'लाम बाउले लुगा लगाइदेउ बुहारी छोरीहरुलाई, सिरेठो चल्न थाल्या छ बिहान साँझ, दशैँ आउन आटेछ क्यार।'
धन्सारमा साँझे बत्ती बाल्न चड्दै गर्दा फेरि फर्केर आएर 'यो काम छोडीहाल, पहिले न्याना लुगा लगाइदेउ छोरीहरुलाई' भनी नातिनीहरुको माया बुहारीलाई हप्काए जसरी देखाउने मेरो प्यारो हजुरबुबा।
'आँगनका छेउमा ठडिएको अशोकको हाँगामा पिङ हाल्द्यूँकी धन्सारमुनिको बलेनीमा' दशैँ आउन कयौँ दिन अघिदेखि नै हातमा डोरो लिएर यता र उता गर्नु हुन्थ्यो हजुरबुबा। धन्सारमुनि त मज्जाले मच्चिदैन पिङ भन्दै फेरि खन्ती लिएर सकी/नसकी बाँसको खामो एकापट्टि गाढी आर्कोपट्टिको अशोकको हाँगामा बलियो गरी भैँसीको नाकमा बाध्ने डोरीको पिङमाथि आफ्नै हातले सानो मिलेको दुवै तिर कापा पारी डोरोमा नखस्ने गरी अड्काउन मिल्ने पिर्का बनाउनु हुन्थ्यो।
एउटा हातले पिङको डोरो समाउँदै अर्को हातले बहिनीलाई पिर्कामा राखी हल्लाउनु हुन्थ्यो। 'बहिनी डराउछे क्या हो अनु, तिमी अगाडि गएर बस, म पछाडिबाट हल्लाउँछु' भन्दै 'चचहुइँ साने, अब दिदीको पालो' भनेर पिङमा उचाली राखेको डोरी खै कता गएछन्? न गोठमा भैँसी नै छन् न नाके डोरी नै हजुरबुबा।
अशोकको फेद पनि बुढो भएछ क्यार हजुरबुबा, पहिलेको जस्तो हामीलाई धान्न सक्ने शक्ति छैन। त्यसमा सबै हाँगाबिँगा झरेर लत्र्याकक लुत्रुक पर्याछ। 'आज त घटस्थापना, मन्दिर गइ आएर मात्र घरमा पुजा गर्ने हो, ल बुढी पछ्यौरा लेऊ' भन्दै हजुरआमासँग बाक्ला पछ्यौरा माग्नु हुन्थ्यो।
पछ्यौरालाई अगाडि डन्डीमा पट्याएर राखी 'सानेलाई त्यसमा राक्छु अनि जेठीलाई पछाडि भन्दै फोनिस साइकलमा सरर.. हावा खुवाउदै बीच बाटोमा रहेको गाउँभरिको एउटै किराना पसलमा लैजानु हुन्थ्यो। सुन्तला गेडी चकलेट किनेर हामी दिदी-बहिनीको खल्ती भरिदिँदाको खुसी बेग्लै हुन्थ्यो।
साइकलबाट ओर्लिदा 'म आफै ओर्लिन सक्छु के बा, हात मात्र समाइदिनु न' भन्दै फुत्त हाम फाल्दा नलडी सिधैँ उभिएर भुइँमा टेक्दा खुसीले छाती फुल्थ्यो। आजभोलि त्यो फोनिस साइकल भकारीको कुनामा आड लागाएर खियाका रंगसँग लटमटिएको छ। यो सबै देख्दा, खुसीले फुल्ने छाती आजभोलि पीडाले भरिएर आँखाबाट आँसु बनी खसिसकेको पत्तो हुँदैन हजुरबुबा।
घटस्थापनादेखि नवमीसम्म बिहानी नित्य पुजा सकी रातो टिका लगाइ प्रत्येक दिन हजुरबुबाले हातमा दुई रुपैयाँ राखी खुट्टा ढोग्नु हुन्थ्यो। हिजो डसनामुनि राखेको दुई रुपैयाँमा आजको दुई रुपैयाँ जोडी हेर्दा कति धेरै हुन्छ भनी छिटोछिटो हजुरबुबालाई ढोग्न पनि नदिकन खाटको डसना पल्टाउन पुग्दा हजुरबुबा पछि-पछि दौडदै आएर खुट्टा समाइ ढोग्दै टाउको सुम्सुमाउनु हुन्थ्यो।
'अझै छ दिन छ दशैँ सकिन, पैसा त धेरै हुने भो। ठूलीले मलाई ऋण दिन्छे होला' भनेर हजुरबुबाले दाँत नभएका गिँजा देखाइ हाँसी सक्न नपाउदैँ मेरो मुखबाट 'अँ दिन्न, हाज्मोला चकलेट खाने हो म त स्कुल सुरु भएसी' भन्दै हजुरबुबाबाट पर भाग्थेँ। नचोर्नु नि मेरो पैसा भन्दै पिङमा उभिएर रुखको टुप्पा छुने आशमा पिङ मच्चाउन निस्कने जाँगर आजभोलि आफ्नै कमाइ चार तिर तिरन तारन पार्न हिसाब-किताब राख्न जाँगर चल्दैन हजुरबुबा।
दशमीमा मन्दिरको टिका जमरा नमिसाइ टिका सुरु नहुने चलन रहेको हुँदा नयाँ लुगा लगाएर हजुरबुबासँग मन्दिर जाँदा त्यसै प्रफुल्ल मन भित्रैबाट उफ्रिएर घरि एउटा खुट्टा उचाल्दै नाचे जस्तै गर्दै, घरि अर्का खुट्टा उचाल्दै उफ्रदै उफ्रदै हिड्थेँ। मन्दिर र घर बीचको बाटोमा पर्ने साथीको घरमा छिरेर साथीको नयाँ लुगासँग आफ्नो लुगा दाजिन्थ्यो।
दशैँ बिदापछि, स्कुल सुरु भएसी दशैँमा टिका लगाइ जम्मा भएका पैसाले सुन्तला चकलेट र हाज्मोला खाने सल्लाह गर्दै साथीभाइसँग छुटिन्थ्यौँ। 'हामी आज कति ठाउँ जानुपर्छ है हजुरबुबा' भन्दै फुत्रुक फुत्रुक उफ्रदै टिका थाप्न हिँड्दा गाउँका कच्चि बाटोका ढुंगा खुट्टामा बिझ्थ्यो। पीडाले अत्तालिएको मन हजुरबुबाले केही भाछैन भनी फू फू गर्दा शान्त भइ दगुर्ने मन, आजभोलि कालो पत्र पोतेर सलल बनाएको त्यही बाटोमा आफ्नै साधन कुदाइ दौडदा हजुरको अभावले यो मन यसै अत्यासिन्छ हजुरबुबा।
जन्मपछि मृत्य निश्चित छ भन्ने जान्दा जान्दै पनि, यो मन कालदेखि हजुरलाई बचाउन सकेको भए हुन्थ्यो जस्तो लाग्छ। हजुरको अन्त्यष्टीसँगै परदेशीएको म, यो कोरोनाको कहर छलेर घरको छतमा बसी मूलबाटोमा गुड्ने गाडीबाट झरी पो हाल्छेकी भनी दिनरात हेरिराख्ने आमाको आँखाको प्यास मेटाउने चाहना पनि अहिलेको लागि अरु परदेशी दिदी-बहिनी, दाजुभाइको जस्तै अधुरै रह्यो हजुरबुबा।
सायद, यस्तै कुरालाई त्यान्द्रो बनाइ जोडेर 'हुने हार दैव नटार्' भन्दै बेला मौकामा अनेकन स्लोक सुनाइ आफ्ना विगतका भोगाइहरु सुनाइरहनु हुन्थ्यो हजुरबुबा। 'अरुका नाति समान मेरा चार नातिनीहरु सधैँ असल मानिस बन्नु' भन्दै टिका लगाइ आशीर्वाद दिदैँ जमरा कपालमा सिउरीदिन अब कहिल्यै नफर्कने गरी जानु भयो आदरणीय हजुरबुबा।
सधैँ झैँ, दशैँ त फर्की आयो तर हजुरबुबा फर्किनु भएन।