'माइ लर्ड
डर लायो, माइ लर्ड।'
यो वाक्य केही समय यता समाजिक संजालमा सबैभन्दा भाइरल वाक्य हो। यस वाक्यलाई लिएर विभिन्न फेसबुक ग्रुपमा मिम त कति बने कति, फोटाका क्याप्सनदेखि कमेन्टसम्ममा यो वाक्य छ्यापाछ्याप्ती देखियो। यो वाक्य मात्र होइन, वाक्य माथिको रियाक्ट र विभिन्न परिमार्जित रुपहरु पनि उत्तिकै भाइरल भए।
'एकछिन ल' पनि लकडाउनभरि उतिकै चर्चित अर्को वाक्य हो। दुवै वाक्य बन्जी हान्दा डरले बोलिएका वाक्य थिए तर सबै सामाजिक संजाल प्रयोगकर्ताहरुका लागि निकै हाँसोको विषय बन्यो र एकाएक भाइरल हुन पुगे। बन्जी हान्दा डरले निस्केका वाक्यपछि यसरी भाइरल होलान् भनेर तिनी बोल्ने व्यक्तिहरुले सायद कत्ति पनि सोचेका थिएनन् होला।
महसंचारको पुरानो कमेडी सिरियलमा हरिवंश आचार्यले बोलेको वाक्य 'एसएलसी पास गरेको त मतलब नै भएन नि' पनि उतिकै चर्चित वाक्य रह्यो। मान्छेहरुले आफ्नो काम वा भनौँ आफ्नो दैनिकी वर्णन गर्नकै लागि पनि धेरै प्रयोग गरे यो वाक्य।
पछि-पछि त एसएलसी शब्द हटाएर 'यो गरेको त मतलब नै भएन नि' 'उ गरेको त मतलब नै भएन नि' भन्दै विभिन्न परिमार्जित रुपमा प्रयोग गर्न थालेपछि यो वाक्य केही समयको लागि सामाजिक संजालमा एकछत्र राज गर्न सफल भएको थियो। यति मात्र नभइ महसंचारका पूराना कमेडी सिरियलका विभिन्न भागहरु बेला-बेला चर्चाको अग्र पंक्तिमा आइरहन्थे। गहिरो सन्देश बोकेका सिरियलका ती भागहरु अहिले सन्देशसँगै मनोरन्जनका समेत दिन सफल भए।
कोरोना भाइरसको विश्वव्यापी फैलावटसँगैको लकडाउनले गर्दा सबै मानिस घरभित्र नै थुनिन पुगे। व्यस्त समय तालिकाका बीच केही समयका लागि सबैलाई फुर्सद मिल्यो। त्यसपछि एकाएक इन्टरनेटको प्रयोग मात्र बढेनकी प्रयोगकर्ताको संख्या पनि असमानजनक तरिकाले बढ्न थाल्यो।
'वर्क फ्रम होम' भन्दै कतिले कामको लागि त कतिले मनोरन्जनको लागि मात्रै पनि यसको प्रयोग गर्न थाले। जे जस्तो होस्, घरबाट बाहिर निस्किन नपाएका जनताहरुलाई इन्टरनेटले केही राहत भने दिन थाल्यो। लकडाउनले परिवारसँग नजिक बनाएपनि बाहिरी दुनियाँसँग पूर्णरुपले टाढा बनायो तर पनि सामाजिक संजालहरुले यही दूरी चिर्दै केही हदसम्म भएपनि दुनियाँसँगको सामिप्यतालाई कायमै राख्यो।
सुरु-सुरुमा त लकडाउन निकै खुसीको विषय बनेको थियो। व्यस्तताको घडीले केही फुर्सद पाएको थियो। घर-परिवार मिलेर विभिन्न परिकार पकाउदै खादै सामाजिक संजालका भित्ताहरुमा पोस्टाउने ट्रेन्ड नै चल्यो। राम्रोसँग चियासम्म बनाउन नजान्नेलाई मास्टरसेफ बनायो।
घरमा बस्दा के-के गर्न सकिन्छ भनेर सबैको चासोको विषय बन्दा 'यस्तो पनि गर्न सकिन्छ है साथीहरु' भन्दै विभिन्न ट्रिकका पोस्टहरु देख्दा पनि धेरै हाँसिएको थियो। मान्छेहरु एकले अर्कालाई बिल्ला हान्ने, मजाक बनाउने, भाइरल बनाउने बढो मिठो तरिकाले प्रस्तुत हुने गर्दथ्यो।
सामाजिक संजालमा नयाँ एकाउन्ट खोल्ने, नयाँ युट्युब च्यानल बनाउने, नयाँ फेसबुक ग्रुप बनाएर लाइक गर्नको लागि इन्भाइट गर्नेको जमात पनि औँलामा गनी नसक्नु थियो। फेसबुकबाट लाइभ आउने, अनलाइन कुइज चलाउनेहरुले पनि राम्रैसँग समय बिताउन सहयोग गरेका थिए।
दिग्गज व्यक्तितोहरुको त टुइटरमा जुहारी नै चल्ने गर्दथ्यो। यही समयमा कति नयाँ कवि, गज़लकार, र चित्रकारहरुको उदय पनि भयो। इन्टरनेटको प्रयोगले कति वेबिनार र अनलाइन कन्फेरेन्सहरु भएका छन्। तर मजाको कुरा के छ भने, पहिला-पहिला सिकाउने मान्छेको कमि हुन्थ्यो भने अहिले सिक्नेको कमि छ।
पोस्ट लाइक, शेयर गर्नु पर्ने, कमेन्टमा साथीको नाम मेन्सन गर्नु पर्ने होडबाजीमा म पनि कतिको कमेन्टमा मेन्सन हुन पुगे एकिननै छैन। तर जे जस्तो भएपनि अहिलेको डिजिटल दुनियाँको एउटा शिष्ट र शालिन विज्ञापनको तरिकाको रुपमा लिन सकिन्छ।
फेसबुकमा एकले अर्कालाई च्यालेन्जे दिने र एसेप्ट गर्ने चटक पनि निकै हिट हुन पुग्यो। यो एक प्रकारको चटकै हो तर पनि फेसबुकबाटै भएपनि मान्छेहरुले यतिको च्यालेन्जे पूरा गरेको देख्दा प्रगति भएकै बुज्नु पर्छ। तर पनि च्यालेन्जे एसेप्ट नगर्नेलाई के समाजले स्वीकार्ला त?
'इनफ इज इनफ' भन्ने एउटा फेसबुक ग्रुप बन्यो, राता-रात हजारौँ हुँदै लाखौँ मान्छेहरु यसमा जोडिन पुगे। त्यसपछि काठमाडौँको माइतीघर र बानेश्वोर हुँदै देशभरि नै अभियान चल्यो। 'लकडाउनले कोरोना नियन्त्रण हुँदैन, पिसिआर बढा, आरडिटी बन्द गर' भन्दै हजारौँ मान्छेहरु सडकमा उत्रिन थाले र यसको सचित्र वरण फेसबुकका भित्ताहरुमा देखिन थाल्यो।
चीनबाट सरकारले ल्याइएको मेडिकल सामानमा भएको घोटालालाई लिएर विरोधहरु पनि निकै भए। यही अभियानबाट धेरै वाक्य र व्यक्ति पनि भाइरल भए। नेपाली नायिकाहरुको जिब्रो चिप्लिएर हो वा नियतबस बोलीको ठेगान नभएर हो, बेला-बेला ट्रोलको शिकार हुन पुगे।
दिपाश्रीले 'दीपकराज गिरी नेपालको महानायक हुन्' भनेको कुराले होस् वा वर्षा राउतले 'अब म मेरा भारतीय साथीहरुसँग के भनेर बोल्ने' भन्दा होस् वा आँचल शर्माले 'केटाहरुभन्दा केटीहरु बढी क्रिएटिभ हुन्छन्' भन्दा होस्, देख्ने सुन्नेले एकछिन भएपनि पेट मिचीमिची हाँस्न पाए।
नेपाली नायिकाहरु मात्र होइन, पुण्य गौतम, ज्ञानेन्द्र शाही, भाग्य न्यौपाने पनि बेलाबेला चर्चामा आइरहने व्यक्तिको लिस्टको सुरुमै आउने नाम हुन्। यी व्यक्तिहरुलाई यतिसम्म चर्चाको शिखरमा पुर्याउनुमा युटुबे पत्रकारहरुको ठूलो योगदान छ। त्यसैले ती युटुबे पत्रकारहरुलाई मैले यसै लेखबाट सलाम ठोक्नै पर्छ।
अझ ऋषि धमलाले हरेक काण्डमा बढो मिठो तरिकाले मसाला थप्ने काम गर्थे। यतिमात्र नभएर, यही लकडाउनमा विजय शाही भन्ने यस्तो व्यक्तिको उदय भयो की उनले धेरैलाई उल्लु बनाए र यही सामाजिक संजालबाटै उनलाई धेरैले उल्लु बनाए पनि।
उनले पत्रकार सम्मेलन नै गरी हेरेकै भरमा एकछिनमै सिंगो किताब याद गरी जुन कुरा पनि कापीमा लेख्न सक्ने अद्भूतको कलाले सबैलाई अचम्मित नै बनायो। उनले यसरी किताब याद गर्ने आफूसँग फर्मूला भएको र 'गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा नाम लेखाएपछि यो फर्मूला सबैलाई सिकाउने छु र शिक्षित नेपाली बनाउने छु' भन्दै ठूलै गफ हान्न पनि पुगे। यति भएपछि त के चाहियो, विद्यार्थीहरुले विजय शाहीको फर्मूला चाहियो भन्दै ट्रोल बनाउन थालिहाले।
सलह किरा र मकैको अमेरिकन फौजी किराले पनि राम्रै स्थान पाएका थिए। कृषि वैज्ञानिकहरुले नेपालमा सलह किरा आउदैन भन्दा-भन्दै पनि किरा आयो र बितण्डा मचाएर गयो। मनमा डर भएपनि हाँसो र रमाइलोको विषय चै भयो। अझ कृषिमन्त्रीको मेटल गीत बारेको अभिव्यक्तिले त झन् हाँसोमा सुनमा सुगन्ध थपिदियो।
जे जति धेरै किस्साहरु भएपनि प्रधानमन्त्रीले बोलेका किस्साहरुले निकै तहल्का मच्चाए। लकडाउनभरि भएका काण्डहरु तराजुको एकतिर र प्रधानमन्त्रीले बनाएका काण्डहरु अर्को तिर राखेर जोख्ने हो भने पनि बढी तौल प्रधानमन्त्री काण्ड कै हुन्छ होला। पहिलो थियो बेसार काण्ड।
आफ्ना प्रत्येक बोलीमा उखान-टुक्का र व्यङ्ग्य मिसाएर बोल्ने केपी ओलीको बानीले गर्दा धेरैले पत्याएनन् पनि। तर पछि खोज्दै जाँदा उनको बोलीको केही सत्यता पनि भेटियो। प्रधानमन्त्रीलाई उडाउनैको लागि भएपनि बेसारे फोटो बनाएर फेसबुकमा हाल्ने होडनै चल्यो। कतिले त बेसार पानी खाए र 'कोरोनाको औषधी त बेसर पानी रे' भन्दै गीतसम्म निकाल्न पनि भ्याए।
'कोरोना भनेको रुघा-खोकी जस्तै हो, तातो पानी खानु पर्छ, हाछ्यू-साक्ष्यू गर्नु पर्छ, उडाईदिनु पर्छ' भन्दै संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधनले पनि निकैनै चर्चा बटुल्यो। उता एउटा किस्सा सकिन नपाउँदै अर्को किस्सा गर्न पुगे प्रधानमन्त्री। मर्यादा पुरुष भगवान श्री रामको जन्म भारतको अयोध्यमा नभइ नेपालको ठोरीमा भएको हो भन्ने अभिव्यक्तिले पनि निकै चर्चा लिन पुग्यो तर जे भएपनि एकचोटी त्यस सम्बन्धी खोजी गर्नु पर्ने संकेत गर्यो।
यति मात्र होइन, सामाजिक संजलामै केही राम्रा र प्रसंशनीय काम पनि भएका छन्। सरकारले कालापानी, लीपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गर्दै दार्चुलाको व्यास गाउँपालिकामा अस्थाइ प्रहरी चौकी स्थापना गरेपछि सामाजिक संजालबाटै दिल खोलेर सबै नेपाली जनताले प्रसंशा गरे। ह्यासट्याग 'ब्याक अफ इंडिया' को लहरनै चल्यो। बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको न्यायको लागि 'जस्टिस फर निर्मला' को अभियानले फेरि पनि पहिले जस्तै निरन्तरता पाइनै रह्यो।
थप कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्तिको माग गर्दै फेसबुकदेखि सडकसम्मै अभियानहरु चले। डाक्टर गोविन्द केसीको समर्थन र भ्रष्टचार विरुद्धका आवजहरु मन्द-मन्द आइनै रहेका छन्।
लकडाउनभरि हाँसो र रमाइलोको मात्र होइन, केही दु:खका ट्रेन्डहरु पनि चलीनै रहे। यही सामजिक संजालबाट धेरैले बेइज्जत पनि भोग्नु पर्यो। धादिङगबाट कामको सिलसिलामा दुई सरकारी कर्मचारी (एउटा केटा र अर्को केटी) कार्यालयको बाइक लिएर काठमाडौँको बाटोमा हिड्दा केटीले लगाएको लुगालाई इस्यु बनाएर सामाजिक संजालमा तर्क बितर्कहरु पनि निकै चले।
'यो तीजमा नो वर्त' गीतले पनि निकै तहल्का पिट्यो। अन्तिममा त त्यस गीतले समाजमा विकृति फैलाएको निर्क्योल निकाल्दै युट्युबबाटै हटाइयो। बलिउडका दुई चर्चित नायक इमरान खान र ऋषि कपुरको निधन पनि यही समयमानै भयो।
जिरो लेभलबाट संघष गर्दै चर्चाको शिखर पुगेका नायक सुशान्त सिंह राजपुतको निधन बारे पनि धेरै चर्चा-परिचर्चा चले। सुसाइड हो की मर्डर हो भन्ने बारे अनुसन्धानको विषय नै बन्न पुग्यो। बलिउडको फिल्म उद्योगमा जरा गाडेर बसेको नातावाद-कृपावादमाथि नै औँला उठाउने कामसम्म भयो।
जाजरकोटका नवराज विकको अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर भएको हत्यालाई पनि धेरैले सामाजिक संजालबाटै विरोध पनि गरे। यसरी अन्तरजातीय प्रेममै मान्छेले ज्यान गुमाउन पर्दा के अन्तरजातीय विवाह सम्भव छ त? तर पनि यसैसँग जोडिएर डाक्टर बाबुरामले जात फेरेको कुराले भने केही समय हराएका बाबुराम एकाएक चर्चाको शिखरमा पुगे।
लकडाउनले धेरै चाडपर्वहरुलाई प्रत्यक्ष रुपमै असर पर्यो। यस बीचमा पर्न गएको महान् चाड तीज त पूर्ण रुपमै खल्लो रह्यो तर पनि पहिलेका वर्षहरु जस्तै तीजका गीतहरुका चर्चा र रौनकहरु भने अझै बढी भए। म एकिन गर्न सक्छु की, यदि अहिलेको समयमा भएको चर्चित गीतलाई अवार्ड दिने हो भने पक्कै 'टेबलमा काइयो र ऐना छ, सोचे झैँ जिन्दगी रैनछ' बोलको गीतले नै पाउँछ।
पक्कै पनि यति मात्र किस्साहरु भएका छैनन्। कति छुटेका छन्, कति अपूरा छन्, अनि सामाजिक संजालमा भाइरल नभएका किस्साहरु अझ बढी होलान्। समर्थनदेखि विरोध, मायादेखि घृणाको साँझा थलो बनेको छ सामाजिक संजाल। संचारको बढ्दो विकाससँगै सामाजिक संजालहरुले पनि ख्याती कमाउदै गए।
नयाँ पुस्तालाई जन्मदै विद्युतीय यन्त्रसँगै घुल्मिलिएर हुर्कन पाउनुले अझ यसको प्रयोग बढाएको छ। कतिलाई रोजगारीको माध्यम बन्दै राम्रो उपयोग भएको छ भने कतिलाई चहलपहल दिदैँ सस्तो लोकप्रियता कमाउने एउटा राम्रो मध्यम पनि बनेको छ। यसले आफ्नो गति यसरी नै बढाउदै जाने हो भने भोलिका दिनमा यही चालचलन, धर्म, संस्कृति, र रीतिरिवाज नहोला भन्न सकिन्न।
तर एकछिन अर्को पाटो बाट सोचौँ त। कल्पना गरौँ, सामाजिक संजाल नभएको भए के हुन्थ्यो होला? अथवा कुनै सूचना बिना एकाएक सामाजिक संजालहरु बन्द भए भने के हुन्छ होला? राम्रो पक्ष मात्र नभइ प्रोत्सान पाएका विकृतीहरु केही हदसम्म बन्द हुन्थे होला। छोटो समय र थोरै मिहेनतमै बटुल्ने गरेको सस्तो लोकप्रियता अलिकति घट्थ्यो होला।