हाल कोभिड-१९ को महामारीले देश विदेश नै आकुल व्याकूल भएको सन्दर्भमा र यसको निश्चित औषधी र खोपको उपयुक्त व्यवस्था नभएकाले नै हुन सक्छ, सामान्य स्थितिभन्दा बढी मानिसले आयुर्वेद प्रति चाख राखिरहेका छन्। यो एकदम सकारात्मक पक्ष हो। कोरोना लागेका नजिकका आफन्त र साथीभाइहरुले पनि मलाई निरन्तर के खाने? कसरी खाने? भनेर सोधखोज गरिरहेका छन्।
अझ अचम्मको कुरा त प्रधानमन्त्री ज्यूले नै आयुर्वेद र मौलिक जडिबुटीको जसोतसो ध्यानाकर्षण गर्दिनाले पनि जनमानसमा यसको महत्व बढेको छ। सामाजिक सञ्जालमा गुर्जोको लहरा खोज्दै हिडेका र बेसार पानी खाएका तस्बिरहरु अचेल भाइरल नै भईरहेका छन्।
तर यस सँगसँगै आयुर्वेदको अपब्याख्या गर्दै यो चिकित्सा पद्धति नै नबुझेकाहरुले मानमर्दन गर्ने क्रम पनि बढेको छ। र आयुर्वेदको कम ज्ञान भएका तर यस पद्धतिका शुभचिन्तकहरुको मनगढन्ते भिडिओ र विचारहरुले समेत समाजमा ठाउँ पाउँदा आम मानिसमा साँच्चै नै आयुर्वेद भनेको के हो? र कोरोना भाइरसका लागि आयुर्वेदको प्रयोग कसरी गर्ने भन्नेमा जिज्ञासा उत्पन्न भएको अवस्था छ।
के हो आयुर्वेद?
आयुर्वेद चिकित्सा पद्धति हाम्रो सभ्यता, संस्कृति एवम् जीवनका परम साध्य धर्म, अर्थ, काम, मोक्षसँग सान्निध्य राख्ने पद्धति हो। मानव लगायत सम्पूर्ण प्राणीहरुको स्वास्थ्यको संवर्धन एवम् रोगहरुको निवारणका लागि निरन्तर प्रेरणा दिने आफू पनि बाच्ने अरुलाई पनि बचाउने शिक्षा दिने विद्या भनेको आयुर्वेद हो।
आयुर्वेदले प्राणी मात्रको स्वास्थ्यको संवर्द्धनका लागि कायचिकित्सा, शल्य, शालाक्य, कौमारभृत्य, रसायन, बाजीकरण, भूतविद्या, अगदतन्त्र पहिलेदेखि प्रसिद्ध आठ अंगहरुका स्थानमा द्रव्यगुण, रसशास्त्र, भैषज्यकल्पना आदि उप-अंगहरुको पनि विकास गर्दै आएको छ।
हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्। मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते ।।च.सू.१।४१।।
अर्थात जुन शास्त्रमा हितायु, अहितायु,सुखायु,दुःखायु,यी ४ प्रकारका आयु र आयुका लागि हित अर्थात पथ्य,अहित अर्थात अपथ्य, आयुको मान (प्रमाण र अप्रमाण) र आयुको स्वरुप बताइएको हुन्छ, त्यसलाई आयुर्वेद भनिन्छ।
यतश्चायुष्याणी अनायुष्याणि च द्रव्य गुणकर्माणि वेदयति अतोअपि आयुर्वेद:।च.सं.सू.३०।२३
अर्थात्, यस शास्त्रले आयुष्य (आयुको सुरक्षा र संवर्धन गर्ने) हित द्रव्य,गुण र कर्मका साथ अनायुष्य (आयुको ह्रास वा नाश गर्ने ) अहित द्रव्य,गुण र कर्महरुको जानकारी दिन्छ, त्यसैले यसलाई आयुर्वेद भनिन्छ।
समदोषः समाग्निश्च समधातुमलाक्रियः।
प्रसन्नात्मेन्द्रियमनःस्वस्थ्य इत्यभिधीयते।सुश्रुत।
अर्थात शरीरका विभिन्न प्रक्रियाहरु जस्तै दोष, अग्नि,धातु,मल क्रियालाई,सम अवस्थामा राखी आत्मा, इन्द्रिय र मनको प्रशन्न राख्नु वा आफ्नो सच्चिदानन्द स्वरुपमा फर्कनु नै स्वास्थ्य हो। जसका लागि पनि आयुर्वेद अपरिहार्य छ।आयुर्वेद चिकित्सा पद्धति प्राचीनकाल देखि नै स्वस्थ, सवल, रोगमुक्त जीवनको चिन्तन द्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ। मंगलदायी प्रेरणाको मूलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यस निम्ति धन्य रहेको छ।
कोरोनाको सन्दर्भमा आयुर्वेद
हाल म कार्यरत रहेको केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीमा समेत बिरामीको चाप पहिलाभन्दा बढ्न थालेको छ। यस चिकित्सालयले निर्देशक डा. प्रदीप केसीको अग्रसरतामा जेष्ठवासादि चूर्ण (५भाग), गुडुची चूर्ण (३ भाग) र यष्ठिमधु चुर्ण (१ भाग) को मिश्रणलाई निशुल्क वितरण गर्ने गरेसँगै बिरामीको आवागमन बढेको हो।
यस मिश्रणमा असुरो, तालिसपत्र, पर्पटक, प्रियंगु, नागकेशर, जातिफल, ल्वाङ, सुकमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठिमधु जस्ता जडिबुटीहरु अधिक मात्रामा छन्। यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु,ज्वरो आउने, घाँटी दुख्ने, अरुची, गन्धनाश हुने आदि लक्ष्णहरुलाई निर्मूल पार्न चाहिने सक्रिय तत्वहरु रहेको कुरा वैज्ञानिक अनुसन्धानमा नै देखिएको छ।
यो मिश्रणलाई १ लिटर पानीमा ५ चम्चा राखी ८ मिनेट सम्म पकाउने र यसरी बनेको काढालाई एक पल्टमा आधा चिया गिलास दैनिक तीन पटकसम्म तातो अवस्थामा सेवन गर्नु पर्छ भनि सबै बिरामीलाई यस चिकित्सालयमा बुझाउने गरिएको छ। कोरोना संक्रमित भएका र संक्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकित्सालय नरदेवीले सार्वजनिक रुपमा समेत आह्वान गरेको छ।
त्यस्तै कीर्तिपुर स्थित आयुर्वेद अस्पताल (नेशनल आयुर्वेद रिसर्च एण्ड ट्रेनिंग सेन्टर) मा समेत आयुर्वेदको उचित प्रयोगबाट कोरोना संक्रमितहरु छिटो नै निको भएर गएका छन्। २ सय ७५ जना संक्रमित आएकोमा ७ देखि १० दिन भित्रमा नै पिसीआर रिपोर्ट नेगेटिभ आएर १ सय ६७ जना घर फर्किएका छन्।
कोरोनामा केन्द्रित भएर यस अस्पतालले रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधीसँगै योग र मानसिक परामर्श समेत दिदैं आएको छ। आयुर्वेद विशेषज्ञ डा. निर्मल भुसाल र डा. विकासराज घिमिरेको नेतृत्वमा १६ जनाको टिम यस अस्पतालमा आयुर्वेद उपचार र पद्धतिबाट कोरोना संक्रमितलाई ठिक बनाउन दत्तचित्त रुपमा लागिपरेका छन्।
त्यस्तै रजहर स्थित प्राकृतिक चिकित्सालय पनि नेपाल कै उत्कृष्ट 'कोरोना विशेष अस्थायी अस्पताल' (आइसोलेसन) बनेको छ। यस अस्पतालका निर्देशक डा. विनोद पौडेलको अग्रसरतामा करिब साढे दुई महिनाको अवधिमा ३ देखि ७८ वर्ष उमेर सम्मका ४११ जनाले यस अस्पतालबाट सेवा लिएका छन्। जसमध्ये ३२९ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन्। योग, ध्यान, प्राणायाम सँगै प्राकृतिक उपचार पद्धति र आयुर्वेद औषधीको प्रयोगले यो सफलता हासिल भएको हो।
यी त देखिएका उदाहरणहरु हुन्, अहिलेको कोरोना विषाणु विरुद्ध लड्न आयुर्वेदका तर्फबाट धेरै प्रोटोकलहरु निर्माण भएका छन्। आयुर्वेद तथा वैकल्पिक विभाग, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद शिक्षण अस्पताल एवं विभिन्न प्रदेश,जिल्ला तथा स्थानीय आयुर्वेदका इकाईहरु मार्फत आयुर्वेदलाई प्रोत्साहन गर्ने कार्यहरु भईरहेका छन्।
अन्य निजि अस्पतालहरुले पनि कोरोना विरुद्ध लड्न आयुर्वेद अस्त्रको प्रयोग गरिरहेका छन्। व्यक्तिगत हिसाबले पनि आयुर्वेद पद्धतिलाई अनुसरण गर्ने नेपाली जनताको लर्को पनि लामै छ।
आयुर्वेदमा जडिबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रुपमा जनाइएको छ। घरायसी रुपमा सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिन्छ।
घरको आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसार मिसाएर घरमै उमालेर बिहान बेलुका एक-एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ र त्यसले दिने शक्तिले शरीरको क्षमतामा समेत वृद्धि ल्याउँछ। त्यस्तै घरघरमा पाइने तुलसी र मरिचको चिया खाँदा समेत प्रतिश्याय, ज्वर, शिरमा भारीपन हुने लगायतका प्रतिरोधात्मक क्षमतामा ह्रास आउने पूर्वरुपलाई निषेध गर्छ।
क्रमबद्ध रुपमा यी र अरु सबै कुराहरु हालै संयुक्त रुपमा सरकारी स्तरबाट जारी भएका प्रोटोकलमा स्पष्ट उल्लेखित छन्। त्यसैले पनि सुनेका र चलेका गफका आधारमा भन्दा पनि उचित विज्ञको परामर्शमा मात्र आयुर्वेद पद्धतिलाई अवलम्बन गर्नुहुन सम्पूर्णमा अनुरोध गर्न चाहान्छु। साथै बुझ्ने कोटीमा पर्ने आधुनिक चिकित्साका सारथीहरुलाई समेत प्रतिशोध स्वरुप आयुर्वेद सम्बन्धी अनावश्यक भ्रम नफिजाउनु हुन समेत आग्रह गर्न चहान्छु।
(लेखक केन्द्रिय आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत छन्।)