बढ्दो जनसङ्ख्या, औद्योगिकरण, सहरीकरण, विलाशी जीवनशैली र अर्थतन्त्रको प्रतिस्पर्धाका कारण प्रकृतिको दोहन, वन तथा जैविक विविधताको विनाशको श्रृंखला अत्यासलाग्दो अवस्थामा आइपुगेको छ। वार्षिक बेलायत देशजत्रो क्षेत्रफलको वन उजाड भइरहेको छ। हाल संसारमा करिब ३०.६ प्रतिशतमात्र वन बाँकी रहेको छ।
जैविक विविधता र कार्बन भण्डारणका लागि अति महत्वपूर्ण उष्ण वन, जस्तै मलेसिया र इन्डोनेसियामा तेलका लागि खजुर (पाल्म) वृक्षारोपण गर्न, ब्राजिलमा भटमास र पशुपालनका लागि व्यापक फँडानी भइरहेको छ। यसका अलावा कृषि क्षेत्र विस्तारका लागि पनि उल्लेख्य मात्रामा वन फँडानी भइरहेको छ। तर यसपालि कोरोनाको कहरका कारण मानिसले प्रकृतिको महत्व बुझ्ने राम्रो सन्दर्भ तथा अवसर प्राप्त गर्यो। सन्तुलित जीवनका लागि वन तथा जैविक विविधताको संरक्षण अत्यावश्यक रहेछ भन्ने सन्देश पहिलाको भन्दा धेरै मानिसमा पुगेको छ।
मानिसले कूल जमिनको करिब ७०% भू-भाग अतिक्रमण गरिसकेको अवस्था छ। प्रकृतिको दोहन र वन विनाशले गर्दा करिब १० लाख प्रजातिहरू खतरामा रहेको अध्ययनले देखाएको छ। कोरोना, स्वाइनफ्लू, बर्डफ्लू, जिका, इबोला, एचआइभीजस्ता पछिल्लो अवस्थामा ७५% र हालसम्मकै ६०% महामारीहरू वन्यजन्तु मार्फत नै मानिसमा सर्ने गरेको पुष्टि भइसकेको छ।
अझै १७ लाख सूक्ष्म जीवाणुहरू यस पृथ्वीमा लुकेर रहेको अनुमान गरिएका छन्। वन विनाश र वन्यजन्तुको शिकार, वन्यजन्तुको वासस्थान खुम्चिँदा र वन्यजन्तुसँग मानवको सम्पर्क बढ्दा भाइरस सर्ने जोखिम बढेको छ। यसका अलावा वातावरण प्रदुषण र जलवायु परिवर्तनले हिउँको परत पग्लदा हिउँमुनि दबिएर रहेका खतरनाक भाइरसहरू वायुमण्डलमा फर्किरहेका छन्।
वन्यजन्तुबाट धेरै भाइरसहरू सर्ने गरे पनि यसको अर्थ कदापि यो होइन कि वन्यजन्तु हाम्रा शत्रु हुन वा हानिकारक छन्। जुन होस्ट वन्यजन्तुमा यी भाइरसको बास हुन्छ, तिनलाई केही हानी हुँदैन। तर जब हामी आफ्नो स्वार्थका लागि यिनीहरूको गलत उपयोग गर्छौँ तब हामीलाई नै यसले हानी गर्छ। पर्यावरणीय सन्तुलन, खाना, पानी, स्वच्छ हावा र हाम्रा सबै आवश्यकता पूर्तिका लागि जैविक विविधता र वन संरक्षण अपरिहार्य छ।
वनमा प्रत्यक्षरूपमा १ अर्ब ६० करोड मानिस जीविकोपार्जनका लागि निर्भर रहेका छन्। यसअर्थमा महामारीबाट बच्न, जीविकोपार्जन, स्वस्थ मानव जीवन र जलवायु सन्तुलनका लागि वनको संरक्षण अत्यन्तै आवश्यक रहेको छ। जैविक विविधता र वन संरक्षणका लागि निजी वनको उत्तिकै महत्व छ।
हाल प्रकृतिको संरक्षण गर्न र जलवायु सन्तुलन राख्न स्वच्छ प्रविधि तथा स्वच्छ उर्जाको अपरिहार्यता बढेको छ। जलवायु परिवर्तनलाई २ डिग्री सेन्टिग्रेडका रोक्न, सकभर १.५ डिग्रीमै सीमित राख्न सबैभन्दा उपयुक्त र प्रभावकारी विकल्पको रुपमा स्वच्छ उर्जाको प्रयोग, वनको संरक्षण तथा पुनर्स्थापनामा जोड दिन थालिएको छ।
जलवायु सम्बन्धी विभिन्न अध्ययनहरूले १ अर्ब हेक्टरमा वृक्षारोपण गर्न सके एक दशकमा वायुमण्डलमा रहेको दुईतिहाइ कार्बन वा १२ खर्ब रुख रोप्न सके विगत दश वर्षको कार्बन सञ्चित हुने र कार्बन उत्सर्जन तटस्थ रहने भनेर देखाएका छन्।
यसको अर्थ के हो भने भएको वन संरक्षण गर्नु र थप वन हुर्काउनु नै जलवायु सन्तुलनका लागि उत्तम र प्राकृतिक विकल्प हो। त्यसकारण वन क्षेत्र बढाउन र संरक्षण गर्न योगदान दिन सक्ने पारिवारिक निजी वन पनि एउटा महत्वपूर्ण वन क्षेत्र हो। नेपालमा पनि बाँझो रहेको १० लाख हेक्टर कृषि जमिन मध्ये कम्तिमा पनि ५ लाख हेक्टरमा मात्र निजी वन हुर्काउन सके कम्तिमा ८० करोड रुख हुर्काउन सकिने सम्भावना रहेको छ।
त्यस बाहेक सबै कृषि जग्गामा कम्तिमा पनि ६० रुख प्रति हेक्टर (एक रोपनीमा ३ रुख, एक कठ्ठामा २ रुख) मात्र लगाउने हो भने पनि निजी वन र कृषि वन समेत गरेर १ अर्ब रुख हुर्काउन सकिने देखाउँछ। यति रुख थपियो भने वार्षिक सरदरमा एउटा रुखले १५ किलो मात्र कार्बन सञ्चित गर्ने आधारमा हिसाब गर्दा पनि वार्षिक १ करोड ५० लाख टन कार्बन थप सञ्चित गर्न सक्छ। काठ उत्पादन बाहेक थप केही लामो समय कार्बन सञ्चिती बढाउन निजी वनको उपयोग गर्न सक्यौँ भने उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ।
अमेरिकामा अमेजन कम्पनीले द नेचर कन्जरभेन्सीसँग मिलेर पारिवारिक निजी वन किसानहरूको वन व्यवस्थापन सुधार गरेर र कटान समय केही ढिला गरेर कार्बन सञ्चिती बढाउन १० करोड अमेरिकी डलरको परियोजना लागू गरेको छ। यसरी राम्रो व्यवस्थापन र कटान समय केही मात्र ढिलो गर्दा काठको गुणस्तर, आयतन, मूल्य पनि बढ्ने र कार्बन पनि बढी सञ्चित हुने गर्छ। केही वर्ष ढिलो कटानका लागि किसानहरूलाई आर्थिक प्रोत्साहन प्रदान गर्न सकिन्छ।
नेपालमा पनि वन नीति तथा कार्यक्रमहरू, रेडप्लस र वन लगानी कार्यक्रमले निजी वन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसले पारिवारिक निजी वन कार्बन सञ्चित गरेर जलवायु न्यूनिकरणमा महत्वपूर्ण योगदान दिन सक्छ भन्ने देखाउँछ।
निजी वनले तीन प्रकारले कार्बन सञ्चिती बढाउँछ। पहिलो, प्राकृतिक वनमा चाप घटाउँछ र वन विनाश तथा क्षयिकरण घटाउँछ। दोस्रो, आफैँले लामो समयसम्म कार्बन संचित गरेर राख्छ। तेस्रो, प्रशस्त काठ उत्पादन गरि प्लास्टिक र धातुलाई केही हदसम्म प्रतिस्थापन गर्न सघाउँछ। त्यसकारण आगामी दिनमा जलवायु न्यूनिकरण कार्यक्रममा निजी वनलाई उचित रुपमा समावेश गर्न सके लाभदायक हुन सक्ने देखिन्छ।
अमेरिकाको जम्मा वन मध्ये करिब ३८% वन पारिवारिक निजी वनले ओगटेको छ। युरोपमा पनि रुस र केही देश बाहेक अन्य देशहरूमा सरदर ५०% वन पारिवारिक निजी वनले व्यवस्थापन गरिरहेका छन्। सबैभन्दा बढी वन पैदावार तथा काठ निर्यातकर्ता क्रमशः अमेरिका, क्यानाडा, स्विडेन, फिनल्यान्ड, जर्मन, रुस, ब्राजिल, अस्ट्रिया जस्ता देशहरू हुन। यी प्रत्येक देशहरूको वन पैदावार विदेश निर्यात मात्रै हाम्रो देशको वार्षिक बजेटभन्दा बढी छ।
क्यानाडाले वार्षिक २० खर्ब बराबरको वन पैदावार विशेष गरेर काठ र काठजन्य सामग्री, कागज, पल्प, पेलेट उर्जाका लागि स–साना काठदाउरा घर तताउन प्रयोग गरिने निर्यात गर्छ। फिनल्याण्डमा कूल निर्यातको २०% वनले ओगट्छ र १५% रोजगारी वन क्षेत्रले सिर्जना गरेको छ। त्यसैगरी स्विडेन विश्वको तेस्रो बढी (विश्वको कूल उत्पादनको करिब ४%) कागज तथा बोर्ड निर्यात गर्छ। जर्मनीको वन क्षेत्रले १२ लाख मानिसलाई रोजगारी दिएको छ।
यी सबै देशहरूमा पारिवारिक निजी वनको हिस्सा उल्लेख्य रहेको छ। नेपालमा पनि कृषि वन तथा पारिवारिक निजी वनले ५ करोड ३२ लाखभन्दा बढी रुखहरू हुर्काएको अनुमान गरिएको छ। बजारमा आपूर्ति हुने नेपालको काठ उत्पादन मध्ये दुईतिहाइ भाग निजी वनको काठले ओगट्ने गरेको छ। यसले पारिवारिक निजी वनहरू काठ उत्पादन, रोजगार सृजना, अर्थतन्त्रमा योगदानका हिसाबले महत्वपूर्ण हुने देखाउँछ। वनबाट समृद्धि ल्याउने सपनालाई यसले प्रत्यक्ष रुपमा सहयोग गर्न सक्छ।
अन्त्यमा,
कृषि वन तथा पारिवारिक निजी वन काठ उत्पादनका लागि मात्रै होइन, प्राकृतिक वन जोगाउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ। निजी वनबाटै सहजरूपमा काठ तथा वन पैदावार उत्पादन हुने, बजारमा सहजै र सुपथ मूल्यमा काठ उपलब्ध हुने हो भने प्राकृतिक वनमा चाप कम पर्छ। यसले कृषिलाई पनि थप उर्बर बनाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न, लामो समयसम्म कार्बन सञ्चित गर्न, भू तथा जलाधार र जैविक विविधता संरक्षण गर्न पनि उत्तिकै सघाउँछ।
काठ उत्पादन उल्लेख्य मात्रामा बढाएर सुपथ मूल्यमा काठ उपलब्ध गराउन सके प्लास्टिक तथा धातुका सामग्री प्रतिस्थापन गरेर वातावरणमैत्री बन्न पनि सहयोग गर्छ। तर राज्यबाट निजी वन विकास सधैँ उपेक्षित छ। त्यसकारण नेपाल सरकारले निजी वनको विकास गर्नका लागि बेलैमा निजी वनमैत्री नीति तथा कानुनको निर्माण गर्नुपर्छ। अहिले स्थानीय निकायले पनि वन सम्बन्धी नीति बनाउने बेला आएको छ।
निजी वनका वन पैदावार कटान, ओसारपसार र बिक्रीवितरण गर्न सहज प्रावधान मात्र बनाइदिने हो भने निजी वनले देशको माग धानेर पनि काठ तथा काष्ठजन्य सामग्री विदेश निर्यात गर्न सक्ने हैसियत राख्छ। हाल वैज्ञानिक वन व्यवस्थापन गर्ने भनेर राज्य लागिपरेको छ भने सामुदायिक वन उपभोक्ता महासंघ त्यसको विरोधमा उत्रिएको छ। प्रजाति हेरी लामो अवधिको चक्र (४० देखि ८० वर्ष) राख्दा अनिश्चितता र जोखिमको बारे अनुमान लगाउन त्यसमा कठिन होला तर निजी वनमा छिटो बढ्ने प्रजाति हुर्काउन सकिन्छ जसले ८ देखि २० वर्ष भित्रै उत्पादन र राम्रो प्रतिफल दिन सक्छ।
युरोप र क्यानाडामा सल्ला प्रजातिकै काठबाट नेपालको वार्षिक बजेटभन्दा बढी विदेश निर्यातबाट मात्रै आम्दानी हुने गरेको माथि उल्लेखित यथार्थलाई मनन् गर्दै नरम काठको पनि उपचार विधि र प्रशोधनबाट यसलाई बलियो बनाउन सकिने कुरालाई हामीले व्यवहारमा उतार्नु पर्छ। सालको काठ मात्रै काठ हो भन्ने गलत मानसिकतालाई काठको उपचार प्रविधि ल्याएर बदल्न सके धेरै समस्याहरू हल हुनेछन्।
अहिले वर्षाको मौसम चलिरहेको छ र यो वृक्षारोपण गर्ने बेला पनि हो। सरकारको सालसालै वन नर्सरीबाट बिरुवा उत्पादन र वितरण गर्ने कार्यक्रम रहेको हुन्छ। गत आर्थिक वर्ष ५ करोड बिरुवा रोप्ने लक्ष्य रहेको थियो तर बिरुवा रोपेर मात्र हुँदैन, रोपेपछिको व्यवस्थापन र संरक्षण भएन भने निरर्थक हुन्छ। नेपालमा प्राकृतिक वनमा पनि बेसरी वृक्षारोपण गरेको पाइन्छ तर प्राकृतिक वनमा वृक्षारोपणभन्दा प्राकृति पुनरुत्पादन सजिलो, प्रकृतिमैत्री र सुपथ हुन्छ।
वृक्षारोपण गर्ने त निजी जग्गा वा वन नभएको खाली ठाउँमा हो। पारिवारिक निजी वन संघका ६० जिल्लामा संजाल गठन भइ ८ हजारभन्दा बढी सदस्यहरू रहेकोले उक्त संघसँग वृक्षरोपणको समन्वय गरेर निजी वन किसानका जग्गामा बिरुवा रोप्ने हो भने वृक्षारोपण सफल पनि हुने र दिगो विकासको लक्ष्य प्राप्त गर्ने सम्भावना पनि उच्च रहन्छ।