झिस्मिस् उज्यालो मात्र भएको थियो, झल्याँस्स ब्युँझेछु। मोबाइल उठाएर समय हेर्न खोजेँ, भाइबरमा नोटिफिकेसन अएको रहेछः चेक योर न्यू म्यासेज। खोलेर हेरेँ।
लेखिएको थियो- ‘सहयोगको लागि अपिलः विश्वव्यापी महामारी कोभिड-१९ ले गर्दा भएको लामो समयको लकडाउनका कारण सुन्दर हरैंचा वाड नं. १०, मोरङका अशोक दर्जी आफ्ना लालाबालाको बिजोग (भोकमारी) हेर्न नसकेर आफ्नै झुप्रोमा आत्महत्या गरेर दुखबाट सधैँका लागि संसार छाडे। कमाइ ल्याउँछु भनि हिँडेकी उनकी श्रीमती भारतमा अलपत्र भएर भौतारीरहेकी छिन्। घरमा भएका लालाबाला दुःख र गरिबीको दलदलसँगै शोकमा डुबेँ।
पिताको लासको छातीमा दिने मानोचामल समेत घरबाट निकाल्न नसक्दा दुःखमा बाचिरहेछन्। घरमा एउटा थोत्रो खाट र आङका लुगा मात्रै रहेछ। भएको एउटा सिलिण्डर ग्याँस र चुलो पनि लकडाउन भएर ठेलागाडा चलाउन नपाएपछि १२०० रुपैयाँमा बेचेर केही दिनको गर्जो टारेछन्। घरमा चरम गरिबी भएपछि छोराछोरी लावारिस भएर कहिले कता कहिले कता मागिखाने अवस्थामा पुगेका थिए। त्यतापनि उपाय नचलेपछि घरमा भोकमारी र अभावसँग जुद्धै बसेका बेला बाबुको निधनले थप दुःख परेको छ।’
यससँगै तीन तस्बिरहरु लगातर देखिए।
तस्बिर हेर्दाहेर्दै दिमाख खाली जस्तो भयो। कुनैपनि काम नपाएपछि खाना पकाउने ग्यास बेचेरै भएपनि २ छाक टारेर छोराछोरीको भोक मेटाउन लागिपेरका बुवाले सदाका लागि समाधानको बाटो रोज्दै आत्महत्या रोजे। तर भोकले छटपटाइ रहेका ती कलिला बालबालिकाहरुले के खालान् भन्ने सोच र सुन्दर भविष्यको सुन्दर सपनाको हत्या पनि सँगसँगै गरे।
के आत्महत्याको समयमा आफ्ना कलिला लालाबालाको भविष्यप्रति उनी चिन्तित् भएनन् होला र? उनले त आत्महत्या गरे तर ती बालबालीकाले कसरी आफ्नो भविष्य कोर्लान्? फेरि बाबुले अपनाएको जुक्ति अपनाउने दिन नआउला भन्न सकिन्छ र? यस्तो जुक्ति आउन नदिन जिम्मेवार पक्ष को? भोकले छटपटाएर आत्महत्या गर्ने निर्णय गर्नुमा दोषी उनी आफै मात्र हुन त? थप वास्तविकता बुझ्न्न फोन डायल गरेँ।
आत्महत्या गरेको तीन दिन भएको रहेछ। घरमा पकाउने भाँडा र एक मुठि चामल समेत नभएपछि छिमेकी र आफन्तको साहयतामा दाहसंस्करको तयारी गएिको रहेछ। काजक्रिया गर्ने खर्च समेत रहेनछ। कान्छी छोरी अपांग रहेछिन्। राम्रोसँग हिड्न त के, उभिन समेत नसक्ने रहेछिन्।
बेलुकी साँझ पर्नै लागेको थियो, कीर्तिपुरमा भाडा नतिरेको निहुँमा घरबेटीले डेरावालाको हत्या गरे भन्ने शीर्षक फेसबुकमा देखियो। एकैदिन सुनिएका २ घटना बाध्यताले मर्नु र बाध्यताले मारिनु हत्या, अत्महत्या जे भएपनि दुवैको अकालमा ज्यान गयो। ज्यानसँगै संगालेर बाँचेका सपनाहरु चकनाचुर भए।
भविष्यका कर्णाधार मानिने कलिला लालाबालाको सपनाको हत्या भयो। सिंगो परिवारको जिम्मेवारी बोकेर मजदुरी गर्ने मजदुरको आत्मविश्वासको हत्या भयो। भनौ घरको एउटा खम्बा नै ढल्यो। नाबालकका अभिभावक, सपनाका सहजकर्ता, भविष्यका पथप्रदर्शक, जीवनको साहराको सबैको एकमुष्ट हत्या भयो।
यी घटनाहरु त उदाहरण मात्र हुन्। यस अगाडि पनि भोकले छट्पटिएर आत्महत्याको बाटो थुप्रैले रोजिरहेका थिए र अझै रोजिरहेका छन्। कसैको भोकले सडक पेटीमा छटपटाउदा छटपदाउदै मृत्यु भयो त कसैले नदीमा हाम फालेर आत्महत्या गरे, कतिले आफ्ना परिवार सहित संयुक्त आत्महत्या गरेका समाचारहरु पनि आइरहेका छन्। बाढी, पहिरो, रोगले प्राकृतिक मृत्यु त भइ रहेकै छ। तर बाँच्न चाहँदा चाहँदै पनि र हजारौँ सपना मनमा जुरमुराइ रहँदा पनि हुर्काएर ठूलो र असल मानिस बनौला भनेर जन्माएका लालाबालाको हजारौँ सपनाको समेत हत्या गर्न बाध्य हुनुमा उनीहरु मात्रै दोषी पक्कै छैनन्।
देशमा आएको संघियता, जनताको घर दैलोको सरकार बनेर जनताका समस्या बुझ्न गाँउ छिरेको ३ वर्ष भयो। कोरोना महामारीले लकडाउन भएर जनताको रोजिरोटी गुमेको आधा वर्ष भयो। आधा वर्षभरिमा राहत स्वरुप बाँडिएका आधाबोरा चामलले १५ दिन/१ महिनाको त छाक टर्यो होला।
तर आधा वर्षसम्म घरको कोठाभित्र थुनिएर बस्न बाध्य भएका नागरिकलाई, घरदेखि बाहिर ननिस्कनु भनेर सूचना जारी गरीराख्दा, ज्यालामज्दुरी गरेर जीविकोपार्जन गरिरहेका वर्गको तथ्यांक संकलन गरी थप राहात र रोजगारीको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सरकारको पनि होइन र? बेलैमा सरकारले ध्यान नदिए बिहान कमाएर बेलुकाको छाक टार्ने सर्वसाधारणलाई बन्दी झै घरभित्र थुनिएर बस्नु पर्ने बाध्यताले आत्महत्या अझै बढ्ने स्पष्टसँग अनुमान गर्न सकिन्छ।
समस्याको समाधान स्वरुप सरकारले समयमै आवश्यक योजना बनाएर आ-आफ्नो स्थानीय तहका नागरिकहरुको तथ्यांक संकलन गरेर, उनीहरुको दैनिकी कसरी चलिरहेको छ र जीवनयापन कसरी गरिरहेका छन् भन्ने कुराको जानकारी लिनुपर्छ। एक पेट खानको लागि समस्या भएका परिवारहरुको पहिचान गरी राहतको व्यवस्थापन गर्नुपर्छ। अर्थात् रोजगारीको व्यवस्थापन गरी आयआर्जनको बाटो खोलिदिनुपर्छ।
समस्या पर्दा खुलेर जनप्रतिनिधि र स्थानीय सरकारसँग समस्या समाधानको बाटो पहिल्याउन आउन सक्ने वातावरणको सिर्जना गर्नुपर्छ। जसले गर्दा समस्या समाधान गर्न नसकेर समाधानको बाटो आत्महत्या रोज्ने दिन आउदैन। यो जिम्मेवारी स्थानीय तहका अझ भनौ जनताका घर दैलोको सरकार भनेर चुनिएका जनप्रतिनिधिका प्रमुख एजेण्डा भित्र पर्न आउछ। होइन भने भोली अशोक दर्जी जस्ता हजारौँ सर्वसाधारणले भोक मार्ने
सजिलो बाटो आत्महत्याको अनुसरण गर्ने छन् र आत्महत्यासँगै हजारौँ सपनाहरुको हत्या हुनेछ। हजारौँ भविष्यका कर्णधारहरको सुन्दर भविष्य बनाउने सपना तुहिने छ।