बाह्र कक्षाको अन्तिम परीक्षा आउँदै गर्दा मेरा सहपाठीहरूमाझ विदेश पढ्न जाने विषयलाई लिएर हरेक दिनजसा कक्षाकोठा गुन्जायमान हुन थाल्यो। परीक्षा सकियो, उनीहरू धमाधम बागबजार क्षेत्रका कन्सल्ट्यान्सीहरू धाउन थाले। एक वर्षको अन्तरालमा उनीहरू सबै विदेश गए।
त्यो वर्ष आजसम्मकै सबैभन्दा धेरै विद्यार्थी नेपालबाट अमेरिका गए। जो अमेरिका जान सकेनन्, उनीहरू अस्ट्रेलिया गए। अस्ट्रेलिया पनि जान नसक्ने ‘अभागीहरू’ युरोप गए, चीन गए, भारत गए, नामै नसुनेका देश गए। मेरो विदेश जाने आफ्नै रहर थिएन, मेरो परिवारको पनि थिएन, मेरा अनन्य मित्रहरूको पनि थिएन। म स्वदेशमै बसेँ, उनीहरू पनि यतै पढ्न थाले।
र त्यो वर्ष हामी युवाहरू बूढाहरूसँग मिलेर निरङ्कुश राजतन्त्र फाल्यौँ। म आफै १९ दिन जनआन्दोलनमा सहभागी भएँ। घर परिवारलाई त म जुलुसमा भाषण सुन्न जान्छु भन्ने गरेको थिएँ। तर म कीर्तिपुर र कलङ्कीमा आन्दोलनको अग्र पंक्तिमा हुन्थेँ, मेरा पिता २०३६ सालमा जस्तै, मेरा काका २०४६ सालमा जस्तै। मारिन पनि सक्थेँ तर डर लागेन, डेग काँपेन। जनआन्दोलन–२ मा मैले गरेको योगदान खेर गएन। सशस्त्र द्वन्द पनि साम्य भयो। मेरो मनमा अपार उत्साह थियो, यो देशलाई लिएर।
त्यो बेला इन्टरनेट त थियो तर सूचनाप्रबिधिको पहुँच आजको जस्तो सहज भैसकेको थिएन। विदेशमा हाम्रा केटाहरूले के गरीरहेका छन्, हामीहरूलाई प्रष्ट थाहा थिएन। समय समयमा इमेल गर्थे, एमएसएन, याहू मेसेन्जरमा च्याट पनि गर्थेँ तर के काम गर्छौ भनेर सोध्न कहिले मन लागेन, किनभने मध्यम र अधम स्तरका विद्यार्थीहरु भाँडा माझ्छन् भनिन्थ्यो।
दिन, वर्षहरु बित्दै गए। नेपालमा त्यसपछि बन्दहड्ताल, संबिधानसभाको चुनाव, संबिधान लेखन, संघीयता संस्थागत गर्ने नाउँमा पूरा दशक बित्यो। यो बेला उल्लेखनीय डोजरे विकास पनि भयो। यही समयमा हामी यताका केटाहरुले पनि स्नातक, स्नातकोत्तर (ब्याचर्लस/मास्टर्स) सकायौँ। नयाँ-पुराना, नेपालमा काम लाग्ने÷/लाग्ने विषयहरुमा।
हाम्रा प्राध्यापकहरु कि डाक्टर, इन्जिनियर हुन नसकेका मान्छे, कि पैसा कमाउन नसेकेका मान्छे, कि गलत क्षेत्रमा आइपुगेका मान्छे, कि आत्मग्लानिले चुरचुर मान्छे। धुरन्धर विज्ञ नै भएपनि हामीलाई अध्यापनमा गहिरो रुची हुने एक जना पनि मनुवाले पढाएन भन्दा हुन्छ। विचरा, मास्टर भनिने यो प्रजाति अनेक कारणले, अनेक तवरले पीडित।
यो वर्गले हामीलाई पनि आखिर पीडित बनाइ छाड्यो। भाग्य भन्नुपर्छ, जागिर त हामी सबैले पायौँ तर शुरुवाती तलब आफूले कलेजमा महिनाबारी फिस तिरेको भन्दा केही हजार बढी। एक्लो जिन्दगी धान्न र समोसातरकारी खानसम्म पुग्ने पाराको कमाइ। एक/दुई वर्ष अलमलमै बिते। न भने जस्तो जागिर पाइयो, न नेपालको पढाइले सन्तोष भयो मनमा।
यसरी नेपालको शिक्षा क्षेत्रबाट ठगिएर, श्रम बजारबाट हेपिएर मेरा यारहरू पनि एकएक गर्दै परदेश गए। बिदाइमा म त रोइनँ तर यिनका परिवार एयरपोर्टमा ब्यापक रोए। यही दौरानमा मेरो भाइ, बहिनीहरू, फूपहरु, मामाहरु, विदेश गए। बिदाइमा म त रोइनँ तर मेरा परिवारका सदस्यहरुले एयरपोर्टमा बरर आँसुका धारा बगाए।
मुगलानको बाटो लाग्दा खसम, यसरी नै दोबोटोमा आँसु झारे होलान् नवविपवाहिताहरुले, लाहोर जाने बीर बलभद्र कुँवरका प्रियजनले, त्यसपछिका वर्षहरुमा लाहुरेकी आमाले। कसलाई बिछोडीने मन हुन्छ यो संसारमा? कसलाई परदेश भासिने रहर हुन्छ यो जगतमा?
अब नेपालमा अंग्रेजी माध्यममा पढेको भनेर के गर्नु अंग्रेजको देशमा कफी मगाउन नजानेपछि, मेरो संगीहरुलाई त्यही बखत आफूले गर्नुपर्ने संर्घषसको सिनेमा आँखा अगाडि र्छलङ्ग भयो। भाँडा माझे, सफाई कर्मचारी भएर काम गरे, स्याउ टिपे, ग्यास स्टेशनमा काम गरे, इन्डियनकोमा काम गरे।
त्यो संघर्ष आज सफल भएको प्रतित हुन्छ। मेरा बालसखाहरुमध्ये आज कोही पिएचडी गर्दैछन्, कोही कोडर/प्रोगामर, डेटा एनालिष्ट छन्, कोही नर्स छन्, कोही रेष्टुराँ गर्छन्, कोही इन्जिनियर, कोही नेभीमा छन्। कोही मनग्गे पैसा कमाउन लागेका छन्, कामको मतलब छैन। कोही गुमनाम छन्, मरे बाँचेको अत्तोपत्तो छैन।
उनीहरुमध्ये अधिकतरलाई विदेशको विश्वविद्यालयले शिक्षामा ठगेन, त्यहाँको श्रम बजारले चिन्यो, श्रमको सम्मान दियो। त्योभन्दा महत्वपूर्ण कुरा नेपालको भन्दा दशौँ–बिसौँ गुणा बढी तलब–ज्याला दियो। सच्चा कम्युनिष्ट र सन्यासी बाहेक कसलाई पैसा कमाउने रहर–कहर हुँदैन यो पुँजीवादी अर्थ व्यवस्थामा?
उनीहरु बीचबीचमा नेपाल आएर धुधामसँग बिहे गरे, श्रीमती उतै लगे। विदेशमा मिहेनतले दिएको सबै छः पैसा, परिवार, पद, ग्रीनकार्ड/पीआर। तर देश छैन, बाआमा छैनन्, आफ्नो संस्कार–संस्कृती छैन, भाषा छैन, हावापानी छैन। मन आधा जन्मभूमितिर छ, आधा कर्मभूमि तिर। तरपनि उनीहरु विदेशमा भिजीसकेका छन्। भाषा जानीसके, संस्कृती बुझिसके, साथीभाई बनाईसके।
कसैका छोराछोरी भईसके वा हुने क्रममा छन् र नयाँ पुस्ता त त्यही देशका खाँटी नागरिक हुने भैहाले। प्रश्न खाली बुढ्यौली लाग्दै गरेका बाआमाको छ, त्यो पनि ढिलोचाँडो समाधान होला। पछिल्ला पन्ध्र वर्षमा उनीहरुको जीवनमा स्थायित्व आयो वा आउने क्रममा छ तर के भयो त यो देशको जीवनमा?
मेलम्चीको पानी अझ आएको छैन। राजनीतिमा उही बूढाहरु छन्। बूढो हुनु कुनै असक्षमता होइन तर यी बूढाहरु खुरापाती छन्। वार्षिक प्रतिव्यक्ति आय एकलाख र केही हजार भएको यो मूलुक तर काठमाडौँका भीरलाई दश लाख आना पर्छ। नेपाली माध्यमका सरकारी विद्यालयका मास्टरले आफ्ना छोराछोरी अङ्ग्रेजी मिडियमका प्राइभेट स्कुलमा पढाउँछन्।
अस्पताल गयो कि गरगहना बेच्न पर्ने होकी भन्ने डर हुन्छ। एउटा फुच्चे कारलाई १८ लाख नेपाली रुपैयाँ पर्छ। तर पनि खुसी मान्नु पर्छ, संसारका सबैभन्दा महंगा गाडी नेपालका सडकमा गुडेकै छन्। सरकारी कर्मचारीको तलब दशैँमा एउटा खसी किन्न प्लस एक दिन म्यारिज खेल्न पुग्नेजति पनि छैन तर अनेक उपाय जानेका छन्, उनीहरु बाँचेकै छन्।
जातपातका नाउँमा, बोक्सीको नाउँमा मान्छे मारिनु पर्छ, छाउपडी छ। अझ पनि विकासे संस्थाले हात धुन सिकाउनु पर्छ। एसियामै एक/दुई नम्बरमा दरिने दरमा धर्मान्तरण भइरहेको बुझिन्छ। अर्को गजबको कुरा, २५० मीली चीनीपानीको ४० रुपैयाँ भाउ छ, त्यतिनै दूध २० रुयैयाँमा पाइन्छ, नेपालमा।
लगभग संसारकै मन्द गतिको इन्टरनेट छ। म बस्ने बबरमहलको गल्लीमा ठूलाबडाको बसोबास छ, पहुँचवाला छन्। त्यसैले यहाँको भित्री सडक पछिल्लो सात वर्षमा सातचोटी पिच भयो होला, तर रामाराम यो बाटोमा खाल्डा यत्रा छन्, माछा पाल्न मिल्छ। राजधानीमा यो हाल छ, अन्त के होला तपाई आफै जान्नुस्।
यहाँ कोरोना छ, उता पनि कोरोना छ। मेरा यार र तिनका जहानहरु घरबाट काम गर्छन्, सोच्ने समय पाएका छन्। उनीहरुलाई कहिलेकाहीँ नेपाल जाउँजाउँ जस्तो लाग्दो रैछ। मैले सिधै नेपाल नआउ भन्ने गरेको पनि छैन। तर अन्र्तमनमा उनीहरुलाई पनि थाहा छ, नेपालमा जागिर छैन, आफ्नो क्षमता बेच्न सक्ने बजार छैन, दक्षता देखाउने ठाउँ छैन। हाम्रा विश्वविद्दालयमा न पढ्ने वातावरण छ, न पढाउने।
सरकारी संयन्त्र, निकायलाई न सक्षम मान्छे चाहिएको छ, न काम गर्ने वातावरण छ, न तलब छ, भष्टाचार गर्न सक्ने यिनमा खुबी पनि छैन र यिनीहरूको स्वाभिमानले पनि दिँदैन। तर यो देशको राष्ट्रिय संस्कार नै भ्रष्टचार हो। कुनै न कुनै प्रकारको भ्रष्ट आचार अनुशरण नगरेसम्म कोई माइका लाल यो देशमा टिकेको रेकर्ड छैन्। १० औँ वर्ष लगानी गरेको क्षेत्र छोडेर यिनीहरू बाख्रा पाल्न गर्न जान सक्दैनन्, होटल–पसल खोल्न सक्दैनन। त्यसै पनि कति नै यस्ता साना व्यवसाय फस्टाउन सक्छन् र यस्तो अविकसित अर्थतन्त्र भएको, एसियाको दोस्रो गरिब देशमा।
लकडाउन खुकुलो भएको बेला अर्थ मन्त्रालयका एक बरिष्ठ अधिकारीसँग मेरो संयोगबस भेट भएको थियो। कुराकानीको दौरान उहाँले विभिन्न विकासका सूचाङ्कहरु पेश गर्नुभयो र आर्थिक सम्भावनाका पाटाहरु औँल्याउनुभयोः देशमा ९५.५% जनतासम्म बिजुली, १००% जनतासम्म टेलिफोन पुगेको, बाटाघाटाले हुम्ला बाहेकका सबै जिल्लालाई छोएको, नेपाल दुई उदीयमान अर्थतन्त्रलाई जोड्ने सेतु हुन सक्ने सम्भावना, विदेशी मुद्राको राम्रो संचिति, नेपालको प्रमुख संसाधन जल, जमिन, जनताको परिचालन, आदि।
सार नेपाल बन्दै छ भन्ने थियो। कोरोनाले देशलाई कसरीकतिसम्म थर्चानेछ वा कोरोना जनित के विशेष अबसरहरु हामी सामु छन्, हामीले छलफल गर्न पाएनौँ। सरकारी सेवाका क्रममा आफू संसारका १८ देश घुमेको, जहाँतहीँ नेपालीले दुख पाएको देखेको र त्यसकारण आफ्ना स्नातक तेसा्रे र चौथौ वर्षमा पढ्ने छोरी र छोरालाई विदेश नपठाउने अठोट व्यक्त गर्नुभयो।
उनीहरु नेपालमा अडिन सक्ने कुरामा मलाई शंकै छ, यो राष्ट्रको धरातलिय यर्थाथ उहाँको साथमा छैन। उहाँले दुवैजनालाई पुग्ने धनसम्पति जोडेको भए कुरा अर्कै भयो। मेरो यो देशलाई लिएर खास गुनासा छैनन्। जति यहाँबाट पाएँ, त्यसको तुलनामा मैलै के नै दिन सकेँ र! गर्व नै बढी होला, हिनताबोध छैन।
यो देशमा लक्ष्मीका भक्तहरु मात्रै छन्, कसरी भन्नु लक्ष्मीप्रसाद देवकोटा जन्मेको देश पनि यही हो! यो देशमा बुद्धुहरु मात्रै छन्, कसरी भन्नु, तथागत गौतम बुद्ध जन्मेको देश पनि यही हो! यो देश रसातलमा गयो, कसरी भन्नु सगरमाथा भएको देश पनि यही हो! सायद मान्छेको जस्तै देशको पनि भाग्य हुन्छ क्या रे, यो देशको पनि काँचुली फेरिएला, कुनै दिन स्विट्जरल्याण्ड बन्ला, सिङ्गापुर बन्ला, कुनै दिन।
दुखमा मान्छे चिनिन्छ भन्छन्, कोरोना कहरमा मैले मेरो देशलाई राम्रोसँग चिनेँ। यो देशको भविष्य चिनेँ, यहाँ मेरो भविष्य चिनेँ, मेरा सन्ततिको भविष्य खोजेँ। महामारी अलि मत्थर होस, अनि म पनि विदेश जानेछु, बसाइँ सरेर, मेरा साथीहरु जस्तै।