कानमा हेडफोन, हातमा मोबाइल, आँखा मोबाइलको स्क्रीनमा, मान्छे खाटमा पल्टिएर मस्त म्युजिकको धुनमा छ निश्चल, मानौँ जिन्दगीको स्वर्गीय आनन्द लिदै छ। परिस्तिथि उही छ, अर्को खाटमा उही क्रिया दोहोर्याउदै छ सुदिप।
ढोका छेउको खाट, खाटसँगैको टेबुल, टेबुलमाथि म। घरि निश्चललाई हेर्छु, घरि सुदिपलाई हेर्छु, घरि झ्याल बाहिर पालसिंह दाइको क्यान्टिनको चहलपहल हेर्छु, घरि आफू तिरै हेरीरहेको खाटसँग नजर जुधाउछु।
ढोका खुल्लै छ। रुमका तीन वटै झ्याल खुल्लै छन्। गुलमोहर र निलमोहरले पठाएका सितलताका आभासहरु हावा बनि मन्द-मन्द रुममा छिरीरहेका छन्। रुम निश्चल छ, रुम सन्तोष छ, रुम सुदिप छ।
'के छ रुम पार्टनरहरु' गोजीमा हात, ओठमा मुस्कान लिएर सगरको आगमन हुन्छ। हामी तीनै जनाको नजर सागरतिर पर्छ। रुमको शान्तपन एकाएक हराउँछ। उर्दु गजलका शेरहरु ठूल्-ठूलो स्वरमा गाउदै पछि-पछि सन्तोष पनि छिर्छ। त्यसपछि त कोठाको माहोल पूरै परिबर्तन हुन पुग्छ।
होस्टेलको तल्लो तला, दायाँपट्टि बीचको रुममा एक्लै हुन्छ मनिष। हाम्रो रुममा कहिलेकाहीँ मात्र आउछ। एउटा होस्टेलको फरक-फरक रुममा बसे पनि हामी छ जनालाई एउतै रुममा बसेको भान हुन्थ्यो, सायद छुटिने त सुत्ने बेला मात्र होला। त्यसैले त दुइटा रुमका छ जना हामी रुमपार्टनर भएका थियौँ।
भेटनरी होस्टेलबाट किशन र प्रसान्त हाम्रो रुमसम्म आइ घन्टौँ बसी मिठा-मिठा गफ लगाउदा समय बितेको पत्तै हुन्थेन। छिमेकी माधव र नबिन गीतारको धुनमा आफ्नो स्वर मिसाउदै होलान, दिपेश त्यही गीत सुन्दै मज्जा लिदै होला। कोठामा किशोरलाई एक्लै छाडी बामदेव र मिलन क्यान्टिनमा कि त जिल्ला नेताहरु, कि त सरहरु, कि त दाइहरु वा भाइहरुसँग राजनैतिक गफमा बेस्त होलान्।
पक्कै पनि सरोज पब्जीमा चिकन डिनरको लागि युद्ध लड्दै छ, बेला-बेला गोली खादाको तनाब निकाल्न कराउछ होला। गोपाल छेउको खाटबाट घरि सरोजलाई हेर्दै, घरि आफ्नो मोबाइल हेर्दै हास्दै छ होला। रबिन र रबिन्द्र हातमा किताब समाती पढे जस्तो गर्दै मस्त गफ लडाउदै बसेका होलान। बिभोर र सुसन होस्टेलमा नहुन नि सक्छन्, अपिल त खै के गर्दै छ?
यो कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवन, सगरमाथा ब्वाइज होस्टेलको चर्तिकला हो, जहाँ यसरी हामी थोरै बेर बस्थेउँ र धेरै बेर रुम नम्बर २०८ मा जक्सन गराउथेउँ। लाग्दै छ केहीछिनमै सागर र सन्तोष जस्तै अरु पनि यही रुममा जम्मा हुदै छन्।
निकै प्यारो थियो रुम नम्बर २०८, कसैको जन्मदिनमा केक काट्नु परे, सेमेस्टर बैठक गर्नु परे, टुरको प्लान गर्नु परे, बोर्ड परीक्षाको अघिलो रात पढाइको छलफल गर्नु परे, वा खाली समयमा फाल्तु गफ गर्नु परे पनि जक्सन बन्थ्यो रुम नम्बर २०८। त्यही रुम हो जहाँ हाम्रो घन्टौ बसी एकले अर्कालाई बिल्ला हान्नु रुटिन जस्तै भएको थियो।
प्राय: हाम्रा दिनहरु यसैगरी बित्दथे, पढ्न त हामीलाई इक्जाम आउनु पर्थ्यो। प्राक्टिकल इक्जामको अघिल्लो रात प्राक्टिकल फाइल सार्दा पनि हामीलाई कहिल्यै ढिलो भएको महशुस भएन। क्लास जानको लागि पनि क्लासहरु औँसी-पूर्णे जस्तै गरी हुने गर्दथे। आज प्राक्टिकल क्लास हुनेरे भनेर सुन्दा पनि कुनै ठूलै घटना घट्न लागेको भान हुन्थ्यो।
छ महिनाको सेमेस्टर नौ महिना पुग्थ्यो, तीन महिना बन्द, दुई महिना बिदा, दुई महिना इन्टरनल र बोर्ड इक्जाम, मुस्किलले दुई महिना क्लास जान पर्थ्यो। त्यही पनि दिनमा बढीमा दुई वटा क्लास, कति दिन त लगातार शनिबार मनाइयो। क्याम्पसमा ताला लग्नु पनि सामान्य जस्तै थियो। कहिले विद्यार्थी, कहिले कर्मचारी त कहिले प्रोफेसर आफैले ताला लगाउने गर्दथे। तालामाथि अर्को ताला लाग्दा पनि अचमित हुनु पर्थेन।
हाम्रा बोलाउने नाम पनि थरि-थरिका थिए। वास्तविक नामले त कसैले कसैलाई बोलाए पो। रिसाउँदा पनि त्यही नाम, माया गर्दा पनि त्यही नाम। प्रत्येक दिनहरु रमाइलो नै गरी बित्दथे। होस्टेलको छतमा बसी रातभरि दोहोरी गाउँदा होस् वा गितार बजाएर होस्टेल थर्किने गरी चिच्याउदै गीत गाउँदा होस्, मै हो यहाँको राजा भन्ने स्वाग कहिलै गएन।
जन्मदिनका पार्टी अनि नयाँ वर्षका पार्टी कहिलै छुटेनन्। काभ्रेघाट र शिवघाटका माछाको स्वाद अझै जिब्रोमा बसेको छ। राप्ती किनारमा घन्टौँ कुस्ती खेलेको दिन फेरि आउछ होला र? होलिको रमाइलो सायद कसैले बिर्सने छैन। केटी ग्यांगको डान्सले वेलकम-फेयरवेल जस्ता कार्यक्रम निकैनै रोमान्चक हुने गर्दथे।
बेला-बेलामा हुने मौरी आतंक पनि सम्झनामा आईरहनेछ। सेकेन्ड सेमेस्टरको गाजर, लसुन, र काउली खेतीले केही निराशा दिएपनि सिक्स्थ्त सेमेस्टरको च्याउ खेतीले भने निकै उत्साह दिएको थियो। राम्रै फाइदा गर्न सफल भएका थियौँ हामीले। यसबाट सायद जुनियर ब्याचले पक्कै केही सिक्ने छन्।
रारा, मुस्ताङ अनि शे-फोक्सुण्डो ट्रेक जाने योजना बनाउदै क्यान्सल गर्ने त नियति नै भैसकेको थियो। राजनीतिका नाममा हुने विद्यार्थी रिसिभी र लडाइ झगडाले क्याम्पसको माहोल कहिलेकहीँ नरमाइलो बनाउथ्यो तर पनि हाम्रो रमाइलोलाई कहिले बिथोल्न सकेन।
अझ आँखै अगाडि झल्झली आइरहने टुरका रमाइला पल हुदाँ रहेछन्। दामन हुँदै काठमाडौँको टुरमा हामीलाई दुइटा टीममा बाढिनु पर्दा निकै अप्ठ्यारो भएको थियो। जे होस् छुटिएरै भएनि निकै रमाइलो गरिएको थियो। दामनबाट सिम्भन्ज्याङ दुई घन्टा हिडेर जानुको रहर अनि रातिको क्याम्प फायर निकै आनन्दित थियो।
पूर्व टुरको ओलिभ काण्ड अझै पनि सबको मुखमा थेगो बनेर बसेको छ। सिक्किमको रात सायद सबैलाई याद छ होला। दार्जलिङमा बिहान ढिलो उठ्दा सनराइज हेर्न नपाउँदा पनि हामीलाई त्यति दुख भने लागेको थियन। हिलेबाट पाख्रिबास जाँदा हिलोले गर्दा जीपले हामीलाई बोकेन बरु हामीले जीपलाई नै ठेल्दै पाख्रिबास पुर्याएका थियौँ।
हिलेबाट धरान झर्दा गाडी भित्रको मनमुटाव अहिले सम्झादा निकै हाँसो उठेर आउँछ 'त्यो पनि अवस्था थियो'। तराईमा जेष्ठको गर्मीले निकै पोलेको थियो। पश्चिम टुरको मेसोपारी साथीहरु मार्दी ट्रेकमा लागे, टोली सानो भयो, तैपनि रमाइलो नै गरियो। नैनीतालमा दिनभरि पानीमा भिज्दै ताल वरिपरी घुमेको आनन्द खोज्न कहाँ जाने होला? चिया त कति खायौँ-खायौँ।
मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुधुरा, पालै-पालो छिरेर विभिन्न धर्मको आस्था एकै चोटी बुज्ने अबसर पाएका थियौँ। काठगोदामबाट हरिद्वारसम्म रातको ट्रेन पहिलो चोटी चड्दा निकै मज्जा आएको थियो। ऋषिकेशमा केही साथीहरु हराउँदा एकछिन त रैला भएको थियो।
एक दिनका छोटा भिजिटमा गाडी भित्र घन्टौँ नाच्दा पनि कोही थाकेको महशुस भएन। 'टुरमा त धेरैको लभ पर्छ है केटा हो' भन्दै दाइहरुले सिकाएको भने हाम्रा कोही केटाहरुमा लागू भएन। जाँदा जस्तो हुन्थे, फर्कदा पनि उस्तै फर्कन्थे। प्रत्यक टुरबाट फर्केपछि होस्टेलका भित्तामा लेखिएका टुर काण्डहरु पक्कै मेटेर मेटिने छन्, तर सम्झन ताजै रहने छ।
मलाई लाग्दै छ जिन्दगीका साढे चार वर्ष जे बिते, जसरी बिते, राम्रै बिते। क्यम्पसको लाइफ किताब मात्रै होइन, व्यवहार पनि सिकायो। सफलता पाएर नै भेटिएका थियौँ, सफल भएरै छुट्दै छौँ, अझ सफल हुनकै लागि छुट्टिदै छौँ। बाटो एउटा छ, बाटोका लेन धेरै छन्। पक्कै फरक-फरक लेनमा हिड्ने छौँ। जो जुन लेनमा हिडे पनि देखिरहने छौँ एक अर्कालाई।
समयले पक्कै एक दिन फेरि भेट गराउने छ। यो टोलीको प्रत्यक सदस्य प्रत्येक ठाउँमा पुगोस्। कोही अक्सफोर्ड विश्वविद्यालयमा सोधपत्र प्रस्तुत गर्दै होस्, कोही बारीमा किसानका समस्या समाधान गर्दै होस्, कोही सरकारी ठूलो ओहोदामा बसी नीति नियम बनाउदै होस्, कोही आधुनिक कृषि व्यवसायमा नमुना बनोस, कोही कृषि विश्वविद्यालयको रथ हाक्ने चालक बनोस। यही छ शुभकामना।
राम्राभन्दा नराम्रा कामका सम्झना अझ बढी गाडा हुने गर्दाछन्। नराम्रा कुरा मनमा कसैले नलागोस्। प्रविधिको दुनियाँले हामीलाई जोडी रहनेछ। म्यासेज र कल कहिल्यै नछुटुन्। समय त्यही, परिस्तिथि त्यही, उमेर र अवस्था त्यही पक्कै फर्कने छैन, तर उसैगरी रमाइलो भने पक्कै गर्न सकिने छ।
(लेखक कृषिका विद्यार्थी हुन्।)