विश्वका प्रसिद्ध कलेजमध्ये एक हो- ओस्लो विश्वविद्यालय (युआईओ)। यो कलेजमा भर्ना पाउन संसारका विद्यार्थीले प्रयास गरिरहेका हुन्छन्। भर्ना पाइहालेमा आफूलाई भाग्यमानी ठान्छन्। तर, मलाई त्यस्तो कहिल्यै लागेन, सायद पहिलो पटकमै भर्ना पाएर होला।
कलेज थालेकै बेलादेखि खुसी थिएन अनुहार। एक्लो महशुस भएको थियो मन।
'भाइ नेपाली?' कानमा गुन्जियो आवाज।
छाती ढक्क फुल्यो। मन उकुसमुकुस भयो। पहिलो पटक दुई शब्दको नेपाली आवाज सुन्न पाएको थिएँ कलेज प्रांगणमा।
कलेजका सुरूआती दिनदेखि नै हो कोही नेपाली भेटिन्छ कि भनेर हेर्न थालेको।
कालो कपाल भएको, नेपाली जस्तो चेहरा देख्दा नेपाली भइदिए पनि हुने लाग्थ्यो।
नेपाल हुँदा त साथीकै पनि महत्व नहुने। विदेश आएपछि थाहा भो, नेपाली हुँ भन्दिने मात्रै कोही भए पनि हुने जस्तो लाग्ने।
त्यस्तै लागेका बेला सुनेको आवाजबाट खुसी छल्काउँदै अत्तालिएर भने, 'हो त दाइ, म नेपाली। कसरी चिन्नुभयो?'
'नेपाली जस्तै लागेर गेस गरेको।'
घर पश्चिम, थर ज्ञवाली। ओस्लो (नर्वेको राजधानी) आएको दुई वर्ष भयो। पढाइ डाटा साइन्स। उमेरचाहिँ त्यस्तै ३५ जति होला। कक्षा छैन आजकाल उनको। थेसिस गर्दै छन्, त्यही कामले पुगेका थिए उनी कलेज।
बेलाबखत फेसबुकमा गफ हुन्थ्यो, कति कतिबेला नेपाल सम्झेर नोस्टाल्जिक हुन्थ्यौं।
नेपालको पेसाबारे हामी फेसबुकमार्फत् परिचित भएका थियौं।
'तपाईं अधिकृतको जागिर छाडेर किन आउनुभयो दाइ?' म उहाँलाई प्रश्न गर्थें। उहाँ मलाई उत्तर दिनुको सट्टा मेरो प्रसंगमा ल्याएर कुरो टुंग्यादिनुहुन्थ्यो।
'तपाईं पनि पत्रकारितामा उदाउँदो मान्छे हुनुहुँदो रहेछ। तपाईंले पत्रकारिता किन छाड्नु भयो भन्नु त?'
'दाइ म त चाँडै फर्किएर फेरि पत्रकारितामै जम्छु होला।'
म भविष्यको सम्भावित योजना सुनाउँथेँ। उहाँ भविष्यको निश्चित योजना सुनाउँदै भन्नुहुन्थ्यो, 'भाइ नेपाल गएर लेख्नुस्, म यतैबाट पढिदिउँला नि।'
उहाँलाई बुझ्दै गएँ मैले। इमानदार, लगनशील र विवेकी मान्छेको रूप पाएँ। देशप्रति माया पनि उत्तिकै छ। देशमा केही गर्न नसकेको पछुतो पनि यदाकदा मनमा छ।
लक्ष्य पनि थियो उनमा, सचिवसम्म बन्ने। कुरा गर्दै थाहा लाग्थ्यो सचिव बन्ने क्षमता पनि छ।
तर, किन त्यागे सचिव बन्ने बाटो र हानिए श्रीमतीसहित विदेश?
जान्न मैले धेरै पटक कुरा कोट्याएँ। तर, उनी सम्झिन पनि खोज्थेनन्।
'पछि कुनै बेला सुनाउँला भाइ,' यस्तै बहाना देखाएर टार्थे।
तर, म उनले अधिकृतको जागिर किन छाडे भनेर जान्न जहिल्यै उत्सुक हुन्थेँ। म आफैंलाई लाग्थ्यो, 'अधिकृत हुन पाए त किन देश छोड्न पर्थ्यो?'
गलत रहेछु म। अधिकृतका पनि त आफ्नै बाध्यता रहेछन्। चिनारी नखुलाउने सर्तमा ती पूर्व अधिकृतको कथाले चेत खुलायो।
...
गाउँकाहरू धमाधम लोकसेवा पढेर सरकारी सेवामा होमिए। फलानोको छोरा सुब्बा, अधिकृत भयो रे भनेर सुन्न मात्रै के पाइन्थ्यो, यति लाखको घडेरी किन्यो रे। घर पो बनाइसक्यो रे। यस्तै एकपछि अर्को समाचार तीव्र गतिमा फैलिन्थ्यो। त्यति छिटो प्रगति भएको सुन्दा लाग्थ्यो- लोकसेवा एउटा जागिर होइन, सुनको अन्डा पार्ने कुखुरा हो।
त्यसैले मान्छेहरू दिनरात नभनी पढेर नाम निकाल्छन्। नाम निकालेको केही दिनमै सुनको अन्डा बेचेर घर-घडेरी जोड्छन्।
जागिर त मैले पनि खाएको थिएँ, प्राइभेट स्कुल पढाउने। गाउँलेहरू मलाई भन्थे, 'फलानोको छोरा कति न ट्यालेन्ट भन्थे, के ट्यालेन्ट हुन्थ्यो। स्कुल पढाएर बसेको छ।'
एकातिर गाउँलेले कुरा काट्ने त छँदैछ। अर्कातिर घरपरिवारको चहाना पनि लोकसेवा नै भिडेर जागिर खावोस् भन्ने। अनि मैले पनि त लोकसेवा भिड्नुको विकल्प देखिएन।
अधिकृतमा नाम निस्केपछि शिक्षकबाट राजीनामा दिएँ। विद्यालय छाड्ने कुरा सुनाउँदा विद्यार्थीले आँखा टम्म बनाए। अभिभावकले आँसु खसाए। सहकर्मीले गह्रौं मन बनाएर बिदाइका हात हल्लाए।
सरकारी अधिकृत! आहा, क्या सम्मान! गाउँलेको नजरमा ठूलै मान्छे बनियो। शिक्षक हुँदा करिब पचास हजार कमाउने छोराको भविष्य उज्ज्वल नदेख्ने आमाबाबु करिब तीस हजारको अधिकृत जागिर खान जाँदा मख्ख।
मेरो नियुक्ति कर कार्यालयमा भयो। अरू कर कार्यालयमा जान मरिहत्ते गर्ने रहेछन्। आफूलाई बेकारमा आइयो कि झैं लाग्थ्यो।
ओहो! कार्यालयमा आउनेको मप्रति सम्मान। अनि तलका कर्मचारीको पनि उस्तै चाप्लुसी। चिया ल्याउने दिदीले त दिक्कै बनाउन थालिन्, 'सरलाई तातो, चिसो के ल्याइदियौं' भनेर।
'सर, सेवामा भर्खर सुरू गर्नु भएको छ। धेरै आत्तिनु पर्दैन। सेवाग्राही कति आउँछन् भन्दा पनि आज मुड कस्तो छ भनेर विचार पुर्याएर काम गर्नुहोला।'
कार्यालयको कौसीमा एक घन्टा बसेर घामले तातेपछि सहकर्मीको भनाइमा चकित हुन्थेँ म। फाइल हेरेर काम फत्ते गर्न खोज्दा पनि सहकर्मीले नै अड्काइ दिन्छन्।
एक जना सहकर्मीले भने, 'यसरी रित्ता फाइलको काम गर्नुभयो भने त जोगी होइन्छ, विचार गनुहोला।'
कार्यालयमा बेलाबेला यस्तै भन्नेहरूको कमी थिएन।
सुरूका दिनमा त सहकर्मीले मात्रै यसो भन्थे। एक, दुई गरेर महिना बित्दै गएपछि त हाकिम सा'बले पनि 'धेरै कडा बन्न नखोज्नू, मिलाएर काम गर्ने बानी बसाल्नू' भन्न थाले।
कार्यालयको टर्चर हुन थाल्यो मलाई। अर्कातिर मेरो परिवारको अपेक्षा रहेछ, 'जागिर खाएसँगै छोराले सहरमा घरघडेरी जोडोस्।'
'त्यो त पूरा गर्न सकिनस्, अब बिहे त गर' आमाबुबालेले चहाना प्रकट गर्नुहुन्थ्यो।
मलाई पनि लागेको थियो, अब बिहे चाहिँ गर्नुपर्छ।
कलेज पढ्दादेखि नै विमलासँग लभ परेको थियो। उनी मलाई भन्थिन्, 'तपाईं किन नेपाल बस्नुभएको, चाँडो विदेश जानु र मलाई पनि उतै बोलाउनू।'
'नेपालमै केही गरे हुन्न र?'
'उसो भए सरकारी जागिर खानू नि त। किन यस्तो स्कुल पढाएर बसेको?'
विमलासँग बिहे गर्न कि विदेश जानुपर्ने कि सरकारी जागिर खाएर भविष्य सुरक्षित हुन्छ भनेर देखाउनपर्ने भयो।
घरपरिवारको सल्लाह र सरकारी जागिर खाएर विमलासँग विवाह गर्ने सपना देखेर लोकसेवा तयारीमा लागेको थिएँ। त्यही बेला हो विमलाको बिहे भएको, अस्ट्रेलिया बस्ने केटासँग।
विमलाको बिहे भए पनि सरकारी जागिर भएदेखि नै दिनदिनै विमला जस्ता धेरै केटीको तस्वीर देखाइरहेका छन् मेरा आफन्त। सबै तस्वीर पुलुक्क हेरेर मन परेन भन्दिन्थेँ। मैले हेरेका सबै केटीका तस्वीर रुपवाली थिए। तै पनि मेरो मनमा ती केटी बस्न सकेनन्। किनकि, ती केटी मसँग होइन, मेरो अधिकृत जागिरसँग विवाह गर्न चाहन्थे। मेरा आफन्तले पनि त्यही भनेर तस्वीर मागेर ल्याउँदा रहेछन्।
बिहेको कुरा ल्याउने कतिपय भन्थे, 'आजकाल राम्री केटी बिहे गर्न तीन वटा कुरा हुनपर्छ रे। काठमाडौंमा घर, कि सरकारी जागिर कि विदेशको पिआर।'
मलाई यी तीन वटा चिजसँग साटिने केटी कस्ता होलान् भन्ने जिज्ञासा लाग्थ्यो।
मेरो कोठा काँडाघारीमा थियो। मेरा एक जना छिमेकीले सधैं नियालेको देख्थेँ। किन यसरी नियालेका होलान् भन्ने लागेर अंकलको साइनो लगाएर बोल्न थालेँ।
तिनै छिमेकी पछि मेरा लमी बने। अनि मलाई सजना नाम गरेकी युवतीको श्रीमान बनाइदिए।
खास ती छिमेकीले पनि मेरो अधिकृत जागिरसँग सजनालाई साट्न ल्याएका थिए। तर, सजना एउटा अधिकृतको जागिरसँग साटिने होइन, आफैं अधिकृत बन्न सक्ने पाएँ। अनि सम्बन्धको बलियो गाँठो कसेँ।
अधिकृत भएर कोठामा बसेको देख्दा सजनालाई नौलो लागेन। कोठाको हाल देख्दा उनले आफ्नो माइतीघरको बिल्डिङ सम्झिनन्।
एउटा मोटरसाइकल चढ्न नसकेकामा पनि पछुतो मानिनन्। मेरा सहकर्मीले मोटरसाइकल, गाडी चढेर हिँडेको इर्ष्या पनि गरिनन्। रहर त पक्कै थियो उनमा पनि। भविष्यको योजना बनाउँदै गर्दा घर, गाडी पनि समावेश हुन्थे उनमा। त्यसैले त उनी भन्थिन्, 'दुई जना मिलेर गरौंला।'
सजना साइन्सकी विद्यार्थी थिइन्। वन विज्ञानकी छात्रा। एउटा कन्सल्टेन्सीमा काम गर्न थालिन्।
'हजुर अधिकृत, छोरी पनि काम गर्ने। अब त घडेरी के किन्ने ज्वाइँ सा'प, घरै त हेर्ने होला नि?' ससुरालीतिरको आवाज बेलाबेलामा आइरहन्थ्यो।
ससुरालीले यति भन्नु नौलो थिएन। मसँगै अधिकृत भएकाहरू अफिसमा लड्डु बोकेर आउँथे, आज गाडी किनेको भन्दै। कहिले 'फलानो ठाउँमा सानो डिनर अर्गनाइज गरेको छु घडेरी किनेको उपलक्ष्यमा, आउनू' भन्दै निमन्त्रणा दिन्थे। कोही चाहिँ 'घर सर्न लागेको, जसरी पनि घरमै पाल्नुपर्छ है' भनेर मरिहत्ते गर्थे।
तर, मलाई साथीहरूको इर्ष्या लागेन। बरु मन पोल्यो। पछि यो सम्पत्तिले यिनीहरूलाई पक्कै पोल्छ होला भनेर।
मलाई कार्यालयमा कडा कर्मचारीको उपमा दिएका थिए। कतिपय सेवाग्राहीको आँखामा म कसिंगर थिए, जसरी मेरै सहकर्मीले मलाई मानेका थिए।
कडा कर्मचारीको उपमा सजनालाई मन परेको थियो। उनी भन्थिन्, 'हामी बन्न खोज्दा, देश बिग्रन्छ। देश बिग्रनु भनेको करोडौंले दुःख पाउनु हो। त्यसैले बरु हामी दुःख गरौं। तपाईं आफ्नो ठाउँबाट देश बनाउन लाग्नुस्। तलब बाहेकको एक रुपैयाँ पनि अपारदर्शी पैसो घरमा आएमा तपाईं र मेरो सम्बन्ध राम्रो हुने छैन।'
मैले सजनालाई बिहे गर्नुको कारण पनि यही थियो। र, अहिले साथीहरूको पछि नलाग्नुको कारण पनि सजनाकै बोली हो।
तर, के गर्नु साथीहरूको नजरमा म गलत मान्छे हुँ। त्यसैले त एक दिन मलाई साथीहरूले सम्झाएका थिए, 'ज्ञवाली जी, तपाईं यति कडा नबन्नुस्। आखिरमा तपाईंको पनि परिवार छ। हजारौं कर्मचारीमा एक हुन नखोज्नू। सबै मिल्नुपर्छ। देश र जनताको काम गरेर हामी पनि जिउनुपर्छ।'
साथीहरूले त भन्थे, एक पटक मलाई हाकिमले नै भने, 'मिल्नेसम्म काम गरेर पठाउनुहोला। आफूलाई पनि सहज हुनेगरी काम गर्नूस्। तपाईंले गर्दा हामीलाई पनि असहज भइसक्यो।'
यो शब्दले मलाई घोचिरह्यो। डगमगाउनु त परको कुरा, झन् कडा रूपमा प्रस्तुत हुन थालेँ। अरूको शंकास्पद गतिविधि पनि नियाल्न थालेँ।
एक दिन अपराह्न, एउटा नम्बरबाट फोन आयो, 'सरसँग गैरीधारा तामामा भेटौं है।'
म त्यहाँ पुग्दा दुई जना मान्छे थिए। 'हामी अख्तियार अनुसन्धान आयोगबाट हो,' उनीहरूले परिचय दिए।
'सर, तपाईंमाथि धेरै आरोप आइरहेका छन्। यस्तै गतिविधिमा संलग्नता भइरहने हो भने हामीले जुनबेला पनि रंगेहात पक्रन सक्छौं।'
'तपाईं देखिँदा इमानदार जस्तो भएर ठूला सेटिङमा संलग्न हुने? यस्ता कर्मचारीलाई हामीले जुनैबेला पनि रंगेहात पक्रिन सक्छौं, होसियार हुनुस्।'
केही भनिनँ मैले, सुनिमात्रै रहेँ। उनीहरू अरू धेरै यस्तै कुरा गरेर केही उदाहरण समेत दिएर बिदा भए।
म बेहोसीमै घर पुगेँ। वृत्तान्त सजनालाई सुनाएँ। उनले भनिन्, 'अबको केही दिनमै म केही सोच्छु।'
केही गलत पो सोच्लिन् कि भनेर डर लागेको थियो। उनले त विदेश जाने पो सोचिछन्, नर्वे।
मलाई थाहा थियो विदेशमा अधिकृत होइन, वर्तन चम्काउने मान्छे बन्छु भनेर। यो पनि थाहा थियो वर्तन चम्किलो बन्दै गर्दा मेरो मन धमिलो हुनेछ। तर, अधिकृत भएर देशमा बस्दा मैले देशलाई लुट्नै पर्ने भयो। कम्तीमा वर्तन चम्काउँदा देशलाई लुट्नु पर्दैन भन्ने लागेर मैले अधिकृतबाट बिदा लिएँ।
मलाई राष्ट्रसेवाको रहर पुगेको थिएन। देशका लागि के गरौं भनेर नलागेको पनि होइन। मलाई सजनाले पनि त उत्तिकै साथ दिएकी थिइन्। र त मैले सरकारी सेवामा बसेर मेरो पारिश्रमिक भन्दा एक रुपैयाँ बढी बुझिनँ। सजनाले साथ नदिएको भए भ्रष्ट राष्ट्रसेवक बनेर सम्पत्ति कमाउँथेँ। अनि, अख्तियार अनुसन्धान आयोगका मान्छेको पनि मुखमा बुझो लगाउँथेँ होला।
देश आमा हुन्। देश लुट्नु आमा लुटेको जस्तो हो। मलाई यस्तै लागिरहन्थ्यो, अनि मैले आमामाथि अन्याय गर्न सकिनँ। जसले गर्दा विदेश रोज्नपर्यो र आमाको सेवा गर्न चाहना अधुरो रह्यो भन्ने लागिरहन्थ्यो।
फेरि अर्को मनले भन्थ्यो, 'वर्तन चम्काएरै भए पनि वर्षमा दुई-चार लाख पठाएर देशलाई सहयोग गर्छु। दुई-चार लाख कमाएर सामान्य आवश्यकता पूरा गर्न सक्छु जस्तो लागेको दिन देश फर्केर फेरि सेवा गरौंला।
मैले देशको माटो समाउँदै मलाई नसराप्नू भनेर अनुरोध गरेँ। मैले हुर्काएँ, बढाएँ अनि अधिकृत बनेर मेरो सेवा गर्ने बेला गयो भनेर।
अनि जहाजले काठमाडौंको विमानस्थल छाड्यो। देश छोड्दाको पीडाले होला मेरा आँखामा आँसु बसेर अँध्यारो देखेँ।
..
फेरि उनी मातृभूमि छोड्दाको समय सम्झेर नोस्टाल्जिक भए। उनले आँखाबाट तप्प आँसु खसालेको देखेपछि मेरा आँखामा पनि आँसु छछल्किए। उनको अनुहार नियाल्दा धमिलो देखेँ। सायद आँखाको डिलमा बसेका आँसुले उनको अनुहार हेर्न छेक्यो मलाई।
(यो लेख सेतोपाटीमा दोस्रोपटक प्रकाशन गरिएको हो।)