कोरोना भाइरस (कोभिड-१९) ले अहिले विश्व नै अस्तव्यस्त छ। वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजमा जुटिरहेका भए पनि अहिलेसम्म देखिने गरेर तात्विक निचोड केही प्राप्त गर्न सकेका छैनन्। त्यसैले नै हुन सक्छ, सामान्य स्थितिभन्दा बढी मानिसले आयुर्वेद र रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी र घरेलु उपाय प्रति चाख राखिरहेका छन्। यो चाखलाई सकरात्मक रुपमा नै हेरिनुपर्छ।
गाउँघरमा रनवन डुलेर गुर्जो खोज्दै हिड्ने जमातहरु पनि छन् भने सहरमा गुर्जोलाई आकर्षक वस्तु जस्तै फिजाएर पसलमा व्यापार गर्नेहरु पनि बढेका छन्। कोसेलीका रुपमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा गुर्जो लगिदिने चलन पनि बढ्दै छ। घरमा नै गुर्जोको बोट लगाएका मान्छेहरु त यो कोरोना महामारीमा भाग्यमानी नै साबित भएका छन्।
हिजोसम्म नाम निसान थाहा नभएको चीजको पनि एक्कासी दिन फिर्दो रहेछ। महत्व हवात्तै बढ्दो रहेछ। आखिर, समयले सबै कुरा निर्धारण गर्दो रहेछ। सानो हुँदा हजुरआमाको हात समाएर घर आँगन डुल्दाखेरी नै उहाँले कति जडिबुटीहरु चिनाउनु हुन्थ्यो। तर खासै मतलब राखिन्थेन। हाम्रा मानवविश्वास, चलन र रीति रिवाजहरुसँग सम्बन्धीत रहेर हजुरआमा हरेक बिगार पर्दा केही न केही जडीबुटीहरु खान दिनु हुन्थ्यो। च्वाट्टै पनि हुन्थ्यो।
हाम्रो स्वस्थ जीवनको अनुपम पाठशाला त हाम्रै घर आँगन, रनबन र भान्छा कोठा नै रहेछ। कतिपय विज्ञानहरु पनि हाम्ले पत्तै नपाएका वा हाम्ले वास्तै नगरेका वरपरका चीजहरु मा नै लुकेका हुँदा रहेछन्। जब अभाव हुँदो रहेछ बल्ल हामी खोज्न थाल्दा रहेछौँ। कोरोना महामारीमा हामीले गुर्जो खोज्दै गरेको घटनाक्रमले पनि यो आचरणलाई प्रष्ट पार्छ।
अझ हामी आफूलाई झिलिमिली सहरको सुकिला मुकिला भनेर जति नै चिनाउन खोजे पनि भित्र भित्रै हामी प्रति जन्मिएको गाउँले परिवेशको आशक्तिले पनि यो कुरा उजागर गर्छ। स्वास्थ्यभन्दा ठूलो आखिर केही रहेनछ। कसरी हुन्छ कोरोनाबाट टाढै रहन मानिसले हर सम्भव प्रयास गरिरहेछन्।
त्यही प्रयासमा एउटा साधारण गुर्जो आज बहुमूल्य भएर आएको छ। एउटा कविको कल्पनामा उब्जिएको सुन्दर उपमा जस्तै कोरोना महामारीमा गुर्जोले पूनर्जन्म लिएको छ।
के हो गुर्जो? किन छ बहुउपोयगी?
गुर्जो मेनिस्पर्मेसी कुल अन्तर्गत पर्दछ। ल्याटिन नाम टिनोस्पोरा कार्डिफोलिया रहेको गुर्जोलाई संस्कृतमा गुडूची, मधुपर्णी, अमृता, वत्सादनी, तन्त्रिका, कुण्डलिनी आदि भनिन्छ। यसको मुख्य कर्म सात्मिकरण र रसायन कर्म नै हो। अमृततुल्य गुणकारी रसायन यसमा रहेको हुनाले यसको नाम 'अमृता' रहेको हो।
'गुडति रक्षति इति गुडूची' अर्थात गुर्जोले रोगबाट शरीरलाई रक्षा गर्छ भनिन्छ। गुर्जोमा बर्बेरिन, गिलोइन, स्टार्च जस्ता रसायन तत्वहरु पाइन्छन्। आयुर्वेदको द्रव्यगुण विज्ञान अनुसार गुर्जो त्रिदोषशामक हुन्छ। कुष्ठ, वातरक्त आदिमा गुर्जो सिद्ध तेलको प्रयोग गर्न सकिन्छ। तृष्णा, छर्दि, अग्निमांद्य, शूल, कामला, अम्लपित्त, प्रवाहिका, ग्रहणी आदिमा समेत गुर्जोको प्रयोग गर्न सकिन्छ।
रक्तविकार जन्य रोगहरु र श्वासप्रश्वास सम्बन्धी कासहरुमा समेत गुर्जो प्रयोग हुन्छ। जीर्णज्वर तथा विषमज्वरमा समेत गुर्जोको स्वरस उपयुक्त हुन्छ। दौर्बल्य र क्षयमा यसको प्रयोग ज्यादा पाइन्छ।
कसरी गुर्जोको प्रयोग गर्ने?
यसको प्रयोज्य अंग काण्ड (डाँठ) हो भने यसको चुर्ण ३-६ ग्राम, क्वाथ ५०-१०० मिलि र सत्व १-२ ग्राम मात्रामा प्रयोग गर्न सकिन्छ। सकभर ताजा अवस्थाको गुर्जो नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
कसरी बढ्दैछ गुर्जोको प्रभाव?
अहिलेको कोरोना विषाणु विरुद्ध लड्न आयुर्वेदका तर्फबाट धेरै प्रोटोकलहरु निर्माण भएका छन् जहाँ गुर्जोको उपयुक्त वर्णन गरिएको छ। आयुर्वेद तथा वैकल्पिक विभाग, नरदेवी आयुर्वेद चिकित्सालय, नेशनल आयुर्वेद रिसर्च तथा ट्रेनिंग सेन्टर, आयुर्वेद शिक्षण अस्पताल एवं विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय आयुर्वेदका इकाईहरु मार्फत गुर्जो लगायतका जडीबुटीहरुलाई प्रोत्साहन गर्ने कार्यहरु भईरहेका छन्।
अन्य निजी अस्पतालहरुले पनि कोरोना विरुद्ध लड्न आयुर्वेद अस्त्रको रुपमा गुर्जोको प्रयोग गरिरहेका छन्। उदाहरणका लागि, हाल म कार्यरत आयुर्वेद चिकित्सालय नरदेवीमा जेष्ठवासादि चूर्ण (५भाग), गुडुची चूर्ण (३भाग) र यष्ठिमधु चुर्ण (१भाग) को मिश्रणलाई निशुल्क वितरण गर्ने गरिएको छ।
यो मिश्रणलाई १ लिटर पानीमा ५ चम्चा राखी ८ मिनेट सम्म पकाउने र यसरी बनेको काढालाई एक पल्टमा आधा चिया गिलास दैनिक तीन पटक म्म तातो अवस्थामा सेवन गर्नु पर्छ भनी सबै बिरामीलाई यस चिकित्सालयमा बुझाउने गरिएको छ। राम्रो नतिजाका कारण बिरामीको चाप पनि बढेको छ।
गुर्जोको माहात्मय आज चिकित्सा शास्त्रमा बहसको विषय भएको छ। अनुसन्धानको घेरा भित्र परेको छ। परापूर्व कालदेखि नै आयुर्वेदले गरेको यसको बखानलाई आधुनिक दोषि चस्माले मात्र हेर्ने प्रयास गरियो। अझ भनूँ यसको निन्दा गरियो। गुर्जोले मोहोनी लाउन सक्ने भन्दै पश्चिमा क्याप्सुलको खेती गरियो। तर गुर्जोको खेती गरिएन।
आज आफ्नै माटो सुहाउँदो पद्धतिको आवश्यकता बढेको छ। तै पनि बेसार जस्तै गुर्जोको पनि अपव्याख्या गर्दै सोझा नजरहरुमा भस्मलेपन गर्ने चेष्टा गरिएको छ। गुर्जो आफ्नै संघर्षमा अघि बढ्नेछ। योग्य सावित हुनेछ। कृपया नरोकौँ। नमोडौँ।
(लेखक आयुर्वेद चिकित्सक हुन्। )