यात्राको क्रममा पुस्तक पढ्नु, बाहिरी प्राकृतिक सौन्दर्यताको मात्र नभएर भित्री अन्तर्मनको यात्रा पनि हो।
निस्सासिएर बन्द कोठा भित्रभन्दा खुला आकाश, चराचुरुंगीको मीठो गीत,मन्द हावाको स्पर्श र कलकल बग्ने पानीको संगीत सँगसँगै पढ्न पाउँदा छुट्टै अनुभूति हुन्छ। किताबसँगै मन र मस्तिस्क दौडिरहेको बखत टक्क एकछिनको हरियाली विश्राम कुनै थेरापीभन्दा कम छ जस्तो मलाई चाहिँ लाग्दैन।
यो कुनै प्रचार प्रसार या म पढन्ते हो भनेर देखाउन खोजेको हैन।
प्रकृतिमा गएर पढ्नुको मज्जा एक दुईचोटि प्रयोग गरेर हेर्नुस् फरक तपाईं आफैंले महशुस गर्नु हुनेछ।
चर्चित कवि मनु मन्जिलझैं धेरै विदेशीहरू पनि हातमा किताब हरदम च्यापिरहेको देख्न पाइन्छ चाहे त्यो विदेशमा होस् या नेपाल घुम्न आउँदा नै।
केटाकेटी बेलादेखि नै मनु सरलाई हातमा किताब हरदम च्यापिरहेको देखें। म बसेको ठाउँ इटहरीका अर्का समालोचक रामजी तिमल्सिना पनि कुनै न कुनै किताबसँगै भेटिनु हुन्छ।
यो कुरा स-साना नानीहरूले सुसुप्तरूपमा अवलोकन गरेका हुँदा रहेछन् र यसको गहिरो प्रभाव हुने रहेछ। साधुवाद सरहरूप्रति हाम्रो युवापुस्तालाई पुस्तक प्रतिको मोह र लगाव सिर्जना गर्न उत्प्रेरित गर्नु भएकोमा।
हामीजस्ताले चाहिँ धेरै उडाएकै छौ होला खुब... देखाएको... जान्ने भाको... हिरो भाको... भन्दै।
अन्नपूर्ण सर्किटदेखि पोखरा, चितवन, हुम्ला र जुम्ला जहाँ पुगे पनि जहाँ ‘गोरा’ छन् उसको हातमा किताब हुन्छ। किताब उनीहरूको जीवनशैली हो र विकासको एउटा दरिलो खम्बा पनि। आखिर विकसित देशहरू त्यो अवस्थामा आइपुग्नुमा त्यहाँको किताब संस्कृति पनि एउटा प्रमुख कारण झैं लाग्छ।
विद्यालय सुरू गर्न लागेकादेखि जिन्दगीको उत्तरार्धमा रहेका वृद्धवृद्धाको हातहातमा पुस्तक छन्। उपहार माग्नेले पनि पुस्तक नै माग्या छन् दिनेले पनि किताबै उपहार दिएका छन्। हाम्रोतिरको चाहिँ अलिक भड्किलो छ उपहार संस्कृति। आवश्यकतामात्र हैन उपहार पनि मोबाइल नै धेरै हुन्छन्।
अमेरिका बस्नेसँग के ल्याइमाग्ने भन्दा आइफोन, अस्ट्रेलिया बस्नेसँग ट्याब्लेट, युरोप बस्नेसँग ल्यापटप र खाडी देशबस्नेहरूको उपहार बडेमानको टेलिभिजन। किताब ल्याउने देश नेपालीहरू गएकै छैनन् झैं लाग्छ।
यो उन्नति र प्रगतिले गर्दा बच्चाबच्चीहरू ह्यारी पोर्टरभन्दा मोटु पत्लुको जानकार छन्।
अभिभावकलाई भन्दा रुद्रालाई प्रेम गरिरहेछन् अनि डोरेमन र डिज्नी नै उनीहरूलाई आफ्नो संसार लागिरहेछ।
तपाईं हामी कत्तिको जानकार छौं हाम्रो नानीहरूले नेपाली भाषा भन्दा पहिले हिन्दी सिकिरहेका छन् मोटु पत्लुको नामले। हामीहरू नानीहरूलाई मोटु पत्लु हातमा थमाइदिएर भाषिक र सांस्कृतिक अतिक्रमणदेखि सीमा अतिक्रमणको आवाज बुलन्द गर्दैछौ बाहिर। हामीलाई हाम्रो घरभित्रै टिकटिक गरिरहेको टाइम बमबारे बेखबर छौं।
घरमा यो सबै गरेर अनि दोष जति विद्यालयलाई थोपरेर हुन्छ।
समय अझै बिग्रिसकेको छैन उमेर अनुसारको किताब हाम्रो नानीहरूको हातमा थमाइदिनुहोला, स्मरण रहोस् घर नै पहिलो विद्यालय हो - संस्कार र शिक्षा दुवैको।
अझ अहिले त टिकटक र पब्जी आतंक छ। हाम्रो प्राविधिक प्रगतिभनेको फेसबुक, इन्स्टाग्राम र ट्वीटर हुन्। जसले भएभरका युवाहरूको ऊर्जाशिल समय ‘ब्ल्याकहोल’ले झैं खाइदिएको छ।
कुनै बेला तास,क्यारमबोर्ड र लुडो थियो अहिले ती अनलाइन छन्। देशले प्रविधिमा प्रगतिमा दरिलो फड्को मारेको छ... हातहातमा मोबाइल, घर घरमा इन्टरनेट अनि छिनछिनमा फेसबुक, दिनभरि टिकटक र रातभरि पब्जी त्यतिले नपुगेर साथमा आँखामिचीमिची ब्याट्री नसक्किउञ्जेल युट्युब। अनि हामी ‘प्रविधिको दासमात्र हैन, प्रविधि पागल भएर प्रविधि डिप्रेसन’मा पनि गैसकेका छौं।
हाम्रो विरताले गर्दा यो देश भौगोलिक उपनिवेश कहिले भएन तर यही प्रविधि पागलपनले अब हुँदैछ भौगोलिक हैन मानसिक रूपमा।
हामीमा भएका धेरै बेथितिहरू हाम्रो ज्ञान र कर्मका उपज हुन्।
हेर्नुस् कमाइको राम्रो हिस्सा गर्वका साथ किताबमै खर्च गर्छु, म चाहन्छु तपाईले पनि गरेको राम्रो। यो राम्रो प्रतिफल दिने लगानी हो। आजकाल म पनि छापा किताब कम, डिजिटल धेरै पढ्छु। एक्लै यात्रा गर्दा या त किताब, हैन भने आइप्याड बोक्छु। एकचोटि तपाईं पनि गरेर हेर्नुस् न है। अर्कोचोटि तपाईंले सामाजिक सञ्जाल पोस्ट गर्दा कुनै सुन्दर ठाउँमा तपाईंको मनपर्ने पुस्तकको साथमा हेर्न आतुर छु।
मैले फोटोमा पढिरहेको किताब चाहिँ तीन पटक पुलित्जर पुरस्कार विजेता थोमस एल फ्रिडम्यानद्वारा लिखित ‘द वर्ल्ड इज फ्ल्याट’हो।
मैले १२ कक्षा सकेर किनेको १२ वर्ष पहिले। पुस्तकमा कसरी विश्वको आर्थिक खेल मैदान प्रविधिको विकासले गर्दा समतल भइरहेको छ भन्ने कुरा दर्शाइएको छ।
अब कोरोनाले गर्दा पनि सबै बिकसित, विकासउन्मुख र गरिब राष्ट्रहरूलाई एउटै धरातलमा ल्याएर छोडिदिएको छ। यसलाई कसरी जोड्न सकिन्छ भन्ने कोणबाट हेर्न फेरि दोहोर्याएर पढ्दैछु।
हेर्नुस् मोबाइल र टिभी थोत्रा हुन्छन्, यो १२ वर्ष पुरानो किताब जस्ताको तस्तै छ र फेरि उपयोग भैरहेछ। कस्तो राम्रो लगानी !
किताबजस्तै फेरि पनि दोहोर्याएँ है... अर्कोचोटि तपाईंको सामाजिक सञ्जाल पोस्ट कुनै सुन्दर ठाउँमा तपाईंको मनपर्ने पुस्तकको साथमा हेर्न आतुर छु।