त्रिभुवन विश्वविद्यालयमा मैले पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो।
मेरा अभिभावकले पनि यहि विश्वविद्यालयमा पढ्नुभएको हो। एक दिन मैले आमालाई सोधें- तपाईंको पालामा त्रिविमा कसरी पढाइन्थ्यो?
उहाँको जवाफ आयो- लेकचर/प्राध्यापक आउनुहुन्थ्यो, खुरूखुरू पढाउनुहुन्थ्यो, जानुहुन्थ्यो। केही लेकचरले पाठ बुझिएन भने सोध्न भन्नुहुन्थ्यो। अहिले तिमीहरूले पढेकैजस्तो हो, खासै अन्तर थिएन।
आमासँग प्रश्न गरेर मलाई पुगेको थिएन। मेरा जिज्ञासा धेरै थिए। परीक्षा कस्तो हुन्थ्यो, कसरी लिइन्थ्यो नि! आमा?
यो प्रश्न भुइँमा खस्न नपाउँदै बाबा पो बोल्नुभयो। आमालाई सोधेको प्रश्नको जवाफ बाबाबाट आयो। उहाँले भन्नुभयो, तिमीहरूले परीक्षा दिएजस्तै त हो। त्यसबेला सेमेस्टर प्रणाली थिएन। केन्द्रीय विभागबाट एकपटक परीक्षा लिइन्थ्यो। यो प्रणाली अहिले पनि सेमेस्टर लागू नभएका क्षेत्रमा कायमै रहेछ।
त्रिवि खुलेको पनि छ दशक भइसक्यो। तर यसले पठनपाठन शैली समयानुकूल बदल्न नसकेको तथ्य म र मेरा अभिभावकका पालाका शिक्षण सिकाइ क्रियाकलाप उस्तै रहेकोले देखाउँछ। बाबा-आमाका पालामा प्रविधिको विकास यो ढंगले भएको थिएन। अहिले त प्रविधिले छलाङ मारिसकेको छ। तर पनि पठनपाठन शैली उस्तै!
सेमेस्टर प्रणाली भनिए पनि पढाउने तरिकामा फेरबदल भएको पाइएन। लेकचर विधि मात्रै हावी छ। अरू विधि किन अपनाउन नसकिएको होला? परीक्षा दिँदा पनि तीन घण्टामा सबै कुरा लेख्नुपर्ने खालको कायमै छ। वर्षदिन वा सेमेस्टरमा छ महिना पढेका कुरा तीन घण्टाको परीक्षामा लेख्नुपर्ने। अनि यसरी मूल्यांकन गर्ने विधि सहि छ वा छैन खोइ यसबारे बहस चलेको?
त्रिविलगायत ११ विश्वविद्यालयहरूमा शिक्षाको गुणस्तर किन उत्कृष्ट हुन सकिरहेको छैन भनेर अब ढिला नगरी घोत्लिने बेला आएको छ। स्रोत साधन सम्पन्न नै देखिएको त्रिवि वेव सर्भे र्याङ्किङमा भलै विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र परेको छ। यसलाई अझै किन अब्बल बनाउन सकिएको छैन? यसलाई अझै गुणस्तरीय बनाउन सके त अन्तर्राष्ट्रिय फोरमहरूमा सहभागिता हुँदा त्रिविका विद्यार्थी भनेर शिर ठाडो बनाउन सकिन्छ नि!
तपाईंले भन्नुहोला- समस्या नै समस्या छन् कसरी विश्वविद्यालयलाई गुणस्तरका हिसावले उकास्न सकिन्छ भनेर। हो समस्या होलान् पनि। राजनीतिक भागबन्डाले पनि त्रिविलाई अगाडि बढाउन दिएन कि! तर यो ओठे जवाफ हुन्छ। तर पढाउने तरिका समयानुकूल बनाउन त यस्ता भागबन्डाले नरोक्ला।
मलाई यहि लेखबाट त्रिविका उपकुलपतिलगायत पदाधिकारीलाई सोध्न मन छ, के कारणले त्रिविले पढाउने र परीक्षा लिने तरिका बदल्न सकेन? पुरानै शैलीलाई निरन्तरता दिनु यहाँको कार्यकुशलता हो त? यसको जवाफ तपाईंले पठनपाठन शैलीमा परिवर्तन गरेर दिनु हुनेछ भन्ने मेरो अपेक्षा छ।
पढ्ने भनेको ज्ञान सिक्नु हो। हासिल गर्नु हो। ज्ञान कति हासिल भएछ भनेर मापन गर्ने परीक्षाबाट होला। तर परीक्षामात्रै मूल्यांकनको आधार हो भन्न सकिएन। कुनै तहबाट माथिल्लो तहमा जान न्युनतम ज्ञान त हासिल गर्नैपर्छ नभए विद्यार्थीले ज्ञान हासिल गर्न सकेन भन्ने बुझ्नुपर्यो। तर परीक्षा प्रणाली वैज्ञानिक हुनुपर्छ। के हाम्रो परीक्षा प्रणाली वैज्ञानिक छ त? यसमा बहस गरौं न।
जसरी महाभारतमा अर्जुनले माछाको आँखामै तीर हानेर सफल भए त्यस्तै खारिएको शिक्षा अहिलेका लागि आवश्यक छ। विज्ञान, व्यवस्थापन, ईञ्जिनियरिङ, शिक्षालगायत संकायमा परीक्षा मूल्यांकन गर्दा सम्बन्धित विषयको व्यवहारिक कार्य दिने गरिएको छ त? कति गुरूहरू द्रोणचार्यजस्तो विद्यार्थीको व्यवहारिक परीक्षा लिने आँट गर्न तयार छन्?
अनि कति विद्यार्थी अर्जुनजस्तो व्यवहारिक परीक्षामा सफल हुन्छु भन्ने विश्वास गर्छन्? आजको प्रश्न यो छ।
हाजिरी जनाउन कक्षामा उपस्थित हुने, औपचारिकताका लागि कोर्स सिध्याउने र तीन/चार घण्टामा वर्षभरिको सिकाइलाई कागजमा उतार्ने प्रणालीबाट हामी अझै पनि आमरूपमा बाहिर निस्कन सकेका छैनौं?
इतिहासकार नयनराज पन्तले त्रिखण्डे परीक्षा प्रणालीको विरोध गर्दै वि.सं. १९९७ सालमा एक पाठशाला बनाउनु भएको रहेछ। उक्त पाठशाला अहिले इतिहास संशोधन मण्डलले चिनिन्छ। त्यो पाठशालामा पढ्नु भएका धनवज्र बज्रचार्य, महेशराज पन्त, दिनेशराज पन्त, ज्ञानमणि नेपाल विद्वान हुनुहुन्छ।
उहाँहरूले इतिहासको उत्खननमा लगाउनुभएको मेहनतले उहाँहरूको ज्ञान कुन हिसावको थियो भन्ने देखाउँछ। मैले किन यो कुरा यहाँ उल्लेख गरेको भने हामीले पढेका विषयमा यस्तै गहिरो अध्ययन र अनुसन्धान गर्न सकौला त भन्ने हो।
परम्परागत पठनपाठन गर्ने अवधारणाले नै नेपाली शिक्षा प्रणालीमा पर्याप्त प्रगती हुन सकेको छैन। लेकचर वा प्राध्यापकहरूले विद्यार्थीको ध्यान खिच्ने गरी पढाउन सकेका छैनन्। मेरो कक्षामा विद्यार्थी नै बस्दैनन् भन्ने गुनासो यदाकता प्राध्यापकहरूबाटै सुनिन्छ। शिक्षा आयोग पास गरेर गएका योग्य प्राध्यापकलाई विद्यार्थीले किन सुनेनन् त? योबारे पनि बहस हुनु जरूरी भइसक्यो।
परीक्षा प्रणालीमा परिवर्तन आवश्यकता देखेरै होला सामान्य परिवर्तनका खाका पनि कोरिएका छन्। तर ती कार्यान्वयनमा आएनन् कागजमै सीमित रहे। कार्यान्वयनमा कसले रोक्यो थाहा भएन।
यदि विद्यार्थी कक्षाकोठामा उपस्थित भएको, एसाइमेन्टहरू पेश गरेको र प्रस्तुतीकरण गरेका भए पनि उनीहरूको गतिविधिले तथाकथित उत्तम परीक्षा अभ्यासका लागि केही फरक पारेन। जसका कारण विद्यार्थीको सिर्जनात्मकता हराउँदै गएको छ।
मैले पहिलेदेखि नै जोड दिइरहेको कुरा परीक्षा प्रणाली बदलौं भन्ने हो। कोही विद्यार्थी परीक्षाका दिन सञ्चो भएन र उसले लेख्न सकेन भने उसले केही पनि ज्ञान हासिल गरेन भन्ने आधारमा मूल्यांकन गरिने चलन छ यो बदलौं भन्ने हो। तीन घण्टाको परीक्षाबाट मात्रै विद्यार्थीको मूल्यांकन गर्नु उपर्युक्त होइन भन्ने हो।
यदि कुनै विद्यार्थीले कडा परिश्रम गरेर उसले थप कागजातहरू लेखेको होस् या छलफलमा भाग लिएको होस् अहिलेको प्रणाली अनुरूप उनीहरूका यी गतिविधिहरू ’तीन घण्टाको परीक्षा’को कारण अन्तिम स्कोरको लागि व्यावहारिक रूपमा बेकम्मा रहन्छन्।
जसकारण विद्यार्थीहरू उनीहरूको कक्षा र आन्तरिक गतिविधिको उपेक्षा गछर्न्। परम्परागत परीक्षा प्रणालीमा एउटा शैक्षिक सत्र भरि बिद्यार्थीहरू निष्क्रिय जस्तै रहन्छन्। परीक्षाको तालिका निस्किएपछि गाइड सामग्रीको खोजीमा लाग्छन्। बजारमा प्रशस्त मात्रामा उपलब्ध गाइड सामग्रीमा भर परेर दिएको परीक्षामा बिद्यार्थीहरू पास त होलान् तर के विद्यार्थीमा आफ्नो विषयको व्यवहारिक ज्ञान होला? यसरी पास भएका जनशक्तिबाट हामीले कस्तो अपेक्षा राख्ने? विश्वमा प्रतिस्पर्धा गर्न सक्षम मानब संशाधन उत्पादन गर्न सकेका छौं तर?
यसरी परम्परागत परीक्षा प्रणालीका दुर्गुणहरू प्रचुर रूपमा रहेको अबगत हुँदाहुँदै पनि प्रणाली स्तरोन्नती गर्न चुक्नुका पछाडी के कारण होलान्? यसलाई हामीले ओभर ल्याप गर्न कुन कुराले रोकेको छ? त्यहाँ धेरै कारकहरू हुन सक्छन्ः मौद्रिक, शक्ति अभ्यास र अधिकारको मानसिकता, असक्षम नेतृत्व यस्तै यस्तै।
यदि विश्वविद्यालयले नयाँ मूल्यांकन प्रणाली अपनायो भने धेरै व्यक्तिले महत्वपूर्ण आर्थिक लाभहरु गुमाउन सक्छन् । केन्द्रीय परीक्षा छैन भने तिनीहरू आफ्नो शक्ति प्रयोग गर्न सक्दैनन्। त्यस्तै शक्ति प्रणालीमा रहेका मानिस विश्लेषण प्रणालीको अर्को तरिका छ कि छैन भन्ने कुरामा समेत अन्योलपूर्ण अवस्थामा रहेका हुन सक्छन्।
आमप्राध्यापक र पधाधिकारीहरूले नवीन परीक्षा प्रणालीको बिश्वसनीयतामा प्रश्न गर्नुले श्राद्धमा विरालो बाँधेको जस्तै परम्परागत मानसिकताबाट माथि उठ्न नसकेको आभाष हुन्छ।
अब के गर्ने?
जबसम्म हामी परीक्षालाई कक्षाकोठामा ल्याउँदैनौ तबसम्म उच्च शिक्षामा आधारभूत धारणामा कुनै परिवर्तन आउन असम्भव हुन्छ।
परम्परागत परीक्षा प्राणालीलाई रूपान्तरण गर्न अध्यापनदेखि मूल्यांकनसम्म जिम्मेवारी प्राध्यापकलाई दिइनु पर्छ। यदि प्राध्यापकहरूलाई विद्यार्थीहरूको मूल्यांकन गर्ने पूर्ण अधिकार दिइयो भने उनीहरूले यसलाई राम्ररी गर्नेछन् र कुनै पनि शिक्षक यस जिम्मेवारीबाट उम्कन सक्ने छैन।
जब कुनै विद्यार्थी कुनै विषयमा भर्ना हुन्छ, उसलाई शुरुदेखि नै न्याय गरिनु पर्छ। सेमेस्टर र वर्षको अन्त्यमा उसले आफ्नो सत्रको प्रदर्शनको आधारमा आफ्नो स्कोर प्राप्त गर्नुपर्ने राय अन्वेषकहरूको छ।
यसबाहेक शिक्षाका आधारभूत धारणामा स्पष्ट परिवर्तन ल्याउन पढ्ने, लेख्ने, बोल्ने, सुन्ने, प्रस्तुत गर्ने, छलफल गर्ने, लगायतका कक्षा कोठाभित्र हुने अन्य गतिविधिहरु पनि परीक्षामा (एक वर्ष र सेमेस्टर) समाहित गरिनु पर्छ।
तसर्थ हामीले तिनीहरूलाई तीन घण्टाको लेख्ने परीक्षामा सीमित गर्नु हुँदैन। हामीले विद्यार्थीहरूको गुणस्तरको निर्माणमा अझ उन्नत वैज्ञानिक र समावेशी विधिहरू अपनाउनु पर्छ।
यदि हामी विश्वविद्यालयहरूमा यस किसिमको मूल्यांकन प्रणाली लागू गर्छौं भने परिकल्पना गरिएको परिवर्तनले विद्यार्थीहरूको गुणस्तर मात्र समृद्ध पार्ने छैन साथसाथै शिक्षकहरूको रचनात्मकता पनि बढाउनेछ। उनीहरूलाई थप उत्तरदायी बनाउँछ। यस किसिमको परीक्षा प्रणालीले विद्यार्थीहरुमा चासो पनि बढाउन सहयोग पुराउँछ।
यदि विद्यार्थीहरू सक्रिय छन् र उनीहरूको विषयको अध्ययन गर्न उत्सुक छन् भने शिक्षकहरूलाई स्वचालित रूपमा सहयोगी हुन प्रोत्साहित गरिन्छ। शिक्षकहरूको मूल्यांकन एक अमूर्त ‘परीक्षा बोर्ड’को मूल्यांकन भन्दा धेरै राम्रो हुन्छ।
विश्वविद्यालयहरू परीक्षाको नयाँ प्रविधिको प्रमाणित गर्न असफल भएका खण्डमा शिक्षकहरू आफ्ना विद्यार्थीहरूको कुनै पनि नतिजाका लागि जिम्मेवार नहुँदा तिनीहरू कक्षाकोठामा प्रवेश गर्छन् र कुनै छलफल, प्रस्तुतीकरण, नवीनता र प्रतिक्रियाविना एक घण्टाको लागि व्याख्यानहरू दिन्छन्।
विद्यार्थीहरू मात्र शैक्षीक सत्रमा अनिच्छुक नभई शिक्षकहरू पनि निष्क्रिय रहन्छन।उनीहरु केबल जिम्मेवारी पुरा गर्छन्। अनुसन्धानको सम्भावना पनि कमजोर हुन्छ।
प्राध्यापकहरू अनुसन्धान प्रोजेक्टबाट टाढा हुनु दुर्भाग्यपूर्ण छ। किनभने जबसम्म उनीहरुमा राजनीतिक नेताहरुको अनुग्रह हुन्छ उनीहरुलाई राजनीतिक कार्यकालको निरन्तरताका लागि कुनै प्रकाशन चाहिँदैन।
त्यसकारण अवस्थित परीक्षा प्रणालीले सबै सरोकारवालाहरू विद्यार्थी र शिक्षकहरूको नवीनतालाई बिग्रार्छ। परीक्षा प्रणालीको विसंगतिहरू समाप्त गर्नका लागि र हाम्रो शिक्षालाई थप जीवन्त र उत्पादक बनाउनका निम्ति हामीलाई परीक्षाको परम्परागत मानसिकताबाट निर्णायक सफलता चाहिन्छ।
त्रिभुवन विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालयहरू पनि नेपालमा सञ्चालनमा छन् र केही पाइपलाइनमा छन्। नयाँ विश्वविद्यालयहरू पनि परीक्षाको नयाँ प्रविधिको प्रमाणित गर्न असफल भएका कारण उनीहरू त्रिविजत्तिकै कुटिल चक्रमा फ़सिरहेका छन्।
यद्यपि केही विश्वविद्यालयहरूले भने आफ्नो परम्परागत प्रणालीलाई सुधार गर्ने विचार गरिरहेका थाहा पाउँदा खुसी लाग्यो। तर यो सफलता सन्तोषजनक छैन।
कोरोना महामारीका कारण शिक्षाविद्हरुबीच परीक्षा प्रणाली पुनर्संरचनाको बारेमा बहस भने पैदा भएको छ। यद्यपी लामो समय बितिसकेको छ विश्वविद्यालयले परीक्षा प्रणालीमा अझै नवीन र वैज्ञानिक दृष्टिकोण लागू गरेका छैनन्।
हामीले व्यर्थका शैक्षिक गतिविधिमा धेरै दशक खेर फाल्यौं। विद्यार्थीहरू बासी ज्ञानका ताजा सर्टिफिकेट लिन बाध्य छन्। त्यसकारण यो समयमा हामीले एउटा दृष्टिकोण अपनायौं भने हाम्रो मूल्यांकन प्रणालीमा नवीनता र रचनात्मकता भित्राएर योग्य मानव संशाधन उत्पादन गर्नमा टेवा पुर्याउन सकिएला कि!