हरिया पाखापखेरामा आफू रमाउँदै हिँड्दाको कल्पनाले मात्र कसको पो मन नलोभ्याउँदो होला।
हिँडनु, डुल्नु ,घुम्नुको मज्जा नै बेग्लै र अदभूत हुन्छ। गाडीबाट पूरै एकफन्को लगाएर वरपरको सुन्दरता नियालेर रमाउन दिनु भन्दै छोरीहरू जसरी भए पनि भोलि घुमेर आनन्द लिने ढिँपी कस्दै थिए।
कोरोनाको कहरले लगभग ४ महिनाभरि पूरै कोठामा नै थन्किऐर बस्यो। एकचोटि पनि बाहिर निस्किन नपाएको पीडा र छटपटी छोरीहरूको मुहार र व्यवहारमा स्पष्ट देखिथ्यो।
साढे पाचँ वर्षकी कान्छी छोरीले खाना खाएर सुत्ने बेलामा सोधिन्, मामु प्लिज अब हामी कतै घुम्न जान मिल्दैन?
हो आज भोलि मलाई पनि दिक्क लाग्छ, केही पनि गर्न मन लाग्दैन कुन्ठित बनेका आफ्ना चाहना पोख्न खोज्दै थिई अब कक्षा ६ मा अध्ययनरत् जेठी छोरी आर्या पनि।
असहज परिस्थितिमा कसरी सहज यात्रा आरम्भ गर्ने भनेर रातभरि सोचमग्न बनायो। आखिरमा छोरीहरूको मुखबाट निराशको बादल हटाउन सबै क्षणहरू सहजताका साथ बिताउने कल्पनाको साथ यात्रातिर हुँइकियौं।
बालाजुबाट साउनको अन्तिम हप्ताको शनिबार बिहान ११ बजे सुरू भएको हाम्रो यात्रा नेपालटार, सोह्रखुट्टे, शोभाभगवती कालीमाटी, बल्खु र अन्त्यमा कीर्तिपुरको सुन्दर प्राकृतिक छटा नियाल्दै करिब आधा घण्टापछि गन्तव्य स्थानमा पुगेर रोकियो।
ढिला नगरी तीन वटा तीस रुपैयाँको टिकट काटेर श्रीमानसहित हामी तीन जना कीर्तिपुरको टौदहभित्र छिर्यौं।
पूरै टौदह खाली खाली देख्दा छोरीहरूलाई भाग्यमानी मानी हामी सुन्दर प्राकृतिक छटातिर आँखा घुमाउन थाल्यौं।
पोखरीका सम्बन्धमा प्रचलनमा रहेको किम्वदन्तीहरूलाई प्रत्यक्ष रूपमा आफ्ना आँखाहरूले नियाल्न पाउँदा हाम्रो आतुर मन खुसीले गदगद भयो। मन्जुश्रीले चोभारको डाँडालाई काटी पानी पठाउँदा दहमा बसेका नागराज बाहिरिएमा संकट आउने देखेर भिमसेनद्वारा दह निर्माण गरी पोखरीको नाम टौदह राखिएको रहेछ।
पोखरीको बनावट अस्टकोण आकारको एवं काठमाडौं उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ। श्री कर्कोटक नागराज रातो मच्छिन्द्रनाथसँग ठूलो सम्बन्ध यस पोखरीको रहेको भनाइ छ।
जावलाखेलमा देखाइने भोटो श्री कर्कोटक नागराजको हो भन्ने वास्तविकता धार्मिक शास्त्र र ग्रन्थहरूमा उल्लेख छन्। यसरी पोखरीको उत्पत्ति काठमाडौं उपत्यकाको उत्पत्तिसँगै सम्बन्धित छ।
टौदह पोखरी परापूर्वकालदेखि नै श्रद्धाकासाथ हेरिँदै आएको छ भने नागराजले आफ्नो भक्तहरूलाई दर्शन दिन चाहेमा विभिन्न रूपमा दिने स्थानीयवासी बताउँछन्।
टौदह प्राकृतिक छटा र धार्मिक विविधताका दृष्टिले पनि विशिष्ट रहेको छ। यसरी पोखरीको इतिहास आफैंमा एउटा धार्मिक चिनारीका रूपमा उभिएको छ।
टौदह छिर्ने बित्तिकै कोइलीको कुहुकुहु मोहक आवाजले मननै त्यतै हरायो। छोरीहरू रूखको बीचमा सुनगाभा ढकमक्क फुलेको देखेर प्रफुल्ल हुँदै त्यतै रमाए।
पोखरीको क्षेत्र वरिपरि पाइने विभिन्न चराहरूका साथै ६३ किसिमका चराहरू जस्तै: जलेवा, चखेवा, सिन्दुरे हाँस, गजले सुनचरी, कुकुकु कोइली, बाँके जलवकुल्लो, फिरफिरे, मरुल, फिष्टो, लालकण्ठे, सुइरो पुच्छे आदि देख्न पाइन्छ।
नौलो आकर्षक सानाठूला अग्ला होचा ती चराहरू आफैंमा मनमोहक र आकर्षक देखिन्थे।
प्रकृतिको अनेक सुन्दर सृजनाका रूपमा रहेका फूलहरू लटरम्म फुलेर झुलेको देख्दा अनुपम प्रकृति आफैं खित्का छोडेर हाँसेको भान भो।
सम्पूर्ण वातावरणभरि चिरविर मधुर स्वर जताततै गुन्जित थियो।
टौदह पोखरिभरि सेतो गुलावी पहेंलो कालो रातो लगायतका विभिन्न रङ्गका माछाहरू यताबाट उता, उताबाट यता सलल पौडिरहेका थिए।
छोरीहरू माछाको आहार भुजा र तोफु दिँदै ती माछाहरूको क्रियाकलापको आनन्द लिँदै उनीहरूका बाबासँग सुस्तरी अगाडि बढ्दै थिए।
लोभिएको मेरो लालायित आँखा पहिलो पटक लकडाउनपछि पोखरीलाई स्पर्श गर्ने बित्तिकै प्रकृति आफैं बोलेको आभाष भयो।
"नानी आखिरमा त हामीलाई भेट्न आयौं नि"। के भनौ के नभनौ ? भन्ने सोचिरहेको थिए।
प्रकृति नै फेरि आफैं बोल्न थालिन्, नडराऊ खुसीको साथ लामो सास तानेर स्वच्छ सफा हावामा हिँड।
प्रकृतिलाई माया गर्न सिकाइदेऊ, रूख नकाट्ने फोहोर जथाभावी नफाल्ने बोटविरूवाको संरक्षण गर्ने , सबैलाई आफ्नो स्वतन्त्र रूपमा हाँस्न दिने र कहिले पनि आफू अनुकूल हुने गरी आफ्नो वातावरणलाई परिमार्जन नगर्ने।
हस् भै हाल्छ नि मेरो मुखबाट एकाएक आवाज निस्क्यो।
यताउति हेर्छु कोही पनि छैनन्। मन्त्रमुग्ध हुँदै त्यही माटोसँग सम्बन्ध जोडेर टुसुक्क त्यही बसेर प्रकृतिसँग मुस्कुराउँदै थिए।
ए मामु छिटो आउनु न के टोलाइरहेको छोरीको आवाजले एकाएक झसंग हुन्छु।
यहा कत्रो अनुपम सौन्दर्यले भरिएका अद्भुद माछाहरु रहेछन्, हेर्नु त तल पोखरीको पिँधमा।
छोरी बोलेकोले मैले पुलुक्क माथिको डिलबाट नै माछाहरूलाई चियाएर हेरें। स्वच्छ र सफा टौदहमा थुप्रै प्राणीहरू पोखरीमा आफ्नै स्वरूपमा पौडिरहेका थिए।
यस दहमा माछा मार्न हाँसलगायत अन्य चराचुरुङ्गीको शिकार गर्न र पौडी खेल्न सक्त मनाही गरिएकाले माछा एवं चराचुरुङ्गीहरू आफ्नो वासस्थानमा स्वतन्त्र रूपमा उडिरहेको पाइन्छ।
प्रचुर पर्यटकीय सम्भावना बोकेको यस टौदह कीर्तिपुर नगरपालिका ६ मा अवस्थित यस स्थानको संरक्षणका लागि टौदह समाज संरक्षण समिति गठन भै थुप्रै काम भइरहेको छ।
यसको साथै यस पोखरीभित्र फोहोर फल्न नदिन र अनावश्यक उच्छृंखल क्रियाकलाप नियन्त्रणका लागि समेत आवश्यक व्यवस्था गरिएको छ। पोखरीको प्रवेशद्वारबाट पोखरीको चारैतर्फ घुम्नलाई सुविधा सम्पन्न ढलान गरिएको बाटो र रेलिङले घेरिएकोले पोखरी सफा र सुरक्षित रहेको छ।
पोखरी वरिपरि केहीबेर फोटो खिचेर नौलो परिवेशमा धेरै पछि घुलमिल हुन पाउँदा छोरीहरू औधी प्रफुल्ल थिए भने हामी दुई प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै त्यतै गाँसियौं।
आकर्षक मनमोहक टौदह पोखरीभित्र विभिन्न चराचुरुङ्गी र माछाहरूको आनन्दित क्रियाकलापले त्यहीनै बसिरहुँ झैं लागेको थियो। त्यही पनि कोरोनाको डरले मनमोहक परिवेशलाई मनभरि सम्हाल्दै नचाहेर उक्त स्थानलाई छोड्नु पर्दा निरास हुँदै पाइलाहरू घिस्रे।
पाँच घण्टाको समय कति छिटो बित्यो पत्तै भएन। यात्राले दिएको सन्तुष्टि छोरीहरू र हामी दुईको अनुहारमा पनि खुसीका किरण भएर टल्किरहेका थिए।
धेरै पछि त्यो साँझ निसास्सिएको जीवनमा प्राप्त भएको उन्मुक्तिको रूपमा छोरीहरूको अनुहार चम्किरहेका थिए।