विश्व नै यतिबेला कोभिड–१९ महामारीका कारण सबैतिर आक्रान्त छ। चीनबाट सुरु भएको भाइरस अहिले विश्वका अधिकांश देशहरुमा तीव्र रुपमा संक्रमण फैलिएको छ। दिनप्रतिदिन मानिसहरुको मृत्युदर समेत बढीरहेको छ। महामारीका कारण विश्वले अहिले चरम गरिबी, बेरोजगारी, भोकमरी, आर्थिक र स्वास्थ्य संकटको सामना गरिरहेको छ।
कारोनाको विश्वव्यापी प्रभाव र आजको यो विश्वव्यापीकरणको परिवेशमा नेपालमा पनि सम्पूर्ण क्षेत्र प्रभावित छन्। विभिन्न संभावनाका क्षेत्र यातायात, उद्योग–व्यवसाय, जल तथा उर्जा, कृषि, पर्यटन साथै स्वास्थ्य तथा शिक्षा जस्ता विकासका अति महत्वपूर्ण आधार स्तम्भहरुमा नकारात्मक असरका संकेतहरु देखिन थालेका छन्।
महामारी लगायतका कारणले अर्थतन्त्र खुम्चीएको छ। नागरिकमा मनोवैज्ञानिक रुपमा त्रासको वातावरण सिर्जना भएको छ। स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो भयावह संकटले विकास आयोजना, सार्वजनिक सेवा प्रवाहदेखि नागरिकका दैनिकीमा समेत यसका नकारात्मक प्रभावहरु व्यापक देखिएका छन्।
बेरोजगारी दर बढ्दै गएको छ। गरिबीको खाडल झन गहिरिदै छ। आगामी दिनहरुमा गरिबी अझै बढ्दै जाने, बेरोजगारको संख्या पनि उकालो लाग्ने साथै खाद्यान्नमा कमि र परनिर्भरताले भोकमरी पनि सिर्जना हुन सक्ने विभिन्न अनुसन्धान र प्रक्षेपणहरुले समेत देखाएका छन्।
भनिन्छ, नि जहाँ विनाश त्यहाँ नविन कार्यको सिर्जना, एउटा बन्द घर र कोठाहरुमा सीमित भएका मानिसहरुलाई अब नयाँ तरिकाले जीवनका विविध आयामहरुलाई सामना र सिर्जना गर्नतर्फ चेत सिकाएको छ। आफ्नो अमूल्य जीवनका निम्ती मानिसहरुलाई अब झन् बढी सर्तकता र सचेतना जगाएको छ।
आफ्नो जीवन रक्षाका निम्ती सुरक्षित स्थान र सुरक्षाका उपायहरुको खोजी गर्न मानिसहरुलाई अझै बढी उर्जावान प्रेरणा पनि थपिदिएको छ। यही कोरोनाले सिर्जना गरेको बेरोजगारी, गरिबी, असमानता र आर्थिक संकटलाई दिगो र प्रभावकारी समाधान र आत्मनिर्भर हुन हामीलाई फेरि आफ्नै भूगोलको माटो, प्रविधि र सीपलाई चिन्ने अवसर पनि हुन सक्दछ।
वर्तमान सरकारको पछिल्लो योजनामा अघि सारिएको 'समृद्ध देश, सुखि नेपाली’ नाराको परिकल्पनालाई पूरा गर्नका लागि यो महामारीले असर गरेता पनि सरकारले आफूले तय गरेका कार्यदिशाहरुलाई अगाडि बढाउने जनाएको छ। स्वास्थ्य संकटले विकासमा अवरोध र मनोवैज्ञानिक रुपमा पिडादायी अवस्थामा देश कसरी समृद्ध र नागरिक कसरी खुसी हुन सक्दछन् भन्ने प्रश्न पनि अहिले उत्तिकै पेचिलो बन्दै गएको छ।
विगतदेखि नै योजनावद्ध विकासको थालनी गरिए पनि त्यसको उच्चतम् प्रतिफल पाउन विकासमा विभिन्न असमानता र अवरोधहरु थिए। अहिले सरकार आफैले पनि विभिन्न सम्भावनाका क्षेत्र पहिचान गर्दै रोजगारी सिर्जना, स्वरोजगार र गरिबी न्यूनिकरणमा सहुलियतका दूरगामी प्रभाव पार्ने कार्यक्रम र योजनाहरु पनि अगाडि सारेको छ। सरकारले लिएका उद्देश्यहरुको पूरा गर्न सरकारको मात्र होइन, नागरिकको पनि उत्तिकै दायित्व हुन्छ।
यसै सन्दर्भमा, अब साँच्चिकै हामीले कोरोनाको यस्तो विश्वव्यापी प्रभावका बीच पनि संभावना देख्यौँ भने त्यसलाई साकार गर्न पनि सक्छौँ। साँच्चै, अब यो प्रभावलाई भोगेर हामीले आर्थिक समृद्धिको सपना देखेका हौँ भने, यो सजिलै र छिटो आउने वस्तु, अवस्था र परिवेश होइन।
हामीले यसलाई हासिल गर्नका लागी हाम्रो एउटा पुस्तामा लगाव, कडा परिश्रम, राष्ट्र निर्माण प्रति त्याग र माया, दिगो र प्रभावकारी योजना र कार्यक्रमको अनिवार्य आवश्यकता हुन्छ। हामी सबैमा हाम्रो खनिज, हिमाल, हरियो वन, जल जमिन र आफ्नो माटो चिन्न सक्ने दृष्टि, यसको महत्व र उपयोगीता बुझ्न सक्ने सीप र यिनको सम्भावना पहिल्याउन सक्ने क्षमता हुनु जरुरी छ।
अहिले साँच्चीकै भन्ने हो भने कतिपय अवस्थामा हामी आफ्नो माटोको सम्भावना पहिल्याउन नसकेर बाध्यताको शिकार बन्दै विदेशी भूमिमा आफ्ना पसिनाहरु बगाउन बाध्य छौँ। तर अहिले महामारीका कारण विदेशी भूमिमा रोजगारमा आवद्ध हजारौ युवाहरु स्वदेश फर्किएका छन र फर्किने सोचमा छन्।
यहाँ स्वदेशमा समेत रोजगारी गुमाएका र व्यवसायमा असर परेका युवाहरु छन्। बेरोजगारीको दर दिनप्रतिदिन बढ्दो क्रममा छ। यस्तो अवस्थामा स्थानीय सरकारहरुले विदेशबाट फर्किएकाहरुको ज्ञान, सीप र दक्षताको पहिचान गरी सोही अनुसारको पेशा र व्यवसायमा आवद्धता गराउन पहल गर्नु पर्दछ।
यसो भन्दै गर्दा स्वदेशमा केही संभावना र अवसर भएन भन्ने तर्क पनि सिर्जना होला तर यस्ता तर्कहरुलाई सकारात्मक रुपमा समाधान गरी अगाडि बढ्नु अत्यावश्यक छ। अहिले सरकारले पनि युवामा उद्यमशीलताको इच्छाशक्ति बढाउन विभिन्न कार्यक्रमहरु अगाडि ल्याएको छ।
नेपालको अर्थतन्त्रको भरपर्दो आधारको रूपमा रहेको कृषि क्षेत्रमा कोरोना महामारीको रूपमा उत्पन्न भएको चुनौती र अवसरलाई सम्बोधन गर्न कृषिमा श्रम परिचालन गरेर रोजगारी सिर्जना गर्ने लक्ष्यमा छ। सरकारले कृषि क्रान्तिका लागि कृषिमा व्याज अनुदान, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, किसान क्रेडिट कार्ड, भूमि बैँक, किसान परिचयपत्र जस्ता कार्यक्रम अघि सारेको छ। लगानी र पुँजी व्यपस्थापनका लागि सहुलियत ऋण र अनुदान बैँकहरु मार्फत दिने नियम लागू गरेको छ।
कृषि लगायतका व्यवसायलाई व्यवसायिकीकरण र आधुनिकीकरण गर्न विभिन्न प्रभावकारी योजना र कार्यक्रम लगायत जोखिम न्यूनिकरण गरी युवालाई प्रोत्साहन गर्ने नीति समेत लिएको अहिलेको सन्र्दभ छ। उत्पादन र उत्पादकत्व वृद्वि, बजारको सिर्जना र खोजीमा सरकारले अग्रसरता देखाएको पनि छ।
बाँझो जमिन प्रयोग गर्ने, किसानलाई मल, बीउ पानी व्यवस्था गर्ने, बजार विकास र सामग्री ढुवानीमा अनुदान दिने कार्यलाई प्रभावकारी बनाउनु पर्दछ। नेपालीलाई पुग्नेगरी खाद्यान्न आफैँ उत्पादन गर्ने दरिलो राष्ट्रिय संकल्प सहित देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यो एउटा हामीलाई अवसर हुनसक्दछ।
कृषि क्षेत्रमा कुल जनसख्याको धेरै प्रतिशत जनशक्ति आवद्ध भएपनि आफै आत्मनिर्भर र व्यवसायीक हुन सकेका छैनन्। त्यसैले जहाँ जे फल्छ फलाऔँ। कृषियोग्य जमिन कतै खेर नफालौँ। कृषि कर्मलाई सबै क्षेत्रको सामुहिक र राष्ट्रिय अभियानका रूपमा विकास गरौँ। यसले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँछ।
ठूलो संख्यामा रोजगारी पनि सिर्जना गर्न सकिन्छ। गरिबीको न्यूनिकरण मात्र होइन, नागरिकलाई कर्मशील पनि बनाउदै लैजान्छ। उत्पादन र उत्पादकत्व बढ्दै जान्छ र छिट्टै खाद्य वस्तु लगायतका उत्पादित वस्तुहरुलाई निर्यात पनि गरी अर्थतन्त्र बलियो र नेपालीलाई स्वाभिमान गराउन सक्दछौँ।
विश्व समुदायमा श्रम बेच्ने हाम्रो पहिचानलाई विस्तारै उद्यमशीलता तर्फ अगाडि बढाउनु जरुरी छ। यो समयमा हामीले नगरे कस्ले गर्ने, जहिले पनि विदेशी अनुदान, ऋण र रेमिटेन्सको भरमा परि हाम्रो कुशल, सक्षम र सक्रिय जनशक्तिको अमूल्य पसिनालाई विदेशमा पलायन कहिलेसम्म गराउने।
प्रचुर संभावना रहेका कृषि, पर्यटन र उर्जा जस्ता क्षेत्रहरुमा हामी कहिले आत्मनिर्भर भएर आफ्नो उत्पादनलाई विश्व समुदायसम्म लैजाने। स्वदेशी वस्तुको उपयोगलाई प्रोत्साहन र सर्वसुलभ गराउने तथा आयातलाई निर्यातले प्रतिस्थापन गरी व्यापार घाटालाई कहिले घटाउने। हाम्रो उत्पादन र रोजगारी सिर्जना कहिले गर्ने र कसले गर्ने यो अत्यन्तै पेचिलो प्रश्न हुन सक्दछ। र यस्ता प्रश्नको सही समाधान निकाल्ने सान्दर्भिक समय पनि यही हो।
विगतका केही वर्ष, एकातिर जनशक्ति पलायन भएको छ भने अर्को तर्फ कृषि, फलफूल तथा तयारी पोषक जस्ता सामान्य वस्तु जुन आफै उत्पादन गर्न सकिने हुँदा हुँदै पनि अर्बौको आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ। खेतीपातीका लागि सिँचाइ, मलबीउ, यन्त्रलगायत बजारीकरणको अभाव अर्कोतिर उपभोक्ताको उच्च मागका कारण आयात बढ्दै छ।
मूल्यवृद्धि आकाशिदै गएको छ। आफ्नै उत्पादित वस्तुले बजार पाएको छैन। निर्यातमा कमि र आयत दिनप्रति दिन बढीरहेकाले व्यापार घाटा उकालो लागिरहेको छ। त्यसैले, युवालाई देशभित्रै परिचालन गर्ने राज्यको स्पष्ट कार्यनीति र कार्यक्रम प्रभावकारी बनाएर वैदेशिक रोजगारीलाई विस्तारै न्यूनिकरण गर्दै स्वदेशमा नै यो सीप र जनशक्तिको उपयोग गर्न अब ढिला गर्नु हुँदैन।
सरकारले देशभित्र रोजगारीका क्षेत्र तथा सम्भावित अवसरको पहिचानको छलफल तीव्ररुपमा लैजानु पर्दछ। विभिन्न संभावनाका पूर्वाधारहरु शिक्षा, पर्यटन, उद्योग, उर्जा, कृषि, सूचना प्रविधि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने योजना अगाडि लैजानु पर्दछ।
युवालाई उद्यमी बनाउन सहुलियत कर्जाका उपलब्ध गराउने, विषेश ऋणको व्यवस्था, स्थानीय तहसँग समन्वय, शैक्षिक प्रमाणपत्र राखेर बिना धितो ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई सीपका आधारमा लगानी, ऋण दिने र उद्यमी बन्न युवालाई स्थानीय सरकारको सहयोग गर्ने, योजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नु अहिलेको अत्यावश्यकता हो।
कोरोना महामारीको यस्तो असरका समयमा जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नु, जनताको रक्षा गरी जीवनस्तर उठाउनु र उच्चस्तरको आर्थिक समृद्धि हासिल गर्न पहल गर्नु सरकारको दायित्व हो भने सरकारले दिएको दायित्व निर्वाह गर्नु नागरिकको कर्तव्य हो। सरकारले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि, लगानी वृद्धिको वातावरण, व्यवसायीक स्थायित्व र सहजीकरणमा प्रयत्न गर्नुपर्दछ।
समृद्धिको सपना साकार पार्नको लागि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने राष्ट्रिय जागरण र सकारात्मक परिवर्तनको आवश्यकता पनि छ। सरकारले बेला बेलामा मिठो बोलेर ललिपप बाढ्नुभन्दा नागरिकलाई मौरीको जस्तो कर्म गर्ने मोहको सिर्जना गरिदिनु पर्दछ।
सरकारले युवा पलायन रोक्ने प्रभावकारी कार्ययोजनाको थालनी र युवाहरु स्वदेशमा नै केही उद्यम गर्ने जोश, जाँगर र अवसरको सिर्जना गर्नु पर्दछ। नेपाल एक आधुनिक, विकसित, सुशासित, शान्त र समुन्नत मुलुक कसरी बन्न सक्ला भन्ने प्रश्नको सहि उत्तर नै सक्षम जनशक्तिको महत्व बुझ्नु हो।
साथसाथै, नागरिकहरुले पनि जबसम्म आफ्नै माटोको माया र पौरख गर्ने मोह जाग्दैनन् तबसम्म समृद्धिको मार्ग पूर्ण हुन सक्दैन। महामारीले थिल्थिलिएको अर्थतन्त्र, बेरोजगारी र गरिबी भयानक अवस्थालाई सहज र सकारात्मक तर्फ लैजान आफ्नै भूमिमा पौरख गर्नु आवश्यक छ।
यसर्थ, जबसम्म राज्यले सक्रिय र सक्षम जनशक्तिको सही उपयोग गर्दैन, महत्त्व बुझ्दैन, तबसम्म देशमा समृद्धि हासिल हुँदैन। अहिले हामीले सोचेको समृद्धि केबल सपना मात्रै हुन्छ, यर्थाथमा परिर्वतन हुन सक्दैन।