मस्त निदाइरहेका बेला कसैले फुत्त सिरक तान्यो। झसंग भएँ। आत्तिएर जुरुक्क उठेँ। कोठाभरि धुवैँ धुवाँ छ।
'ला के भयो, केको धुवाँ हो?' सोधेँ।
मेरो सवालको कसैले जवाफ दिएन। दायाँ बायाँ हेरेँ, साथीहरू आत्तिएर केही खोजिरहेका छन्।
'के खोजिरहेका तिमीहरु?' फेरि सोधेँ। उनीहरूलाई मेरो प्रश्न सुन्ने फुर्सद थिएन सायद। अथवा सुनेनै पनि जवाफ दिने फुर्सद थिएन। चुपचाप धुमधुम्ती केही खोजिरहे। म अझै बेडमै छु। मतलब यी सबै कामहरू एकदमै छिटो भएका हुन्। केही सेकेन्डमै भएका हुन्।
'यो त आगोको धुवाँ हो' झल्याँस्स मेरो दिमागमा आयो। ला कारखाना जलेछ! हैन हैन खिसुक्सा (होस्टल) जलेछ। नत्र किन साथीहरू यसरी आत्तिएर केही खोजिरहेका छन्?
अब मैले पनि खोज्नु पर्छ। तर, के खोज्ने? के बचाउने? कति बचाउने? के-के बचाउँदा मान्छेलाई पुग्छ होला? दिमागले केही सोच्नै सकेन।
यतिञ्जेलसम्ममा कोठामा पूराका पूरा धुवाँ भरिइसकेको छ। श्वास फेर्न कठिन हुन थालीसकेको छ।
'छिटो छिटो अब सकिदैन। सामान त्यस्तै हो, पहिले मान्छे बाँचौं।' साथीहरू भाग्न थाले।
म के गरौँ? भर्खर उठेको, भित्री वस्त्र (कट्टु) मै छु। मलाई लाग्यो- अहिलेसम्म प्राण त जोगिएको छ। प्राणपछि सबैभन्दा ठूलो कुरा रहेछ लाज। हत्तपत्त दराज खोलेँ र लगाउन सबैभन्दा सजिलो, ट्राउजर घुसारेँ। माथि साधारण भेस्ट लगाएर सुतेको थिएँ त्यही छ। चेन्ज गर्नुपर्छ भन्ने मलाई लागेन। त्यसै छाडिदिएँ।
झल्याँस्स राहदानीको सम्झना आयो। हैन हैन दराजको , सबैभन्दा पहिले आँखाले देख्ने ठाउँमा रहेछ राहदानी। त्यही फुत्त निकालेँ। सँगै पर्स रहेछ उठाएँ। पल्याक पुलुक दायाँ बायाँ हेरें। साथीहरू कोही छैन। राम, कोठामा त म मात्र पो रहेँछु। र, यो सबैथोक केही सेकेन्डभित्र भैसकेको छ।
'अबका केही सेकन्डभित्र मैले आफूलाई सुरक्षित ठाउँमा पुर्याइन भने म बाँच्दिनँ।' बल्ल मलाई डर लाग्यो। मृत्युको भय डरलाग्दो हुँदो रहेछ। फुत्त गल्लीमा निस्किएँ। अहो! गल्लीमा त आँखासम्म नदेखिने गरी धुवाँ मडारिइसकेको रहेछ। टायर पोल्दा निस्कने धुवाँ जस्तै दुर्घन्दित र हानिकारक धुवाँ भएकाले श्वास फेर्नसम्म सकिनँ।
आँखा पोलेर हेर्न पनि भएन। यसैबीच एक तला सिडि झर्नु छ र ढोकाबाट बाहिर निस्कनु छ। यो अवस्थामा यति गर्नुपनि एकदमै कष्टप्रदक काम हो। तर गर्नैपर्ने काम हो।
कुनै समय म राजनीति गरिहिँड्थेँ। हैन हैन, कुनै दलको कार्यकर्ता भै टोपल्या थिएँ। अझै हैन, कार्यकर्ता भनेर कार्यकर्ता शब्दको अपमान नगरौँ। 'झोले' उपयुक्त होला! राइट, झोले। हो म झोले थिएँ।
यसरी प्रष्ट्याउँ- म विद्यार्थी थिएँ। कुनै दलको भात्री संगठनमा आस्था राख्थेँ। उक्त भात्री संगठनको त्यो क्याम्पसमा हैकम चलाउने ठेक्का लिएकाहरूले भनेको मान्थेँ। प्रायः मेरो काममा पर्थ्यो कक्षाकोठाहरूमा जाने र संगठनको सूचना प्रबाह गर्ने। मैले प्रायः बोल्ने एउटा डायलग थियो- फलना पार्टीको ढिस्कना संगठनले यसो भनेको छ। यस्तो माग राखेको छ। आज पढाई बन्द।
बेलाबेला हामी क्याम्पसको गेट अगाडि नारा लगाउँथ्यौँ। गाडीहरूको सिसा फोड्थ्यौँ। टायर बाल्थ्यौँ। उतिबेला प्रहरीको लाठी र टायर जल्दाको नमिठो गन्ध खाँदा पनि रमाइलै लाग्थ्यो। तर, अहिले त्यही कार्बनमनोअक्साइडले मेरो श्वास रोकिसकेको छ। आँखा बन्द भएका छन्।
एक हातमा राहदानी र पर्स बोकेको छु। अर्को हातले सिडिंको रेलिङ समाइ एक श्वासमै म ढोका बिहिर निस्किएँ। कसरी सिंडिबाट झरेँ, कसरी ढोका खोलेँ र बाहिर निस्किएँ म अहिले यहाँ भन्न सक्दिनँ। कति कामहरू हाम्रो दिमागले सोच्नुभन्दा पहिल्यै गरिसकिदो रहेछ।
ढोका बाहिर निस्किसकेपछि बल्ल आँखा खुले। म साथीहरूकै सारमा पछिपछि कुधेँ। अलि पर धुवाँ नभए ठाउँमा साथीहरू झुरुप्प बसेका रैछन्। त्यही मिसिएँ।
'भुस, कस्तो सँगुरजस्तो सुतेको?' कसैले मलाई भन्यो। मैले सुनेँ। तर, साथीको सवालको जवाफ दिनुपर्छ भन्ने मैले सोचिनँ। किनकी साथीको सवालको जवाफभन्दा पहिले मैले यकिन गर्नु थियो- कहाँ आगो लागेको हो भनेर।
साथीलाई जवाफ दिनुभन्दा पहिले मैले थाहा पाउनु थियो कत्रो आगो लागेको हो भनेर। तर, त्यो सबैथोक हुनुभन्दा पहिल्यै फेरि अर्थोकै भयो। मेरो टाउको दुख्यो। रन्न रिंगटा लाग्यो। वाक्क भयो। जसै नियन्त्रित हुनुत थियो नै। कसोकसो आफूलाई नियन्त्रण गरेर आगो लागेको ठाउँ नियालेँ।
हाम्रो कारखाना..., हैन हैन हाम्रो होइन। हामीले काम गर्ने कारखानाका दुई वटा भवन छन्। एउटा भवनमा अफिस लगायत केही डिपार्टहरू छन्। उक्त भवन मुख्य भवन हो। र, अर्कोमा बिर्का (एलुमुनियमका पाताहरू काटेर कस्मेटिक्सको बोत्तेलमा लगाइने स-साना बिर्काहरू बनाइन्छ।) घोट्ने डिपार्ट अर्थात 'यम्हावान' छ।
सिक्ताङ (कारखानाको खाना खाने ठाउँ होटेल) छ। आराम गर्नको लागि एउटा ठूलो हल छ। र, मुख्य हामी आप्रवासी मजदूरहरू बस्ने खिसुक्सा छ। हो त्यही खिसुक्सावाला विल्डिङमा रहेछ आगो सल्किएको।
बिल्डिङको भुईं तलामा यम्हावान छ त्यसैको साइडको छाङ्गो (स्टोर रूम) बाट सल्किएको रहेछ आगो।
म देखिरहेछु, एउटा सिंगो भवन पूरै धुवाँको मुस्लोले छोपिसकेको छ। कालो मुस्लोले ढाकिसकेको छ। थाहा छैन कति जलेको छ? या कति जल्दै छ? अथवा कहाँसम्म जलिसक्यो? तर यति थाहा छ- भवन जल्दै छ।
साथीहरु कुनै सुर्ता नभएजस्तो भिडिओ खिच्न थाले। फोटो खिच्न थाले। उसो त सुर्ता होस् पनि त कसरी! सबैले सबैथोक अघिनै बचाइसकेका रहेछन्। कसैले लगेजमै सर-सामान हाल्न भ्याइसके छन्। कसैले काटनमा हालेर ल्याएछन्। कसैले प्लास्टिकमा। रित्तो त म मात्र पो रहेँछु।
उफ! कस्ता साथीहरू, अलि चाँडो मलाई उठाइदिएका भए उनीहरूको के बिग्रिन्थ्यो? जतिनै भीडमा रहेपनि, जतिनै समूहमा बसेपनि बिपदमा मान्छे एक्लो हुँदो रहेछ। बिपदमा मान्छेले आफ्नैमात्र सोच्दो रहेछ। मान्छे बढी स्वार्थी प्राणी रहेछ।
मेरो छिटो निदाउने बानी छ। सुतिसकेको पाँच मिनटभित्र म निदाइसक्छु। चाहे त्यहाँ हल्ला होस्। चाहे त्यहाँ मान्छेहरू नाचगान गरिरहेकै किन नहुन, घुप्लुक्क सिरकभित्र मुन्टो लुकाउन पाए भैजान्छ। पुगिहाल्छ।
सधैंजसो बेडमा पल्टिएर घन्टौ छटपटाउने साथीहरू अरूबेला मेरो सुताई देखेर खुब डाहा गर्थे। मेरो सुताइको तारिफ गर्थे। तर आज त्यही मेरो सँगुर सुताइले झन्डै मेरो ज्यान लग्यो। झन्डै म सुतेको सुतेकै भएँ। मेरो सिरक तानिदिने साथीले अन्तिम समयमा मेरो सिरक नतानिदिएको भए? अन्तिम समयमा मलाई नसम्झिदिएको भए? अहो!
धन्न त्यो साथीले मलाई सम्झियो। धन्यवाद त्यो साथीलाई जसले अन्तिम समयमा भएपनि मेरो सिरक तानिदियो। धन्यवाद त्यो साथीलाई जसले मलाई झकझक्याइदियो। धन्यवाद त्यो साथीलाई जसले मलाई बचाइदियो। विपदमा कसैलाई बचाउनलाई धेरैथोक गर्नै पर्दो रहेनछ। बस, अलिकति चेत हालिदिए पुग्ने रहेछ। अप्ठ्यारोमा जोगाउनलाई धेरैथोक गर्नै पर्दो रहेनछ। बस, अलिकति आँखा खोलिदिए पुग्ने रहेछ।
आगो झन्-झन् फैलिरहेको छ। धुवाँ झन्-झन् मडारिएर उडिरहेछ। र, मनमा रित्तो हुनुको भय उसरी नै मडारिइरहेछ।
अब कालो धुवाँको मुस्लो हाम्रो खिसुक्सा माथिबाट पनि उढ्न थाल्यो। यसरी भनौं- हाम्रो खिसुक्सा ठ्याक्कै कहाँनिर छ ठम्याउन सकिन्न। एउटा सिङ्गो भवन धुवाँको डल्लो भैसकेको छ। अनुमान गर्न चै सकिन्छ, त्याहाँनिर हाम्रो खिसुक्सा थियो। त्यहाँनिर हाम्रो कोठा थियो। हामीलाई लागिसकेको छ आगोले हाम्रो खिसुक्सा पनि खान थाल्यो। आगो खिसुक्सामा पनि सल्किइसक्यो।
पहिले पनि दुई पटक कारखानामा आगो सल्किसकेको थियो तर यो भवनमा हैन। पुरानो भनवमा। पुरानो ठाउँमा। यहाँ त भर्खर भर्खरै नयाँ कारखाना बनेको हो। भर्खरै सरेको हो। अर्को कुरा, पुरानो कारखाना र यो कारखानामा केही फरक छ। पुरानोभन्दा नयाँ केही सुरक्षित छ। फेरि पुरानो कारखानामा दिउँसो काम हुँदै गर्दा आगो सल्किन्थ्यो।
दिउँसो काम चल्दैगर्दा आगो लाग्थ्यो। तर, यहाँ त अप्रत्याशित आगो लागेको छ। जुन लाग्ने सम्भावनानै थिएन। मुख्य कुरा कारखानामा काम चलेको छैन। हैन, हैन काम सुरू हुने बेला भएको छैन। बिहानको ६ मात्र बज्दै छ।
कोही उठेकै थिएनौँ। सेक्युरिटी गार्डसम्म निन्द्रामै थियो। मेसिनहरू खोलिएका छैनन्। विद्युत सर्ट हुने सम्भावना पनि छैन। दश घन्टा अघिनै बन्द गरिएका मेसिनहरू पनि सबै सेलाईसकेका हुनुपर्ने। एकाबिहानै कसैले चुरोट खाएर ननिभाई ठूटो फाल्यो भनौँ कोही आइपुगेकै छैनन्। तर, कसरी लाग्यो आगो? कुरा रहस्यमय छ।
'अब चैं खिसुक्सा फिक्स जल्न थाल्यो। सकिने भयो।' साथीहरू रमिता हेर्दै कल्याङकुलुङ गर्दैछन्। मेरो मन पनि कताकता नरमाइलो गरी दुख्न थालेको छ। साथीहरूले सबैथोक जोगाएका छन्। उनीहरूलाई पिर छैन। म कारखानाको सबैभन्दा पुरानो तर म नै छु एक्लो र रित्तो पनि।
करिब आठ वर्ष अघि म यो कारखानामा छिर्दै गर्दा हातमा एउटा राहदानी थियो। र, आज (अहिले) पनि सिर्फ हातमा राहदानी छ। उसो त खिसुक्सामा मेरो खासै केही थिएन। खिसुक्सा एउटा अस्थाई ठेगाना न हो। एउटा दराज थियो। दराजभित्र केही जोर अर्धाना लुगा थिए। जसलाई माया मार्न सकिन्थ्यो। धेरै साथीहरूले माग्दा छैनन् भन्दै लुकाइराखेका केही किताबहरू थिए।
कयौँ पटक पढेको देवकोटाको 'लक्ष्मी निबन्ध संग्रह' थियो। लामिछानेको 'एब्स्ट्र्याक चिन्तन प्याज' थियो। गोतामेको घामका पाइलाहरू थियो। सँगै रमेश सायनको 'भागेर भूगोलभरि' थियो। भागेर भूगोलभरि विशेष यस मानेमा पनि थियो कि जुन कविता संग्रह मैले लेखकको सेल्फबाट चोरेको थिएँ।
अर्को कुरा के भने उक्त प्रति लेखकसँग भएको अन्तिम प्रति थियो। अझै मुख्य कुरा के भने लेखकलाई त्यो प्रति मसँग छ भन्ने कुरा थाहा थियो। कति पटक उनले मसँग मागेका पनि थिए। हैन, हैन मागेका हैन- बिन्ति नै गरेका थिए। अन्तिम प्रति हो भनेर रुनै खोजेका थिए। मैले उनलाई बार बार बाल हानिरहेको थिएँ।
पछि सन्तानलाई देखाउन चाहिन्छ, दे न भन्दा म देखाउँला भनेको थिएँ। र, अहिले त्यो किताब जल्दै थियो। या जलिसकेको थियो। लेखकसँग नभएको र बजारबाट पनि हराइसकेको किताब अब लेखकका सन्तानलाई म के देखाउँ?
दराजभित्र एउटा ल्यापटप र क्यामेरा पनि थिए। ल्यापटप मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा थियो। किनभने त्यसमा केही मूल्यवान सम्पतिहरू थिए। मैले भर्खरै लेखि सिध्याएको उपन्यासको पान्डुलिपि थियो। करिब नब्बे हजार शब्दहरू जोर्न मलाई वर्षौँ लागेको थियो।
त्यति मात्र कहाँ हुनु, ती नब्बे हजार शब्दहरू मैले बालापानदेखि यो उमेरसम्म आइपुग्दा भेला पारेका, सिकेका, संगालेर राखेका शब्दहरू थिए। अनुभूतिहरू थिए। रहरहरू थिए। सपनाहरू थिए। र, तिनै शब्दहरू क्षणभरमा खरानी भएर डढ्दै थिए। सकिदै थिए। हराउँदै थिए।
ल्यापटप त बिमाले क्षतिपूर्ति देला तर ति शब्दहरू? अहो, कसरी म जलेको हेर्न सक्थें हुँला र! तर, हेर्नु थियो। सहनु थियो। ल्यापटपमा केही महत्वपूर्ण यादहरू सम्झाउने तस्बिरहरू थिए। परिवार आफन्तहरूका फोटाहरू थिए। भुपू मायालुसँगका तस्बिर र मिठा बातका रेकर्डहरू थिए।
उ वर्षौँ पहिले मलाई छाडेर पराइकी हुँदा बरू रिसाएको थिएँ, दुखेको थिइनँ। अहिले पो मनमा कताकता चसक्क दुख्यो। अहिले पो मनमा कताकता ब्रेकअपको अनुभूति भयो।
असलमा मान्छे यादहरू संगालेर बाँच्दो रहेछ। यादहरूले मान्छेलाई बचाउँदो रहेछ। जीवन त एउटा प्रकृया न रहेछ। यादहरू भुल्ल बहुत सकस पर्दो रहेछ। नत्र किन वर्षौँ पहिले छाडेर पराइकी भएकी भुपू मायालूलाई सम्झिरहेको छु म, जसलाई यहाँ सम्झनुको तुक नै छैन? जसलाई यहाँ सम्झनु पर्ने कारण नै छैन?
यादहरू बिना प्रसंग आउँदा रहेछन्। यादहरूले बिना कारण दुखाउँदा रहेछन्। बिना कारण खुसी बनाउँदा रहेछन्।
दराजभित्र केही डकुमेन्टका प्रतिलिपिहरू थिए। तिनै प्रतिलिपिहरूसँग केही हजारका नोटहरू थिए। र, तिनै हजारसँग एउटा पचासको नोटपनि थियो। डकुमेन्टको प्रतिलिपि म फेरिपनि लिन सक्छु। हजारका नोटहरू म फेरि संगाल्न सक्छु। अरू अरू खुद्रा पचास त त्यसैपनि कमिएला तर त्यही पचासको नोट मेरो जिन्दगीको महत्वपूर्ण नोट थियो। म कसरी त्यसलाई जल्न दिन सक्थेँ र?
करिब पाँच वर्ष अघिको कुरा हो। छुट्टीमा म दशैं मनाउन घरमा पुगेको थिएँ। विदेश भासिएपछिको पहिलो दशैं थियो त्यो। कमाउन थालेपछिको पहिलो दशैँ थियो। अथवा लामो समयपछि घरमा सबै सदस्यहरू जम्मा भएको दशैं थियो। उल्लास थियो।
टिकाको दिन आमा (हजुरआमा) ले पहिलो पटक मलाई टिका लगाइदिएर पैसा दिनुभयो। अचम्म! म आफैं कमाउने छु। धेरथोर गोजीमा पैसा पनि छ। मैले आमाका गोडामा राखेर ढोग्नुपर्ने हो। तर, कस्तो अचम्म आमाले उल्टै मलाई दक्षिणा दिदैँ हुनुहुन्छ! बालापनमा चेलीहरूलाई टिका लगाएर दक्षिणा दिदा मलाई पनि भनेर कलह गर्थें। आमा के के भनेर फकाउनु हुन्थ्यो। पैसा दिनु हुन्थेन। आज किन यसो गर्दै हुनुहुन्छ?
म थापौँ कि नथापौं दोधारमा परेँ। अरू समय भए म चुपचाप त्यो थाप्दो हुँ। अलिपर पसलमा गएर चुरोट र कोक खाएर उडाउदो हुँ। तर, मसँग खर्चको अभाव थिएन। प्रश्नवाचक नजरले आमाका अनुहारमा हेरेँ।
'कहाँ हो कहाँ दूर दराजमा पुगेको छस्। भन्या बेला देखभेट गर्न पाइदैन। भन्या बेला बोल्न पनि पाइदैन। अर्काको देश, अर्काको भाषा, अर्काको खाना के हो के नि। यो राख। दुःख बिमार पर्दा, एक्लो महशुस हुँदा सम्झनु, म तँसँगै छु। तेरै वरीपरि छु। मेरो शुभेक्षा। मेरो चिनो।' आमाले मुसुक्क मुस्कुराएर भन्नुभयो।
मेरा गह भरिइहाले। आमासँगै उभिनु भएका ममी बुवाका नजरमा हेरेँ। उहाँहरूका पनि गह भरिएका रहेछन्। अहो! मातापिताले किन यतिधेरै प्रेम गर्छन् आफ्ना साखा सन्तानलाई? आफ्ना लालाबालाहरूलाई?
दशैं बित्यो। आमाले दिएको त्यही नोटमा अनगिन्ति शुभेक्षा बोकेर म परदेश फर्किएँ। म परदेश फर्किएको करिब ६ महिनापछि आमाले अप्रत्यासित रूपमा सदाका लागि हाम्रो साथ छाड्नु भयो। आमालाई अन्तिम बिदाइका लागि म घर जान पनि पाइनँ। हो, त्यही पचासको नोट थियो आमाको अन्तिम चिनो मेरो लागि।
त्यो पचासको नोट नोट मात्र थिएन, करोडौ खर्बौँ... हैन, हैन संसारमा त्यही एउटा नोट थियो जुन फेरि कतै पाउँदिनँ थिएँ मैले। मलाई लाग्यो, आगोले त्यो पचासको नोट मात्र जलाएन, सँगै मेरी आमालाई पनि जलायो। आमा हामीबाट बिदा हुनु भएको खबर सुनेर म त्यति ब्याकुल भएको थिइनँ होला, जति आज त्यो नोट जलेको सम्झिएर ब्याकुल भैरहेको छु।
मलाई लागिरहेछ त्यो नोट, नोट मात्र हैन, त्यो आमाको आत्मा हो। नोटसँगै आमा पनि जल्दै हुनुहुन्छ।
दराजमा एउटा डायरी थियो। डायरीभित्र धेरै थोक थिए। कहिलेकाहीँ साहुले गाली गर्दाका नोस्टल्जियाहरू टिपेर राखेको थिएँ। कहिलेकाहीँ साहु खुसी भएर ढाप मार्दाका खुसीहरू टिपेर राखेको थिएँ। कतै यात्रामा जाँदाका मिठा अनुभूतिहरू टिपेर राखेको थिएँ।
दराजभित्र एउटा खुत्रुके छ। हैन हैन, दराज आफै खुत्रुके हो जसमा मैले लामो समय घर परिवारदेखि दूर परदेशमा रहँदा भोगेका, बिताएका किम्ती समयका टुक्राहरू सञ्चित गरी राखेको छु। असलमा त्यही दराज मेरो घर हो। मेरो संसार हो। मेरो दुनियाँ हो। जोकोहीले आफ्नो घर दनदन जलेको कसरी हेर्न सक्छ र? जल्न त साहुको कारखाना घर जल्दै थियो। तर, त्यही घरभित्र मेरो घर पनि त जल्दै थियो।
मलाई अब पश्चताप हुन थाल्यो- मैले राहदानी जोगाउनुको साटो त्यो आमाको अन्तिम चिनो किन जोगाइन? वर्षौँ लगाएर लेखिराखेको त्यो पान्डुलिपिको माया किन लागेन मलाई? राहदानी त म फेरि बनाउन सक्थेँ तर आमाको चिनो कहाँ पाउनु? पर्स त म अर्को किन्न सक्थेँ तर त्यो पाण्डुलिपि कसरी फेरि लेख्नु? मान्छेले अभरमा क्षणिक सोच्दो रहेछ। सामुन्नेको मात्र देख्दो रहेछ। सहज मात्र खोज्दो रहेछ।
साथीहरू माइ डे भन्न थाले। टिकटक भन्न थाले। झल्यास्स मैले मोबाइल सम्झिएँ। ला! मोबाइलत सिरानिमै सुतिराखेको रहेछ। मैले त मोबाइल पनि जोगाएको रैनछु। प्राण जोगाउने ध्याउन्नमा फाल्तु केही कुरा सम्झिदा रहेनछन्। साँच्चै प्राण जोगाउनु ठूलो काम रहेछ।
फेरि सोचें 'दराज जल्यो त के भयो, म त जिउँदो छु नि!' जिउँदो भइरहनु भयंकर कुरा रहेछ। असलमा मान्छे बाँच्नकै लागि त बाँचिरहेको हुँदो रहेछ। हामी त मृत्युको भयले पो बाँचिरहेका रहेछौं। धन, सम्पति, माया, मोह, यादहरू त आफैं बन्दै जाने रहेछन्।
आगो सल्किएको समय... हैन हैन, आगो कतिबेला सल्कियो थाहा छैन। हामी सुरक्षित ठाउँमा आइपुगेको करिब पन्ध्र मिनट भैसकेको छ। हामीले बचाउन नसकेका सबैथोक माया मारिसकेका छौँ। यतिनै बेला हाम्रो आसाको त्यान्द्रो जन्मियो। टिनिनि टिनिनि घन्टी बजाउदै पहिलो दमकल आइपुग्यो। दमकलसँगै एम्बुलेसपनि आयो। प्रहरी भ्यान आइपुग्यो।
केही सेकेन्डपछि अर्को दमकल आइपुग्यो। केही मिनटपछि अर्को दमकल, अर्को एम्बुलेन्स, अर्को प्रहरी भ्यान। करिब दश मिनट जतिमा ठूला स्याना गरेर बाइस वटा दमकल भेला भए। चार पाँच वटा एक्बुलेन्स। प्रहरीहरू, रेस्क्यु टिमका मेम्बरहरू।
सोचेभन्दा चाँडो आगो निभ्यो। सोचेजति क्षति भएनछ। आगो निभेर धुवाँ हटेपछि बल्ल लामो श्वास फेरें। भवनको एक भाग मात्र जलेको रहेछ। हाम्रो खिसुक्सातिर आगो पुगिहालेको रहेनछ। आगो निभेपछि पो थाहा भयो आगो लागे ठाउँमा तीन सिलिण्डर एलपिजी ग्याँस रहेछन्। १५ मिनट दनदन आगो दन्किदा पनि सिलिण्डरहरू धन्न पड्किएन छन्।
धन्न हामी बाँचेछौँ। नत्र सुरक्षित भनेर जोगिएपनि स्वाहा हुने रहेछौँ। अघिनै भनेँ नि बाँच्नु भयंकर कुरा रहेछ।
अब मरिदैन भन्ने भएपछि हतार कोठामा छिर्यौँ। कोठा हेर्नहुने छैन। भुईं, सिलिङ, बेड, लुगाहरू, ट्युबलाईट जताततै मोसै मोसो, धुवै धुवाँ, पानीनै पानी। कति प्रयोग गर्न सकिएला कति नसकिएला। तर, मलाई लागिरहेको छ केही भएको छैन।
जिन्दगीमा सबैथोक गुमे भनेर माया मारेका चिजहरू सकुशल पाउँदा औधी खुसी लाग्दो रहेछ। वर्षौँ पहिले हराएर माया मारिसकेको सन्तान अप्रत्यासित घर फर्किदा कति खुसी हुदिहुन् आमा? हो त्यस्तै खुसी भयो मेरो मन। सबैभन्दा पहिले दराज खोलेँ र ल्यापटप चुमेँ। आमाको चिनो चुमेर पर्समा घुसारेँ।
हामी फेरि बाहिर निस्कियौँ। कारण कोठामा बस्न सक्ने अवस्था छैन। अझैपनि श्वास फेर्न सकस छ।
बल्ल कारखानाको मालिक... हैन हैन, साहुको छोरा (म्यानेजर) आइपुग्यो। केही सोध्ला आशा थियो। किनकी उ हाम्रो अस्थायी अभिभावक हो। तर, कस्तो अचम्म उसले त हाम्रो मतलबै पो गरेन। उसले त हामीलाई मान्छेनै पो सम्झिएन। छेवैमा भएका हामीलाई हेर्दै नहेरी आगो लागे ठउँमा गयो र घोसे मुन्टो लगायो।
बरू पाता काट्ने डिपार्टको टाउके आयो र काम गर्दा लगाउने ड्रेस चेन्ज गरेर आओ भन्यो। हामीले गन्धे भएपनि ड्रेस लगाएर झर्यौं। केहीछिन त्यतै उतै हेर्यौं। डुल्यौं। ८ बज्यो। बाँकी १५ मिनट पनि त्यसै गयो। अब अघिकै टाउके आयो र आ-आफ्ना डिपार्टमा छिरेर काम गर्न थाल भन्यो।
उफ! हामीलेत अझै मुखसम्म धोएका छैनौँ। ब्रस गरेका छैनौँ। केही खाएका छैनौँ। भरे कसरी रात गुजार्ने केही मेसो छैन तर हामीले त काम पो गर्नुपर्ने भयो।
अबेर साहु आयो। कति काम गरे? बिहान कति बजेबाट काम थाले? सबै जाँचबुझ गर्यो। डढेको डिपार्ट बाहेकका डिपार्टमा काम नरोकिएको देखेर दंग पर्यो। तर कस्तो अचम्म- साहुले पनि हामी कसैलाई कस्तो छ भनेन।
साहुका लागि सबैभन्दा ठूलो कुरा काम रहेछ। मजदूर मानव हुँदो रहेनछ। साहुका नजरमा मजदूर एक मेसिन हुँदो रहेछ।
बेलुका छुट्टी भयो। हतार कोठामा आयौँ। थकान पनि नभनी कोठा पुसपास पार्यौँ। बेडिङहरू टकटक्यायौँ। मोसो लागेकाहरू उल्टा बनाएर ओच्छ्यायो। कोठामा रूम स्प्रे छर्कियौँ। दुःख सुख बस्न हुने बनायौँ।
अचम्मको कुरा के छ भने यति धेरै कुरा हुँदा पनि कारखानाको तर्फबाट हाम्रो होस्टलमा कोही छिरेन। के भयो होला? कसैले चासो राखेन। कस्तामा बस्या होलान्? रात कसरी कट्लान? कसैलाई चिन्ता भएन।
विगत ८ वर्षमा नदुखेको चित्त आज खुब दुख्यो। खुब नरमाइलो लाग्यो। हामीले काम गर्यौं। पारिश्रमिक पायौं। हाम्रै कारण हामीले भन्दा धेरै साहुले नाफा कमायो। तर, उसलाई हाम्रो फिक्री भएन। हाम्रो मतलब भएन।
बिहान पनि निन्द्रा नपुगेको र थाकेका कारण अलि चाँडै हामी सुत्यौँ।
पख्नुस्, पख्नुस् कहानी अझै सकिएको छैन।
करिब एघार बजे राति आगो फेरि सल्कियो। फेरि दन्किन थाल्यो। बिहान निभाएको भनिएकै ठाउँबाट सल्किएछ। निभिसकेको रैनछ। रातको सिरसिरे बतासले आगो जोरेछ।
फेरि भागाभाग भयो। यसपटक धेरै सल्कन नपाई आगो हामीहरूलेनै नियन्त्रणमा लियौँ। फानेल (कोरियन प्रबिधिमा बनेका पाता) मा सल्किएको आगो हत्तपत्त निभ्दो रहेनछ। फानेल बनाउदा दुई फलामका पात बीचमा न्यानो बनाउने फम हालिएको हुन्छ। आगो त्यही फममा लुकिबस्दो रहेछ। फम कतिसम्म ज्याद्रो हुँदो रहेछ भने पानी हालेपनि नभिज्दो रहेछ। कर्कलोका पातमाथी पानी परेझै हुँदो रहेछ।
रातको करिब १ बजे पातमाथि मुटु राखेर हामी बेडमा पल्टियौँ। थाकेर चुर छौँ। सुत्ने बित्तिकै भुस भएछौँ।
तीन बजे राति फेरि आगो सल्कियो। फेरि भागाभाग भयो। हतार-हतार निभाइयो। अब त नसल्केला भनेर सुत्यौँ। बिहान पाँच बजे फेरि सल्किएछ। तर, कसैले थाहा पाएन। सेक्युरिटीले थाहा पाएर निभाएछ।
बिहानको आठ बज्यो। काम सुरू भयो। साहु, म्यानेजर कसैले राति सुत्यौ कि सुतेनौ भनेर सोधेन। के भयोसम्म भनेनन्।
खासमा कोरियाका कारखानाहरूमा यसरी आगो लाग्नु खासै ठूलो इस्यु हैन रहेछ। सबै बिमाले हेर्दो रहेछ। साहुहरूलाई त फाइदा पो रहेछ। डढेर सबै खरानी भएपनि नयाँ आउँदो रहेछ। काम रोकिनुसँग मात्र सरोकार हुँदो रहेछ।
आगो कसरी लाग्यो त?
आगो लाग्नुको कारण अनौठो छ।
यम्हावानमा बिर्काहरू कपडा र केही केमिकलको सहायतामा एकदमै प्रेसरमा घोटिन्छ। यसरी घोट्दा एलुमुनियमको र कपडाको धुलो निस्कन्छ। काम सकेपछि त्यो धुलो उठाएर बोरामा हालेर राख्ने गरेको हुन्छ। त्यही बोराको धुलोमा अत्याधिक तापका कारण आगो जोरिएछ। भुसको आगोझैं रातैभरि सुस्तरी फुस्फुसाएछ। बोरा फलेकमाथि भित्तामा अडेस लगाएर राखिएको थियो सायद त्यहीबाट फानेलमा आगो सरेछ र दन्किएछ।
अँ, यो कारखानाले दिएको कारण हो।
हामीलाई लागेको छ- कोरियनहरू एकदमै धेरै चुरोट पिउँछन्। र, उस्तै हतारे पनि हुन्छन्। हुनसक्छ साँझ काम सकेर चुरोट पिए। राम्ररी ननिभाई हिँडे। अथवा हुनसक्छ चुरोटबाट आगोको टुक्रा उडेर त्यही फोहर धुलोमा पर्यो।
खैर, जेसुकै होस्। हामी बाँच्यौँ। हाम्रो सम्पूर्ण जोगियो। बाँच्नु ठूलो कुरा हो। जोगिनू ठूलो कुरा हो।