अमेरिकी शिक्षाविद जोन हल्ट भन्छन् 'स्कुल इज् ब्याड फर चिल्ड्रेन।' उनको मान्यता छ की स्कुलहरु विद्यार्थीको शोषण गर्ने संस्था हुन्, उनीहरुका लागि खतरनाक जेल सरह हुन्।
एउटा बच्चा पहिलो दिन विद्यालय जाँदा जति उत्साहित र आत्मविश्वासी हुन्छ, त्यत्ति उत्साहित र खुसी त्यसपछिका दिनमा कहिल्यै हुँदैन। स्कुल आउनुपूर्व नै उसले निकै महत्वपूर्ण कामहरु गरिसकेको हुन्छ। भाषा हुन्छ भन्ने समेत थाहा नहुँदै राम्ररी बोल्न सिकिसक्छ।
शब्दहरु टुक्र्याएर होस्, छुट्याएर वा गल्ती बोलेरै होस्, उसले आफ्नो सिक्ने तरिका आफैँ निर्माण गर्छ। कति धेरै सिर्जनशील र जिज्ञासु हुन्छ ऊ! तर, स्कुलले पहिलो दिनमै उसको उत्साहलाई किचिदिन्छ र भन्छ, हामी जे सिकाउँछौँ, तिमीले त्यही सिक्नुपर्छ, जसरी सिकाउँछौ त्यसैगरी सिक्नुपर्छ।
यसरी भन्छन् की मानौँ सिक्ने ठाउँ भनेको नै स्कुल मात्र हो, अन्यत्र होइन। त्यसैले बाँच्नु र सिक्नु फरक कुरा हुन्। यसरी बच्चाको दिमागमा भ्रम घुसाइन्छ की उसले आजसम्म केही सिकेकै छैन, त्यसैले ऊ स्कुल आएको हो।
विस्टन चर्चिलको भनाई छ 'आइ एम् अलवयेज् रेडी टु लर्न बट आइ डन्ट लाइक टु वी टट्।' अर्थात्, पढाइ भनेको आफ्नो लागि आफूले गर्ने कुरा हो, कसैले आफ्नो लागि गरिदिने कुरा होइन। तर स्कुलमा पढाइको परिभाषा गर्दै भनिन्छ, हामीले तिमीलाई पढाउने हो, हामीले पढाएनौँ भने तिमी सिक्न सक्दैनौ।
त्यसैगरी हामी जे पढाउँछौँ, त्यो मात्र पढाइ हो। यसैले तिम्रा विचार, मान्यता, चाहाना, अनुभव, रुचि, अरुचि आदिले खासै महत्व राख्दैनन्। हामीले जे महत्वपूर्ण भन्छौँ, फगत त्यो मात्र महत्वपूर्ण हो। यसरी हाम्रा स्कुलहरु नै बच्चाको प्रगतिका प्रथम बाधक जस्ता देखिएका छन्।
नेपालका प्रायः सहरी क्षेत्रमा केटाकेटी उभिन सक्ने भएपछि बाबुआमाले मन्टेश्वरीमा भर्ना गरिदिन्छन्, तीन वर्ष समेत पूरा नहुँदै। दिनभरि बालबच्चा हेर्ने झन्झट कसले उठाओस्? तर विश्वमा उत्कृष्ट शिक्षा प्रदान गर्ने फिनल्याण्ड, नर्वे, जापान लगायतका अन्य देशमा कम्तीमा पनि ६ वर्ष पूरा नभइ स्कुल पठाइँदैन।
उनीहरु सोच्छन्, बच्चालाई बच्चा जसरी हुर्किन, खेल्न र चकचक गर्न दिनुपर्छ। पढ्ने, लेख्ने भनेको स्कुलमा हो, स्कुल नगइ पढ्न सकिँदैन भन्ने परम्परागत ह्याङओभरलाई उनीहरुले छोडिसकेका छन्। हामी भने ठिक उल्टो दिशामा छौँ। हाम्रा अधिकांश अभिभावकहरु बच्चा कहिले ठूलो होला र स्कुल जाला अनि आनन्द होला भन्ने सोच्छन्। यसरी उभिन नपाउदैँ स्कुल पठाएर समाजले केटाकेटीमाथि भयानक शोषण गरिरहेको छ। उनीहरुमा निर्जीवता बढाइएको छ।
स्कुलबाट घर फर्किएपछि पनि बच्चा मुक्त हुँदैन। कामबाट फर्किएका बावुआमा आराम गर्छन् तर स्कुलबाट फर्किएको बच्चाले होमवर्कमा फेरि जोतिनुपर्छ। भोलिपल्ट आफूभन्दा ठूलो झोलाको भारी र त्योभन्दा बढी गरुङ्गो मनस्थिति लिएर विद्यालय छिरेको बच्चाले के सिकोस्? के जानोस्?
त्यसैगरी स्कुलभित्रको फलामे अनुशासन, बोरिङ पिरियडहरु, निश्चित खाजा खाने र शौचालय जाने समय, जर्बजस्ती बोल्नुपर्ने अंग्रेजी भाषा लगायतले उत्पन्न हुन जाने भयावह मानसिक अवस्थाको हामी कल्पना गर्नसक्छौँ। त्यसैगरी बेलाबेलामा भइराख्ने परीक्षारुपी ह्यामरले उसको अन्तरकुन्तरमा बचेको सिर्जनशीलतालाई थप टुक्राटुक्रा पारिदिन्छ। जसले गर्दा पढाइको नाममा हाम्रो बालवालिकाहरु पसलमा राखिएका निर्जीव डमीजस्ता बन्छन्।
'द फियर अफ गड इज द बिगिनिङ अफ विज्डम' भन्ने मध्यकालीन सिद्धान्त जुन चर्चले आफू शक्तिशाली बन्न प्रचार गरेको थियो, त्यसैको छायाँलाई हाम्रा स्कुलहरुले आजसम्म अनुकरण गर्दै आएका छन्। किनकी हाम्रा शिक्षक र विद्यालय पनि त्यस्तै शक्तिशाली छन्। जहाँ जिज्ञासा राख्नेभन्दा शिक्षकसँग डराएर खुरुखुरु अह्राएको मान्ने ‘यस म्यान’ बनाउन स्कुलहरु लागि परेको देखिन्छ।
स्कुलको चौघेराभित्रको वातावरणले उसको प्रश्न सोध्ने साहस गुमिसकेको हुन्छ। टाउको उठाउन खोज्दै गरेको जिज्ञासालाई अनुशासन र डरको भयानक पयरले कुल्चिसकेको हुन्छ। अन्ततोगत्वा, ऊ एउटा मेमोरी कार्ड बन्छ, स्कुलरुपी फ्याक्ट्रीबाट उत्पादन हुने! बावुआमाले उसले के कति जान्योसँग होइन, फस्ट भयो की भएनसँग मतलब राख्छन्।
ग्रेड हेरेर गर्वले छाती फुलाउँछन्। सायद आफूले गरेको लगानीको भर्पाइ पाएकोमा। अर्कोतर्फ स्कुलले बढी जीबीको मेमोरी कार्डको प्रचारद्वारा आफ्नो विज्ञापन गर्छ र अन्त्यमा मान्छेको रुपमा छिरेको एउटा प्राणी स्कुलबाट फर्किदा भेडो जस्तो भएर फर्किन्छ। अतः नेपालमा स्कुल एउटा टप टु डाउन हाइरार्कीका चल्ने नाफामूलक संस्था बन्न पुगेका छन् ‘ह्वेर म्यान आर प्रोग्राम नट एजुकेटेड’।
परीक्षा आतंक
'के आउँछ जान्न उसका शिक्षकहरुलाई मतलब थिएन, उनीहरु त उसलाई के-के आउँदैन भन्ने मात्र पत्ता लगाउन चाहन्थे।' विन्स्टन चर्चिलको यो भनाइ आजपनि उत्तिकै सान्दर्भिक छ। हाम्रो शिक्षा प्रणालीमा परीक्षा के आउँदैन भन्ने कुरा मात्र पत्ता लगाउने साधन हो। उसलाई के आउँछ? भन्नेसँग यहाँ कसैलाई पनि मतलब छैन।
उसका चाहना, रुची, अरुची लगायतका विषयमा कसैले प्रश्न समेत गर्दैन। भाँडमा जाउन् यी सब! बरु नत्थी लगाएर पढाएको कुरा जति कन्ठ गर्न सक्यो र कपीमा हुबहु उतार्न सक्यो, त्यति जान्ने। त्यसो गर्न नसक्ने कमजोर। यसरी दुई घण्टे परीक्षाबाट सिर्जित जान्ने र नजान्नेको भयानक खाडलले हाम्रो शिक्षालाई क्रमशः ओरालोतर्फ मात्र धकेलिरहेको छ। अवसान तर्फ उन्मुख गराइरहेको छ।
विद्यार्थीको हित रुची अनुसार अन्तर्निहित क्षमतालाई खोजेर टल्काउन खोइ सकेको हाम्रो शिक्षा प्रणालीले? के शिक्षा भनेको गणितका केही फर्मुला र ग्रामर सिक्नु मात्रै हो त? या अरु केही पनि?
हीनताबोध
आत्मविश्वासले भरिएको एउटा बच्चालाई स्कुलहरुले क्षणभरमै हीनताबोधी बनाउँछन्। स्कुलमा बच्चाहरुले आफू र आफ्नाप्रतिको विश्वास नै गुमाउँछ किनकी स्कुलले भन्छ- आजसम्म पनि तिमीले केही सिकेकै छैनौ, हामी जे पढाउँछौ त्यो नै सिकाइ हो।
त्यसैगरी निर्धारित पाठ्यक्रम पढिसकेपछि उसले सोच्छ- राम्राराम्रा कृति लेख्ने, नवीन आविष्कार गर्ने वा साहसिक कार्य गर्न सक्ने त विदेशीहरु मात्र हुन्। नेपालीहरुले सक्दैनन्। जसले गर्दा ऊभित्र ‘म सक्दिनँ’ भन्ने भाव पैदा हुन्छ। किनकी उसले ‘म्याकेभिलि’ पढ्छ, ‘चाणक्य’ पढ्दैन। अझ अपौरुषीय मानिने वेद लगायतका अन्य पूर्वीय ग्रन्थको परिचय पाउन पनि सक्दैन।
त्यसैगरी ‘हेलेन केलेर’र ‘मदर टेरेसा’ पढ्छ। ‘गार्गी’ र ‘योगमाया’ सुन्न समेत पाउँदैन। मकै र चामल पिस्ने मिल पढ्छ, घट्ट, जाँतो, ढिकी र उर्गल पढ्दैन। विश्वको सातौँ आश्चर्य ‘बेविलोनको बगैँचा’ आदि पढ्छ अद्भुत ‘कैलाशकुट’ दरबार पढ्दैन।
अनि पाठ्यक्रम नै यस्तो भएपछि आफूलाई किन होचो महशुस नगरोस्? उसलाई हाम्रो प्राचीन इतिहास, सभ्यता र संस्कृतिको महत्व कसले बुझाइदिने? ज्ञानलाई बजारसँग जोड्नु हुँदैन। त्यसैले वैदिक, पौराणिक र अन्य प्राचीन ग्रन्थहरुमा लेखक अज्ञात रहेको विषयको बोध कसरी हुने?
केलाई पढ्ने?
हामी सिक्नलाई या जान्नलाई होइन, जाँच पास गर्न वा सर्टिफिकेट लिनको लागि पढ्छौँ। आज पनि पढेर कुनै राम्रो सरकारी जागिरमा छिर्ने, राम्रो भाले वा पोथी खोजेर बच्चा कोरल्ने र सामान्य जीवनयापन गर्ने अभिप्रायले प्रेरित जमात निकै ठूलो छ। आर्थिक उपार्जन पढाइको एक मात्र ध्येय भएको छ।
त्यसैले होला, फलानोको छोराले महिनामा यति कमाउँछको आधारमा मात्र व्यक्तिको सफलताको मापन गर्छ समाजले! समाजमा भौतिक सुखलाई मात्र सर्वोपरि मान्ने र आत्मिक सुखको नाम निसानै नजान्ने जमातको उत्पादन शिक्षाले गरिरहेको छ। त्यसै भएर कविशिरोमणि लेखनाथले 'त वर्गका अन्तिम वर्ण खाली, पढी दुइटा बन भाग्यशाली' भनेजस्तै पढ्ने भनेकै पैसा कमाउन हो भन्ने समाजिक मानसिकता बढिरहेको छ।
जसले गर्दा नयाँ बाटो खन्न होइन, खनिसकेको बाटोमा घस्रिन हामीहरु तल्लीन छौँ। नयाँ खोज, अनुसन्धान, जानकारी, चिन्तन, मनन गर्नुसँग हाम्रो शिक्षाको गोरु बेचेको पनि साइनो देखिँदैन। हिन्दीमा कहावत छ- 'जब शिक्षाका मक्सद नोकरी होता हैं तो समाजमें नोकर ही पैदा होंगे, मालिक नहीं'।
हामी लिच्छवी काल र मल्लकालको स्वर्ण युगमा छदाँ युरोपियनहरु अज्ञानको महानिद्रामा सुतिरहेका थिए। हामीकहाँ राजेन्द्रलक्ष्मीले देशको नायवी चलाउँदा तत्कालीन युरोप र अमेरिकामा मसाङ्लोले खुट्टामा बाँधेर चोकचोकमा मान्छेको लिलामी गरिन्थ्यो। त्यतिबेला नै आर्थिक, समाजिक र सांस्कृतिक हिसाबले त्यति माथि उठिसकेका हामी, आज यति तल किन भासिएका छौँ त?
यसको उत्तर हामीले कति पढ्यौँ र केका लागि पढ्यौँ? भन्ने प्रश्नसँग सोझै ठोकिन्छ। हामीले सिक्नका लागि पढेनौँ। जागिर खान, नाम कमाउन वा पैसा थुपार्नको लागि पढ्यौँ। आफ्नो भाषामा समेत नपढेर आयातित भाषामा पढ्यौँ। रचनात्मकताभन्दा सुगारटाइलाई प्रथमिकता दियौँ। एउटै मन्त्रको माला बारम्बार जप्ने संस्कारको असर हामीमा अझै जीवन्त छ।
लर्ड म्याकुलेका अनुसार, कसैमाथि आधिपत्य जमाउनु छ भने सर्वप्रथम उसको भाषा खोस्नुपर्छ। किनभने उसको भाषा नहुनासाथ ऊ लडखडाउँछ। आयातित भाषामा जतिसुकै दक्षता हासिल गरे पनि आफ्नो मातृभाषा जस्तो कदापि हुँदैन। आफ्नै भाषा समृद्ध हुँदाहुँदै जर्वजस्ती अंग्रेजी भाषा लाद्नुको कारण के? हामी सावित के गर्न खोज्दछौँ? यही की अंग्रेजहरु सर्वोच्च हुन्, अंग्रेजी भाषा उत्कृष्ट हो। अझै पनि हामी अंग्रेजी जान्नुलाई वौद्धिकताको मापदण्ड बनाइरहेका छौँ। हामीलाई आफ्नो भाषाले कुनै अर्थ राख्दैन। आफैँप्रतिको यो हिनताबोधलाई के भन्ने?
हामी आफ्नै सामाजिक परिवेशका विषय वस्तुलाई समेत अंग्रेजीमा पढाइरहेका छौँ। हाम्रा चाडपर्व, दशैँ, तिहार, जनैपूर्णिमा, राष्ट्रिय विभूति, इतिहास, भूगोल र राजनीति लगायतका दैनिक भोग्दै आइरहेका कुरालाई समेत आफ्नो मातृभाषामा पढ्न नपाइने बनाइदिएर हामीले कठिन गरिदिएका छौँ। सजिलै बुझ्न सकिनेमा कण्ठ गर्नुपर्ने बाध्यता सिर्जना हुन पुगेको छ। आखिर भाषा मात्र क्षमताको द्योतक हुन सक्दैन भनेर हामीले किन बुझ्न नसकेको होला?
आजको विद्यार्थीले ‘मंकी’ हेर्छ, बाँदर हेर्दैन। ब्रेड खान्छ, पाउरोटी खाँदैन। अधिकांश केटाकेटी ‘उनान्सत्तरी’ या चौरानब्बे भन्यो भने वाल्ल पर्छन्। छोटो अन्तरालमा नै कैयौँ नेपाली शब्दहरु जन जिब्रोबाट लोप भइसके। अझै लोप हुने क्रममा छन्। यी विषयको कारक जर्बजस्ती लादिएको अंग्रेजी शिक्षा हो। स्कुलहरुले जर्वजस्ती अंग्रेजी बोल्न लगाउँछन्।
मानौँ कि नेपाली बोल्नु कुनै भयंकर अपराध हो। अक्षम्य कृत्य हो। यस्तो हुनु भनेको आफ्नोपनमा गर्व गर्न नसक्नु र नव उपनिवेशवाद स्वीकार गर्नु हो। जसले गर्दा केही वर्षमा आगामी पुस्ताले न अंग्रेजी, न नेपाली राम्रोसँग जान्ने भएर विलखन्दमा पर्ने अवस्था सिर्जना हुनसक्ने छ।
दोस्रो विश्व युद्धपछि तहसनहस भएको जापानले प्रविधिसँग सम्बन्धित करिब ४० हजार पुस्तकहरुको अनुवाद आफ्नो भाषामा गर्यो र छिट्टै युद्धको पीडा र घाउलाई पुर्दै विश्वको एक महाशक्ति बन्न पुग्यो। चीन त्यस्तै गर्दैछ। उनीहरु आफ्नै पनमा रमाइरहेका छन्, आफ्नै भाषा र संस्कतिमा कटिबद्ध छन् भने हामीले किन नसक्ने?
आइन्सटाइन भन्छन्- ‘एजुकेसन इज ह्वाट रिमेन्स आफ्टर हि ह्याज फर्गटन एभ्रिथिङ हि लन्र्ड इन् स्कुल।' अर्थात् हामीले पढेको सबै बिर्सिसकेपछि जे बच्छ त्यो नै यथार्थ शिक्षा हो। त्यति पर पनि जानु पर्दैन। पास भएको भोलिपल्ट पढेको के कति सम्झन्छौँ त? एकपटक आफैँलाई प्रश्न गर्ने हिम्मत गरौँ।
चिनियाँ उखान छ- ह्वाट आई हियर आई फर्गेट, ह्वाट आइ सि आई रिमेम्बर, ह्वाट आई डु आई लर्न। हामीमा अझै पनि लर्निङ बाइ डुइङको सिस्टम विकसित भएको छैन। हामी सिकाउनभन्दा रटाउन व्यस्त छौँ। नर्सरीमा पढ्ने मेरो सानो भान्जो भन्छ- ‘ए फर एप्पल’। म भन्नु ‘ ए फर एन्ट...’ तर ऊ ए फर एप्पलबाट टसमस हुँदैन। यसरी स्कुलले पहिलो कदमबाट नै पट्टी लगाइदिन्छ र भन्छ-‘हामीले देखाएको बाटोमा हिँड्नु नै पढाइ हो’।
आफैँ बाटो बनाउनु भनेको अराजक हुनु हो। यसरी स्कुलभित्र अनुशासनको ढुंगाले थिचिएको निहित सिर्जनशीलता अङ्कुराउन पाउँदैन। सुन्दर फूल बनेर फक्रिन नपाई भित्रै सड्छ। अनि कसरी हुन्छ नयाँ सिर्जना र आविष्कार?
स्कुल पढ्दा म कक्षाको फर्स्ट व्याइसँग खुब मिल्थेँ। एसएलसीमा नब्बे प्रतिशतभन्दा माथि र प्लस टुमा समेत डिस्टिङ्सन ल्याएका उनी अहिले इन्जिनियरिङ गर्दैछन्। छोरोको पढाइको गर्वले उनका अभिभावक दंग छन्। एकपटक हामी मदन भण्डारी र जीवराज आश्रितको सालिक सामु पुग्यौँ। उनले सोधे, ‘को हुन् यिनीहरु’?
'थाहा छैन?' मैले अचम्मित हुँदै भनेँ।
'अहँ!’
‘मदन भण्डारी र जीवराज आश्रित’ मैले भनेँ तर उनले चिनेनन्। म तीन छक् परेँ। बुझाउने कोशिस गरेँ तर उनले बुझेनन्, बुझ्न नचाहँदै भने- ‘कताको मरिसकेको नेता रहेछन् छोडिदिउँ, मलाई के मतलब?'
यो घटनाले मलाई निकै पटक घोत्लिएर सोच्न बाध्य बनायो। उनी ‘सोसल स्टडिज्मा’ पनि सधैँ टप गर्थे। हाम्रो व्याचको सबैभन्दा ‘ट्यालेन्ट’ विद्यार्थी उनी तर मदन भण्डारीलाई चिनेनन्। चिन्न चाहेनन्। कस्तो भयानक बिडम्बना! सोचेँ सबैभन्दा जान्ने भनिएको ठिटो त यस्ता छन् भने अरु कस्ता होलान् त? कठै!
हल्टले भने जस्तै नेपालका स्कुलहरु विद्यार्थीको मानसिक र अभिभावकको आर्थिक शोषण गर्ने माध्यम मात्र बन्दैछन्। काठमाडौँका केही निजी विद्यालयको फी उच्च शिक्षामा प्राविधिक विषयको पढाइ शुल्कभन्दा महँगो छ, तर शैक्षिक विधि उही पुरानो। डेनमार्क, स्वीडेन, नर्वे, स्वीजरल्याण्ड जस्ता देशहरुले परम्परागत स्कुले शिक्षाको अवधारणा तोड्दै आइरहेका छन्।
खुल्ला स्कुलको अवधारणा विकास भइसक्यो। निश्चित पाठ्यक्रम र परीक्षाको क्रमशः अन्त्य गरिँदैछ। लर्न विथ फनको विधि अपनाइँदै छ। ‘पर्खालहरु भत्काउ, पुस्तकहरु च्यात र प्रकृति तर्फ फर्क’ को रुसोवादी विचारले क्रमशः स्थान पाउँदैछ। स्वतःस्फूर्त सिकाइमा जोड दिँइदैछ। आगामी युगानुकुलको मान्छे निर्माण गर्न शिक्षालाई परिवर्तन गरिँदैछ।
खोइ! नेपालले यसबाट कहिले सिक्ने?