नेपालमा राज्यले विद्यालय शिक्षालाई दुई धारमा विभाजित गरेको छ, सामुदायिक र संस्थागत। नागरिकले शिक्षालाई मूल्यमा वा किनबेचमा आधारित बनाएको छ।
सामुदायिक विद्यालयमा पढाइ गणस्तरीय नै छैन भनिन्छ, राजनीतिकर्मीले पनि विद्यालयमा राजनीति भयो भन्छन, शिक्षकहरूले तलब कम भयो, मन खोलेर पढाने वातावरण छैन, सरूवा प्रक्रिया अति झन्झटिलो छ, आसेपासे सधैं सुविधा सम्पन्न ठाउँमा र अरू शिक्षक दुर्गम ठाउँमा काम कहिलेसम्म सेवा गर्नु पर्ने हो भनी गुनासो गर्छन्।
शिक्षाविदहरूले मास्टरले पढाउन अल्छि गरे राजनीति गरेको आरोप लाग्छ। बजारले आफ्ना माग अनुसारको दक्ष जनशक्ति नआएको गुनासो गर्छन्। विद्यार्थीहरूको गुनासो रहन्छ, वाल मनोविज्ञान अनुसार व्यवहार गरिएन, रूचि अनुसारका खेल खेल्न दिइएन वा खेलाइएन, बढी पढेको पढ्यै गर्नु पर्ने कारण के हो?
हामीले आफ्नो अन्तर्निहित प्रतिभा उजागर गर्न ठाउँ भएन वा सकिएन, व्यवहारिक शिक्षा किन पढाइ भएन? यसको सम्पूर्ण दोष कसलाई दिने? शिक्षा पद्धतिलार्इ वा हालको विद्यालय शिक्षालार्इ? सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किनुका धेरै मुख्य कारण मध्ये मुख्य जिम्मेवार शिक्षक नै हुन की? खोजीको विषय बनेको छ।
खासमा शिक्षाको के अर्थ हो? घरको भित्ते घडीको ब्याट्री फेर्न नजान्ने, एउटा निवेदन लेख्न नजान्ने, बैँकमा पैसा जम्मा गर्न जाँदा भौचर भर्न नजान्ने, घरको बिजुलीको एमसियु खस्दा उचालन्न नजान्ने, धाराको टुटि फेर्न नजान्ने, करेसा बारीमा फलेको तरकारी टिप्न नजान्ने, खाना पकाउन र भाँडा माझ्न नजान्ने, आफूभन्दा ठूलालाई सम्मान र सानालाई माया गर्न नजान्ने, राम्रोसँग नेपाली बोल्न नजान्ने, अंग्रेजी बोल्दा आफू ठूलो मानिस भएको जस्तो भान गर्ने।
यस्ता नजान्ने नजान्ने विद्यार्थीहरू तथा जनशक्ति हाम्रा विद्यालयहरूबाट कहिलेसम्म उत्पादन गरीरहने? अब त विद्यार्थीहरूको व्यवहारिक र आत्मचेतनाको ज्ञान उजागर र प्रफुलित गरेर त्यही ज्ञानलाई विकास गर्न सक्ने जनशक्ति तयार गर्न शिक्षा क्षेत्रमा परिवर्तन हुन आवश्यक छ की? कतै हामीले पनि यस्तै जनशक्ति उत्पादन त गरीरहेका छैनौं? सबैले, सरोकारवलाले एक पटक सोचौं, विचार विमर्श गरौँ र कार्यन्वयनमा जाऔं र लागु गरौँ।
समस्याको मुल चुरो/जरो कहाँ निर छ, पत्ता लगाऔं, शिक्षाको मुख्य साँचो सुधार गरौँ र फेरौँ। यस विषयमा छलफल गर्दा कसो होला? त्यसैले हाम्रा विद्यालयका पाठ्यक्रममा र पाठ्यपुस्तकमा सैद्धान्तिक कक्षा बढी र प्रयोगात्मक कक्षा कम समेटिएको छ। यो शिक्षा प्रणालीले शिक्षित बेरोजगार जनशक्ति उत्पादन भइरहेका भन्ने आरेप चिर्न र सिद्ध गर्न विद्यालयीय शिक्षाका पाठ्यक्रममा गरी खाने अर्थात् व्यावसायिक शिक्षा र जीवन उपयोगी शिक्षा राख्नु आवश्यक छ।
गुणस्तरीय शिक्षा पाउनका र दैनिक जीवन सहज हुनका लागि सैद्धान्तिक र व्यावहारिक विषयलाई समेटेर फरक किसिमको (गरीखाने विद्यालय) विद्यालय स्थापना हुनु आवश्यक छ। यस्ता विद्यालयमा फरक किसिमको शैक्षिक, भौतिक, व्यावाहारिक र मानवीय वातावरण भएको हुनु पर्दछ।
यस्ता फरक किसिमका विद्यालय संचालनका लागिसकेसम्म हरेक प्रदेशमा पहिलो चरणमा परीक्षणका लागि ५ वटा हुनु पर्ने र स्थानीय तहले पनि आफ्नो तहमा कम्तिमा १ वटा हुनुपर्छ। पछि विस्तारै देशभरीका विद्यालयमा यस्तो शिक्षा पद्धतिको विकास र विस्तार हुनु आवश्यक छ। जुन विद्यालयहरूमा यस प्रकारका फरक अभ्यास रहनेछन्:
१. भर्ना विभाग
विद्यालयले शैक्षिकसत्रको सुरुआतमै वा भर्ना गर्दा नै कुन विद्यार्थीले के-के गर्न इच्छा राख्दछ त्यसै अनुरूप कम्तिमा पनि ३ वटा रुचि भएका विषयमा भर्ना फारममा उल्लेख गरी काम गर्न अभिप्रेरणा जगाइ काम गर्न लगाउने तथा गराउन सकिन्छ। । यस्ता कार्यले गर्दा विद्यार्थीले आफ्ना रुचि अनुसारको काम हप्तामा कम्तिमा पनि एकपटक गर्न दिने अवसर विद्यालयले मिलाउने र त्यस सम्बन्धी दक्षता भएका शिक्षकले सहयोग गर्ने व्यवस्था मिलाउने र सोको व्यवस्थापन भर्ना विभागले गर्ने छ।
२. भान्सा विभाग
व्यावहारिक शिक्षा दिने यस्ता किसिमका विद्यालयहरूमा विद्यार्थीहरूले किताबमा पढेका कुराहरूलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने छन्। जस्तै बिहानको नास्ता वा परिकार बनाउने, खानका विभिन्न परिकार बनाउने, कुन तरकारी कुन मौसम/समयमा खाने, नुन, तेल कति हाल्ने, भातमा कति पानी राख्दा पाक्छ, पानी कम र बढी भए के हुन्छ? कति जना मानिसको लागि कति माना वा पाथि/किलो चामल पकाउदा ठिक हुन्छ? कस्ता कस्ता खानेकुराले हाम्रो शरीरलाई बलियो र निरोगी बनाँउ छन्? कुन प्रकारको खानाले शरिरलाई खराब/बिगार्छ आदि।
स्वास्थ्य विषयमा सिकेका पोषण के हो, भिटामिन हाम्रो शरिरलाई कति चाहिन्छ, रोग के हो? पेसा र प्रविधिका पढेका च्याउ खेती, तरकारी खेती, माछापालन, कृषि, करेसाबारी, फलफूल आदिका बारेका। यसरी किताबमा पढेका कुरालाई व्यवहारिक रूपमा शिक्षा लिइ जिवनमा लागु गर्नका लागि विद्यार्थीले आफैले भान्सामा गरेर सिक्दछ र जान्दछ।
३. खेलकुद र विविध प्रतिभा विभाग
विद्यालयमा विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती र राष्ट्रलाई चाहिने खेलाडी उत्पादन गर्नका लागि खेलकुद विभाग हुनु पर्दछ। पाठ्यक्रकले तोकेको स्वास्थ्य तथा शारिरिक विषयका पाठ्यभारलाई नघट्ने गरी हरेक शुक्रबार रमाइलो शुक्रबारका रूपमा विभिन्न किसिमका खेलकुद कार्यक्रमहरू संचालन गरेर मनाउन सकिन्छ।
जस्तो की भलिबलमा रूचि हुने, फुटबलमा, विभिन्न प्रकारका दौडमा र अन्य खेल खेल्नका लागि फरक फरक ठाउँको व्यवस्था गरी सोही अनुसारको खेलप्रतिको विद्यार्थीको अभिलाषा बचार्इ राख्न सकिन्छ पर्छ। यस्ता कार्यक्रमको सम्पूर्ण जिम्मा सम्बन्धित शिक्षकलाई दिँदा अझ प्रभावकारी हुन्छ।
यसले गर्दा देशलाई भविष्यमा चाहिने खेलाडीहरू विद्यालय तहबाटै नै तयार हुन्छ र विद्यार्थीहरूमा सकरात्मक मनोबल उच्च भइ पढाइमा पनि अब्बल हुन जान्छन्। यसका पाठ्यक्रमले निर्धारण गरेका एथलेटिक्स विधाका छुट्टै हुनुपर्छ भने अन्य विधाहरू फरक-फरक हुनु आवश्यक छ।
संगित सिक्नका लागि संगित कक्ष, बाद्यवादनका लागि फरक, भाषण कला, कविता लेख रचना, पौडी खेल्न र सिक्नेका लागि चित्रकला, मूर्तिकला, काष्ठकला, छुट्टै कक्षको व्यवस्था हुनुपर्छ र यस्ता कक्षा सहजीकरणका लागि सो विषयमा ज्ञान भएको शिक्षकले जिम्मा दिन/लिन सकिन्छ। यस्ता क्रियाकलापले विद्यार्थीको आन्तरिक प्रतिभा प्रष्फुटन भइ निजले जिवनमा आफूले रोजेको विधामा सफलता हासिल गर्न सक्छन्।
४. सूचना, संचार तथा प्रविधि विभाग
विश्व बजारसँग जोडिन र विश्वमा के भइरहेको छ भनी जानकारी लिन र दिन सूचना संम्प्रेषणका लागि सूचना संचार तथा प्रविधि विभाग हुन्। बालकले दैनिक जीवनमा आइपर्ने सूचना तथा संचारसँग प्रत्यक्ष सम्बन्ध भएका सामाजिक संजालको बारेमा आफ्नो ज्ञान, सीपको प्रयोग गर्नेछन्।
यस विभागमा काम गरीसकेपछि विद्यार्थी निकट भविष्यमा सूचना संचार प्रविधिमा सक्षम भइ राज्यलाई चाहिने सम्पूर्ण सामाग्री उत्पादन गर्न सक्ने दक्ष जनशक्ति तयार हुन्छ। यस्ता माथिल्लो तहमा पढ्नका लागि आधार विद्यालय तहबाट उत्पादन हुने र भविष्यमा संचार प्रविधिमा राज्य निर्भर हुन जान्छ।
५. औषधी विभाग
यसमा विद्यार्थीहरूलाई हाम्रो स्थानीय स्तरमा पाइने आौषधीय गुण भएका बोटविरूवाको संकलन र यसका बारेमा प्रचार प्रसार र औषधी गुणका बारेमा परिचित हुन सकिन्छ। हिमाली भेगमा पाइने यार्सागुम्बा, गुच्चि च्याउ, पाँच औैले, सर्पगन्धा, जटामसि, सतुवा र पहाडी भागमा पाइने बिसजरा, सुनपाति, सोमलता, सुगन्धवाल, नागवेली, माहरंगी जस्ता र तराईमा पाइने पिपला, कुरिलो, निम, अमला, हर्रो, बर्रो, निम तितेपाति, शितल चिनी, तुलसी, घिउकुमारीका बारेमा ज्ञान लिने दिने र अनुसन्धान गरी बिक्री वितरण गर्न सक्ने सकिन्छ।
यसरी हाम्रा स्थानीय स्तरमा पाइने जडिबुटीका बारेमा ज्ञान लिइ र दिइ आयुर्वेदिकका माध्यामबाट मानिसहरूलाई स्वस्थ्य र निरोगी बनाउन सकिन्छ। त्यसैले यस्ता ज्ञानका बारेका विद्यालय तहबाटै नै सिक्न जरूरी छ।
६. व्यावहारिक तथा प्रयोगात्मक विभाग
सामाजिक विषयमा पढेका सैद्धान्तिक पक्षलाई व्यवहारमा लागु गर्नका लागि सामाजिक सहयोगका लागि वृद्धाश्रम, अस्पताल, अनाथलय, जस्ता ठाउँमा गएर सेवा गर्नु पर्ने संस्कार सिकाउने। आदर सत्कारका लागि विद्यालय भित्र एक विद्यालय परिवारको कल्पना गर्ने र लागु गर्ने। सामाजिक विषयमा पढ्ने व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, निर्वाचनका लागि विद्यालयमा यस्ता अभ्यासका लागि सिकाइ केन्द्रको स्थापना गर्ने र पढाउने।
स्वास्थ्य तथा जनसंख्या विषयमा पढेका विषयमा पढेका ज्ञानलाई समाजमा गएर केही घरबाट तंथ्याक लिइ जनगणनाको नमुना विकास विद्यालयमा नै गर्न सकिन्छ। गणित विषयको लम्बाई, चौडाई, उचाई, प्रतिशत, नाफा र नोक्सान जस्ता ज्ञानको लागि करेसाबारीमा नै केही ड्याम बनाएर ज्ञान लिन सकिन्छ।
स्वास्थ्य विषयको दुर्घटना, सडकका सुरक्षा, सफा पानि पिउने, शरीरको हेरचाह गर्ने आदि विषयमा पनि प्रत्यक्ष रूपमा व्यवहारिक रूपमा ज्ञान लिन सकिन्छ। यसरी नै विद्यालयमा नै सबै किसिमका व्यवहारिक सीप सिकाउन सकिन्छ।
७. मेकानिकल विभाग
मेसिन वा यससँग सम्बन्धित कुराहरू सिक्नका लागि यसको स्थापना हनु पर्दछ। गाडी मोटरका र अन्य साधनका सामान मर्मत र निर्माण गर्ने, मेशिनसँग सम्बन्धित अन्य कार्य गर्नका लागि यस्तो विभागको स्थापना हुनु पर्दछ। विद्यार्थीले आफ्ना रूचि अनुसारका काम गर्न पाँउदा सजिलै सिक्ने र सो सिकाइ दीगो र स्थायी हुने हुन्छ।
निचोड
नेपाल भौगोलिक विविधता भएको मुलुक हो। अब देशको भू-बनावट अनुसारका विद्यालय स्थापना हुनुपर्छ। हामीले हाम्रा सन्ततिलाई पढाउन भनी केहीले सहर केन्द्रित विद्यालयहरूमा ल्याएर पढाएका छौँ। खासका पढाइ के हो? एकाध विद्यालयहरूले विभिन्न किसिमका सेवा सुविधा दिएर दुर्गम/गाउँ घरका विद्यार्थीहरूलाई सहरमा ल्याउन गरेका पनि छन्।
यसरी सहरका विद्यालयमा पढेका विद्यार्थीहरू न त ती विद्यार्थीहरू फर्केर गाउँघर वा आफ्नो जन्म घरमा गए न त आफ्नो देशमा बसेर काम गरे वा सेवा गरे, बरु विदेश पलायन भए। यस्तै विविध कारणले गर्दा राज्यले लगानी गरेको लगानी, जनशक्तिहरू सबै खेर गए। हामीले विद्यालय रहेको जनसंख्या, भाषाभाषी, हावापानी, रीतिरिवाज, समुदाय, भूगोल अनुसारको राष्ट्रिय पाठ्यक्रमसँग मेल खाने गरी स्थानीय पाठ्यक्रम निर्माण, विकास र लागू गरी विद्यालयबाट सिङ्गो राष्ट्रलाई टेवा पुग्ने कामको थालनी गर्नुपर्छ, ठाउँ अनुसारको विद्यालय स्थापना गरेर।
जस्तै: हिमाली क्षेत्रमा जडीबुटी, पर्यटन, हिमाल आरोहण, वन्यजन्तु पालन र स्याहार। पहाडमा मौसम अनुसारका फलफुल खेती, तरकारी खेती, तराईमा मस्यपालन, कृषि, बेमौसमी तरकारी, जस्ता यस्ता विद्यालय स्थापनाले कुनै ठाउँमा विद्यार्थी धेरै हुने र कुनैमा विद्यार्थी संख्या कम भएर अर्को विद्यालयमा गाभिनु पर्ने समस्या पनि हल हुन्छ।
यस्ता शिक्षा लिने र गरी खाने विद्यालयले वास्तविक शिक्षाको परिचय दिने छन्। अब ढिलो नगरी विद्यालयको पाठ्यक्रम, शिक्षण पद्धति, शिक्षक भर्ना प्रकिया र कानुनहरू वैज्ञानिक रूपले पुन:संरचना र रूपान्तरण हुनु आवश्यक छ।