‘तिमी अगाडि जाऊ है, म एकछिनमा आउँछु, कसैले देख्यो भने त बर्बाद हुन्छ नि। अनि सुन त हाम्रो च्याट कसैलाई नदेखाऊ नि। हाम्रो च्याट कसैले देख्नु हुन्न है। कुरा गरिसकेपछि डिलिट गर है।’
यो हो कुनै दुई जना केटा र केटी प्रेममा पर्छन् र तर उनीहरू एकान्तमा घन्टौंसम्म गफिन्छन्, माया साटासाट गर्छन्, एक-अर्कासग छुट्टिनै मानिरहेका हुँदैनन्। तर एक-अर्कालाई सारा दुनियाँ तथा समाजको अगाडl स्वीकारी रहेका हुँदैनन्।
एक-अर्कालाई प्रेम गर्छौं भन्ने कुरा नै लुकाइरहेका हुन्छन्। के कोही कसैले कसैलाई प्रेम गर्नु कुनै अपराध हो त? किन लुकाउँछन् त आफ्नो प्रेम?
मेरो एक जना मिल्ने साथी कुनै एउटा युवकसँग प्रेममा परिछन्, उनी खुसी थिइन् प्रेममा परेकोमा।
उनले मलाई धेरै कुरा बताइन्। उनी धेरै डिप लभमा परेको र ऊ बिना एकपल नि बाँच्न नसक्ने कुराहरू धेरै गरिन्। म उनको कुरा धेरै ध्यान दिएर सुनिरहे।
उनले भनिरहिन् ‘ऊ यस्तो छ, त्यस्तो छ, यसो भनेर बोलाउँछ, त्यस्तो भनेर मायाले कुरा गर्छ। उनले उनको प्रेमीको बारेमा अनगिन्ती कुराहरू सुनाइन्। खुसीसाथ सुनिरहें। तर उनको त्यो खुसी लामो समयसम्म भने टिकेन।
केही समयपछि उनले मलाई बिहानै फोन गरिन् र आफ्नो पीडा रूँदै व्यक्त गरिन्।
भेटमा उनको कुरा सुन्दा म चकित परें। उनको प्रेमीले उनीहरूबीचको प्रेमको कुरा अरूसँग बताउँदा उनलाई ब्लक गरेको रे अनि अहिले सम्पर्कमा नै छैन रे।
उनी आफूलाई समाल्न सकिरहेकी थिइनन्। म उनको कुरा सुनेर भावुक भए।
मसँग उनलाई सम्झाउने शब्द नै थिएन। किनकी केही समय अगाडि उनी त्यति खुसी थिइन् कि आफ्नो प्रेमीको बारेमा कुरा गरेर थाक्दिन थिई। अहिले यस्तो हालत! आखिर के त्यो साँचो प्रेम? साँचो प्रेम थियो भने किन त्यस्तो भयो त? त्यो त केबल स्वार्थको खेल रहेछ।
कुनै एउटा युवतीको कथा नि त्यसरी नै टुंगिएको छ।
आरुषी कुनै एउटा अफिसमा काम गर्ने क्रममा उनको त्यही अफिसको हाकिमसँग माया बस्यो। उनीहरू धेरै खुसी थिए। एकान्तमा घण्टौसम्म गफिन्थे, भेट्थे माया साटासाट गर्थे। सँगै मर्ने सँगै जीवन चलाउने कसम खाएका थिए र अनुकूलता अनुरूप विवाह गर्ने वाचा गरेका थिए।
केटाले उनलाई घरसम्म पुर्याउँथ्यो तर घर पुग्नुभन्दा अलि अगाडि पुगेपछि जाऊ है भनेर छोडिदिन्थ्यो।
उनी पनि खुसी साथ बाइ भनेर जान्थिन्।
दुबै जना अरूको अगाडि उनीहरूबीच केही छैन मात्र स्टाफ र हाकिमको सम्बन्ध भएको देखाउँथे।
कसैले केही थाहा पाउनु हुँदैन भन्ने थियो उनीहरूको सम्बन्धबारे।
एक दिन आरुषीले सोधिन्- हामी कैले बिहे गर्ने?
आरुषीको यो प्रश्नले केटा पूरै नाजवाफ भयो र भने- पिर नगर न प्यारी, उपयुक्त समय आएपछि हाम्रो सब चिज पूरा हुनेछ।
अनी आरुषीले भनिन्- मेरो घरमा बिहेको कुरा आएको छ, बाबा मम्मी सबै जनाले बहुत प्रेसर दिइरा’को छन्। फेरि हजुर र मेरो सम्बन्धको बारेमा केही थाहा छैन, अब अति गरिसके भन्नु पर्यो।
आरुषीको यस्तो जवाफ सुनेपछि केटाले सम्झाउँदै भन्छन्- अहिले नभन, फेरि सबै हाम्रो सपना चकनाचुर हुन्छन्। धैर्य गर माया।
आरुषी चुपचाप बस्छिन्। आरुषीको घरमा चौतर्फी दबाव आएपछि एकदिन उनले आफ्नो प्रेम कहानी बताइदिन्छिन् र घरपरिवार अक्क न वक्क पर्छन्।
भोलिपल्ट अफिस पुग्ने बितिक्कै आफ्नो बोसलाई भेटेर सबै वृत्तान्त सुनाउँछिन् र उनको कुरा सुन्ने बित्तिकै केही शब्द नबोली पछि कुरा गर्छु भनेर जान्छन् उनको प्रेमी अर्थात् बोस।
त्यस दिन उनको प्रेमीले बाहिर जाने काम पर्यो भन्दै निस्कन्छन् र साँझसम्म पनि आउँदैनन्। मलिन अनुहार लिएर आरुषी घर जान्छिन्। घरकाले बिहेको प्रेसर गर्छन्।
केहीबेरमा उनको मोबाइलमा मेसेज आउँछ ‘हेर जे भयो, भयो अब हाम्रो सम्बन्धलाई बिर्सिदेऊ, म तिमीसँग बिहे गर्न सक्दिनँ’।
यस्तो कुरा आएपछि उनी छाँगाबाट खसेजस्तै भइन्। कुनै प्रतिक्रिया दिन सकिनन्। आफ्नो कोठामा गएर भक्कानिइन्।
जो मान्छेसँग जिन्दगीको सहयात्रा गर्ने सपना बुनेकी थिइन्, उसको खुसीको लागि सब कुरा त्यागेकी थिइन्। त्यही मान्छेले त्यति ठूलो घात गर्छ भनेर कल्पना समेत गरेकी थिइनन्।
यस्तो नि कुनै प्रेम हो त? यदि प्रेम थिएन भने किन त्यति निकटता थियो त उनीहरूको बीचमा? अनि किन भयो त भावनामा खेलबाड?
शिला र सुयोग प्रेममा थिए।
उनीहरू फरक -फरक देशमा बस्थे। उनीहरू लङ डिस्टेन्स रिलेसनमा थिए। सधैं जसो उनीहरूको कुरा हुन्थ्यो। तर फरक तरिकाले।
सुयोगले शिलालाई छुट्टै आइडीबाट कुरा गर्थ्यो र कुरा गरिसकेपछि सबै कनभर्सेसन आफैं डिलिट गर्थ्यो।
अनि एकदिन शिलाले प्रश्न गरिन्- किन तिमी मलाई तिम्रो रियल आइडीबाट कुरा गर्दैनौ?
अनि सुयोगले भने- किनकी तिम्रो मेरो सम्बन्धको बारेमा कसैले थाहा पाउनु हुँदैन, किन हामीले हाम्रो प्रेमको बारेमा अरुलाई देखाउनु? जे छ हामी बीचमा छ।
शिला अचम्ममा परिन्। यसरी उनीहरूको दिनहरू बितिरहेको थियो। एकदिन अचानक कुनै युवतीबाट शिलालाई कल आयो।
युवतीले आग्रह गरिन्- अबदेखि मेरो प्रेमीसँग तिमी कुरा नगर। यदि गर्यौ भने तिमीलाई राम्रो हुने छैन।
यस्तो कुरा सुनेपछि शिला झसंग भइन् र सुयोगले झुट बोलेर उनलाई चोट पुर्याएकोमा धेरै दु:खी भइन् र उनले कुरा गर्न छोडिन्।
फेरि पनि सुयोगले उनलाई कल गरेर मायाको नाटक गरिरह्यो तर शिलाले त्यस्ता झुट्टा मान्छेको मायाजालमा नपर्ने कसम खाइन्।
माथिका केही उदाहरणहरू हुन। यस्ता अनगिन्ती मान्छेहरू छन् जो माया गर्छु भन्छन् तर आफ्नो प्रेमलाई सबको अगाडि शिर ठाडो पारेर स्वीकार्न सकिरहेको हुँदैनन्।
आजकालको मान्छेहरूलाई माया प्रेम गाँस्न कुनै ठूलो कुरा हुँदैन। तर किन चुकिरहेको हुन्छन् त साँचो माया गर्नको लागि?
स्वभावले कुनै पनि पब्लिक फिगर, सेलिब्रेटीको लभ लाइफको बारेमा धेरै जनमानसको चासो रहन्छ। तर सेलिब्रेटीहरू पनि आफ्नो प्रेमको बारेमा खुलस्त भएर पब्लिकली स्वीकार गर्न भने सधैं हिचकिचाउँछन्।
यदि कसैले उनीहरूको लभ लाइफको बारेमा न्यूज पब्लिस गरिदियो भने त्यहाँ ठूलो आतंक मचिन्छ। आखिर किन त यस्तो हुन्छ?
प्रेम एउटा पवित्र चिज हो जुन कुनै पनि सिद्धान्त र पारिभाषाले विश्लेषण गरेर पुग्दैन।
प्रेमले मान्छेलाई सत्मार्गमा हिँड्न सिकाउँछ। प्रेम कुनै अपराध होइन र यसलाई लुकाउनु पर्ने कुनै त्यस्तो बाध्यता छैन।
खुलमखुला प्रेम गर्दा र आफ्नो प्रेमी- प्रेमिकालाई सबको अगाडि स्वीकार गर्नु, हात समातेर हिँड्नु, माया व्यक्त गर्नु कुनै पाप होइन।
चोरी डकैती गर्नु, नचाहिने काम गर्दा पो मान्छे डराउनु पर्छ त। प्रेम जस्तो बलवान र अमूल्य वस्तु अरू कुनै छैन यो संसारमा।
प्रेम कुनै अभिशाप होइन त्यो त ईश्वरको वरदान हो। प्रेमका अगाडि धेरै ठूला ॠषिमुनिहरू, राजा महाराजाहरू, देवताहरु, राक्षसहरु सबै झुकेका अनगिन्ती उदाहरणहरू हामीले पढेका छौ।
प्रेमको लागि हरेक कुरा जायज हुन्छ। आफ्नो प्रेम प्राप्तिको लागि मान्छे हरेक कुरा त्याग्न तयार हुन्छ, सारा संसारसँग लड्न सक्छ। प्रेमले मान्छेलाई शक्ति दिन्छ, खुसी दिन्छ। तर यदि प्रेम झूटो भयो भने जीवननै बर्बाद पारिदिन्छ।
कोही पनि मान्छेको भावनासँग खेलेर झूटो प्रेमको नाटक गर्नु चाहीँ पाप हो, अपराध हो।
आफ्नो फाइदाको लागि अरुलाई प्रेमजालमा पार्नु माया नभएर त्यो नाटक हो र त्यस्तो कुरा मात्र मान्छेले लुकाउँछ र सबैको अगाडि स्वीकार गर्न सक्दैन।
प्रेम आत्मादेखि गरिन्छ। प्रेममा दुई आत्माको कनेक्सन हुन्छ। आत्मैदेखि गरेको प्रेमको कैले पनि अन्त्य हुँदैन।
कुनैपनि व्यक्तिले झूटो मायाजालमा परेर आफ्नो जीवन बर्बाद पार्नु नपरोस्।
कोही कसैको लागि पनि प्रेम-पासो र बन्धन नबनोस्।
सबैको लागि प्रेम ज्युँने आधार बनोस्।