२०४८ सालको जाडो याम चल्दै थियो। उमेर यस्तै चौध/पन्ध्रको थिएँ। हिउँद याम थियो क्यारे, माघ महिना हुनुपर्छ। सान्दाइ तानसेन आइए पढ्न बस्नु भएको थियो र छुट्टीको मौकामा घरमा आउनु भएको थियो। म नौ कक्षामा पढ्दै थिएँ।
गाउँघर भएकोले स्कुल छुट्टीका बेला या बिहान बेलुका खेतबारीमा काम गर्नु, घाँस काट्नु, वस्तुभाउ चराउन लैजानु र स्कुल चलेका बेला दश बजे स्कुल पुग्नु र बेलुका साढे चार भित्र घर आइपुग्नु हाम्रो दिनचर्या थियो। सान्दाइ बिदा सकेर तानसेन क्याम्पस फर्कने बेला भएको थियो। बुबाले मलाई दाइसँग तँ पनि साथैमा तानसेन जा र फर्कंदा जब्गादिमा अड्केर बसेको समान पनि लिएर आइज भनेर तानसेन जाने अनुमति दिनुभयो।
यति सुनेपछि त खुसीले भुइँमा खुट्टा रहेन मेरो। सहर बजार देख्न, गाडी चढ्न पाउने भएपछि मन चंगा झैं फुरुङ्ग उडेको थियो। तानसेन जाने दिन बिहान करिब छ बजेतिर आमाले रातो अक्षता लगाईदिदैँ बिदा गर्नु भयो। हामी दुई दाजुभाइ गह्रुंगो झोला बोकेर जब्गादीमा ट्रयाक्टर पाइए त्यसैमा चढ्ने, नपाइए पैदल नै आठ घण्टा हिँडेर आर्यभञ्ज्याङ पुग्ने इरादाले रवाना भयौँ।
उकालो बाटो असिनपसिन हुँदै तीन/चार घण्टाको हिँडाइपछि जब्गादी पुगेर सान्दाइले अब आर्यभञ्ज्याङ जाने ट्रयाक्टर पाइयो भने जहाँ पुग्दा पाइन्छ, त्यहीँबाट चढ्ने हो भन्नुभयो। बाटोमा सामानको लोड लिएर एउटा ट्रयाक्टर जब्गादी जाँदै गरेको भेट्यौँ। बाटोमा नास्ता गरेर बिरकोट कट्नै लाग्दा त्यो ट्रयाक्टर फेरि फर्केर हामीलाई भेट्न आइपुग्यो।
दाइले ल ल, अब छिटो छिटो चढौँ यसैमा भन्नु भयो। पहिलो पटक ट्रयाक्टर देखेको, त्यसमाथि त्यसैमा चढ्न पाउनु मेरो लागि खुसीको सीमा थिएन। त्यति खुसी त पहिलोचोटि प्लेन चढ्दा पनि भएको थिइनँ। तर रित्तो ट्रयाक्टर स्पिडमा चल्दा त उफारेर हुत्याउनै खोज्ने रहेछ।
बाटोमा आउने सानातिना बजार देखाउँदै दाइले फलानो ठाउँ आइपुग्यो भन्दा र बस्दा चाक थचारिरहँदा घरिघरि उभिन खोज्थेँ। तर झन् थामिन गाह्रो हुन्छ भनेर उभिन दिनु हुन्नथ्यो। अचाक्ली धुलो उडेकोले हामीले खल्तीबाट रुमाल निकालेर नाकमुख छोपिने गरी बाँध्यौँ।
एवं रितले चाइचुइ झकाल्झुकुल खेल्दै करिब तीन बजेतिर आर्यभञ्ज्याङ पुग्यौँ। यतिन्जेल ट्रयाक्टर चढ्दा त मक्ख परेको म अब त बस नै चढ्न पाउँदा खुसीको सीमाना थिएन। भित्र पस्ने बित्तिकै एकजना मान्छेले अलिक पछाडि पछाडि जानुस् भन्दै अर्डर दियो। त्यो मान्छेलाई कन्डक्टर भनिने रहेछ। बस्ने सिट नभएकोले दाइले ‘अलिक बलियो समा है, लड्लास्’ भन्नु भयो। तर मलाई उभिन गाह्रो भैरहेको थियो।
त्यो गाडी बुटवल जाने थियो। चढेको एक घण्टा नहुँदै बर्तुंग झर्नुपर्दा खल्लो लाग्यो। कहाँको बस चढ्ने रहर मेटिनु। हामी त्यहाँ दश/दश रुपैयाँ तिरेर ओर्ल्यौँ र बुटवलबाट तानसेन जाने अर्को गाडीमा चढ्यौँ। निकै घुम्ती र उकालो रहेछ बर्तुंगदेखि तानसेनसम्मको बाटो, प्रतिव्यक्ति दुई-दुई रुपैयाँ भाडा तिरेर हामी ओर्ल्यौँ।
मेरा बाफरे, मान्छेको भीड कति हो कति! लहरै पसलहरु, होटेल रेस्टुरेन्ट, जताततै गाडी नै गाडी अनि पैदल हिँड्ने मान्छेहरु पनि उस्तै, बल्ल मलाई सहर आइपुगेजस्तो अनुभूति भैरहेको थियो। बेलुकीको पाँच बजिसकेकोले साँझ पर्न लागिसकेको थियो। वरपरका पसलहरुमा झिलिमिली बत्तिहरु बलिरहेका थिए कति रमाइलो होला यो ठाउँ, यी मान्छेहरु कति सफा होलान् भनेझैं लागिरहेको थियो।
त्यहाँबाट फटाफट दाजुभाइ केही माथि निस्क्यौँ। त्यो बाटोमा पुस्तक पसल, फेन्सी, भाडापसल, किराना र तरकारी पसलहरु लहरै थिए। त्यो बाटो दाहिनेपट्टि हुँदै केहीबेर तेर्सो अनि फेरि ढुंगा टाँसेको उकालो बाटो, फेरि तेर्सो अनि अलिकति केही मिटर ओरालो झर्दा ठ्याक्कै दाइको कोठामा पुग्यौँ। त्यो ठाउँलाई बडिज्ञान टोल भनिन्थ्यो।
कोठा खुल्लै थियो, कमल मामा हुनुहुँदो रहेछ। दाइ र कमल मामा एउटै रुममा बसेर पढ्नु हुन्थ्यो। ढोगभेट भलाकुसारी गरिसकेपछि कमल मामाले भान्जाहरू थाकेर आउनु भएको होला, म बजार जान्छु भन्दै किनमेल गर्न जान लाग्नु भयो। म पनि जान्छु भन्दै सान्दाइ समेत निस्कनु भयो।
मलाई झन् त्यहाँ बिरानो एकान्त र सुनसान ठाउँमा एक्लै बस्न पटक्कै मन मानिरहेको थिएन। तैपनि ठिकै छ मामा हजुरहरु गएर आउनु भनेँ। केहीबेरमा किनमेल गरेर बजारबाट दाइहरु आउनु भयो। मामा खाना बनाउने तर्खरमा लाग्नुभो तर यता भने मलाई फसाद पर्यो कि व्रतबन्ध गरेदेखि आजसम्म मैले त्यसरी कसैले सर्टपाइन्ट लगाएर पकाएको खाएकै थिइनँ।
त्यती नै बेला मामाले केही सम्झेझैँ गरेर ‘ए भान्जा त चोखो मान्छे, हामीले पकाएको खानुहुन्छ कि खानुहुन्न सोध्न बिर्सेंछु’ भन्नु भयो। अनि म बोल्नुभन्दा अगाडि नै दाइले ‘अब पनि बजार आएर नाङ्गै भएर खाना बनाउन साध्य लाग्छ र! कहाँ कहाँ जानुपर्छ, के-के गर्नुपर्छ, त्यो सबै ठाउँमा घरमा झैं गर्छु भनेर मिल्दैन’ भन्नु भयो। मलाई पनि हो जस्तै लाग्यो।
अब के गर्ने? हुन्छ मामा हजुरले नै पकाउनु भनेँ। तैपनि सधैँ झैँ खाना खान सकिनँ। त्यसमाथि मट्टितेलको स्टोभमा पकाएको खानाको गन्ध नै अर्कै हुँदो रहेछ। भोलिपल्ट बिहान सबेरै उठ्यौँ। बिहानको नित्यकर्म सकेर तीनै जना माथि बैँकरोडमा निस्क्यौँ। त्यहाँबाट पाल्पा दरबार घुम्यौँ।
सरसर्ती त्यो ऐतिहासिक दरबार घुमिसकेपछि त्यतैबाट टक्सार तिर लाग्यौँ र सन्तोष चलचित्र मन्दिर हुँदै शितलपाटि आयौँ। फेरि बैँकरोडतिर निस्कँदा नास्ता गर्ने कुरा भयो अनि एउटा रेस्टुरेन्टमा पस्यौँ। नास्तामा समोसा तरकारी खाने कुरा भयो तर यहाँ मलाई फेरि अर्को फसाद पर्यो। ननुहाइ चिया समेत नपिउने म, अब समोसा कसरी खाने?
टेबलमा नास्ता आइसक्यो, मैले अझैँ खाने कि नखाने निर्णय गर्न सकेको छैन। अनि मैले दुवै जनाले सुन्नेगरी ‘मैले त नुहाएकै छैन, म त खान्न भो’ भनेँ। मामाले ‘सहर बजारमा आएर पनि यसरी चल्दैन, कहिलेकाहीँ धारोमा पानी नै आउँदैन, दिनभरि भोकै बस्ने? भान्जालाई एक महिना यतै राख्नुपर्यो अनि विस्तारै सबै कुरा बानी पर्छ र यस्ता सबै कुरा छोड्नु हुन्छ’ भन्दै हाँस्नु भयो।
बाहुनको छोरो भएर पहिलोचोटि आङमा पानी नपारी होटलमा खान सुरु गर्दा यस्तो लाग्दै थियो की म कुनै विषादी खान गइरहेको छु। खान त सुरु गरेँ तर मलाई त्यो समोसाको स्वाद आइरहेको थिएन। घाँटीबाट छिर्नै गाह्रो भैरहेको थियो, बरु ब्यर्थै आएँछु भनेर पछुतो मात्रै परिरह्यो।
त्यहाँ नास्ता गरेर हामी पैदल नै नारायण थान मन्दिर गयौँ। त्यहींनेर ठूला ठूला सार्वजनिक धारोमा मजासँग पानी आइरहेको थियो। धेरै जनाले एकैचोटी नुहाउन, कपडा धुन मिल्ने ठाउँ थियो त्यो। दाइले ‘कोठामा पानी छैन, हिजोको धुलो लागेको कपडा धुन यतै लिएर आइज, नुहाउन मन लागे जत्ति पनि नुहाउन पाइन्छ। बरु अहिलेनै बाटो राम्रोसँग हेरेर हिंड्, एक्लै आउनुपर्छ’ भन्नु भयो।
त्यहाँबाट टुँडिखेल गयौँ, टुँडिखेल पस्ने मूल बटो नेरै दाहिनेपट्टि सानो कम्पाउण्डभित्र चिटिक्क पारिएको फूलबारीको बीचमा राजा विरेन्द्रको पूर्णकदको शालिक थियो। विशाल र खुल्ला टुँडिखेलको पूर्वपट्टि आर्मी ब्यारेक, उत्तरपट्टि नगर विकास समितिको ठुलो भवन र माथिपट्टि आँखा अस्पताल, मिशन अस्पत्ताल आदि थिए।
टुँडिखेलको दक्षिणपट्टि केही तल जिल्ला कारागार पनि देखिन्थ्यो। केहीबेर त्यता घुमेपछि हामी दाइहरुले पढ्ने त्रिभुवन बहुमुखी क्याम्पस गयौँ र क्याम्पस परिसर एक फन्को लगाएर बसपार्कको माथिपट्टि रहेको एउटा पुस्तक पसलमा आयौँ। त्यहाँ केही पुस्तक र पत्रपत्रिका हेरिसकेर दाइहरुले केही किनमेल गर्नुभयो अनि कोठामा फर्क्यौँ। मामा र दाइ खाना बनाउने तर्खरमा लाग्नुभो, मैले अब नुहाइ धुवाइ गर्न अघि हामी घुमेको नारायणथानको धारोमा जान्छु भनेँ।
मामाले भान्जा एक्लै जान सक्नु हुन्छ र? नौलो मान्छे हराउनु होला नि बरु हिंड्नु, त्यहाँ बाटोसम्म मैले पुर्याईदिन्छु भन्नु भयो। धुनुपर्ने कपडा साबुन लिएर हिड्यौँ। बाटोबाट मामा फर्किनु भयो, म त्यो नारायणथानको धारोमा पुगेर छताछुतुल्ल पानीमा हाम्रो निस्दी खोलामा झैँ लुगाकपडा धोएर जाडै भएपनि मजासँग साबुनपानीले नुहाएँ र धोएका चिसा कपडा लिएर कोठामा फर्कें।
तर मुख्य बाटोबाट भित्रि गल्ली छिर्ने बेलामा बाटो नै बिराएछु। यता जान्छु, उता जान्छु, कतै जाँदा पनि कोठा पत्तो लाग्दैन त। घरि उकालो घरि तेर्सो, घरि ढुंगा टाँसेको, घरि पिच बाटो हातमा चिसा कपडा लिएर ओहोर दोहोर गरेको देखेर वरपर पसलका महिलाहरु यो बाबु गाउँ तिरबाट आएको नयाँ जस्तो छ, बाटो बिर्सेर यता उता भौंतारी रहेको छ भनेको सुनेँ।
तर सोधौँ भने ठेगाना नै छैन र कता-कता लाज समेत लाग्यो। फेरि अन्तिम चोटि त्यो टुँडिखेल जाने बाटोमा निस्केर अलिकति माथि आएर हेरेको झलक्क याद आयो। दुईटा घरको बीचबाट छिर्ने साँघुरो बाटो देखेँ जहाँबाट म तेर्सो जानुपर्थ्यो तर अघि सुरुमै अर्कै बाटो छिरेको रहेछु। अब भने बाटो पत्तो लाग्यो र गएँ। ठिक त्यहाँबाट भित्री गल्लीमा छिर्नासाथै मामा पनि टुप्लुक्क त्यहीँ भेटिनुभो। मामाले भान्जाले त धेरैबेर लगाउनु भो कतै हराउनु भयो कि भनेर खोज्न निस्केको भन्नु भयो। मामालाई सबै बेलिविस्तार लगाएँ।
कोठामा पुग्दा त घरै फर्केजस्तो भैरहेको थियो। मैले दाइलाई समेत सबै बेलिविस्तार लगाएँ। माथि बैँकरोडसम्म पुगेको भन्दा त अचम्मै पर्नु भयो, दुवै जना हाँस्न लाग्नु भयो। मलाई भने न हाँस्नु न रुनु भैरहेको थियो। दाइले अब यसलाई एक्लै कतै पठाउन भएन, यतै हरायो भने के पठाउने हो घर भन्नु भयो।
खाना खाएर त्यो दिन हामी तीनै जना घुम्न निस्क्यौँ। त्यहाँबाट पूरै पैदल उकालो चढेर माथि बतासे डाँडा पुग्यौँ अनि तानसेनको शिरमा रहेको श्रीनगरको डाँडातर्फ लाग्यौँ। टाकुरोमा सम्म मैदान समेत भएकोले त्यहाँ हेलीप्याड, पिकनिक स्पट, विश्राम स्थलहरु र खेल्नको लागि ठाउँ ठाउँमा पिङहरु समेत रखिएको थियो। तर त्यहाँ रहेका भवन र विश्राम स्थलका भित्ताहरु भने कालो अंगार र ढुंगाले अनेक थरि नाम, अश्लील शब्दहरु, केटाकेटीहरुका प्रेमका शायरी र एक अर्कोको नाम जोडेका लभ साइनहरुले रंगाइएका थिए।
एक अक्षर लेख्ने ठाउँ पनि बाँकी थिएन, ती सबै प्रायः तिनै स्कुल कलेज पढ्ने त्यहींका विद्यार्थीको काम थियो। त्यहीँ गफको सिलसिलामा मामाले यहाँबाट दुरबिनले हेर्ने हो भने भारतको गोरखपुरमा रेल कुँदेको समेत देखिन्छ भन्नुभयो। यो सुन्दा झनै अचम्म लाग्यो।
त्यहाँबाट झर्दै गर्दा कमल मामाले भान्जा आएको बेलामा फिलिम पनि देखाइदिन पर्यो भन्नु भयो। बाटोमा एउटा होटेलमा दोनट तरकारीको नास्ता गरेर हामी सन्तोष चलचित्र मन्दिर तर्फ लाग्यौँ। त्यहाँ हामीले हेर्ने टाइमको शोमा हिन्दी फिल्म 'काली गङ्गा' लागेको रहेछ। हिन्दि नबुझेपनि मैले पहिलो पटक फिल्म हेरेँ। बीचबीचमा मामा र दाइले हेर्ने मात्रै हो कि अलिअलि बुझेको पनि छ भनेर सोध्नु हुन्थ्यो र बेलाबेला यसपछि यो हुन्छ भन्ने आदि चर्चा र प्रतिक्रिया जनाउनु हुन्थ्यो।
फिल्म सकेर बाहिर निस्कदाँ अँध्यारो भैसकेको थियो। कतै नभुली हामी सरासर कोठामा गयौँ। कोठामा पुग्दा कृष्ण मामा र गीता माइजू आउनु भएको रहेछ। सायद २०४८ सालको शिक्षक आयोगको परीक्षाको सिलसिला या यस्तै शिक्षक सम्बन्धी कुनै कामको लागि हुनुपर्छ। त्यो दिन बेलुकाको खाना माइजूले नै बनाउनु भयो। हामी गफगाफ गरेर बस्यौँ, निकै रमाइलो भयो।
भोलिपल्ट बिहानै उठेर मामा र दाइ क्याम्पसतिर जानु भयो। कृष्ण मामा पनि कता जानु भयो कुन्नि, कामले बाहिर निस्कनु भयो। म पनि बाटो बिराइन्छ कि भनेर डराइ डराइ एक्लै टुँडिखेल घुम्न गएर आएँ। घरबाट हिँड्ने बेलामा बुबाले लालटिनको सिसा, एभ्रिडे ब्याट्री, चेल पार्कर मसि, चिनी चियापत्ती, जिरा, तरकारीका बीउहरु लगायत अरु के-के समान किनेर पठाइदे है भन्नु भएको थियो।
त्यसैले खाना खाएर ती समान किन्न बजारतिर गयौँ। घडी पसलमा एचएमटी घडी समेत मर्मत गर्यौं र कोठामा फर्क्यौं। मामा माइजू गइसक्नु भएछ। हामी तीन जना मामाभान्जा मात्रै भयौँ।
अर्को दिन त घर फर्कने दिन चारै बजे उठेर नुहाइधुवाइ गरेर फटाफट बसपार्क झर्यौँ। त्यहीँ नास्ता गरेर पोखरा जाने गाडी चढ्यौँ। दाइले मेरो झोला क्यारियरमा राख्दै यो गाडीमा आर्यभञ्ज्याङसम्म जा र त्यहाँ झरेर उता ट्रयाक्टर पाइस् भने त्यसैमा जा है भनेर आफू झर्नु भयो। मलाई नरमाइलो लाग्यो।
ठाउँ-ठाउँमा रोक्दै आर्यभञ्ज्याङ आइपुग्दा सात बज्न लागेको थियो। त्यहाँ गाडी रोक्ने बित्तिकै आफ्नो झोला लिएर म झरेँ र बाहिर निस्केर कनडक्टरलाई भाडा बुझाएँर पैदल आफ्नो बाटो तताएँ। कच्ची र धुले बाटो झोला बोकेर एक्लै हिँड्न दिक्क लागिरहेको बेला एउटा ट्रयाक्टर मलाई भेट्न आयो। ड्राइभरले सोध्यो अनि म खुसी हुँदै चढेँ।
ठाउँ-ठाउँमा सामान र मान्छे झार्दै चढाउँदै त्यो ट्रयाक्टर जब्गादीसम्मै आइपुग्यो। गाडीभाडा तिरेर छेउको पसलको बेन्चमा झोला अड्याएर त्यहाँ चिनेको मान्छेको घरमा बुबाले ल्याउन भनेको सामान पनि थियो, त्यो समेत प्याक गरेँ। अब भने मलाई झनै दह्रो भारी पुगेको थियो। पूरै शरीर अनि झोलामा छोपिएको धुलो टक्टक्याएँ र फेरि हिडेँ।
त्यो खालिवनको ठाडो ओरालो झर्दा झन् गोडा थर्थराउने, त्यसमाथि गह्रुंगो झोला, उकालो चढ्नभन्दा ओह्रालो झर्न गाह्रो। घर आइपुग्दा बेलुका भैसकेको थियो। घर छोडेको चार दिनमै घर फर्कदा पनि कस्तो-कस्तो नौलो अनुभूति भैरहेको थियो। कतै टाढाबाट आउँदा गरिने ढोगभेट र सोधिने हालखबर छँदै थियो।
यस्तैमा बज्यैले भगवान तानसेनबाट आयो कि नाइँ भनेर सोधिरहनु भएको थियो। माथिको घर जान्छस् र यतिखेर भनेर आमाले सोध्नु भयो। अँध्यारो भैसकेको थियो र दिनभरिको थकाइ अनि भोक लागेकोले भोलि जानु पर्ला भनेर गइनँ। तिनताका हामी तल बाँझे कटुइमा रहेको घरमा बस्थ्यौँ। भोलिपल्ट बिहानै नित्यकर्म सकेर माथिको घर गएँ।
हजुरामालाई ढोग गरेर नाति बुढ्याईं भलाकुसारी गर्न थाल्यौँ। कुराकानीको सिलसिलामा हजुरामाले कहाँ कहाँ घुमिस् त, तानसेन बस्दा बिहान उठेर नुहाइस् कि नुहाइनस्, गोपाल र मामाले पकाएको खाइस कि आफैं पकाइस्, लुगा फेरेर खाइस् कि नफेरि भनेर सोध्नु भयो।
अब ढाँटूँ भने उताबाट सान्दाइ आएपछि जसरी पनि थाहा भैहाल्थ्यो, त्यसैले सबै कुरा बताएँ। अनि त हजुरामा एक्कासी ‘ए जात फाल्न वहाँ वहाँ जान परेको, तँ मात्रै अलिक चोखो छस् भनेको जात फालेर आइछस्। कोही गतिला नहुने भयौ’ भन्दै कराउन थाल्नु भयो। मैले सहर बजार जाँदा घर झैं गर्न साध्य लाग्दो रहेनछ हजुरामा, अन्त जेसुकै गरेपनि घरमा हुँदा सधैँझैँ नुहाइ धुवाइ गरेर चोखोनीति गरिहाल्छु नि भनेँ।
तर हजुरामाले ए एकचोटि जाँड राखेको घैंटो फेरि काम लाग्छ र? टाटी नियार्नीले पकाएको पनि त खाइस होलानी भन्नु भयो। मैले नाईं हामी कोठा लिएर बसेको मान्छेले टाटि नियार्नीकोमा गएर खानु पर्दैन भनेँ। घरमा बुबा आमाले पनि ‘यो अलिक चोखो थियो, यसले पकाएको खाइन्थ्यो, यसो कहिलेकाहीँ भान्छे लगाउन पाइएको थियो, अब सबै उस्तै भए। नसक्दा खाना पकाएर दिने पनि कोही चोखो रहने भएनन्’ भन्नु भयो।
बुबाआमा हजुरआमाको अगाडि केही दिन आफूले ठूलै गल्ती गरिएछ जस्तो लागेपनि त्यसपछिका विस्तारै दिनहरु सदा झैँ उसैगरी चल्न थाल्यो।