवार, पेटभरि खान निक्कै धौधौ पर्थ्यो। २ जना जुम्ल्याहा छोरी जन्माएर राम्रोसँग पेटभरि खान नपाएकी हुनाले मेरो राम्रोसँग दुध आँउदैनथ्यो। दूध नआएपछि रुन्चे रोग लागे झैं दिन रात रुन्थे नाबालक छोरीहरू। बिरामी हुँदा जचाउने पैसा हुँदैन, केही दिनमा ठीक होला भन्दाभन्दै ठीक हुँदैन, जसोतसो अस्पताल लग्थें।
डाक्टर नर्सहरूले भन्थे, ‘कुपोषण लागेको छ, बच्चाहरू खान नपाएर कमजोर भएका छन्। सर्वोत्तम पिठो बनाएर, लिटो बनाएर खुवाउनु, गेडागुडीको झोल खुवाउनू, गाई भैंसीको दूध किनेर खुवाउनू’
म सुन्नबाहेक केही गर्न सक्दिनँ थिएँ। आफूसँग पैसा थिएन। अरु कस्ले पो तेरा छोरीहरूलाई पोषिलो खाने कुरा खान दे भनेर पैसा दिन्थ्यो र ...?
पाँच जना छोरीहरू, सबै सानै थिए। काम गर्न सक्ने म एक्लै, सुत्केरीलाई तेल लगाउने काम गरेर आएको पैसाले छाक टार्थें। सधैं काम हुँदैनथ्यो। कहिलेकाहीँ अरु ज्याला मजदूरी पनि गर्थें।
नाबालक छोरीहरूलाई घरमा एक्लै छोडेर काममा जाँदा,बेलुकी फर्केर आउँदा कहिले बाटोमा निदाइरहेका हुन्थे, कहिले नहरमा पौडी खेलिरहेका हुन्थे, कहिले झाडीमा खेलिरहेका हुन्थे, त कहिले भेटिँदैन थिए, गाँउभरी खोज्नु पथ्र्यो। नहरको धमिलो पानीमा पौडी खेल्दाखेल्दै डुबेर मर्ने पो हुन् कि...!, झाडीमा सर्पले टोकेर मार्ने पो हो कि... !, कसैले फकाएर लग्ने पो हो कि...! , बाटोतिर गाडीले हानेर मार्दिने पोहो कि....!, मनमा डरैडर...।
सानैमा विवाह भयो, न कहिलै बाआमाले पढ्नु पर्छ भने, न त पढ्नु पर्छ भन्ने ज्ञान नै थियो। विद्यालय गएर पढ्नु पर्छ भन्ने थाहा नै थिएन भन्दा पनि हुन्छ।
विवाह भएको एक वर्ष नबित्दै छोरीको जन्म भयो। १४/१५ वर्षको थिएँ आफैं, बालबच्चाको स्याहार गर्नुपर्ने। एकपछि अर्को गर्दै ४ जना छोरी भए। माहिली छोरी पछिका २ छोरी जुम्ल्याहा हुन्। ४ वटी छोरीमात्र भए भनेर श्रीमानले अर्को विवाह गरेर भारततिर गएका फर्केर आएनन्। छोरीहरूको पालनपोषण गर्न निक्कै कठिन भयो।
ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाकको जोहो गर्दै थिएँ। यस्तै एक दिनछोरीहरू हुर्काउन पनि सजिलो हुन्छ। काम गर्न पनि सजिलो हुन्छ भनेर एक युवासँग फेरि विवाह गरें। अर्को छोरीको जन्म भयो। छोरी जन्मेपछि उनी पनि भारततिर गएका फर्किएर आएनन्। ५ जना छोरीहरूकै पालनपोषणको जिम्मेवारी एक्लैलाई आइलाग्यो।
हरेक बिहानी सँगै सूर्य उदाउँछ, सूर्य उदाए सँगै छोरीहरू निन्द्राबाट बिँउझिन्छन्,बिँउझिना साथ उनीहरूलाई खाना खुवाउनु पर्छ। एक छिन ढिला भए भोक लाग्यो भनेर रून कराउन थाल्छन्। सबै दिन पेटभरि खुवाउन कहाँ सक्छु र? आधा पेट खान बानी परेका मेरा छोरीहरू, पेट भोको भए पनि भाँडो खाली भएपछि खाना सकिएछ भनेर चुप लाग्छन्, जति पुग्छ त्यति खान्छन् ।
अस्ति भर्खरको कुरा हो, ठूलीछोरीले भनी“आमा कुर्ता पुरानो भयो च्यातिएको छ, एउटा नयाँ कुर्ता किनिदेऊ न है।”
आँग पूरै च्यातिएको रहेछ। मैलो, पुरानो,मकिएको, छोरीले थाहा पाउँदैनन् तर च्यातिएर लगाउनै नहुने भएपछि के गरून्?नजिकै काम गर्न गएको घरमा सुनाए। एकै उमेर कि छोरी रहिछन्, पुरानो भएर लगाउन छोडेको लुगादिइन्, त्यही लुगालाई नयाँ लुगा ठानेर लगाई मेरी छोरीले।
घर पनि कहाँ गतिलो छ र ... यसो जसोतसो टाउको ओताउन बनाएको छाप्रो पुरानो भैसको,छानो चुहिएको छ।
बर्खे झरीले गर्दा बाढी आएर घरमा छिरेको छ। अलिअलि भएका पातला सिरक डसना पनि झरीले भिजाएर चिसा बनाई दिएको छ। घुँडासम्म आएको पानीमा रातभरि उभिएर रात कटाउनु पर्छ। कोरोनाको बिगबिगीले कुनै काम पनि पाइँदैन। एक छाक खान त धौधौ छ, अनि म कसरी छोरीहरूलाई विद्यालय पठाउन सक्छु ?
दुई छाक खान माग्नुपरेको छ। आँग ढाक्न माग्नु परेको छ। छानो टाल्न नसकेर कैयौं रातझरी सँगै अनिँदो बिताउनु परेको छ।
मेरो कमाइले धान्न छोडिसकेको छ। अब जाडो आँउछ, कपडा किन्ने पैसा छैन। पुस माघको जाडोमा , त्यो बाक्लो हुस्सुमा च्यातिएर पुराना भएका , आधा आँङ देखिने कपडा लगाएर जाडोले कठ्याग्रिंएर बस्छन् छोरीहरू।
खुट्टामा चप्पल किनेर लगाई दिन सक्दिनँ ठिर्याएर पैतला हरिया भएका हुन्छन्, त्यत्तिकै काप्दै हिँड्छन् चिसा भुईंमा टेकेर। देख्दा मन कटक्क खाए पनि चुपचाप हेरेर बस्छु।
कपि किताब किनिदिने पैसा छैन। मेरो यही अवस्था देखेर केही गाँउका सहयोगी दिदिबैनी मिलेर सहयोग जुटाइदिएका छन्। केही दिनको लागि खाद्यान्न जोहो गरी दिएका छन्। घर मर्मत गरिदिने भएका छन्। तर अरुले दया गरेर जुटाई दिएको सहयोगले कहिलेसम्म मेरा छोरीहरूलाई पाल्नसक्छु होला र ...? खै...?
अहिले छोरीहरू अलि ठूला भएका छन्। ठूलीछोरी काम सघाउने भएकी छे। उनीहरू ठूला भएसँगै खाने मात्रा बढेको छ। पहिलाजस्तो थोरै खानेकुराले पुग्दैन। लगाउने लुगा पनि पहिलाजस्तो जे लगाई दिए पनि हुँदैन।
नयाँ लुगा लगाउन रहर गर्छन्। स्कुल जाने उमेर पनि भइसकेको छ, अहिले त स्कुल पनि जान्छन्। तर नियमित स्कुल पठाउन सक्दिनँ, हेर्न नि भ्याउदिनँ। सरकारले केही सहुलियत होस् भनेर छात्रवृत्ति पनि दिएको छ। तै पनि कपि, किताब, टिफिन जोहो गर्न पैसा पुग्दैन।
एक छाक खुवाउन नसक्ने म भविष्य राम्रो बनाउन कहिलेसम्म छोरीहरूलाई स्कुल पठाउन सक्छु होला र...?
सहयोग जुटेकाले साथ र हौसला पाएर होला मनमा केही खुसी भने लागेको छ। कुनै व्यवसाय सञ्चालन गर्न सके त म पनि आर्थिक आम्दानी गर्न सक्थें।
छोरीहरूको लालनपालन गर्न पनि सजिलो हुने थियो। सहयोगमा पाएको दालचामल, पैसाले एक दूई महिना त टर्ला, सकिएपछि फेरि कसरी जीवन चलाउने ...? चिन्ता त लागिहाल्छ। एक छाक खुवाउन सहयोग माग्नुपर्ने म,छोरीहरू पढाउन सकूँला र...?
(कुराकानीमा आधारित)