हतारमा अफिसको गेटबाट छिर्दै थिएँ, नजिकैको कोठाबाट पुरुषको रुखो आवाजमा मेरो कानसम्म एउटा शब्द ठोक्कियो- चरित्रहीन आइमाई। एकछिन टक्क उभिएँ, किनकी मलाई मननपर्ने शब्दहरु मध्येको एक थियो आइमाई, कसैले सावर्जनिक स्थानमै यो शब्द बोल्यो भने त मुखै थुनिदिउँ जस्तो लाग्ने।
अझ केटा मान्छेले आइमाई शब्दको प्रयोग गर्दा त महिलालाई निच देखाउन प्रयोग गरिने तुच्छ शब्द जस्तै लाग्ने, गेटबाट पस्दै गर्दा सुनेको यो शब्दले हतारलाई रोकेर टक्क उभिएँ एकछिन। उनीहरुले महिलालाई कसरी तुच्छ देखाउँछन् र सजिलै चरित्रसँग जोडेर बदनाम गर्दैछन् भन्ने सुन्न मन लाग्यो।
एकछिन केही छुटे जसरी ब्याग हेर्न थालेँ, उनीहरुको कुरामा ध्यान नदिएको जसरी। एउटा अधबैँसे उमेरको र अर्को २२/२५ वर्षको देखिन्थेँ। सायद उनीहरु एउटै अफिसमा पनि काम गर्ने रहेछन् क्यारे। अधबैँसे उमेरको मानिसले भने- ‘अरे यार, त्यो आइमाई क्षमताले त्यहाँ पुगेकी हो र, त्यसको त मालिकसँग बेग्लै चक्कर थियो रे त?’
अर्को युवक हाँस्यो, ‘हो त, कतिपटक मैले सँगै चिया खाएको देखेको छु।’ एकैपटक हाँसे दुई जना अनि पुनः अधबैँसे व्यक्तिले थप्यो, ‘आइमाईहरु सबै यस्तै हुन्, यिनीहरुसँग कहाँ क्षमता हुन्छ र? आफन्तले तानेर वा शरीर बेचेर मात्रै त माथि पुग्ने हुन् नभए त यिनीहरु हाम्रो गोडामा राख्न पनि सुहाउदैँनन्।’
त्यो कुरालाई सहजसँगै सहमति जनायो अर्को व्यक्तिले। मलाई ती दुई व्यक्ति देखेर यत्ति घृणा जाग्यो। थप सुन्न मन लागेन। छि कत्ति दरिद्र र घटिया सोच भएका पुरुषहरु पनि रहेछन् यो समाजमा भन्दै कामतिर लागे।
आइमाई शब्दको उत्पत्ति र यसको अर्थबारे विभिन्न खालका ब्याख्या र टिप्पणी भएको पाइन्छ। कतिपयले यसलाई सकारात्मक र कतिपयले यसलाई नकारात्मक ढंगबाट पनि विश्लेषण गर्दै आईरहेका छन्। भारतको कुनै भूभागमा आमालाई आई भन्ने गरिन्छ भने नेपालका कतिपय स्थानमा भने आमालाई माई भन्ने गरिन्छ। उक्त शब्दलाई हाँस्य व्यंग्यकार भैरव अर्याल भने यसरी ब्याख्या गर्छन्,
आ– आगो
इ–इश्र्या
मा– मायालु
ई– ईख
आइमाईका विषयमा सबैका आआफ्ना धारणा भएपनि अधिकांश महिलाहरुलाई भने यो शब्द प्रयोग गरेको मन पर्दैन, र सावर्जनिक स्थानमा यसको प्रयोग त्यत्ति शोभनीय पनि देखिदैँन। महिलालाई कमजोर र तुच्छ देखाउनुपर्दा प्रयोग गरिने यो शब्दले पक्कै पनि राम्रो सन्देश भने दिदैँन नै।
यहाँ प्रशंग जोड्न खोजिएको कुरा आइमाई शब्दको प्रयोग कहाँ, कसरी र कसले गर्यो भन्ने भन्दा पनि महिलालाई चरित्रसँग जोडेर कसरी मजाकको पात्र बनाइन्छ भन्ने हो। माथि मैले उल्लेख गरेको घटनामा दुई जना पुरुषहरु बसेर महिलालाई यत्ति असक्षम देखाएका छन् कि मानौँ महिलाहरु पुरुषको कृपाले मात्रै बाँचेका हुन्, उनीहरुमा केही गर्ने क्षमता योग्यता हुँदैन बस् राम्रो र सुन्दर शरीर, अनुहार भएपछि उनीहरु बिना क्षमता नै पदमा पुग्न सक्छन् भन्ने हो।
हरेक पदमा पुग्ने महिलाले कि त आफ्नो चरित्र नष्ट गरेका हुन्छन्, कि त उनीहरुको आफन्त ठूलो पदमा पुगेका हुन्छन् अनि तिनीहरुकै कृपाबाट राम्रो पदमा पुग्छे भन्नु निचताको पराकाष्ठा हो। हरेक व्यक्तिसँग छुट्टै क्षमता र योग्यता हुन्छ। कोही कुन विषयमा विज्ञ हुन्छ, कोही कुनै, तर यसको अर्थ यो होइन, महिला भने पुरुषमै परनिर्भर हुन्छन्। पुरुषको उपस्थिति बिना केही गर्न कही पुग्न सक्दैँनन् भन्नु पुरुषवादी चिन्तनको गहिरो प्रभाव हो।
माथि उल्लेखित घटनामा भेटिएका दुईवटा पुरुष त प्रतिनिधि पात्र मात्र हुन्, अझै पनि समाजमा महिलाप्रतिको दृष्टिकोण परिवर्तन भईसकेको छैन। अधिकांश पुरुषहरु यो मान्न तयार छैनन्, महिला पनि क्षमतावान् हुन्छन्, उनीहरु सरह हरेक काममा सहभागी हुन सक्छन् भनेर। त्यसैले कुनै महिला आफ्नो योग्यता, क्षमता र मेहनतले माथिल्लो पदमा पुगिन् भने उनलाई यही आरोप लाग्छ कि उनको चरित्र ठिक थिएन।
उनी हाकिमसँग नजिक थिइन, चिया, कफी खान जान्थिन् वा हाकिम उनका नातेदार थिए। मानौँ, महिला एउटा खेलौना हुन्, पुरुषले जता लग्यो, जस्तो बनाईदियो उस्तै बन्छिन्, आफ्नो सोच्ने क्षमता छैन, आफ्नो खुट्टामा उभिन सक्दिनँ र परनिर्भर रहेकी हुन्छे। क्षमता र योग्यतावन् भनेका पुरुष नै हुन्, भन्ने खालका परम्परागत सोच र चिन्तनका कारण कतिपय अवस्थामा क्षमतावान् महिला पनि पछि परेका हुन्छन्।
यसको अर्थ हरेक पुरुषको स्वभाव र चिन्तनको शैली उस्तै छ भन्ने पनि होइन, तर, अधिकांश पुरुषहरु भने महिलाप्रतिको नकारात्मक दृष्टिकोणबाट माथि उठ्नै सकेका छैनन्। यस्तै विषयबाट माथि उठ्न नसक्दा न नेपाली समाज परिवर्तन भएको छ न त चिन्तन नै।
हामीले राजनीति, अर्थ, पत्रकारिता, बैँकिङ, फिल्म लगायतका क्षेत्रमा रहेर चर्चामा आएका अधिकांश महिलाहरुको विषयमा यस्तै टिप्पणी पाउने गर्छौँ। २१ औँ शताब्दी हो भनेर आधुनिकता र परिवर्तनका जत्तिसुकै भाषण छाँटेपनि महिला केही गर्नसक्दैँनन् भन्ने खालका भ्रम अधिकाशंको मानसपटलमा गडेर रहेको छ।
हामी राजनीतिक पार्टीकै कुरा गरौँ, हरेक दलभित्र पितृसत्ताले यत्ति गाजेँको छ महिलाले अवसर पाउने स्थानमा समेत पुरुषकै हालीमुहाली छ जसको पछिल्लो उदाहरण हो, महिला मन्त्री समेत पुरुष बनाइनु। फेरि यसको अर्थ पुरुषले महिलाको समर्थन गर्दैनन् वा पुरुष महिला मन्त्री बन्नु हुदैँन भन्ने होइन, तर अचानोको चोट खुकुरीलाई के थाहा भनेको जस्तै महिलाको मुद्धा महिलाले जत्ति पुरुषले बुझेका हुदैँनन् र उठाउन सक्दैँननन्।
जसले गर्दा महिलाका मुद्धा ज्युका त्यु नै रहन्छन्। देशको नीति बनाउनेहरुले आफैँले बनाएको नियम उल्लंघन गर्दा न्यायभन्दा अन्यायका कुराहरु बढी बाहिरिरहन्छन्। यस्तै महिलाको शरीर र नितम्ब जाँचेर उसलाई राम्रो र नराम्रोको ट्याग भिराईदिने अर्को स्थान हो फिल्म क्षेत्र। जहाँ महिलाको शरीररको सुन्दरतालाई तराजुमा तौलिएर चरित्रहीन आइमाईको ट्याग भिराइन्छ, अनि उसको हरेक सफलता जोडिन्छ उसको डाइरेक्टरसँग छुट्टै सम्बन्ध थियो रे वा अन्य कोहीसँग।
अनि उनीहरुले गरेका दुर्व्यवहारका विरुद्ध आवाज उठाउँदा उल्टै महिलालाई दोषी बनाएर पुरुषलाई चोख्याउने काम गरिन्छ। अनि कुनै संस्था वा कम्पनीमा महिला अघि बढेको देख्यो भने उसको चरित्रसँग जोडेर सजिलै बदनाम गराउनेहरुको भीड पनि उत्तिकै लाग्ने गर्छ।
हुन त, महिलामाथि विभेद हुनुमा पुरुष मात्रै होइन, महिला पनि उत्तिकै जिम्मेवार छन्। माथिल्लो पदमा पुगेका महिलाबारे पुरुषको भन्दा पनि नकारात्मक टिप्पणी गर्ने महिलाहरु पनि भेटिन्छन्। तर, यसको जरो भने पुरुष प्रधान मानसिकतामै अड्किएको छ। महिलालाई दोश्रो दर्जाको नागरिक भनेर आफ्नो पाउमुनि राख्न खोज्ने समाजको चिन्तन अनि त्यही चिन्तनको आडमा हुर्किएका महिलाहरु स्वयं नै आफू कमजोर हुँ भन्ने स्वीकार गर्छन्।
समाज, घर, परिवार र मानव निर्मित नियमका विरुद्ध जानुभन्दा आफू कमजोर हुँ, पुरुष बिना चल्न सक्दिनँ भन्ने विभेदकारी चिन्तनलाई सहजै स्वीकार गरिदिन्छन्। अझ कतिपय महिलाहरुको चिन्तन त यत्ति विभेदकारी छ कि आफूले सहेको अन्यायका विरुद्ध बोल्ने त परै जाओस्, बाहिर पर्दामा आउन खोज्ने महिलालाई चरित्रहीन आइमाई भनेर घृणित टिप्पणी गरिदिन्छन्।
आफू अन्यायमा परेको पनि थाहा नपाउने र महिला कुनै क्षेत्र र विषयमा पनि पुरुषभन्दा अब्बल हुन सक्दैँनन् भन्ने स्थापित मान्यतालाई पश्रय दिईरहँदा महिलाहरु पूर्ण हस्तक्षेपकारी भूमिकामा देखिन पाएका छैनन्।
माथि उल्लेखित विषयहरुमा महिला मात्रै अब्बल हुन् वा हरेक पुरुष महिलाविरोधी छन् भन्न खोजिएको होइन, तर नेपाली समाजमा हालसम्म पनि यस्तो प्रवृत्ति छ जहाँ महिलालाई गिराउन हरेक विषय चरित्रसँग जोडिन्छ। महिला र पुरुष जोडिने मामिलालाई संकीर्णताको दृष्टिले हेर्ने समाजले एउटा केटा मान्छेसँग चिया खाएको विषयलाई पहाड बनाएर उसको सफलताको पछि बाधक बनाउने काम गर्छ।
यसको अर्थ हरेक चिया खाइएका, भेटेका वा कुरा गरेका विषयले नै महिला पछि परेका हुन् भन्ने होइन, तर, सफलता प्राप्त हुने वा माथिल्लो पदमा पुग्ने समयमा भने यो विषयले धेरै अर्थ राख्छ। मानिसका योग्यता, क्षमताभन्दा पनि यौनका विषय, महिला र पुरुषको सम्बन्धलाई सानो दायराबाट नियाल्ने सामाजिक प्रवृत्ति नबदलिएसम्म समाज बदलियो भन्ने परिकल्पना झुट नै साबित हुन्छ।
समाजका सकारात्मक मूल्यमान्यताको रक्षा गर्दै संकीर्ण मानसिकता बदल्ने हो भने आधुनिक नेपाली समाज निर्माण हुने सम्भावना प्रबल छ। त्यसैले कसैको सफलतालाई बदनाम गराउन चारित्रिक विषयलाई ठूलो इस्यु बनाउनुभन्दा आफू बदलिएर समाज बदल्नु जरुरी छ।