अहिले विश्वभरि मडारिरहेको कालो बादलबीच प्रकृतिले आफ्नो स्वरुप फेर्न पाएको सुनौलो अवसरमा रमिरहेको छ। जीवजन्तु, चराचुरुङ्गीहरु स्वतन्त्र रुपमा निस्फिक्री भएर जीवन विचरण गर्दै छन्, वायुमण्डललाई केही गुनासो छैन। यहाँ प्रभाव, गुनासो, वेदना छ त सिर्फ मानवजातिको।
संसारको सर्वश्रेष्ठ प्राणीको उपनाम पाएको मानवजाति आज बैचेनीमा छन्। आज मानवजातिको आचरण हारको छ र उनीहरू बल्ल हारलाई स्वीकार्दै छन्। काँचुलीले रङ्ग फेरेको जस्तै रङ्ग फेर्ने मानवजातिलाई आज परिस्थितिले बेरङ्गी फिका बनाइदिएको छ।
हिजोको बलवान मानिस आज कमजोर भएको छ, हिजोको नास्तिक मान्छे आज प्रभुको शरणमा गएर जीवनयापन गर्दै छ। परिस्थितिले आज आफूलाई सुसम्पन्न, धनाढ्य ठान्ने मानवजातिलाई पनि हराएको छ, गलाएको छ।
हो, परिवर्तन जरुरी छ तर परिवर्तनको नाममा आज मान्छे अहंकार, घमण्ड, लालचमा चुर्लुम्म डुबेर अन्धो बनेका छन्। जीतको रफ्तारमा मान्छे आज यति स्वार्थी भएका छन् की मानवतालाई बिर्सिएर अगाडि बढ्ने होडमा छन् मानवता हराएको छ भन्दा फरक नपर्ला।
सुसम्पन्न बन्ने अभिलाषामा आज मानवको भाडो नै अहिंसा, भ्रष्टाचार छलकपट बनेका छन्। आज चोरी, डकैती, एसिड आक्रमण, बलात्कारले सीमा नाघेको छ। आज मानव मानवहीन बन्न पुगेको छ। आज मानवले नै मानवको जीवनमाथि कहिल्यै मेट्न नसकिने गाढा रङ्ग भर्दै छन्।
चेतना, विचार, विवेक, माया, संवेदना भएर नै मानवको श्रीपेच पाएको मानवले नै आज ठिक विपरित भएको पुष्टि गर्न थालेका छन्, मानव हुनुको सभ्यता भुल्दै छन्। आज मानव एकअर्काको आशा, भरोसा त्याग्दै त भन्दा म के कमको भावनामा डुबेका छन्, एकले अर्कालाई परिबन्दनमा पार्दै छन्। आज मानवले आफू जीउनुको औचित्य नै बिर्सदै छन्।
तर पालो फेरिएको छ। मानवको शोषणले विरक्त भएका प्रकृतिले हिजोआज स्वतन्त्रको सास फेर्दै छन्, औद्योगीकरण र सहरीकरणले अचेत बनेको वायुमण्डलले आफ्नो स्वरुप पाएको छ, चराचुरुङ्गी जीवजन्तुले आज निरहि बनेर घरभित्रै कैदीको जस्तै जीवन बिताइरहेका मानवजातिलाई जिस्काउँदै छन्। तिमीलाई कहिल्यै प्रकृतिलाई नियाल्ने फुर्सद थिएन तर आज तिम्रो उकुसमुकुस प्रकृतिले बढो मजाले नियाल्दै छ। आज तिमीलाई प्रकृतिले चुनौती दिँदै छ।
आज मानवले खोरमा थुनिएर बस्दाको अनुभूति बुझदै छन्, माटोको माया बुझ्दै छन्, परिवारको त्याग बुझदै छन्, बाँच्नुको संघर्ष नियाल्दै छन्। खालि हात आएका हामी खालि हातनै जानु पर्ने हाम्रो दुई दिने जीवनचक्रमा आज मानवले वास्तवमा जीउनुको अर्थ बुझ्दै छन्, होइन र?