प्रिय सिन्धुपाल्चोक,
स्कुल पढदा ७५ जिल्लाको नाम पढ्ने बेला पक्कै नि तिम्रो नाम पढेँ होला मैले। तिम्रो नाम त्यो बेला मेरो मस्तिस्कमा बस्न सकेन। मेरो लागि त्यो बेला रुपन्देही, पाल्पा, गुल्मी र कपिलवस्तु नै नेपाल थियो।
तिमीसँग मेरो मामा, काका वा फुपूको घर, त्यस्तो केही सम्बन्ध छैन। तर मनको सम्बन्ध छ, त्यो पनि धेरै गहिरो। मेरो मस्तिष्कमा तिमीले ठाउँ ओगटेको धेरै भएको छैन तर तिमीले यति गहिरो गरी डेरा जमायौ की त्यो म कुनै शब्दमा वर्णन् गर्न सक्दिनँ।
तिमीलाई मैले राम्रोसँग चिनेको ७२ सालको भूकम्प, त्यो पनि वैशाख २९ पछि हो। सिन्धुपाल्चोक र दोलखाको सिमानामा केन्द्रबिन्दु भएर भूकम्प गएको कुरा मैले समाचारमा पढेँ। तिम्रो ठाउँमा म पहिलो चोटि आएको २०७३ सालमा हो, त्यो पनि र्याफ्टिङ गर्न। जब दोलालघाट काटेर सिन्धुपाल्चोक जिल्लामा गाडीले टेक्यो, मेरो दिमागमा टिभीमा देखेका सारा भूकम्पपछि भत्केका, चर्केका घरहरु फ्ल्याशब्याक बनेर आए।
बिडम्बना, राति भएकाले मैले तिमीलाई नजिकबाट नियाल्न सकिनँ। ब्याचलर्स पढ्ने बेला कलेजबाट एक महिना फिल्ड भिजिट लग्यो दोलखा, त्यै मौकामा मैले तिमीलाई नियाल्न पाएँ नजिकबाट। भोटेकोशी खोलाको तिरै तिर हुँदै गाडीले गति लिदै थियो मैले आँखा झिमिक्क नगरी तिम्रो एक-एक तस्बिर मेरो मस्तिस्कमा सेभ गर्दै थिएँ।
जब सुकुटे बिच आयो, मैले जस्तै र्याफ्टिङमा रमाइ रहेका मान्छेहरु देखेँ। आफू रमाएको याद आयो अनि मुसुक्क हासेँ। गाडी अघि बढ्दै थियो। साथीहरु कोही निदाए, कोही गीत गाउँन मस्त थिए। म भने तिमीलाई नियाल्न मस्त। एकैछिन यताउता फर्किदा नि केही छुटिहाल्छ कि जस्तो लाग्थ्यो।
सलल बगेको भोटेकोशी, हरियो डाँडै डाँडा, पहाडको टुप्पो-टुप्पोमा भएका घरहरु, पर्यटन आकर्षण गर्न खोलिएका विभिन्न रिसोर्ट एण्ड रेस्टुरेन्टहरु। आहा! आहा! खाडीचौर आइपुग्नुभन्दा केही अगाडिदेखि नै बायाँ तर्फ एउटा ठूलो डाँडा छ। त्यो पहाडले सायद सबैको ध्यान केन्द्रित गर्छ होला, खाडीचौरको उकालो चढेर धेरै माथि पुग्दासम्मै त्यो डाँडाको सौन्दर्य मज्जाले देख्नन सकिन्छ। आखिर, यति राम्रो सिन्धुपाल्चोकलाई किन यति धेरै दु:ख त?
सौन्दर्यले मात्र हैन, तिम्रो दु:खले नि मेरो मस्तिष्कमा राम्रै ठाउँ ओगटेको छ। खाडीचौर, मुडे हुँदै चरिकोट पुगेँ तर बाटोमा एउटा नि सद्य घर देखिनँ। सबै घरको छानामा निलो जस्तापाता टल्केको देखेँ, माटोले बनेको घर एउटा पनि बाँकी छैन रहेछ, पूरै जिल्लामै।
भूकम्पपछि बनेका केही घर र सिमेन्टले बनेका केही घर बाहेक अधिकांश घर जस्तापाताका रहेछन्। बाढी, पहिरोले आज सिन्धुपाल्चोकमा यति जनाको ज्यान गयो, यति जना बेपत्ता, यति घर बगायो भन्दा मेरो मन सिरिङ्ग भएर आउछ। उफ्! वर्षा यामको समयमा मैले कान्तिपुर दैनिक खोल्नु अघि आज चाहिँ सिन्धुपाल्चोकमा केही भएको समाचार पढ्नु नपरोस् भन्छु तर मैले सोचेर मात्र कहाँ हुँदो रहेछ र?
बीबीसीको साँझा सवालमा उजेली बहिनीले भनेको वाक्य याद आउँछ- 'हाम्रो गाउँको मान्छेले त कहिले सुख पाउदैनन् कि के हो!' म स्तब्ध हुन्छु। हस्पिटलमा बिरामी हेर्दा ठेगाना सिन्धुपाल्चोक देखेँ भने म उहाँहरुसँग केही सोध्न खोज्छु, बोल्न खोज्छु। त्यती धेरै दुख हुँदा पनि हाँसेर बोल्नु हुन्छ, बरु हामीलाई नै केही भएको थियो की भूकम्पले भनेर हाम्रो पीडा बुझ्न खोज्नु हुन्छ।
एक दिन एकजना बुढो बाजेले त मनै छुने जवाफ दिनु भयो- ‘छिमेकमै शक्तिशाली राष्ट्र छ, केही गरी सीमाना बाढ्दा त्यो एक डाँडा उत्तर तिर परेको भए सायद आज म नेपाली हुने थिएन होला। शक्तिशाली राष्ट्रले भूकम्प रोक्न नसके नि घर चाहि बनाइदिन्थ्यो होला तर म ढिडो नै खाएर बस्छु तर नेपाली हुन गर्व छ मलाई।’ यो सुनेर मेरो बाजे प्रति हृदयेदेखि नै सम्मान बढेर आयो।
बिहीबार बिहान फेरि भूकम्पको धक्का महशुस भयो। निदाएको मान्छे झस्किएँ, साथीलाई सोधेँ कता रहेछ एपिसेंटर अनि कतिको आएछ? मनमनै सिन्धुपाल्चोक नहोस् भन्दै सोच्दै थिएँ तर बिडम्बना, फेरि उत्तर आयो त्यै त हो नि 'सिन्धुपाल्चोक।'